Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली संस्कृतिमा साउन १५. खिर खाने दिन।

१६ शनिबार , श्रावण २०८३७ घण्टा अगाडि

नेपाली संस्कृतिमा साउन १५. खिर खाने दिन।

खिर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा खिरको प्रचलन चौधौं शताब्दीमा चीनबाट सुरु भएको हो भन्ने इतिहास पाइन्छ । चीन पछि सार्क राष्ट्रहरू हुँदै पश्चिमी देशहरूमा समेत यसको प्रचलन सुरु भएको मानिन्छ । दक्षिण भारत, मालदिभ्स र थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दुधबाट खिर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दुध तथा दुग्धजन्य पदार्थ मनपर्ने भएकाले खिरको प्रचलन आएको हो भन्ने किम्बदन्ती पाइन्छ । त्यस्तै, प्राचीन कालदेखि नै पितृकार्यमा समेत दुध चढाउने, दुधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवानकै पालादेखि खिर खाने चलन चलिआएको र खिरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्ने कुरा पाइन्छ । यसबाट खिरको निकै ऐतिहासिक परिचर्चा भएको देखिन्छ ।
खिरलाई नेपाली शब्दकोषमा दुधमा पकाइएको भात वा दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस र तस्मै भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै संस्कृत भाषामा खिर शब्द क्षीरमा भन्ने शब्दबाट बनेको हो ।
यसको अर्थ दुध र अन्नबाट बनेको परिकार भन्ने बुझिन्छ । हुनपनि खिर बनाउँदा दुधमा चामल राखेर त्यसमा चिनी, घिउ, नरिवल, किसमिस, काजु, छोकडा तथा अन्य विशेष मसलाहरू राखेर तयार गरिन्छ । साउनमा प्रशस्त हरियो घाँसपात पाइने र पशुले पनि प्रशस्त दुध दिने हुँदा दुधको अभाव हुँदैन । यसरी दुध घिउ प्रशस्त पाइने, खेत रोपेर सकिएको समय, पानी परिरहेको र स्वच्छ वातावरण भएको समयमा खिर खाने चलन आफैमा राम्रो छ । बच्चा, वृद्ध र बिरामी समेतले विशेष समस्या बाहेक अन्य अवस्थामा प्रायः खिर सजिलै पचाउन सक्ने हुँदा समस्या आउँदैन र खिरले पोषक तत्व प्रदान गर्छ, जसले वर्षायाममा लाग्नसक्ने विभिन्न रोगहरू विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । खिर चामल, साबुदाना, सेवइ, मकै र गाजर जस्ता खाद्यपदार्थ दुधमा राखी तयार गर्न सकिन्छ जुन पोषणका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । राम्रो दुधमा ६० प्रतिशतसम्म क्यालोरी पाइने, पोटासियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, सोडियम, म्याग्नेसियम जस्ता खनिज पदार्थ, भिटामिन, चिल्लो पदार्थ र प्रोटिन पाइने हुँदा स्वास्थ्यका लागि यसरी दुधमा अन्न मिसाइ खिर बनाएर खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुन्छ । यसका साथै यसमा राखिने विभिन्न मसलाहरूले खिर थप स्वादिलो र पौष्टिक समेत बन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वर्षायाममा लाग्ने विभिन्न सङ्क्रामक रोग लाग्नबाट सुरक्षा प्रदान गरी शरीर ह्ृष्टपुष्ट राख्न मद्धत पु¥याउँछ । यसका साथै साउनमा मासु, माछा, मदिरा नखाइ व्रत बस्ने र आँप, नासपाती, कटहर जस्ता फलफूल र खिर जस्ता सात्विक भोजन खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुने गर्दछ जुन शरीरका लागि थप सकारात्मक हुन्छ ।
कतिपय अवस्थामा खिर खान नहुने समस्या पनि हुन्छ । मधुमेह हुँदा गुलियो
खिर र बढी कार्बोहाइड्रेट खान हुँदैन, ग्यास्ट्राइटिस हुनेहरूले धेरै खान हुँदैन, पाचन
प्रणाली कमजोर भएका बखत, बच्चाले दिसापखाला गरिरहेको भए खिर खुवाउनु
हुँदैन । कतिपयलाई दुधको ल्याक्टोजले असर गरी पेटमा समस्या ल्याउने र अपच
हुने समस्या छ भने त्यस्ता व्यक्तिले दुधमा पकाएको खिर सेवन गर्नु हुँदैन तर
नरिवल वा अन्य दुधमा पकाएको खान मिल्छ । यी अवस्था बाहेक अन्यथा अन्य
सबैलाई खिर खान हुन्छ । खिर खाँदा बढी चिनी, बढी घिउ, तरकारी र अचारसँग
खान हुँदैन । किनकि चिनी सबैभन्दा हानिकारक तत्व हो जुन मोटा मानिस र
मधुमेह भएकाले खान हुँदैन । घिउ मुटुरोगी, मोटा मानिस र पेटका रोगीहरूले खानु

हुँदैन । त्यस्तै दुधसँग नुन मिसाएर कदापि खानु हुँदैन किनकि नुन र दुध, अनि
दुध र अमिलो पदार्थ सेवन गर्दा विरुद्ध आहार हुन्छ । यसले पेटमा गडबडी
ल्याउने, अपच हुने, पेट दुख्ने र उल्टी आउने गराउन सक्छ । यदि यतिकुरा विचार
गरेर खिर खाइयो भने त्यसले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र
शरीरमा आवश्यक पौष्टिक तत्व समेत प्राप्त हुन्छ ।
साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महत्वपूर्ण महिना
भनिन्छ भने यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै,
साउन महिनालाई भगवान शिवको प्रिय महिना भनिन्छ भने भगवान विष्णुको
शयनमा रहने महिना हो । धार्मिक कारण मात्र नभएर यो महिनालाई विशेष
महत्वका साथ विभिन्न सम्प्रदायहरूले पनि मान्ने गरेका छन् । वर्षात्को उच्च
समय पर्ने यो महिनामा नेपाली संस्कृतिमा भने महिलाहरूले हरियो चुरा, कपडा र
मेहन्दी लगाउने गर्दछन् । साथै साउन महिनादेखि नेपाली परम्परामा आधारित
विभिन्न चाडपर्वहरू आगमन हुने र खुसी तथा रौनक छाउने विश्वास गरिन्छ ।
साउन महिनामा त्यति मात्र नभई केही धार्मिक समूहहरूले उपवास बस्ने, ध्यान जप
गर्ने, बोलबम भन्दै तीर्थयात्रा समेत जाने गर्दछन् भने भगवान शिवको प्रिय बार
साउने सोमबारका दिन विभिन्न धार्मिक क्षेत्रहरूमा त मेला नै लाग्ने गर्छ ।
भारतको हरिद्वारमा भने साउन महिनाभर काँवण यात्रा हुनेगर्छ । जुन यात्रामा
तीर्थालुहरू निकै ठुलो संख्यामा देशका विभिन्न स्थानहरूबाट जाने गर्छन् । साउन
महिनामा यति मात्र नभई अर्को महत्वपूर्ण महत्व छ, त्यो हो–साउन १५ ।
आज साउन १५ अर्थात् नेपाली समाजमा आजको दिनलाई खिर खाने दिन पनि
भन्ने गरिन्छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यही
विविधताभित्र नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने शक्ति हाम्रा चाडपर्व, संस्कार र
परम्परामा निहित छ । यस्तै मौलिक परम्परामध्ये साउन १५ विशेष महत्व बोकेको

दिन हो । यस दिनलाई नेपाली समाजले ‘खिर खाने दिन’ का रूपमा मनाउँदै
आएको छ ।
साउन १५ नेपाली समाजमा ‘खिर खाने दिन’ का रूपमा परिचित भए पनि यसको
अर्थ केवल एउटा परिकार खाने दिनमा सीमित छैन । यो कृषि, संस्कृति, परिवार,
परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा विकसित भएको सांस्कृतिक पर्व हो
। धान रोपाइँको मुख्य काम सकिएपछि किसानले श्रमको सम्मानस्वरूप परिवारसँग
बसेर खिर खाने परम्परा रहेको मानिन्छ । समयसँगै यसले धार्मिक, सामाजिक र
पोषणसम्बन्धी महत्व पनि ग्रहण गरेको छ ।
साउन महिना आफैमा हिन्दू धर्मावलम्बीका लागि पनि विशेष आस्थाको समय हो ।
भगवान् शिवको आराधना, सात्विक भोजन, हरियालीसँगको सम्बन्ध र संयमित
जीवनशैलीले यो महिनालाई आध्यात्मिक रूपमा समेत महत्वपूर्ण बनाएको छ ।
यद्यपि साउन १५ कुनै एक धर्म वा समुदायको मात्र पर्व होइन । यो नेपाली
समाजको साझा सांस्कृतिक सम्पदा हो, जहाँ परिवार, आफन्त र छिमेकी एकै ठाउँमा
बसेर आत्मीयता साट्ने अवसर प्राप्त गर्छन् ।
तर बदलिँदो समयसँगै यस्ता मौलिक परम्पराहरूको मर्म कमजोर हुँदै गएको
अनुभूति हुन थालेको छ । सामाजिक सञ्जालमा तस्बिर राख्ने औपचारिकता बढेको
छ, तर संस्कृतिको वास्तविक सन्देश बुझ्ने प्रयास घट्दै गएको देखिन्छ ।
बजारमुखी जीवनशैली, विदेशी खानाको प्रभाव र व्यस्त दिनचर्याले परम्परागत
नेपाली खानाका परिकारलाई समेत ओझेलमा पार्न थालेको छ । संस्कृति केवल
मनाउने वस्तु होइन, पुस्तान्तरण गरिने सम्पत्ति पनि हो ।
हामी संस्कृति र संस्कारमा साँच्चीकै धनी छौं, वर्षका विभिन्न महिनामा एक विशेष
परिकार खाने चलन रहँदै आएको छ । असार १५ मा दही चिउरा खाने, साउन १५

मा खिर खाने, मंसिर १५ मा न्वागी खाने, माघमा खिँचडी खाने तथा पुस १५ मा
घिउ खट्टे खाने चलन छ । यसका पछाडि धार्मिक मान्यता मात्र होइन सांस्कृति
महत्व रहेका छन् ।
खिर आफै तयारी खाना होइन । यसलाई पौष्टिक तत्वले भरिएको दुधमा विभिन्न
सामग्री राखेर तयार गरिन्छ । त्यसैले खिरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने
गर्दछ । बर्षाको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता
रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खिर खाने गरेको
पाइन्छ । नेपालीको भान्सामा दूध–भात प्रमुख खाना, सबैले रुचाउने खाना र नटुट्ने
खाना हो भन्दा हुन्छ । यही हाम्रो सर्वप्रिय दूधभातसँग सख्खर अथवा गुँडको
संयुक्त पाकपछि तयार हुने परिकार हो– खिर । नेपाली चलनचल्तीमा खिर विभिन्न
उत्सव, चाडवाड, पूजाआजा, विवाह–व्रतबन्धमा महत्वका साथ राख्ने गरिन्छ । यो
नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक
पकवान हो ।
नयाँ पुस्तालाई हाम्रो समाज र संस्कार तथा संस्कृतिको ज्ञान दिनु जरुरी छ ।
मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने
कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि
अग्रपंक्तिमा आउने गर्दछ । दुधबाट बनेका परिकार एवं अन्न र दूधको अनुपम
समिश्रण तयार भएका परिकार हाम्रो शरीरका लागि चाहिने पोषण धेरै हुन्छ ।
त्यसैले दुध र साउन १५ मा खाने खिरको परम्पराको संरक्षण भनेको एउटा दिनको
परम्परा जोगाउनु मात्र होइन, नेपाली सभ्यता, कृषि संस्कृति र सामाजिक सद्भावको
संरक्षण गर्नु पनि हो । आधुनिकताको यात्रासँगै मौलिक संस्कृतिलाई पनि समान
महत्व दिन सक्यौँ भने मात्र हाम्रो पहिचान दीर्घकालसम्म जीवन्त रहनेछ । त्यसैले

साउन १५ लाई केवल खिर खाने दिनका रूपमा होइन, नेपाली संस्कृति, श्रम, एकता
र मौलिकताको उत्सवका रूपमा आत्मसात् गरिनुपर्छ ।
मौसम अनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी
नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र
ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ । आजका बच्चाले खिर के हो, चामल के हो, कसरी
बन्छ, किन यस्तो खाना खाने भन्नेकुरा बुझेको छैन । किनकि यस्ता खानाको
ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछा मासुले ओगटेका छन् भने दुध,
दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् । अहिले त
प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ । यस्तो अवस्थामा
शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी
व्यक्ति दीर्घ रोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ
। यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले
विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत
अघिल्लो पुस्ताले ध्यान दिनुपर्छ, अन्यथा धर्म, अध्यात्म र संस्कृति लोप हुन बेर
लाग्दैन ।