Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

कता अलमलियो माक्र्सवादी दर्शन ?

१४ बिहिबार , जेठ २०८३१८ घण्टा अगाडि

कता अलमलियो माक्र्सवादी दर्शन ?

माक्र्सवाद जीवनको उज्यालो सिद्धान्त हो तर जाज्वल्यमान माक्र्सवाद भारत, नेपालजस्ता उर्वरभूमिबाट समेत किन अस्ताउन थाले ? यो आजको गम्भीर र समीक्षा गर्नैपर्ने विषय हो ।
विज्ञानलाई कसैले रोकेर रोकिने चिज होइन, यो समय अनुसार विकास हुँदै जाने गर्दछ । सदियौं देखि मानवसमाज भौतिक ज्ञानकै आधारमा विकास र विकसित हुंदै आएको अकाट्य सत्य हो । त्यस्तै समाज विज्ञानमा माक्र्सवादी दर्शनको ठूलो योगदान छ । उनि बस्तुवादी र समाजमा हुने शोषण र शोशकले बुनेको जालको बारेमा प्रष्ट पार्न सफल भए । त्यो मात्र होइन उनले शोषण मुक्त कसरी हुनसकिन्छ ? भन्नेबारे पनि मानव समाजलाई एउटा महत्वपूर्ण र ऐतिहासिक दर्शन दिएर गएका छन् ।
कसैले माने पनि नमाने पनि सूर्यलाई हत्केलाले छेकेर कहिल्यै छेकिँदैन । सूर्यको प्रकाश आज पनि उत्तिकै सत्य हो । सत्यलाई रोक्ने प्रयास गर्नु मूर्खता हो । विज्ञान भनेको हाम्रो विवेकले समेत विज्ञानको नाम उच्चारण गर्न नसक्दा पनि मौजुद थियो, आज पनि छ र भविष्यमा पनि रहिरहने छ। विज्ञानको विकासलाई कसैले रोक्न सक्दैन । त्यसैको आधारमा हामीले भन्न सक्छौँ—अस्तित्वमा आएका अर्थात जन्मिएका सबै खाले वस्तुहरूको अन्त्य हुन्छ । यो विचार विज्ञानसम्मत छ । माक्र्सवादी दर्शन केवल राजनीतिक थलो होइन, बरू मानव कल्याणको चम्किलो नक्षत्र हो, जसले जीवन र जगतलाई वस्तुगत यथार्थमा व्याख्या र विश्लेषण गर्दै आएको छ ।
यो यथार्थ किन छायाँमा पर्दैछ ?
यो प्रकृति जगत साँच्चै द्वन्द्वात्मक भौतिकवादमा आधारित छ । यहाँ निषेधको निषेध नियम लागू हुन्छ । एउटा व्यक्तिले मकै रोपे पनि, गहुँ छरे पनि एउटा दानालाई बिरूवाले र बिरूवालाई घोंगा वा बालाले सुकाएको हुन्छ र त्यसको अन्त्यपछि अर्थात एउटा दानाको अन्त्यपछि सयौँ दानाहरू तयार भएका हुन्छन् । यसैलाई द्वन्द्वात्मक विकास भनिन्छ । यो नियम प्रकृति, जीवजन्तुहरू आदिमा लागू भएकै हुन्छ । फर्क यत्ति हो—विभिन्न व्यक्तिले यसलाई मूल्यांकन गर्दा आफ्नै हिसाबले गर्छन् । कसैले आत्माको रूपमा, कसैले परमात्माको रूपमा व्याख्या र विश्लेषण गर्दछन्। कसैले ध्वजा किन बाँध्यो ? त्यसको इतिहास कोट्याउन अलिक मिहिनेत गर्नुपर्छ, खोजतलास गर्नुपर्छ । त्यो परिश्रमबाट मुक्त हुन एउटा परम्परा भनिदिए भयो । आखिर त्यो परम्पराको पनि त कुनै उद्देश्य थियो होला ? यसमा छानबिन गर्ने भौतिकवाद मात्र हो । उसले यति सानो विषयको निष्कर्षमा पुग्न आदिम युगदेखि यताको अध्ययन गर्न लगाएको हुन्छ ।
अञ्जान, अनपढ युगमा पनि मानिसहरूले विज्ञान अथवा गणितीय सिद्धान्तलाई प्रयोग गर्दै आएका थिए । एउटा बालक जन्मियो भने त्यो दिनदेखि दिन गनेर स–साना ढुङ्गा एक ठाउँमा राखेपछि उसको जन्म भएको कति दिन भयो, कति महिना भयो र कति वर्ष भयो भनेर बुझ्न यसो गरेका हुन सक्छन् । पछि जस्तै धागो र कपडाको आविष्कार भयो, त्यही रूपमा ढुङ्गाको ठाउँ ध्वजाले लिएको हुनसक्छ । जमाना देखि मानिसले आफूलाई आवश्यकता अनुसार खोज गर्दै आएको देखिन्छ। ढुङ्गा तिखारेर हतियार बनाउने, धनुवाण बनाउनेदेखि लिएर फलामका हतियार र अहिलेका आधुनिक बमहरू बनाउनेसम्म विज्ञानले काम गरेको देखिन्छ । गाईबस्तु पालेकाले दाम्लो बनाउन पटुवा अर्थात धागो आफ्नै दिमाग खियाएर तयार पारे । उनीहरूले त्यसको स्रोत पनि आफैँ खोजे । तर त्यो श्रोत यसै प्राकृतिमा मौजुद छ ।
आजको दुनियाँ डिजिटल टच अवस्थासम्म आइपुग्न लाखौँ–करोडौँ वर्ष लाग्यो। मानिसको उत्पत्तिदेखि अहिलेसम्मको समयसँग संघर्ष गरेर नै मानिस यहाँसम्म आइपुग्न सफल भयो । जति विकास हुँदैछ, उत्तिकै मानव समाजमा भ्रष्टाचार बढ्दैछ । पहिले झुट बोल्न मानिसहरू डराउँथे । उनीहरूलाई के भ्रम थियो भने झुट बोल्दा पाप लाग्छ, तर केही व्यक्तिहरूले त्यसको फाइदा उठाए र झुट बोलेर शोषणकारी बने, उनीहरू सम्पन्न बने । पाप कस्लाई लाग्यो ? जसले झुट बोल्न डराएका थिए। पाप, स्वर्ग, नर्क, पुनर्जन्म, पूर्वजन्मका कथा सुनाउनेहरू आफूले जीवित नै स्वर्गको अनुभूति गर्न अरूलाई यस्तो शास्त्र सुनाउँदै हिँडे । उनी अपराधी भएर पनि धार्मिक बनेर समाजलाई भ्रम दिँदै आएका छन्, तर वास्तविक धार्मिकहरू ओझेलमा परेका हुन्छन् ।
समाजलाई डराउन कथाहरू तयार पारे, उनीहरूको नाममा सक्दो लुट मच्चाए । तर सत्यवादीहरू उनीहरूको आचरणलाई पनि अदृश्य शक्तिले सजाय दिन्छ भनेर विश्वास गर्दै अन्यायको प्रतिकार गर्नुको सट्टा चुपचाप बसिरहे । अनि उनीहरू सदियौँदेखि कमजोर र लाचार बन्दै आए । एकथरीले शोषण गरेर अकूत सम्पत्ति ओगटे, अर्को थरी आफैले आबाद गरेको जमिन समेत गुमाएर सुकुम्बासीमा परिणत भए ।
माक्र्सवादले त्यो दमन, अन्याय, अत्याचार र असमानता किन भयो र त्यसबाट छुटकारा कसरी हुनसक्छ भन्नेबारे गरिब किसान लगायत तमाम श्रमजीवी वर्गको मुक्तिका लागि छुट्टै वर्गीय दर्शन तयार पारेर समाजमा ल्याएको हो । मानव समाजभित्र शोषक र शोषित दुई वर्ग छुट्याएर उनीहरूबीचको विभेदलाई सधैँका लागि समाप्त पार्न समाजवाद र साम्यवादी सिद्धान्त अगाडि सारेका थिए । सन् १८४८ मा आएको कम्युनिस्ट घोषणापत्र मानव समाजमा आएको पहिलो यस्तो अहिलेसम्मकै समाज विज्ञानमा आधारित वर्गीय राजनीतिको रेखाङ्कित स्वरूप थियो—विश्व श्रमजीवी वर्गको लागि मुक्तिको ऐतिहासिक मार्गदर्शन थियो ।
तर पुँजीवादी र प्रतिक्रियावादीहरू माक्र्सवादी दर्शनबाट आफ्नो स्वर्ग गुम्ने डरले षड्यन्त्र गर्न थाले । उनीहरूले माक्र्सवादी विचारलाई बम र गोलीले निषेध गर्न सम्भव थिएन, त्यसैले कम्युनिस्टभित्र आफ्ना एजेन्टहरू घुसाएर कम्युनिस्ट राजनीतिलाई जसरी बदनाम गर्न सकिन्छ त्यसरी बदनाम गर्न सुरू गरे । बालबालिकाहरूलाई उस्तैखाले चमत्कारी र रोचक साहित्य, समाजलाई धर्म र जातीय मुद्दाहरूमा उल्झाए र वर्गीय आन्दोलन कमजोर पार्ने कामहरू भए । अहिले सहकारी, आइएनजिओ र एनजिओका सदस्य बनाएर युवाहरूलाई विभिन्न नसाहरूमा उल्झाएका छन् । माक्र्सवाद त्यो अहिले पनि झन् नभई नहुने दर्शनको रूपमा अनिवार्य देखिन्छ ।
मालेमा विचारधाराले मात्र विश्वमा वर्गविहीन समाजको निर्माण गर्न र शान्ति सुव्यवस्था निर्माण गर्नसक्छ । साम्राज्यवादी शक्तिहरूले जहाँ कम्युनिस्ट भौतिकवादी विचारधाराको विकास हुने देख्छन्, त्यहाँ त्यसको विरूद्धमा अराजकता फैलाउने गर्दैछन् ।
नेपालमा पनि त्यही उद्देश्यले विभिन्न खाले धर्मको नाममा संघ–संस्थाहरू देखिन्छ । कतिपयले धर्म परिवर्तन गर्दै समानताको सपना बुनेका हुन्छन् । कसैले योगकै जाल फालेर मानव समाजमा विज्ञानको विरूद्धमा अध्यात्मको खुब प्रचार अगाडि बढाएका छन् । यी सबैको उद्देश्य वर्गीय संघर्षलाई दिशाहीन बनाउन र धन कमाउन फैलाइएको जाल हो । धेरैले फाइदा उठाएर समाजमा भौतिकवादमाथि प्रहार गर्दै आएका छन् । तर हामीले देखेका छौँ—भौतिकवाद सबैभन्दा बलियो र सबै खाले रोगको निवारणकर्ता हो । 
५ मे सन् १८१८ मा जन्मेका कार्ल माक्र्स र एङ्गेल्सद्वारा तयार पारिएको घोषणापत्रअनुसारको वर्गीय संघर्षबाट आएको रूसको समाजवादी क्रान्तिले पुष्टि गरेर संसारको माझमा देखायो। माक्र्सवाद भनेको समाज विज्ञान हो, जो कहिल्यै पुरानो हुँदैन र यसैले विश्वका तमाम उत्पीडित श्रमजीवीहरूको हकहितको रक्षक र राजनीतिक हतियार हुन सक्छ । यसका लागि श्रमजीवीको एकता अनिवार्य सर्त हो । त्यही एकताका लागि समाजलाई टुक्र्याउने खालका रूढिवादी विचारधाराको विरोधमा आवाज उठाउनु आजको आवश्यकता हो। भौतिकवादी समाजको निर्माण बिना कम्युनिस्ट र विज्ञानको मिसन पूरा हुन सक्दैन । अचेल समाजलाई पृथक र अभौतिक दिशाहिन बनाउन धेरै संघ संस्थाको जाल थापिएको छ । स्वयम माक्ुैवादको आवरणमा पुंजिवादको खेल हुंदैछ ।