Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

स्वर्गीय शान्ति मिश्रको स्मृतिमा प्रकाशित हुलाक टिकट : राष्ट्रको गौरवपूर्ण सम्मान

२१ आइतबार , असार २०८३एक घण्टा अगाडि

स्वर्गीय शान्ति मिश्रको स्मृतिमा प्रकाशित हुलाक टिकट : राष्ट्रको गौरवपूर्ण सम्मान

२०८३ असार ९ गते (२०२६ जुन २३ मा ) नेपाल सरकारले मेरी प्रिय स्वर्गीय पत्नी शान्ति मिश्रको सम्मानमा नेपालमा आधुनिक पुस्तकालय सेवाको विकासमा उनले पुर्‍याएकी असाधारण तथा अग्रणी योगदानको कदरस्वरूप स्मारक हुलाक टिकट प्रकाशित गर्‍यो। मेरो लागि यो केवल स्मरणार्थ गरिएको औपचारिक कार्य मात्र होइन। यो पुस्तकालय, ज्ञान, शिक्षा, सार्वजनिक सेवा तथा लेखकीय योगदान र ज्ञानको प्रवर्द्धनका लागि समर्पित एक ब्यक्तिको जीवनप्रतिको राष्ट्रको प्रशंसनीय सम्मानको रुपमा मैले लिएकोछु।
यो सम्मान विशेष रूपमा अर्थपूर्ण छ, किनकि यसले राष्ट्र र राष्ट्रबासीको हितको लागि आफ्नो जीवन कालको समयभन्दा धेरै अगाडि सोच्ने र काम गर्ने एक असाधारण महिलालाई सम्मान गरेको छ। २०१६ सालतिरको को दशकमा नेपालमा आधुनिक पुस्तकालयको महत्त्वबारे नेपाली समाजमा न्यूनतम चासो र न्यूनतम  चेतना सम्म आएको थिएन।वास्तवमा भन्ने हो भने, आधुनिक पुस्तकालयको अवधारणा समेत नेपाली समाजमा आइसकेको थिएन। यस्तो बेला शान्ति मिश्र दूरदर्शी व्यक्तित्वका रूपमा नेपालमा उदाइन्।
यहीं वेला उनले  नवस्थापित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा इतिहास अध्यापन गर्ने पहिलो नेपाली महिला प्राध्यापकका रूपमा आफ्नो इतिहास राखेकीथिइन्। त्यस समय नै उनी विश्वविद्यालयकी एकमात्र पूर्णकालीन महिला प्राध्यापक बनिन्।। त्यहींबेला फेरि राष्ट्रको बौद्धिक तथा शैक्षिक विकासका लागि आधुनिक पुस्तकालय स्थापना र विकास गर्नको निमित पुस्तकालय विज्ञान अत्यावश्यक छ भन्ने दृढ विश्वासका साथ उनले त्यो प्रतिष्ठित प्राध्यापक पद त्यागेर पुस्तकालय विज्ञानको अध्ययन गर्ने साहसिक निर्णय गरिन्।
त्यो निर्णय विद्वत्ताबाट पछि हट्ने निर्णय थिएनस बरु विद्वत्ताको दायरा अझ फराकिलो बनाउने निर्णय थियो। उनी अमेरिकावाट पुस्तकालय विज्ञानमा स्नातकोत्तर (एम.ए.) उपाधि प्राप्त गर्ने पहिलो नेपाली महिला बनिन् र पछि नेपालको पहिलो महिला प्रमुख पुस्तकालयाध्यक्ष पनि भइन्। उनको समर्पण, दूरदर्शी नेतृत्व र अथक परिश्रमकै परिणामस्वरूप त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालकै पहिलो तथा उत्कृष्ट आधुनिक पुस्तकालयका रूपमा स्थापित भयो। त्यति मात्र होइन,उनी शिक्षा, अनुसन्धान र राष्ट्को विकासका लागि पुस्तकालय अपरिहार्य संस्था हुन् भन्ने मान्यतालाई स्थापित गर्ने देशका प्रमुख,अग्रणी अभियन्ता पनि बनिन्। 
आफ्ना प्रवचन्, लेखन, व्यावसायिक सेवा र सार्वजनिक सहभागितामार्फत उनले नेपाली समाजमा आधुनिक पुस्तकालयको महत्त्वबारे चेतना जगाउन अथक प्रयास गरिन्, जुनबेला नेपाली समाजमा यस विषयमा चासो र ज्ञान अलिपनि भइसकेको थिएन। उनले पुस्तकालय केवल पुस्तकहरूको भण्डार मात्र होइनस ज्ञान सामग्रीहरूमा रहेका ज्ञान, ज्ञान प्राप्तीको लागि पुस्तकालय आउने पाठकहरुलाई विना बिलम्ब ज्ञान प्रदान गर्ने महत्वपूर्ण ज्ञान प्रदान केन्द हो भन्ने कुरा नेपाली समाजमा प्रदर्शन गरिन्।पुस्तकालय ज्ञान, अध्ययन, अनुसन्धान र सभ्यताको जीवन्त केन्द्र हो भन्ने विचारलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिन्।नेपाली समाजमा उत्कृष्ट पुस्तकालय सेवा प्रदर्शन  गरी विश्वविद्यालय पुस्तकालय प्रमुखको पद अर्थात पुस्तकालयाध्यक्ष पद नेपाल सरकारको सचिव, विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यायक सरह रहने ब्यवस्था पनि त्रिभुवन विश्वविद्यालयमा स्थापन गराइन्। यही ऐतिहासिक योगदानका कारण  नेपालका शैक्षिक तथा पुस्तकालय जगतमा उनी ‘नेपालमा आधुनिक पुस्तकालयकी जननी’ का रूपमा परिचित भइन्।
उनले पुस्तकालयको हित र पुस्तकालय पेशाको गरिमाका लागि आफ्नो व्यक्तिगत लाभ, हानी कुनै पर्वाह नगरी , सानो–ठूलो, माथिल्लो वा तल्लो कुनै पद वा हैसियतको कुनै पर्वाह नगरी, जोसुकैसंग पनि जुध्न, भिड्न वा सघर्ष गर्न दृढतापूर्वक उभिन्। यसको ज्वलन्त उदारण पुस्तकालयको इतिहासमा अनगिन्ति भेटिन्छन्। बनकी बघिनीले आफ्ना डमरूहरूलाई हरेक जोखिम र आक्रमणबाट जोगाउन निर्भीकतापूर्वक ज्यानको बाजी लगाए जस्तै गरी उनले आफ्नो संस्थाको रक्षा अटल साहस, दृढ संकल्प र अदम्य प्रतिबद्धताका साथ गरिन्। यही कारणले उनको संस्थाप्रतिको गहिरो प्रेम र समर्पणलाई बुझ्न नसकेका देशका केही स्वार्थी मानिसहरूले उनलाई अन्यायपूर्वक निरंकुश, यहाँसम्म कि तानाशाहसमेत भनेर आरोप लगाए। विशेषतः धमिराले काठलाई भित्रभित्रै खाइदिएझैँ पुस्तकालयलाई भित्रैबाट खोक्रो बनाउनेहरूका लागि उनी त्यस संस्थाकी संरक्षक होइन, आफ्ना स्वार्थका बाधक र शत्रु बन्न पुगिन्। यसैको फलस्वरूप, उनले आफ्नो जीवनको उतरार्धमा असह्य अन्याय र पीडा भोग्न परयोस सहनपर्‍यो।यो बखत मुलुकमा चोरलाई चौतारो, साधुलाई शुली हुने अवस्था पनि हुन गयो। यसैले जीवनभर विना स्वार्थ पुस्तकालयको सेवा गर्ने एक राष्ट्र र अन्तर्राष्ट्रमा ख्याति प्राप्त यी तपस्विनीको यो मुलुकमा अवकाश अवधि नौंनौवर्ष वॉकी हुँदै पनि आफनो जागिर सम्म रहन सकेन।भला यो स्वैच्छिक अवकाशको नाममा भएका काम किन नहोऊन। उनको जीवनको यो कमदुखस्दायी घटना होइन।कम पीडादायी, असहय घटना होइन। तर यी सबै अन्याय अत्याचार चुपचाप सहने, आफ्नो आँसु आफैले पुछ्ने र एकले अर्कोलाई सान्त्वना दिने वाहेक हामीसंग अरु उपाय थिएन। उनका अंग्रेजी पुस्तक Voice of Truth: The Challenges and Struggles of a Nepalese Woman तथा उनका पति नारायण प्रसाद मिश्रसंग सहलेखनमा प्रकाशित नेपाली पुस्तक त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको गौरवमय इतिहास र हाम्रो सेवा उनले भोग्नुपरेका कठिनाइ, संघर्ष र अन्यायका सशक्त साक्षी हुन्।
त्यसैले यो सम्मान उनका व्यक्तिगत उपलब्धिहरूको मात्र कदर होइन। यो उनले जीवनभर अँगालेका मूल्य र आदर्शहरू,चुनौती र संघर्षहरू—ज्ञान, अध्ययन, विद्वत्ता, सेवा, इमानदारी तथा ज्ञानमा पहुँचले व्यक्ति मात्र होइन, राष्ट्रलाई पनि रूपान्तरण गर्न सक्छ भन्ने उनको अटल विश्वास—प्रतिको सम्मान पनि हो।
हाम्रो साझा जीवनयात्रामा पुस्तकालय केवल हाम्रो पेशा मात्र थिएनस त्यो हाम्रो जीवनको साझा जीवनधर्म थियो। उनी संयुक्त राज्य अमेरिकाबाट पुस्तकालय विज्ञानमा स्नातकोत्तर (एम.ए.) उपाधि प्राप्त गर्ने पहिलो नेपाली महिला थिइन् भने म भारतबाट सोही विषयमा स्नातकोत्तर (एम.ए.) उपाधि प्राप्त गर्ने पहिलो नेपाली पुरुष थिएँ। हामी दुवै पुस्तकालयरुपि साइकलको पाङग्रा पनि बन्यौं। चालक पनि बन्यौं। हामीले संयुक्त रूपमा पुस्तकालय विज्ञानको रूपरेखा शीर्षकको पुस्तक लेख्यौं, जुन पुस्तकालय विज्ञानसम्बन्धी नेपाली भाषाको पहिलो पुस्तक हो। त्यसपछि हामीले संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको गौरवमय इतिहास र हाम्रो सेवा पनि लेख्यौं। हामी दुवैका लागि पुस्तकालय सेवा केवल जीविकोपार्जनको माध्यम थिएनस त्यो ज्ञान, शिक्षा र नेपालको उज्ज्वल भविष्यप्रतिको हाम्रो आस्था र विश्वासमा आधारित जीवन–मिशन थियो।
उनका पति, जीवनसाथी तथा नेपालमा पुस्तकालय विकासको यात्राका सहयात्रीका रूपमा राष्ट्रले उनलाई यसरी सम्मान गरेको देख्न पाउँदा म अत्यन्त गौरवान्वित र भावविह्वल भएको छु। तर यो खुसी केवल मेरो वा हाम्रो परिवारको मात्र होइन। तपाईंहरूमध्ये धेरैले उनको जीवनयात्राका विभिन्न चरणहरूमा उनीसंग सहयात्रा गर्नुभयो, उनलाई प्रोत्साहन दिनुभयो, उनको समर्पणको सम्मान गर्नुभयो र उनको दूरदर्शी सोचमा साथ दिनुभयो। त्यसैले यो राष्ट्रिय सम्मानको गौरव उनको कार्य, व्यक्तित्व र नेपालमा पुस्तकालय तथा ज्ञान–संस्कृतिको विकासप्रतिको उनको अटल समर्पणबाट प्रेरित र समृद्ध भएका सम्पूर्ण व्यक्तिहरूको पनि साझा गौरव हो।साझा सम्मान हो।

यो सम्मान सम्भव तुल्याइदिनुभएकोमा म नेपाल सरकार तथा श्री माननीय सञ्चार तथा सूचना मन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। विशेषगरी मन्त्रालयकी सचिव श्रीमती लक्ष्मी बस्नेत तथा हुलाक सेवा विभागकी महानिर्देशक श्रीमती मनमाया पंगेनी भट्टराईप्रति म विशेष आभारी छु। प्रथमदिवसीय हुलाक टिकट प्रकाशन कार्यक्रममा उहाँहरू दुवैले शान्ति मिश्रको योगदानबारे अत्यन्त आत्मीयता, गरिमा र उच्च सम्मानका साथ मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूको अभिव्यक्ति आधुनिक पुस्तकालयको विकासमा उनले खेलेका अग्रणी भूमिका र त्यसको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुभएको योगदानमा मात्र सीमित थिएन। उहाँहरूले शिक्षा, पत्रकारिता, साहित्य, महिला विकास तथा सामाजिक सेवाका क्षेत्रमा उनले पुर्‍याएका उल्लेखनीय योगदानलाई पनि सम्मानपूर्वक स्मरण गर्नुभयो।
राष्ट्रका उच्च पदस्थ पदाधिकारीहरूले उनले राष्ट्रप्रति पुर्‍याएका बहुआयामिक सेवाको ज्ञानपूर्ण, सम्मानपूर्ण र हार्दिक प्रशंसाका साथ चर्चा गरेको सुन्दा म अत्यन्त भावुक बनेँ। उहाँहरूले उनको प्राध्यापक तथा पुस्तकालयाध्यक्षका रूपमा गरेको सेवा, सक्रिय सामाजिक व्यक्तित्वका रूपमा तथा सन् १९७५ को अन्तर्राष्ट्रिय महिला वर्ष समितिकी सदस्य–सचिवका रूपमा उनले महिला उत्थानमा पुर्‍याएका योगदान, सञ्चारिका समूहकी सल्लाहकारका रूपमा पत्रकारितालाई पुरयाएका सहयोग, तथा ब् ध्ष्मयध’क न्षत उपन्यास र रूपमती उपन्यासको अंग्रेजी अनुवादसहित नेपाली र अंग्रेजी भाषामा प्रकाशित उनका अनेक पुस्तकहरूका लेखक तथा अनुवादकका रूपमा साहित्य क्षेत्रमा पुर्‍याएका योगदानलाई पनि आदरपूर्वक स्मरण गर्नुभयो।

उनको जीवन र कार्यलाई यति विचारपूर्ण, सम्मानपूर्ण र कृतज्ञताभावका साथ स्मरण गरिएको सुन्न पाउनु र विना पूर्व परिचित ती विशिष्ट राष्ट्रसेवकहरूसंग प्रथम पटक रमाइलो वातावरणमा प्रत्यक्ष भेटघाट गर्ने सौभाग्य प्राप्त हुनु, मेरा लागि अत्यन्त हर्ष, कृतज्ञता र गौरवको विषय बन्यो।

यस खुशियालीको सन्दर्भमा म वर्षौंदेखि उनको योगदानलाई स्मरण गर्दै, सम्मान गर्दै र उनको विरासतलाई जोगाउँदै आउनुभएका सम्पूर्ण व्यक्तित्वहरूप्रति पनि म समान रूपमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। सामान्यतया स्मारक हुलाक टिकटजस्तो राष्ट्रिय सम्मान सहजै विना कुनै अविवादित आधार प्रदान गरिँदैन। यस्तो सम्मान कुनै क्षेत्रमा पुर्‍याइएको असाधारण योगदानका आधारमा प्राप्त हुन्छ र त्यस्ता योगदानको कदर गर्ने तथा त्यसको अभिलेखलाई जोगाइराख्न सहयोग गर्ने संस्था र व्यक्तिहरूको सद्भाव, विश्वास, सम्मान र समर्थनबाट मात्र सम्भव हुन्छ। यही भावनाका साथ म त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा। दीपक अर्याल तथा पूर्व शिक्षाध्यक्ष डा। खड्ग के।सी।स त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्व प्रमुख पुस्तकालयाध्यक्ष इन्द्रप्रसाद अधिकारी तथा वर्तमान प्रमुख पुस्तकालयाध्यक्ष सागरराज सुवेदीस पुस्तकालय तथा सूचना विज्ञान विभागकी पूर्व विभागाध्यक्ष नीरा मानन्धर तथा वर्तमान विभागाध्यक्ष लिला न्याइच्याईस नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष इन्द्रप्रसाद अधिकारी तथा वर्तमान अध्यक्ष पुष्पराज सुवेदी तथा लिमिसेक (Library Management and Information Service Center)० की उपाध्यक्ष पार्वती नेपालप्रति शान्ति मिश्र र उनको स्मृतिप्रति देखाउनुभएको स्नेह, सम्मान र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दछु। त्यस्तै ब्यक्तिगतरुपमा शान्ति मिश्रसंग कुनै किसिमको चिनापर्ची, सम्बन्ध, सम्पर्क आदि केही नभएपनि उनले आफ्नो जिम्मेवारीमा रहेको संस्था र मुलुकको बिभिन्न क्षेत्रमा  पुरयाएकी प्रशंसनीय सेवा वारे जानी सुनी उनीप्रति आदर, सत्कार, स्नेह र प्रेम र सदभाव राखी आआफ्नो क्षेत्रबाट दिलै देखि यो काममा सक्दो सहयोग र टेवा पुऱ्याउनु हुने धेरै सहृदयी महानुभावहरू रहेको कुरा मैले सुनेको छु। यस प्रसङ्गमा, यस काममा प्राप्त सहयोग, सद्‌भावना, टेवाको लागि नेपाल सरकारका पूर्व सहसचिव, राष्ट्रसेवक लक्ष्मी हुमागाई, साहित्यकार तथा राजनीतिज्ञ बालिका गिरी, त्रि।वि केन्दीय पुस्तकालयका पुस्तकालय अधिकृत विजय शर्मा, हुलाक सेवा विभागकी सहृदयी अधिकृत,कलाकार, प्रशंसनीय टिकट डिजाइनर पूर्ण लक्ष्मी लिम्बू र सोही विभागकी सहयोगी राष्ट्र सेवक रूपा सुबेदी भट्टराई आदिलाई म दिलैदेखि धन्यवाद ज्ञापन गर्दछु।
मेरो  आशा छ कि यो स्मारक हुलाक टिकटले शान्ति मिश्रको जीवन र कार्यप्रतिको श्रद्धाञ्जलिका रूपमा मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा पनि काम गर्नेछ। यसले युवा पुस्तालाई ज्ञान, शिक्षा, विद्वत्ता र समाजसेवाप्रति समर्पित हुन प्रेरित गरोस्।म कामना गर्छु। साथै यसले पुस्तकालय पेशामा संलग्न सबैलाई आफ्नो पेशा एउटा सम्मानित र महान् सेवाधर्म हो भन्ने स्मरण गराओस्।म त्यसको पनि कामना गर्दछु।
यो पेशालाई विभाजन, ईर्ष्या, संकीर्णता र विनाशकारी प्रवृत्तिबाट होइन, एकता, विवेक, सहकार्य र सिर्जनशील कार्यद्वारा अझ सुदृढ बनाइनुपर्छ। ज्ञानको संरक्षण र प्रवर्द्धनको जिम्मेवारी बोकेको पेशा आपस आपसमा ईर्ष्या, द्वेषले भित्र भित्रैबाट कुहिनु हुँदैन, कमजोर हुनुहुँदैन। यसलाई इमानदारी, पारस्परिक सम्मान र राष्ट्रको बृहत्तर हितप्रतिको समर्पणले सुदृढ बनाइराख्नुपर्छ। असत्य र दुष्प्रचार केही समयका लागि सफल देखिन सक्छन्, तर तिनले कुनै राष्ट्रलाई सधैंभरि भ्रममा राख्न सक्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्छ। पुस्तकालय पेशामा रहेर पनि ब्यक्तिगत स्वार्थ पूर्तिको लागि पुस्तकालय पेशाको प्रतिष्ठा र पुस्तकालयको विकासका लागि विना स्वार्थ जीवनभर लड्ने पुस्तकालयका सच्चा सेवकहरूप्रति ईर्ष्या, द्वेष, शत्रुता राख्ने दुष्ट,दुरात्माहरूमा पनि यी सबैकुराको सत्यबोध होस्। म त्यसको पनि कामना गर्दछु।

मेरो लागि यो हुलाक टिकट केवल मेरी दिवंगत पत्नीलाई प्रदान गरिएको सार्वजनिक सम्मान मात्र होइन। यो गहिरो व्यक्तिगत हर्ष, कृतज्ञता र आत्मसन्तुष्टिको क्षण पनि हो। यसले मलाई सम्झाइरहन्छ कि इमानदारी, दूरदृष्टि, अनुशासन र सेवाभावका साथ बाँचेको जीवन मृत्युसँगै समाप्त हुँदैन। त्यो जीवन बोलिरहन्छ। प्रेरणा दिइरहन्छ।  यदि कुनै राष्ट्र सत्यको पुजारी, ज्ञाता र इमान्दारिता र कर्तव्यपरायणताको प्रशंसक र कृतज्ञ छ भने, त्यस राष्टूले त्यस्तो जीवनलाई, त्यस्तो ब्यक्तिलाई वास्तवमै खोजी खोजी उपयुक्त आदर, सम्मान पनि दिइनैरहन्छ।त्यसमा शङ्का छैन। हाम्रो राष्ट्र सदा यस्तै होस्, म कामना गर्दछु। हाम्रो देशको सरकार पनि घरको मुली जस्तै सदा देश र सवै जनताको होस्। कुनै राजनैतिक दल सरकार भएपछि यो कहिल्यै पनि कुनै समूह वा दलको मात्र  नहोस्। म कामना गर्दछु।

लेखकका बारेमा- नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित केही पुस्तक तथा सयौँ लेखका गैरदलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख तथा जीवनको मध्य–अस्सी दशकमा पुगेका एक वरिष्ठ नागरिक।
इमेल: narayanshanti70@gmail.com