
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने थियो।] राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ।
कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ।
सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ।
नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै
आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले
नेपालमा धान दिवस मनाउन थालिएको हो ।
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा
रहेको छ। उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप
आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो
गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु
असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि
असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा
व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन
चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ
काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि
क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न
धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने
भएकाले रोपाईंको ठूलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको
अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१
प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर
पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना
अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् ।
असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि
रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली
लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र
महत्त्वको हुन्छ ।
लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको
भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै 'असारमा डुल्ने पजनीमा भुल्ने' अर्थात्
असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी
पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को
उखानले पनि असारको महत्त्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक,
धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो
दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी
रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले
गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र
सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले
रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा
खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान
खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ ।
पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान
भन्दा यसको उत्पादन भने कम हुन्छ ।
नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने
गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको
केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती
गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा
धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती
खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल,
मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । एक आँकडा
अनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको
बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई/तीन से.मी. पानी
जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १०
से.मी. पानी हुनु उपयुक्त हुन्छ ।
धानको उत्पादनमा निम्न कुराहरूले असर परेको छ:
युवा जनशक्ति पलायन।खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु।आकासे खेतीमा
निर्भर र सिँचाइको व्यवस्था नहुनु।सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको
खण्डीकरण।उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदान नहुनु।
धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो
दिवसलाई मनाउ छ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन् ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई
पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने
गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै
रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने
माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने
गर्छन ।
असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो…… ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला…..।
रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही
चिउरा र अचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा
असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन
मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र
रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा
खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ ।
शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि
दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा
निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा
दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको
एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी
गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही
पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
'भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्' भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा
उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा
खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ मा
नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको
छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह ।
हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा
आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर
बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली
स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो
अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।
हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई
सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका
कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान
दिवसमा नेपालीहरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका
कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि
अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण
मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।
अन्त्यमा, नेपाल मात्र नभई एशियामै भान दिवश, असार १५ तथा नीधिको रुपमा
रहेको धानको महत्व अपार छ । तर असार १५ मनाइरहदा पनि यदि हामीले
गम्भिर भएर यी विषयमा नसोची मात्र औपचारिकतामा रमायौं भने यसले हामीलाई
गलत दिशामा लग्ने छ । धान दिवशले धान बचाऔं अभियानलाई बलियो
बनाउनुका साथै किसान अधिकार सुनिश्चित गर्ने तथा मल, विउ लगायतका
किसानका तात्कालिक समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र कृषिको
रुपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट गर्न सफल रहोस् ।


