
खिर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा खिरको प्रचलन चौधौं शताब्दीमा चीनबाट सुरु भएको हो भन्ने इतिहास पाइन्छ । चीन पछि सार्क राष्ट्रहरू हुँदै पश्चिमी देशहरूमा समेत यसको प्रचलन सुरु भएको मानिन्छ । दक्षिण भारत, मालदिभ्स र थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दुधबाट खिर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दुध तथा दुग्धजन्य पदार्थ मनपर्ने भएकाले खिरको प्रचलन आएको हो भन्ने किम्बदन्ती पाइन्छ । त्यस्तै, प्राचीन कालदेखि नै पितृकार्यमा समेत दुध चढाउने, दुधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवानकै पालादेखि खिर खाने चलन चलिआएको र खिरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्ने कुरा पाइन्छ । यसबाट खिरको निकै ऐतिहासिक परिचर्चा भएको देखिन्छ ।
खिरलाई नेपाली शब्दकोषमा दुधमा पकाइएको भात वा दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस र तस्मै भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै संस्कृत भाषामा खिर शब्द क्षीरमा भन्ने शब्दबाट बनेको हो ।
यसको अर्थ दुध र अन्नबाट बनेको परिकार भन्ने बुझिन्छ । हुनपनि खिर बनाउँदा दुधमा चामल राखेर त्यसमा चिनी, घिउ, नरिवल, किसमिस, काजु, छोकडा तथा अन्य विशेष मसलाहरू राखेर तयार गरिन्छ । साउनमा प्रशस्त हरियो घाँसपात पाइने र पशुले पनि प्रशस्त दुध दिने हुँदा दुधको अभाव हुँदैन । यसरी दुध घिउ प्रशस्त पाइने, खेत रोपेर सकिएको समय, पानी परिरहेको र स्वच्छ वातावरण भएको समयमा खिर खाने चलन आफैमा राम्रो छ । बच्चा, वृद्ध र बिरामी समेतले विशेष समस्या बाहेक अन्य अवस्थामा प्रायः खिर सजिलै पचाउन सक्ने हुँदा समस्या आउँदैन र खिरले पोषक तत्व प्रदान गर्छ, जसले वर्षायाममा लाग्नसक्ने विभिन्न रोगहरू विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । खिर चामल, साबुदाना, सेवइ, मकै र गाजर जस्ता खाद्यपदार्थ दुधमा राखी तयार गर्न सकिन्छ जुन पोषणका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । राम्रो दुधमा ६० प्रतिशतसम्म क्यालोरी पाइने, पोटासियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, सोडियम, म्याग्नेसियम जस्ता खनिज पदार्थ, भिटामिन, चिल्लो पदार्थ र प्रोटिन पाइने हुँदा स्वास्थ्यका लागि यसरी दुधमा अन्न मिसाइ खिर बनाएर खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुन्छ । यसका साथै यसमा राखिने विभिन्न मसलाहरूले खिर थप स्वादिलो र पौष्टिक समेत बन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वर्षायाममा लाग्ने विभिन्न सङ्क्रामक रोग लाग्नबाट सुरक्षा प्रदान गरी शरीर ह्ृष्टपुष्ट राख्न मद्धत पु¥याउँछ । यसका साथै साउनमा मासु, माछा, मदिरा नखाइ व्रत बस्ने र आँप, नासपाती, कटहर जस्ता फलफूल र खिर जस्ता सात्विक भोजन खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुने गर्दछ जुन शरीरका लागि थप सकारात्मक हुन्छ ।
कतिपय अवस्थामा खिर खान नहुने समस्या पनि हुन्छ । मधुमेह हुँदा गुलियो
खिर र बढी कार्बोहाइड्रेट खान हुँदैन, ग्यास्ट्राइटिस हुनेहरूले धेरै खान हुँदैन, पाचन
प्रणाली कमजोर भएका बखत, बच्चाले दिसापखाला गरिरहेको भए खिर खुवाउनु
हुँदैन । कतिपयलाई दुधको ल्याक्टोजले असर गरी पेटमा समस्या ल्याउने र अपच
हुने समस्या छ भने त्यस्ता व्यक्तिले दुधमा पकाएको खिर सेवन गर्नु हुँदैन तर
नरिवल वा अन्य दुधमा पकाएको खान मिल्छ । यी अवस्था बाहेक अन्यथा अन्य
सबैलाई खिर खान हुन्छ । खिर खाँदा बढी चिनी, बढी घिउ, तरकारी र अचारसँग
खान हुँदैन । किनकि चिनी सबैभन्दा हानिकारक तत्व हो जुन मोटा मानिस र
मधुमेह भएकाले खान हुँदैन । घिउ मुटुरोगी, मोटा मानिस र पेटका रोगीहरूले खानु
हुँदैन । त्यस्तै दुधसँग नुन मिसाएर कदापि खानु हुँदैन किनकि नुन र दुध, अनि
दुध र अमिलो पदार्थ सेवन गर्दा विरुद्ध आहार हुन्छ । यसले पेटमा गडबडी
ल्याउने, अपच हुने, पेट दुख्ने र उल्टी आउने गराउन सक्छ । यदि यतिकुरा विचार
गरेर खिर खाइयो भने त्यसले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र
शरीरमा आवश्यक पौष्टिक तत्व समेत प्राप्त हुन्छ ।
साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महत्वपूर्ण महिना
भनिन्छ भने यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै,
साउन महिनालाई भगवान शिवको प्रिय महिना भनिन्छ भने भगवान विष्णुको
शयनमा रहने महिना हो । धार्मिक कारण मात्र नभएर यो महिनालाई विशेष
महत्वका साथ विभिन्न सम्प्रदायहरूले पनि मान्ने गरेका छन् । वर्षात्को उच्च
समय पर्ने यो महिनामा नेपाली संस्कृतिमा भने महिलाहरूले हरियो चुरा, कपडा र
मेहन्दी लगाउने गर्दछन् । साथै साउन महिनादेखि नेपाली परम्परामा आधारित
विभिन्न चाडपर्वहरू आगमन हुने र खुसी तथा रौनक छाउने विश्वास गरिन्छ ।
साउन महिनामा त्यति मात्र नभई केही धार्मिक समूहहरूले उपवास बस्ने, ध्यान जप
गर्ने, बोलबम भन्दै तीर्थयात्रा समेत जाने गर्दछन् भने भगवान शिवको प्रिय बार
साउने सोमबारका दिन विभिन्न धार्मिक क्षेत्रहरूमा त मेला नै लाग्ने गर्छ ।
भारतको हरिद्वारमा भने साउन महिनाभर काँवण यात्रा हुनेगर्छ । जुन यात्रामा
तीर्थालुहरू निकै ठुलो संख्यामा देशका विभिन्न स्थानहरूबाट जाने गर्छन् । साउन
महिनामा यति मात्र नभई अर्को महत्वपूर्ण महत्व छ, त्यो हो–साउन १५ ।
आज साउन १५ अर्थात् नेपाली समाजमा आजको दिनलाई खिर खाने दिन पनि
भन्ने गरिन्छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यही
विविधताभित्र नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने शक्ति हाम्रा चाडपर्व, संस्कार र
परम्परामा निहित छ । यस्तै मौलिक परम्परामध्ये साउन १५ विशेष महत्व बोकेको
दिन हो । यस दिनलाई नेपाली समाजले ‘खिर खाने दिन’ का रूपमा मनाउँदै
आएको छ ।
साउन १५ नेपाली समाजमा ‘खिर खाने दिन’ का रूपमा परिचित भए पनि यसको
अर्थ केवल एउटा परिकार खाने दिनमा सीमित छैन । यो कृषि, संस्कृति, परिवार,
परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा विकसित भएको सांस्कृतिक पर्व हो
। धान रोपाइँको मुख्य काम सकिएपछि किसानले श्रमको सम्मानस्वरूप परिवारसँग
बसेर खिर खाने परम्परा रहेको मानिन्छ । समयसँगै यसले धार्मिक, सामाजिक र
पोषणसम्बन्धी महत्व पनि ग्रहण गरेको छ ।
साउन महिना आफैमा हिन्दू धर्मावलम्बीका लागि पनि विशेष आस्थाको समय हो ।
भगवान् शिवको आराधना, सात्विक भोजन, हरियालीसँगको सम्बन्ध र संयमित
जीवनशैलीले यो महिनालाई आध्यात्मिक रूपमा समेत महत्वपूर्ण बनाएको छ ।
यद्यपि साउन १५ कुनै एक धर्म वा समुदायको मात्र पर्व होइन । यो नेपाली
समाजको साझा सांस्कृतिक सम्पदा हो, जहाँ परिवार, आफन्त र छिमेकी एकै ठाउँमा
बसेर आत्मीयता साट्ने अवसर प्राप्त गर्छन् ।
तर बदलिँदो समयसँगै यस्ता मौलिक परम्पराहरूको मर्म कमजोर हुँदै गएको
अनुभूति हुन थालेको छ । सामाजिक सञ्जालमा तस्बिर राख्ने औपचारिकता बढेको
छ, तर संस्कृतिको वास्तविक सन्देश बुझ्ने प्रयास घट्दै गएको देखिन्छ ।
बजारमुखी जीवनशैली, विदेशी खानाको प्रभाव र व्यस्त दिनचर्याले परम्परागत
नेपाली खानाका परिकारलाई समेत ओझेलमा पार्न थालेको छ । संस्कृति केवल
मनाउने वस्तु होइन, पुस्तान्तरण गरिने सम्पत्ति पनि हो ।
हामी संस्कृति र संस्कारमा साँच्चीकै धनी छौं, वर्षका विभिन्न महिनामा एक विशेष
परिकार खाने चलन रहँदै आएको छ । असार १५ मा दही चिउरा खाने, साउन १५
मा खिर खाने, मंसिर १५ मा न्वागी खाने, माघमा खिँचडी खाने तथा पुस १५ मा
घिउ खट्टे खाने चलन छ । यसका पछाडि धार्मिक मान्यता मात्र होइन सांस्कृति
महत्व रहेका छन् ।
खिर आफै तयारी खाना होइन । यसलाई पौष्टिक तत्वले भरिएको दुधमा विभिन्न
सामग्री राखेर तयार गरिन्छ । त्यसैले खिरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने
गर्दछ । बर्षाको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता
रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खिर खाने गरेको
पाइन्छ । नेपालीको भान्सामा दूध–भात प्रमुख खाना, सबैले रुचाउने खाना र नटुट्ने
खाना हो भन्दा हुन्छ । यही हाम्रो सर्वप्रिय दूधभातसँग सख्खर अथवा गुँडको
संयुक्त पाकपछि तयार हुने परिकार हो– खिर । नेपाली चलनचल्तीमा खिर विभिन्न
उत्सव, चाडवाड, पूजाआजा, विवाह–व्रतबन्धमा महत्वका साथ राख्ने गरिन्छ । यो
नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक
पकवान हो ।
नयाँ पुस्तालाई हाम्रो समाज र संस्कार तथा संस्कृतिको ज्ञान दिनु जरुरी छ ।
मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने
कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि
अग्रपंक्तिमा आउने गर्दछ । दुधबाट बनेका परिकार एवं अन्न र दूधको अनुपम
समिश्रण तयार भएका परिकार हाम्रो शरीरका लागि चाहिने पोषण धेरै हुन्छ ।
त्यसैले दुध र साउन १५ मा खाने खिरको परम्पराको संरक्षण भनेको एउटा दिनको
परम्परा जोगाउनु मात्र होइन, नेपाली सभ्यता, कृषि संस्कृति र सामाजिक सद्भावको
संरक्षण गर्नु पनि हो । आधुनिकताको यात्रासँगै मौलिक संस्कृतिलाई पनि समान
महत्व दिन सक्यौँ भने मात्र हाम्रो पहिचान दीर्घकालसम्म जीवन्त रहनेछ । त्यसैले
साउन १५ लाई केवल खिर खाने दिनका रूपमा होइन, नेपाली संस्कृति, श्रम, एकता
र मौलिकताको उत्सवका रूपमा आत्मसात् गरिनुपर्छ ।
मौसम अनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी
नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र
ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ । आजका बच्चाले खिर के हो, चामल के हो, कसरी
बन्छ, किन यस्तो खाना खाने भन्नेकुरा बुझेको छैन । किनकि यस्ता खानाको
ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछा मासुले ओगटेका छन् भने दुध,
दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् । अहिले त
प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ । यस्तो अवस्थामा
शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी
व्यक्ति दीर्घ रोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ
। यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले
विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत
अघिल्लो पुस्ताले ध्यान दिनुपर्छ, अन्यथा धर्म, अध्यात्म र संस्कृति लोप हुन बेर
लाग्दैन ।


