Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कृतज्ञताको महत्व र कृतघ्नताको दुष्परिणाम

०३ आइतबार , श्रावण २०८३३ दिन अगाडि

कृतज्ञताको महत्व र कृतघ्नताको दुष्परिणाम

कृतज्ञता मानवताको सबैभन्दा सरल सद्गुण हो । यसको कुनै मूल्य लाग्दैन, यसको लागि कुनै दुखः पनि गर्नपर्दैन । तर यसले मानिसलाई प्रेरित गर्न, उठाउन र परिवर्तन गर्न अद्भुत शक्ति राख्छ । युरोप र अमेरिकामा—सानो सहयोग होस् वा ठूलो योगदान—धन्यबाद व्यक्त गर्ने संस्कृति दैनिक जीवनमै बसेको छ । ससाना कुरामा पनि धन्यवाद ज्ञापन गर्ने संस्कृति बालबालिकाले घरमै सिक्छन्, विद्यालयका पाठ्यपुस्तक, शिक्षक र सामाजिक व्यवहारले त्यसलाई अझ मजबुत बनाउँछन् । त्यहाँ ‘धन्यबाद’ भन्नु व्यक्तिको गरिमा घटाउने कुरा होइन; बरु दुवै पक्षको सुसंस्कृति र गरिमालाई पुष्टि गर्ने व्यवहारको रुपमा लिइएको देखिन्छ ।
युरोप , अमेरिकाको समाजमा ससाना कुरामा धन्यवाद दिने संस्कार नै जो कसैले समाज र राष्ट्रप्रति गरेको कुनैपनि प्रशसनीय कामको लागि पनि तुरुन्तै सराहना, प्रशंसा गरी कृतज्ञता ज्ञापन गर्ने संस्कार र संस्कृतिमा बिकसित भएको पनि देखिन्छ । कुनै लेख, भाषण, वा सार्वजनिक सेवामा गरिएको योगदानलाई पनि सम्मान, प्रशंसा र रचनात्मक टिप्पणीसहित स्वीकार गरिन्छ । यसैले मानिसहरूलाई अरूका लागि निरन्तर काम गर्न ऊर्जा मिल्छ । कृतज्ञता त्यहाँ सृजनशीलता, नवप्रवर्तन र सामाजिक प्रगतिलाई अघि बढाउने सांस्कृतिक इन्जिनजस्तै बनेको महसूस हुन्छ । तर यो भन्दा दुःख लाग्छ – नेपालमा, अर्थात् हामी कहाँ, यो इन्जिन अझै आइनसकेको हो कि ? भन्ने पनि महसूस हुन्छ ।
हामीलाई थाहा छ—हाम्रा समाजमा योगदान होइन, मान्छेको धन, शक्ति र पहुचको आधारमा मात्र मान–सम्मान गरिने चलन र संस्कारनै बढी देखिन्छ । कसैलाई धन्यवाद दिँदा आफू सानो देखिन्छु भन्ने सोच पनि अझै समाजमा बलियो भएको जस्तो पनि देखिन्छ । त्यसमाथि अर्को गम्भीर कमजोरी छ—नेपालमा प्रशंसा र कदर प्रायः योगदानका आधारमा होइन, निजी सम्बन्ध र सुविधाका आधारमा गरिन्छ । आफूलाई कुनै कुराले मनपरेको र आफूलाई कुनै कुराले फायदा र लाभ हुने ब्यक्तिलाई प्रशंसा गर्ने र महान ठहरÞ्याउने संस्कार हामी कहाँ बढी देखिन्छ । त्यस्तै मननपरेकोको असल काम, योगदान वा महानता पनि नदेख्ने मात्र होइन, अझै कृत्रिम दोष सृजना गरी हिलो छ्याप्ने संस्कार पनि उतिकै छ । यस किसिमको भावनात्मक पक्षपातले सच्चा उपलब्धिलाई छायामा पार्छ र हाम्रो नैतिक धरातललाई क्षत–विक्षत बनाउँछ ।
यस सन्दर्भमा मैले जीवनमा अनुभव गरेको सानो कुरा यहाँ लेख्न चाहन्छु । सन् १९७४ को एउटा घटना जुन अझै मेरो मनमा स्पष्ट सम्झनामा छ । मेरी दिवंगत पत्नी, शान्ति मिश्र र म—दुबै पेशाले उ बेला लाइब्रेरियनलाई अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयस्थित Encyclopedia of Library and Information Science शीर्षकको एक बिश्वप्रसिद्ध बिश्वकोशका सम्पादकले नेपालका पुस्तकालयहरूबारे एक लेख लेख्न अनुरोध गरे । । लेख लेख्न नमूनाको लागि चिली नामको देशको एउटा नमूना लेख पनि साथै पठाएको थियो, तर हामीलाई त्यो लेख राम्रो स्पष्ट, व्यवस्थित वा गम्भीर लागेन । यसैले हामीले सम्पादकको निर्देशन विपरीत आफ्नै शैली र नयाँ संरचनामा आफनै स्वविवेकले राम्रो हुने विचारले एउटा लेख तयार गरयौं र सम्मादकले उक्त लेख मन नपराए अन्तै कही छपाउला भन्ने विचार गरी सो लेख पठायौं । सम्पादकको निर्देशन बिपरितको संरचनामा लेख लेखिएकोले उक्त सम्पादकले उक्त लेख पुनर्लेखन गर्न भनिने हो कि ? भन्ने शङ्का र डर पनि मनमा थियो । तर १९७४ सेप्टेम्बर ५ मा आएको निम्न पत्रमा सम्पादकले हाम्रो लेखलाई “उदाहरणीय” (model article) भनी प्रशंसा गरी जवाफ फर्काए । त्यो पत्रले  कामको प्रशंसा गरेको मात्र होइन, हाम्रो पेशागत निर्णयलाई सम्मान दियो र भविष्यमा अझ राम्रो लेख्न अमूल्य प्रेरणा प्रदान ग¥यो । हामीले गहिरो प्रेरणा पायौँ । 
आफ्नो मुलुकमा खासगरी शक्तिशाली पदमा रहेका मानिसबाट यस्तो सभ्य प्रतिक्रिया आउने अपेक्षा म गर्न सक्दिन । यहाँ यस्ता मानिसहरू आफैलाई सर्वज्ञ जस्तै ठान्छन्—मानौँ सबै कुरा उनीहरूकै ज्ञानमा परिपूर्ण छ । तर युरोप र अमेरिकामा मानिसहरू आफ्ना कमजोरी स्वीकार गर्न र अरूका शक्तिलाई कदर गर्न तयार हुन्छन् । यही गुण नै त्यहाँको आधुनिक विकासको महत्वपूर्ण आधार मलाई लाग्छ । 
दृष्टान्तकोरुपमा यहाँ एउटा कुरा राख्न चाहन्छु । केही वर्षअघि People’s Review मा प्रकाशित — 1. A Tale of a Missionary Doctor and an Abandoned Child, 
2. A System of Bhagabanda,3.  Disfigured Democracy and Nepal — जस्ता मेरा लेखहरू मैले धेरै विदेशी मित्रहरू र  नेपाली साथीहरूलाई पठाएँ । तर नेपाली मित्रहरूबाट एक बाक्यको प्रतिक्रिया पनि आएन—न प्रशंसा, न आलोचना, न स्वीकारोक्ति ।
तर विदेशका साथीहरू—लेखक, प्राध्यापक, लाइब्रेरियन, सामाजिक कार्यकर्ताहरू—ले भने तत्क्षण प्रतिक्रिया पठाए । उनीहरुका शब्द बाक्यहरू आत्मीय, उत्साहप्रद र कृतज्ञताको संस्कृतिले भरिएका थिए ।
अमेरिका, इन्डियनाका एक टिभी प्रस्तोताले लेखे—“यो कथा चलचित्र बनाउन लायक छ ।”
एक लाइब्रेरियन सहकर्मीले लेख साझा गर्दै “अद्भुत लेख” भनिन् ।
पेनसिल्भेनियाकी एक पुरानी मित्रले मेरी प्रिय पत्नी शान्ति आज जीवित भएकी भए कति गर्व गर्थिन् भनेर भावुक अभिव्यक्ति लेखिन् ।
टेक्सास, न्युयोर्क, इन्डियाना—सबै ठाउँबाट उत्साह, स्नेह, र गम्भीर सोच सहितका प्रतिक्रिया पाएँ ।
यी प्रतिक्रियाहरू केवल प्रशंसा मात्र  होइनन् ; तिनीहरूको कुनै पनि साना वा ठूला कामलाई उचित मूल्याङ्कन र सम्मान गर्ने, योगदानको कदर गर्ने प्रशंसनीय संस्कार र संस्कृति जस्तो मलाई लाग्छ । 
हाम्रो मुलुकमा भने यो स्थिति र संस्कार बिल्कुल फरक छ  । २०३६ सालमा प्रकाशित मेरो सानो पुस्तक त्रिभुवन विश्वविद्यालय र शिक्षा तथा राष्ट्रिय शिक्षा योजनासम्बन्धी मेरा धेरै प्रकाशित लेखहरू नीति–निर्माताहरू, शिक्षकहरू,लेखकहरू र पछि बनेका धेरै आयोगहरूले गहिरोसँग प्रयोग गरेको म महसूस गर्छु । । तर जस जसले मेरो कामबाट लाभ उठाए, उनीहरूकै प्रतिवेदन वा सन्दर्भसूचीमा मेरो नामसमेत उल्लेख भएको म देख्दिन । 
उनीहरूले मेरा विचार त लिए, तर श्रेय दिन चाहेनन् । युरोप वा अमेरिकामा यो असम्भवजस्तै हुन्छ । त्यहाँ श्रेय दिनु नै शैक्षिक अनुशासन र नैतिक कर्तव्य मानिन्छ । तर नेपालमा कदरभन्दा बढी ईष्र्या, असुरक्षा, वा अरूलाई मान्यता दिँदा आफू कमजोर देखिन्छु भन्ने डर मान्छेमा रहेको महसूस हुन्छ
हामीकहाँ पनि विभिन्न क्षेत्रमा असंख्य योग्य व्यक्तिहरू छन्— लेखक, शिक्षक, प्रशासक, कलाकार, राजनैतिक ब्यक्ति, इन्जिनियर, चिकित्सक, सुरक्षा कर्मचारी, पत्रकार, साहित्यकार—जसले राष्ट्र निर्माणमा ठूलो योगदान दिएका छन् । तर धेरैजसो मानिसहरू कसैद्वारा नचिनिने, नमानिने, र आफ्नै संस्थाद्वारा बिर्सिइएको अवस्थामा संसारबाट विदा हुन्छन् । यो कस्तो बिडम्बना ।
कतिपय सन्दर्भमा इतिहासका अविस्मरणीय योगदानकर्ताहरूलाई पनि सम्मान दिइँदैन । वडा महाराज पृथ्वीनारायण शाह, श्री ५  त्रिभुवन, श्री ५ महेन्द्र—नेपालको पहिचान, लोकतन्त्र, र अधिसंरचना निर्माणमा निर्णायक ऐतिहासिक स्मरणीय व्यक्तिहरु हुन् ।  मुलुकमा  सबै राजतन्त्रकै पक्षपाती हुनुपर्छ भन्ने कुरा होइन । तर इतिहासमा गरेको योगदान स्वीकार गर्न चाहिँ शिष्ट समाजको पहिचान हो । तर यो सामान्य कर्तव्य पनि हाम्रो मुलुकमा हराउँदैछ ।
जहाँ कृतज्ञता पलाउँदैन, त्यहाँ आक्रोश बढ्छ ।
जहाँ कदर गर्न पर्नेको कदर गरिन्दैन, त्यहाँ प्रतिभा सुक्छ ।
जहाँ मान्यता अभाव हुन्छ, त्यहाँ प्रगति रोकिन्छ ।
जहाँ योग्यता र दक्षताको को सट्टा  शक्ति, नाता, सम्बन्धले न्याय निर्धारण गर्छ, त्यहाँ समाज अघि बढन सक्तैन ।
यदि हामीले कृतज्ञताको सट्टा  ‘कृतघ्नता यो संस्कृति—लाई निरन्तर पोषित गरिरह्यौँ भने, देशले प्रतिभालाई गुमाउनेछ, सदा बदमास, टपर्टुय्याँले शासन गर्नेछ र राष्ट्रिय प्रगति कहिल्यै हासिल हुँदैन । कृतज्ञता कुनै साधारण कुरा होइन; यो सभ्य समाजको प्राण–शक्ति हो । जसले योगदान गर्छ, उसलाई सम्मान गर्नु राष्ट्रलाई सम्मान गर्नु हो । नेपाल फेरि उठ्न सक्छ—तर त्यो तब मात्र सम्भव हुन्छ जब हामी योग्यता लाई पक्षपातभन्दा माथि राख्न सिक्छौँ, प्रशंसा लाई ईष्र्याभन्दा माथि राख्न सिक्छौँ, र सत्यलाई निजी भावनाभन्दा माथि राख्न सक्छौँ । राष्ट्र निर्माणको यात्रा एउटा सरल तर कालजयी सद्गुणबाट सुरू हुन्छ । त्यो हो– सत्यता, सम्मान, र हृदयको गहिराइबाट भनिएको ‘धन्यबाद’ र “कृतज्ञता“ । नेपालको भविष्य यसै कुराले निर्धारण गर्नेछ—हामीले यो सद्गुण पुनर्जीवित गर्छौँ कि यसलाई अझ गहिरो भूमिमा पुरिदिन्छौँ ।
इमेलः narayanshanti70@gmail .com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा असंख्य लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग  कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।