
अच्युतकृष्ण शरण--------
लोकतन्त्रको सुन्दरता र यसको जीवन्तता केवल आवधिक निर्वाचनमा मत खसाल्नुमा मात्र सीमित छैन, बरु त्यो मतबाट चुनिएका प्रतिनिधिहरूले जनभावनाको कति कदर गर्छन् र सार्वभौम संसद्को गरिमालाई कसरी जोगाउँछन् भन्ने कुरामा निर्भर हुन्छ।
नेपाली जनताले दशकौँसम्म राजनीतिक स्थायित्व र समृद्धिको पर्खाइमा पुराना भनिएका दलहरूलाई पटक-पटक सत्ताको साँचो बुझाए। तर, उपहारमा दशकौँसम्म केवल राजनीतिक अस्थिरता, नीतिगत विचलन, र संसदीय बेथिति, कुर्सीको फोहोरी खेल, थितिहीनता र चरम निराशा मात्र पाएपछि नेपाली नागरिक चेतनाले एउटा बलियो विद्रोहको बाटो रोज्यो। त्यही विद्रोहको जगमा सामाजिक सञ्जालका 'रिल' र 'लाइभ' बाट एउटा आकर्षक र सम्मोहक नारा गुञ्जियो, “जान्नेलाई छान्ने”।
विगतमा संसद्भित्र देखिने कुर्सी हानाहान, माइक खोसाखोस, वेल घेराउ, र अमर्यादित गालीगलौजको विरक्तलाग्दो 'परम्परागत तमासा' बाट मुक्ति खोजिरहेका नागरिकका लागि यो नारा एउटा बलियो विकल्प बन्यो। परिणामस्वरूप, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरू छोटो समयमै संसद्को अग्रभागमा स्थापित भए। यो कुनै सामान्य मतको फेरबदल थिएन । यो त पुराना दलहरूको अक्षमताप्रतिको तीव्र आक्रोश र नयाँ भनिएकाहरूप्रतिको अगाध भरोसाको सामूहिक अनुमोदन थियो।
तर, समयको चक्र र संसद्का बैठकहरू गुज्रिँदै जाँदा आज रोस्ट्रमदेखि चियापसलका गल्लीहरूसम्म एउटा गम्भीर र निराशाजनक प्रश्न उब्जिएको छ । हामीले संसद्मा नीति निर्माणका लागि साँच्चै 'जान्ने' र परिपक्व नेताहरू पठायौँ कि केवल क्यामराको अगाडि 'जान्ने अभिनय' गर्ने डिजिटल कलाकारहरूलाई भित्र्याएछौँ?
पुरानै अराजकताको आधुनिक 'डिजिटल संक्रमण'
विपक्षी बेन्चमा बस्दा वा सामाजिक सञ्जालको छोटो भिडियो (रिल वा लाइभ) मा गर्जँदा पुराना दलहरूको आलोचना गर्नु संसारकै सबैभन्दा सजिलो काम हो। संसद्मा हुने हुलदङ्गा र गैरजिम्मेवारीको विरोध गरेर सर्वसाधारणको 'लाइक' र 'ताली' खानु झनै सजिलो हो। तर, जब जनताले तिनै आलोचना गर्नेहरूलाई विश्वास गरेर संसद्को गरिमामय कुर्सीमा आसीन गराइदिन्छन्, तब परीक्षा केवल उत्तेजक भाषणको हुँदैन । त्यहाँ संसदीय मर्यादा, कानुन निर्माणको ज्ञान, र जिम्मेवार व्यवहारको कडी जाँचिन्छ।
दुर्भाग्यवश, आज नयाँ भनिएका कतिपय माननीयज्यूहरूको व्यवहार नियाल्दा "जुन जोगी आए पनि कानै चिरेका" भन्ने उखान पुनः चरितार्थ भएको देखिन्छ। हिजोका दिनमा पुराना दलहरूले संसद् अवरुद्ध गर्दा "जनताको करको नाश भयो र देश बन्धक बन्यो" भन्दै प्लेकार्ड बोकेर सडक र सदन तताउनेहरू नै आज कुन नैतिक धरातलमा उभिएर संसद्को वेल घेर्न र मुड्की बजार्न पुग्छन्?
यदि संसद्मा नीतिगत बहस छोडेर आक्रोश पोख्नु, माइक तानातान गर्नु र सभामुखको आसनलाई चुनौती दिनु नै अन्तिम विकल्प थियो भने, ती पुराना 'पहलवान' हरूले के बिगारेका थिए र? उनीहरू त यस विधाका पुराना र अनुभवी उस्ताद नै थिए। जनताले परिवर्तन खोजेका थिए, प्रवृत्तिको प्रतिलिपि (कार्बन कपी) होइन ।
अध्ययनको खडेरी र आक्रोशको व्यापार
संसदीय लोकतन्त्रको वास्तविक सौन्दर्य भनेकै विपक्षीलाई सम्मान गर्नु, फरक विचारको कदर गर्नु र आफ्ना विमतिहरूलाई तर्क, तथ्य र प्रमाणका आधारमा परास्त गर्नु हो। तर, दशकौँदेखि संसद्मा अध्ययन र अनुसन्धानको चरम खडेरी र आक्रोशको अनियन्त्रित बाढी प्रस्टै देखिन्छ। जब कुनै मुद्दामा गहिरो अध्ययन र ठोस तथ्य हुँदैन, तब सांसदहरू संसद्मा चर्को स्वरले चिच्याउन र व्यक्तिगत आक्षेपमा उत्रिन थाल्छन्। यो शैली तर्क कमजोर भएपछि आवाज ठूलो पार्ने पुरातन प्रवृत्तिबाहेक केही होइन।
संसद् कुनै सामाजिक सञ्जालको स्टुडियो होइन जहाँ भाइरल भिडियो बनाउनुपर्छ। संसद् कुनै सडकको आन्दोलनस्थल पनि होइन जहाँ ठूलो स्वरले कराएर सत्य प्रमाणित गर्न सकिन्छ। संसद् त विचारको युद्धभूमि हो, जहाँ तथ्यले जित्नुपर्छ, तर्कले प्रभाव पार्नुपर्छ र नीतिले परिणाम दिनुपर्छ। जब संसद्लाई केवल सामाजिक सञ्जालको 'कन्टेन्ट' र 'भ्यूज' बढाउने कारखाना जस्तो बनाउने होडबाजी चल्छ, तब लोकतन्त्रको जग भित्रभित्रै कमजोर हुन थाल्छ।
शिक्षित हुनु डिग्रीले प्रमाणित गर्छ, तर परिपक्व हुनु व्यवहारले प्रमाणित गर्छ। संसद्मा देखिने आचरण नै कुनै दल वा नेताको वास्तविक राजनीतिक संस्कारको ऐना हो।
संकटमा देश, अलमलिएको संसद्
अझ विडम्बना के छ भने, देश अहिले अनेक गम्भीर संकटसँग जुधिरहेको छ। बार्षिक लाखौँ युवा देश छोडेर विदेशिन बाध्य छन्। कृषि क्षेत्र निराश छ र उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्र व्यापारिक चंगुलमा फसेका छन् । देशका थुप्रै उद्योग धन्दा तथा कलकारखाना बन्द भईसके । ढुक्कले लगानी गर्नसक्ने वातावरण छैन् । थुप्रै भ्रष्टाचारका काण्डहरू थन्किएका छन् । जनताले छिटो छरितो न्याय र सेवा पाउन सकेका छैनन् । नागरिकले सुशासनको प्रत्याभुति गर्न पाएका छैनन् । यि यस्ता थुप्रै राष्ट्रिय समस्याका मुद्वाहरु छन्, जसको समाधान जनताले खोजिरहेका छन् ।
यस्ता दूरगामी महत्वका विषयमा गम्भीर बहस र नीतिगत समाधान खोजिनुपर्ने संसद् कहिलेकाहीँ टेलिभिजनको विवादास्पद 'रियालिटी शो' भन्दा पनि निम्न स्तरको दृश्य प्रस्तुत गरिरहेको देखिन्छ। देशको सर्वोच्च थलो कुनै 'रेस्लिङ खेलको रिङ' होइन, जहाँ जसको स्वर ठूलो र आक्रामक हुन्छ, उसैको मात्र चर्चा होस्। तर, दुखका साथ भन्नुपर्छ जे नहुनु पर्ने थियो अहिले त्यही भईरहेको छ।
विकल्पप्रतिको निराशा: लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा
राजनीतिमा एउटा ठूलो रोग छ। सत्ता नपाए विद्रोहको भाषा बोल्ने र लोकप्रियता पाएपछि आत्ममुग्ध र अहंकारी हुने। जनताले दिएको अभूतपूर्व समर्थनलाई कतिपयले जिम्मेवारीको रूपमा होइन, आफू जे गरे पनि जनताले स्वीकार्छन् भन्ने भ्रमको रूपमा बुझ्न थालेका छन्। यही भ्रमबाट अहंकार जन्मिन्छ र अहंकारबाट विवेकको पतन सुरु हुन्छ।
पुराना दलप्रति निराश हुनु एउटा सामान्य राजनीतिक अवस्था हो, तर विकल्पका रूपमा छानिएका नयाँ शक्तिहरू र "जान्नेहरू" प्रति पनि नागरिक निराश हुनु लोकतन्त्रका लागि सबैभन्दा खतरनाक अवस्था हो। किनकि त्यसपछि नागरिकमा “कोही पनि फरक छैन, यहाँ सबै उस्तै हुन्” भन्ने भावना जन्मिन्छ, जसले अन्ततः लोकतान्त्रिक सहभागिता र समग्र व्यवस्थामाथि नै वितृष्णा पैदा गराउँछ। इतिहास साक्षी छ । जनताले गल्ती क्षमा गर्न सक्छन्, तर भरोसामाथिको धोका र नेतृत्वको अहंकार कहिल्यै स्वीकार्दैनन्।
सच्चिनुस् मान्यज्यूहरू, नत्र इतिहास निर्मम हुनेछ
"जान्नेलाई छान्ने" भन्ने नारा केवल चुनावी पोस्टरमा सुहाउने शब्द होइन, यसको वास्तविक परीक्षा संसद् भित्रका दैनिक आचरणमा हुन्छ। आज आवश्यकता सत्तापक्ष र प्रतिपक्ष विच हारजितको संघर्ष र जुङ्गाको लडाइँ हैन् । जनतामा संसद र राज्यप्रतिको ओइलाउँदै गएको विश्वास जित्ने हो। आवश्यकता भाइरल हुने होइन, नीतिगत परिणाम दिने हो।
यदि संसद् फेरि पनि विगतमा जस्तै निरन्तर रेस्लिङ रिङकै रूपमा चलिरहने हो भने, जनताले नयाँ र पुरानाबीचको भिन्नता छुट्याउन सक्ने छैनन्। रास्वपा लगायतका नयाँ शक्ति र तिनका सांसदहरूले अब कुनै पनि बहानाबाजी नगरी गम्भीर आत्मसमीक्षाको बाटो रोज्नैपर्छ।
अत: माननीयज्यूहरू, संसद्मा रिस, अहंकार र आवेग होइन, विवेक र कानुन बोल्नुपर्छ। जनताले तपाईंहरूलाई चिच्याउन होइन, सोच्न पठाएका हुन् । भिडन्त गर्न होइन, समाधान दिन पठाएका हुन्। बेलैमा आफ्नो प्रवृत्ति र व्यवहारलाई सुधार्नुस् । अन्यथा भोलि इतिहासले एउटै वाक्य लेख्नेछ, “अनुहार फेरिए, तर प्रवृत्ति फेरिएन।”
र, यो वाक्य नै नयाँ राजनीतिक शक्तिहरूका लागि सबैभन्दा ठूलो र लज्जास्पद असफलता हुनेछ।


