Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

सुरक्षा थ्रेटको हावागफ

२२ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

शाश्वत शर्मा - 
भारतलाई नेपालबाट सुरक्षा थ्रेट छ, आतंककारीहरु नेपाल भएर भारतमा छिर्ने गरेका छन् भन्दै आइरहेको भारतले जे चाहेको थियो, पुष्पकमल दाहालको सरकारले त्यही काम गरिदियो। नेपाली सेनाले नै सुरक्षाको जिम्मेवारी लिइसकेपछि भारतबाट आएका ब्ल्याक कमाण्डोलाई किन आउन दिइयो? नेपालको सुरक्षा प्रवन्धप्रति भारत अविश्वास देखाउन चाहन्थ्यो र त्यो चाहनाको परिपूर्ति गरिदिएका छन् प्रम पुष्पकमल दाहालले। 
विश्व शान्तिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको नेपालको सुरक्षाकर्मीहरु विश्वमै विश्वसनीय मानिन्छ। तर भारतले त्यो मान्यता तोड्यो। यथार्थमा भारतबाट आतंककारी, तस्कर र माफिया नेपाल पस्ने गरेका छन् र नेपालमा जे जति सुरक्षा थ्रेट छ त्यो भारतसँग र भारतबाट नेपाल छिर्ने अपराधिक तत्वहरुबाट छ। यथार्थ यही हो, यो यथार्थलाई ढाकछोप गर्न भारतलाई सफलता मिलेको छ। यसको श्रेय भारतवादी बनेका पूर्व क्रान्तिकारी पुष्पकमल दाहाललाई जान्छ। दाहालले भारतीय  राष्ट्रपतिबाट धन्यवाद पाएका छन्। 
हुन त भारतकै इसारामा कांग्रेसले ९ महिनाका लागि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरिदिएका हुन्। दाहालको कूकर्मको मलामी कांग्रेसले पनि जानै पर्ने देखिन्छ किनकि नेपालको सुरक्षाकर्मीको मनोवल गिराउने काम सरकार र सांसदहरुले नै गरेका छन्। सुरक्षा निकायको मनोवल गिराएर देशको भलो हुन्न। 
भारतीय राष्ट्रपति भन्दा पहिले नै ब्ल्याक कमाण्डो आए, तिनले राजधानी, जनकपुर र पोखरामा समेत निगरानी राखे। नेपाली सुरक्षाकर्मीको यति बलियो सुरक्षा घेरा थियो कि कुनै पनि दुर्घटना घट्न पाएन। ती कमाण्डो आए र नेपाललाई तर्साएर गए। तिनले सुरक्षा प्रवन्धमा माखो पनि मारेनन्। तर, एउटा विदेशी विशिष्ट पाहुनलाई स्वागत र सुरक्षा गर्न नेपाली सुरक्षाकर्मी कमजोर छ भन्ने देखाउने जुन दुश्कर्म पार्टी, सरकार र राष्ट्रपतिबाट भयो, त्यो जति निन्दा गरे पनि कम हुने विषय हो। नेपाली सेना छ र नेपाल सुरक्षित छ भन्ने नेताहरुले कहिल्यै नबिर्सियुन्।