Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पुस्तकालय पेशाको मान प्रतिष्ठाको लागि हाम्रो आवाज र सत्यवोधका लागि हाम्रो किताब

१९ मंगलबार , श्रावण २०८३१० घण्टा अगाडि

पुस्तकालय पेशाको मान प्रतिष्ठाको लागि हाम्रो आवाज र  सत्यवोधका लागि हाम्रो किताब

हाम्रो मुलुकमा ज्ञान सामग्रीहरूको महत्वको ज्ञाता र पुस्तक प्रेमीहरूको अभिरूची र प्रयासले  सयौ हजारौं पुस्तकालय नामका पुस्तक संग्रहरू मुलुक भरी रहिआएको कुरा सबैलाई थाहा छ । यसको लागि ती हाम्रा ज्ञानसामग्री प्रेमी, ज्ञान सामग्री हाम्रो लागि सुरक्षित गर्ने पूर्वजहरूप्रति हामी सवै नेपाली कृतज्ञ हुनुपर्छनै ।तर सही अर्थमा भनिदा पुस्तक संग्रहनै पुस्तकालय होइन  । जसरी दुधनै दही होइन । यद्यपि दुधवाटनै दही बन्छ । जसरी पिठो वा मैदानै रोटी होइन, यद्यपि पिठो वा मैदाबाटै रोटी बन्छ । त्यस्तै ज्ञान सामग्रीहरूको संग्रहनै पुस्तकालय होइन । तर ज्ञान सामग्रीहरूको संग्रहलेनै पुस्तकालयको निर्माण हुन्छ ।  ज्ञान सामग्रीहरू विना पुस्तकालय बन्दैन ।  
बैज्ञानिक किसिमले छनौट, सुसंगठित सुब्यवस्थित उहीं ज्ञान सामग्रीहरूको संग्रह र पुस्तकालयमा रहेका ज्ञान सामग्रीहरूमा रहेका ज्ञान पुस्तकालयका पाठकहरूको चाहना र आवश्यकता बमोजिम विना विलम्ब प्रदान गर्न सकने ज्ञानको केन्द्रलाई हामी सही अर्थमा पुस्तकालय अर्थात आधुनिक पुस्तकालय भन्छौ । २०१६ सालको आसपासको दशकसम्म मुलुकमा यस किसिमका आधुनिक पुस्तकालयहरूको अवधारणा र पुस्तकालय हाम्रो मुलुकमा थिएन । २०१६ सालमा हाम्रो राष्ट्रको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । यो विश्वविद्यालयको स्थापना संगै नेपालको परम्परागत रूपमै केही पुस्तकहरूको संग्रह स्थापन गरी विश्वविद्यालय पुस्तकालय नामङ्कन गरियो । यो पुस्तकालयलाई विश्वविद्यालयको उच्च शिक्षाको अध्ययन,  अध्यापन र अनुसन्धानमा प्रभापकारीरूपमा  टेवा दिने विश्वविद्यालयको उद्देश्य पूर्तिका लागि उपयुक्त उपयोगी ज्ञान सामग्रीहरूले सुसज्जित बैज्ञानिक किसिमले सुव्यवस्थित र सुसंगठित आधुनिक पुस्तकालय सृजना गर्ने कार्य बाँकीनै थियो ।
यो पुस्तकालयको प्रथम प्रमुख पुस्तकालयध्यक्ष हुने मेरी प्रिय श्रीमती शान्ति मिश्रले राष्ट्र र अन्तर्राष्ट्रमा ख्याति हुने गरी त्रिवि केन्द्रीय पुस्तकालयलाई आधुनिक पुस्तकालयकोरूपमा स्थापना, निर्माण र विकास गरिन् । पुस्तकालय केवल पुस्तकहरूको भण्डार मात्र होइन, ज्ञान सामग्रीहरूमा रहेका ज्ञान, ज्ञान प्राप्तीको लागि पुस्तकालय आउने पाठकहरूलाई विना बिलम्ब ज्ञान प्रदान गर्ने महत्वपूर्ण ज्ञान प्रदान केन्द हो भन्ने कुरा नेपाली समाजमा प्रदर्शन गरिन् । साथै आधुनिक पुस्तकालयको महत्व र आवश्यकताको चेतना र जागरण नेपाली समाजमा ल्याई यसको अग्रज अभियन्ताको भूमिका निभाइन् । पुस्तकालय पेशाको पनि उनको सहयात्रीको हैसियतले मैले यो महानकार्यमा दिलोज्यानले साथ दिए ।
साधारणतः संसारमा कुनै पनि उपलब्धी विना चुनौति र संघर्ष प्राप्त हुँदैन । अर्को कुरा संसारमा जोसुकै जतिसुकै राम्रो भएपनि तिनका पनि विना कारणका शत्रुहरू हुनसक्छन् जसले विना कारण तपाई हामीलाई काल्पनिक शत्रु सम्झी तपाई हाम्रो संत्कार्यमा पनि  वाधा, अबरोध पुरÞ्याइरहेका हुन्छन् । कसैलाई तपाई हामीबाट अन्जानमा हानी  हुन गई चालै नपाई शत्रु हुनगई दुःख दिइरहेका हुन्छन् । जसरी हामी हिड्दा अन्जानमा हामीवाट कुनै कमिला, किरालाई चोट लाग्न जान्छ । हामी चोट् लगाउनेलाई यो कुरा थाहा नहुन सकछ । तर हामीवाट चोट पाउनेले जानाजान चोट दिएको सम्झी शत्रुता राख्छ । शासन प्रशासन चलाउदा मुलुक वा संस्थाको हित विपरित क्रियाकलाप गर्नेलाई सजाय गर्नुपर्ने पनि हुन्छ । यसबाट सजाय पाउने ब्यक्ति शत्रु बन्न गई शत्रुता राख्ने पनि हुन्छ । एकथरी त इष्र्या द्वेष मात्रले शत्रुता राख्छ । संसारमा कोही कोही कुनै कारणबिनै शत्रु बन्छन् । हाम्रा धर्म ग्रन्थहरू अनुसार यस किसिमका ब्यक्तिलाई बिना कारणका शत्रु भनिन्छ । अर्थात आफूले कुनै किसिमको हानी नोक्सानी नपुरÞ्याइकन पनि विना कारण बनेका शत्रुहरू । जसरी जन्मजात स्वभाबैले बाख्रा, बोका चौपायाको बाघ शत्रु हुन्छ, घाँस साँगपातको बाख्रा, बोका, चौपाया शत्रु हुन्छ । त्यसरी नै कोही कोही मानिसहरू पनि कुनै उचित कारणबिनै कसैप्रति वैरभाव राख्ने आफ्नो स्वभावका हुन्छन् । यो संसारको प्रकृति यस्तै हो ।
त्रि.वि केन्द्रीय पुस्तकालयको निर्माण र विकास पनि यस्तै यस्तै अनगिन्ति साना ठूला बाधा, अवरोध,चुनौती र संघर्ष पार गरेर मात्र भएको कुरा Voice of Truth: The Challenges and Struggles of a Nepalese Woman शीर्षकको शान्ति मिश्रको अंग्रेजी किताब र ‘त्रि.वि. केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’ शीर्षकको हामी नारायण प्रसाद मिश्र र शान्ति मिश्रको संयुक्त लेखकको कितावले स्पष्ट गर्छ ।
हामीले हाम्रो पदीय दायित्व मात्र होइन पेशागत इज्जत र जिम्मेवारी स्वयम बोध गरी पुस्तकालय पेशाको मान र प्रतिष्ठाको लागि स्वयम सेवक भई पनि कम संघर्ष गरेको होइन । यसको लागि साना देखि ठूला सम्म हाम्रा हाकिम मात्र होइन हाम्रा हाकिमका पनि वडा हाकिम संग हामी लड्यौं भिड्यौं । पद, पदोन्नति खतरामा हाल्यौं । कुनै वेला पुस्तकालयको माथिल्लो अफिसको रूपमा हाकिम हुने विश्वविद्यालयको शिक्षाध्यक्षले पुस्तकालय पेशीहरूको मान मर्यादा मर्दन गर्ने गरी विश्वविद्यालयको पाठ्य क्रम विकास केन्द्र नामको कार्यालयको कानून नियम नियम बिपरित पुस्तकालय विज्ञानको योग्यता र पुस्तकालय विज्ञानको ज्ञान विनाको जो कसैलाई पुस्तक लेखाउने काम गरे । सोही हाकिमको कार्यालयमा सोही हाकिमको विरूद्ध हामीले अर्थात मैलेनै उजुरी हाले । यो लडाई विश्वविद्यालयको नियम कानून विरूद्ध गरेको अनियमितताको बिरूद्ध थियो । पुस्तकालय विज्ञानमा उपाधि प्राप्त ब्यावसायिक महानुभावहरूको मान सम्मान र अधिकार प्राप्तिको लागि थियो । पुस्तक लेख्नेको होइन, पुस्तक लेखाउनेको बिरूद्ध थियो । पुस्तकालय पेशाको लागि थियो ।
राष्ट्रमा उवेला विना अब्यवस्थित नाम मात्रले रहेका राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालयलाई पनि विश्वविद्यालय प्रशासन भित्र ल्याई इजराइल मुलुकको मोडेलमा यसको विकास र विस्तार गरी यसका ज्ञानसामग्रीहरू  सवै मुलुकवासीहरूको अध्ययन अनुसन्धानमा टेवा दिने प्रस्ताब र योजना पनि पेश गरयौं । यो कामले अर्थात यो काम भएको भए  केशर शम्शेर जस्तो दाताको नाम पनि नमेटिने र दाताको इच्छा आकांक्षाको सम्झौताको कुनै विपरित कार्य पनि नहुने अर्थात दाताको नाम र इच्छा जस्तातस्तै रहने कुरा पहिले विश्वविद्यालय संगठन र प्रशासन बाहिर रहेका तर अहिले विश्वविद्यालय संगठन र प्रशासन भित्र रहेका ठाकुराम बहुमुखी क्याम्पस्, अमृत क्याम्पस आदिले स्पष्ट गर्छ नै । विना प्रयोगमा रहेका राष्ट्रमा भएका ज्ञानको स्रोत राष्ट्रवासीको बृहतर हित र उपयोगितामा ल्याउने यो एउटा अवधारणा थियो । हामी अबूझ भएर सो काम गरिएको होइन । तर सो काम हुन सकेन ।
त्यस्तै पुस्तकालय र पुस्तकालय पेशाको मान मर्यादा र प्रतिष्ठा नरूचाहने विश्वविद्यालयका कोही पदाधिकारीहरूले नेपाल र एशियाली अनुसन्धान केन्द्रको लागि डकुमेप्टेशन अफिसर नामको पुस्तकालय सम्बन्धी पद सृजना गरी पुस्तकालय विज्ञान सम्बन्धी योग्यता अनिवार्यता नगरी त्रि.वि. सेवा आयोगवाट विज्ञापन गराउन सफल भए । यो व्यवस्था बस्दै गयो भने त्रि.वि. केन्द्रीय पुस्तकालयको प्रमुख लाइब्रेरियन वा कुनै पनि पुस्तकालय सम्बन्धी पदको लागि पुस्तकालय विज्ञानको योग्यता नभएपनि हुने हुन गई पुस्तकालय पेशानै खतरामा पर्न जाने डर भयो । पुस्तकालय पेशाको प्रतिष्ठा बिरूद्ध र नियम कानूनको बिरूद्धको यो निर्णय र विधि बिरूद्ध हामीले आवाज उठायौ । सेवा आयोग बिरूद्ध समेत उजुरी दियौ । विरोध जनायौं । यो विरोध पद पाउने वा खाने व्यक्तिको बिरूद्ध थिएन । पुस्तकालय पेशाको प्रतिष्ठाको लागि अनियमितता गर्ने सम्बन्धित् विश्वविद्यालयको कार्यालय विरूद्ध हामीले यो संघर्ष पनि डटेर गर्‍यौं । सेवा आयोगको अध्यक्ष विरूद्ध पनि लड्यौं ।
काठमाडौं स्थित अमेरिकी पुस्तकालयको अभिरूची, सहयोग र आयोजनामा जम्मा भएका लाइब्रेरियन विशेषण जोडिएका पुस्तकालयमा काम गर्ने महानुभावहरूको समूहको बिच २०२७ साल तिर एक पुस्तकालय संघ खडा गरियो । सो वेला शान्ति मिश्र सुत्केरी विदामा घरमा रहेकी थिइन् । एक भूतपूर्व मन्त्रीको अध्यक्षतामा पुस्तकालय संघ खडा गरी सो भेलामा अनुपस्थित शान्ति मिश्रलाई सम्मानका साथ उपाध्यक्ष पनि बनाइयो । सोवेला मुलुक भरी जम्मा ५-७ जना मात्र पुस्तकालय विज्ञानमा योग्यता प्राप्त ब्यक्तिहरू थिए । पुस्तक संग्रह र पुस्तकालयको फरकता देखाई, पुस्तकालयका व्यावसायिक कर्मचारी र सहयोगी कर्मचारीहरूको फरकता देखाई आधुनिक पुस्तकालयको विकास र पुस्तकालय पेशाको प्रतिष्ठा बढाउनुनै सो वेलाको समयको माग थियो । यसैले आफनो अनुपस्थितिमा आफनो मर्यादा पाएर पनि यस किसिमको अब्यवसायिक पुस्तकालय संघ Non-professional Library Association सम्मिलित भएर पुस्तकालय र पुस्तकालय पेशाको प्रतिष्ठा बढनुको सट्टा झन घटन जाने बिचार हामीमा रहयो । हामीमा रह्यो । यसैले आफूलाई प्राप्त उपाध्यक्ष पदको लागि धन्यवाद प्रदान गरी शान्ति मिश्र सो संघवाट अलगिन् । शान्ति मिश्रको यो कदम पनि पुस्तकालय पेशाको प्रतिष्ठा जोगाउनुकै लागि थियो ।
यी सबै विषयहरूको विस्तृत विवरण माथि उल्लिखित पुस्तकहरूमा दिइएका छन् । यी भन्दा धेरै ठूल ठूला अरू अनगिन्ति संघर्षका यहाँ चर्चा नगरिएका बिषयहरू छन् । सही पुस्तकालय नीति र व्यवस्थाको लागि तात्कालिन  उपकुलपति लगायतका त्रिबिका  उच्चपदाधिकारीहरू र त्रि.वि. प्रशासनको बिरूद्ध हामी लडेको  र यसरी लड़ी जिती पुस्तकालयमा व्यवस्था बसालेको संघर्षको कहानी हाम्रो पुस्तकमा छ । यी सवै कुराहरू कम ठूला आँट र निस्वार्थभावले गरिएका होइनन् । आफनो अन्तस्करणले देखेको कुरामा आफ्नो जिमेवारीमा रहेको संस्थाको हितको लागि आफ्नै भाग्य, दुर्भाग्य कोर्ने शक्तिशाली हाकिमहरूको विरूद्ध पनि कडा आवाज उठाउनु आफ्नो संस्थाप्रति कमठूलो प्रेम र बफादारिता होइन । हाम्रा यी संघर्षहरू कुनै व्यक्तिगत लाभ, सुविधा वा स्वार्थका लागि होइनन्; बरू पुस्तकालय पेशाको मान, मर्यादा, व्यावसायिक निष्ठा, इमानदारी र व्यावसायिक मापदण्डहरूको संरक्षण तथा संवद्र्धन गर्न र आधुनिक पुस्तकालय सेवाको विकासलाई अघि बढाउन गरिएका निस्वार्थ कामहरू हुन् भन्ने कुरा बुझ्न जोकोही सज्जनलाई गाह्रो नहोला ।
शान्ति मिश्रले र शान्ति मिश्रसँग सहयात्रामा रहदा मैले अर्थात हामीले आफनो ब्यक्तिगत फायदा वेफायदा हित अहितको कुनै पर्वाह नगरी आधुनिक पुस्तकालयको विकास र पुस्तकालय पेशाको अभिवृद्धिका लागि काम गर्न कुनै कसर बाँकी राखेनौं । तरपनि हामीबाट हाम्रो पुस्तकालय विकास र पुस्तकालय पेशाको प्रतिष्ठाको लागि गरेको प्रयास र संघर्षबाट आफनो स्वार्थमा वाधा पर्न गई यही कारणले वा अन्जानमा हामीवाट हुनगएको कुनै कुराले हानी नोक्सानी हुन गई वा ईष्र्या, द्वेष मात्रले वा विना कारण वाख्राको वाघ वा घाँसको चौपाया जस्तै शत्रु बनेका हामीले गरेको निर्विवाद उपलब्धी र निस्वार्थ सेवामा पनि  दोष देख्ने पनि जरूर छन्, हुन्छन् । यसै कममा कुनै महानुभावले  भ्रमै भमको कथा बुनी  ‘धेरै पछि शान्ति मिश्रले अदालतवाट सफा पाइन्’ भन्ने बाक्य समेत लेख्न पुगेको देखिन्छ । यद्यपि शान्ति मिश्रलाई आजसम्म कुनै अदालतमा मुद्दा लागेको इतिहास छैन ।  आफू झूल भित्र बस्दा पनि कानको नजिक आई कराउन आउने लामखुट्टे हुने जस्तै यो कुनै आश्चर्यको कुरा त होइन । भारतको महान नेता महात्मा गान्धी अमेरिकाको महान नेता मार्टिन लुथर किङ जस्ता अहिंसाको पुजारीलाई पनि गोली ठोक्ने भएको संसारमा यस्ता कुराहरू भइरहनु कुनै  ठूलो कुरा त होइन । तर पनि यस किसिमका कुनै पनि किसिमका कुराहरूको  सत्यवोध चाहनेका लागि कुनै दिन हामी यो संसारमा नरहदापनि हाम्रा माथिका पुस्तकहहरूको अध्ययनबाट स्पष्ट अवगत हुने म विश्वास गर्छु ।
 narayanshanti70@gmail .com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा असंख्य लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग  कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।