Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

कूटनीतिक अभ्यास, समस्याको निकास

२५ शुक्रबार , बैशाख २०८३११ घण्टा अगाडि

कूटनीतिक अभ्यास, समस्याको निकास

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य (बेलायत) का आपसी सम्बन्ध तनाउयुक्त रहेका बखत बेलायतका राजा चाल्र्स तृतीयाको राजकीय भ्रमण फलदायी हुँदैन कि भन्ने आशंका थियो । फेरि त्यसै बेला राजधानी वाशिंटनमा गोलीकाण्ड भैदियो । राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारले आयोजना गरेको रात्रिभोजमा सम्मिलित रहेको होटलमै त्यो घटना भएको हुनाले राजाको यात्रा नै बिथोलिने जोखिम समेत आइप¥यो । तै, गोलीकाण्डमा ट्रम्प लगायत सबै गण्यमान्य सुरक्षित भएकाले शाहीयात्रा रोकिएन, तय गरिएकै तालिका अनुसार सम्पन्न भयोः–अप्रिल २७ देखि ३० सम्म । र, समग्रमा भ्रमण द्विपक्षीय सम्बन्धलाई तनाउमुक्त पार्ने दिशामा प्रभावकारी रहेको अनुभूति दुवै पक्षले गरेको देखियो । बेलायतको लागि मूल्यवान् कूटनीतिक उपलब्धि भएको लण्डनको दाबी छ ।

राजसंस्थाप्रति प्रतिबद्धता नभएका अंग्रेजहरूले समेत चाल्र्सद्वारा द्विपक्षीय सम्बन्ध सुधार गर्ने वातावरण निर्माण भएको कुरा सकारेका छन् । भ्रमण सकिएलगत्तै ‘युगोभ पोल’ ले गराएको सर्वेक्षणमा ७४ प्रतिशत सहभागीले राजाको काम गराइबाट आफू प्रभावित भएको बताए । केवल चार प्रतिशतले मात्र काम ‘गतिलो भएन’ भनेछन् । जनमत सर्वेक्षणमा ४५ सय मानिसको सहभागिता थियो ।

युरोपको जिम्मेवारी

अमेरिका–बेलायत सम्बन्धको प्रश्नलाई ट्रम्पको पहिलो कार्यकाल ९सन् २०१७–२०० देखि नै युरोपप्रति अमेरिका रुष्ट रहेको घटनाबाट केलाउनु पर्ने हुन्छ । ट्रम्प भन्ने गर्थेः–उत्तर एटलाण्टिक सन्धि संगठन ९नेटो० का युरोपेली सदस्यहरूको प्रतिरक्षा खर्च पर्याप्त भएन, सबै बोझ अमेरिकाले बोक्न सक्दैन ।’ उनको यस्तो किसिमको जिरह दोस्रो कार्यकाल ९सन् २०२५ जनवरी० आरम्भ हुनासाथ फेरि सुनिन थाल्यो । उनले पहिलेको दृष्टिकोण झन् टड्कारो रूपमा प्रकट गर्न थाले । युरोप मात्र होइन क्यानडा र अष्ट्रेलियाजस्ता साझेदारलाई यसै निहुँमा हेप्न, करेप्न खोजे ।

परिणामस्वरूप उनको झोंकी, आवेगी र असंगत टीका–टिप्पणीबाट नेटोका सदस्य–राष्ट्रहरूमा पहिले नैराश्य छायो । त्यसपछि क्रमशः ती देशका नेता र सरकारहरू चिढिन समेत थाले । फ्रान्स, जर्मनी, बेलायत, स्पेन, इटली समेतका सरकार ट्रम्पबाट आजित हुँदै गए । मालवस्तुमा भन्सार दर बढाएर व्यापारयुद्ध चर्काएकोमा पनि उस्तै आक्रोश व्याप्त भयो । जर्मनी र बेलायत समेतका केही देशले आफ्नो सेनाको आकार बढाउने र आधुनिक सैन्य उपकरण उत्पादन बढाउने निर्णय गरेका छन् । अमेरिकाप्रतिको निर्भरता घटाउने बाटोमा देखिन्छन् ।

शान्ति–प्रवर्तक भनेर चिनिने दौडमा रहेका ट्रम्पको आगमनपछि इजरायल–हमास मुठभेड चर्कियो । इजरायलको आग्रहमा दुई पटक इरानमाथि अमेरिकी सैनिक कारबाही गर्दा त्यहाँका कतिपय उच्चपदस्थको ज्यान गयो । यता, इजरायलले लेबनानतिर पनि मोर्चा खोल्यो–इरानसमर्थित हेजबुल्लाहलाई तह लगाउने उद्देश्य सहित । यसरी पश्चिम एसिया ९मध्यपूर्व० सङ्कट गहिरिनु अपरिहार्य भयो । गएको फेब्रुअरी २८ तारिखमा थालिएको दोस्रो अमेरिकी–इजरायली आक्रमणबाट इरानलाई घाइते बाघसरह बनाएको छ । इरानले पनि हर्मुज जलडमरूको समुद्री मार्गमा अवरोध गराउनुको साथै खाडीक्षेत्रका देशमा रहेका अमेरिकी सैनिक अखाडालाई निशानामा पार्दै आएको छ । युद्ध रोक्न मध्यस्थता गर्ने पाकिस्तानको प्रयास प्रभावकारी हुन सकिरहेको छैन । त्यस क्षेत्रमा तनाउको वातावरण कायमै छ । पेट्रोलियम पदार्थको आपूर्तिमा कमी र मूल्यवृद्धिले संसारै थर्काएको छ ।

बिझाउने टिप्पणी

यही चालू द्वन्द्वकै सिलसिलामा अमेरिकाले बेलायतसँग उसका सैनिक शिविरहरूको प्रयोग गरेर इरानउपर कडा सैनिक कारबाही गर्न खोजेको थियो तर अन्य युरोपेली देशले जस्तै बेलायतले पनि

‘यो तपाञीले थालेको लडाञी हो, हामी संलग्न हुन सक्दैनौं ’ भन्ने प्रतिक्रिया दियो । यो ट्रम्पका लागि ननिको वचन हुन गयो । अनि उनले बेलायतका प्रधानमन्त्रीलाई ‘कमजोर र पानीमरुवा’ सम्मको बिल्ला लगाइदिए । तैपनि स्टारमर राजा चाल्र्सको अमेरिका–यात्रा रोक्नेतिर लागेनन् । उल्टो, राजाले अमेरिकी संसद् ९कंग्रेस० लाई गर्ने सम्बोधनको लेखोट तयार पारेर उनको हातमा राखिदिए । ज्ञातव्य छ, संवैधानिक राजाले राजनीतिकरकूटनीतिक मामिलामा आफूखुसी केही बोल्दैनन् ।

सामूहिक प्रतिरक्षाका लागि सन् १९४९ स्थापित नेटोमा हाल ३२ सदस्य–राष्ट्र छन् । यसको बडापत्र ९चार्टर० को धारा ५ मा लेखिए अनुसार, कुनै एक नेटो सदस्यमाथि बाहिरी आक्रमण भए त्यो सबै सदस्यमाथिको आक्रमण ठानिन्छ र सबैले मिलेर प्रतिरक्षा गर्नेछन् । ९उस बखत मुख्य भय सोभियत संघको थियो ।० त्यो व्यवस्था अहिलेसम्ममा जम्मा एकपल्ट क्रियाशील भएको छ–सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकारी हमला भएको भोलिपल्टै । त्यस बखत अमेरिकाको आह्वानमा सबै नेटो–सदस्यले आआफ्नो क्षमता अनुसार सैनिक र आर्थिक टेवा प्रदान गरे । अफगानिस्तानमा भएको सैनिक कारबाही जग–जाहेर छ । तालिबानसँग आम्ने–साम्ने हुन तैनाथ ब्रिटिश टोलीमा गोर्खा सैनिकहरू पनि थिए, केही सैनिक हताहतमा परे । परन्तु ट्रम्पले यो वास्तविकतालाई बेवास्ता गर्दै बारम्बार ‘नेटो अमेरिकाको लागि काम लाग्ने निकाय रहेन’ भनेर शिकायत गरिरहे, अझै गर्दैछन् । यसै क्रममा हो उनले युरोपका प्रभावशाली देशहरूको कटु आलोचना गरेको । सम्भवतः उनलाई बेलायतबाट अपेक्षा बढी थियो, तर त्यो पूरा नभएकोले लण्डनमाथि बढी खनिएका हुन् ।

अमेरिकामा ट्रम्पको दोस्रो कार्यकाल आरम्भ हुँदा बेलायतमा कञ्जरभेटिभ दल निर्वाचनमा पराजित भएर लेबर दलका नेता केएर स्टारमर प्रधानमन्त्री भएको छ महिना भएको थियो । सैद्धान्तिक कोणबाट हेर्दा ट्रम्पका लागि लेबर अनुकूल नहुनु अनौठो मानिँदैन पनि । तथापि ऐतिहासिक कारणले निकट रहेका यी दुई देशको सम्बन्ध न्यानो नै राख्न स्टारमरले प्रयत्न गरे । प्रारम्भमै ‘सेतो घर’ पुगेर ट्रम्पलाई राजाको त्यो पत्र दिए जसमा उनलाई दोस्रो राजकीय भ्रमणमा बेलायत आउने निम्तो दिइएको थियो । पहिलो भ्रमण महारानी एलिजाबेथकै राज्यकालमा भएको हो । ट्रम्पलाई बेलायतका प्रधानमन्त्री र सरकार मन पर्दैन तर उनी ब्रिटिश राजसंस्थाको भने प्रखर प्रशंसक हुन् । बेलायत ट्रम्पकी आमाको माइती देश हो ।

इतिहासको पाठ

यसपालि अप्रिल २७ मा राजदम्पती वाशिंटन पुग्दाको दृश्य रोचक थियो । एकातिर कार्यकारी अधिकारसम्पन्न राष्ट्रपति ट्रम्प अर्कोतिर संवैधानिक राष्ट्राध्यक्षको सीमित भूमिकामा रहेका राजा चाल्र्स । अतिथि र आतिथेयी भएर उभिएका । ‘सेतो घर’ मा गरिने औपचारिक स्वागत–कार्यक्रमपश्चात्को मुख्य आकर्षण थियो दोस्रो दिन कंग्रेसलाई राजाले गर्ने सम्बोधन । सिनेट र प्रतिनिधि सभा दुवै सदनको संयुक्त भेलासमक्ष भाषण गर्दा राजा चाल्र्सले स्वतन्त्र अमेरिका जन्मेको २५० औं वर्षगाँठको उल्लेख मात्र गरेनन्, त्यसअघिका शताब्दीहरू समेटिने इतिहासका रोचक–घोचक पक्षहरू पनि सम्झाए । जस्तो, सन् १७७६ मा ब्रिटिश उपनिवेशबाट मुक्तिको एकपक्षीय घोषणाका साथ १३ वटा राज्य मिलेर ‘संयुक्त राज्य अमेरिका’ खडा गरेपछि लेखिएको अमेरिकी संविधानको जग सन् १२१५ को ‘म्याग्ना कार्टा’ मा उभिएको प्रसंग ।

त्यसैगरी, चाल्र्सले कार्यकारी अधिकारको प्रयोग ‘नियन्त्रण र सन्तुलन’ को आधारमा गरिनु पर्ने मान्यताको चर्चा गर्दा सभाक्षमा तालीको गडगडाहट भएको थियो । भाषणको क्रममा सभासदहरू एक दर्जन पटक उठे होलान्, चाल्र्सको भनाइप्रति समर्थन जनाउँदै ताली बजाउन । आजको विश्व ‘ठूलो अनिश्चय’ को स्थितिबाट गुज्रिरहेको छ भन्ने चाल्र्सको ठम्याइलाई कसैले अनुपयुक्त मानेनन् । चाल्र्सकी आमा, महारानी एलिजाबेथ द्वितीया, ले सन् १९९१ अमेरिकी कंग्रेसलाई सम्बोधन गरेकी थिइन् ।

संयोग हो, २८ अप्रिलकै दिन परेछ । सन् १९६० मा त्यसै दिन नेपालका राजा महेन्द्रले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेको सचित्र तथ्य अभिलेखमा पाइन्छ । सम्बोधनको त्यस्तो सम्मानित अवसर अहिलेसम्म अन्य कुनै नेपालीले पाएको छैन ।

अनावश्यक विशेषण

बेलायतका राजा अमेरिकातर्फ उड्ने समयमा बेलायत र अमेरिका माझको ‘विशेष सम्बन्ध’ पनि एक चर्चित विषय हुन गयो । दोस्रो विश्वयुद्धको समयमा बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले बेलायत–अमेरिका सम्बन्धलाई ‘विशेष’ को विशेषण लगाएका हुन् । अहिलेको परिवर्तित विश्वसम्बन्धमा यस्तो शब्दावली प्रयोग गर्ने चलन छैन । हाल अमेरिकामा कार्यरत बेलायतका राजदूत कृष्टियन टर्नर नै यो पदावली प्रयोग गर्न अनिच्छुक रहेछन् । शाहीयात्राको मुखैमा बेलायतको ‘फाइन्यान्सिएल टाइम्स’ पत्रिकाले राजदूत टर्नरको भनाइ छापेको थियोः– यो शब्दावली म प्रयोग गर्नै चाहन्नँ, किनभने यो विगतसित जोल्ठ्याउने बोझिलो अभिव्यक्ति मात्र हो। कदाचित् कसैसँग अमेरिकाको ‘विशेष सम्बन्ध’ छ भन्ने नै हो भने त्यो देश इजरायल मात्र हुन सक्छ ।’

नेपाल–भारत सम्बन्धको कुरा आउँदा दिल्लीका शासक–प्रशासक ‘विशेष’ को फुँदा जोड्न हतार गर्छन् तर त्यसको आवश्यकता छैन । उत्तरी सिमानाबाट भारतीय सीमाचौकी हटाएकै बखत तत्कालीन प्रधानमन्त्रीले ‘दी राइजिङ नेपाल’ पत्रिकालाई दिएको अन्तर्वार्तामा, स्पष्ट शब्दमा, भौगोलिक र सांस्कृतिक निकटता बाहेक अन्य ‘विशेष’ कुरो केही छैन भनेका छन् । यसको चर्चा भारतीय लेखक अवतार सिंह भासिनको सम्पादनमा छापिएको मोटो पुस्तकमा पनि भेटिन्छ ।

अन्त्यमा–

प्रसंगवश, कूटनीतिक वृत्तमा अन्तर्राष्ट्रिय स्तरको चासो बढाउने काम राजदूत टर्नरका पूर्ववर्ती पिटर म्यान्डलसन्ले गराएका छन् । ट्रम्पसँग निकट सम्बन्ध जोड्न सहयोग पुग्ला भनेर प्रधानमन्त्री स्टारमरले हतार–हतार यिनलाई राजदूत बनाएर अमेरिका पठाएका थिए तर अहिले त्यही कारणले स्टारमरको आसन हल्लिएको छ । राजदूत बनाउन नहुने व्यक्तिलाई सोच–विचार नपु¥याई नियुक्त गरेछु भनेर स्वीकारोक्ति सहित माफी माग्दा पनि बेलायतको संसद्ले प्रधानमन्त्रीलाई दुःख दिन छोडेको छैन । लेबर पार्टीका एक परिचित नेता यी म्यान्डलसन्‌ कुनै बखत बालयौन–दुराचारी जेफ्री एप्सटीनको सङ्गतमा परेका रहेछन् । यसमा अर्को एक विडम्बना छ ः त्यो के भने एप्सटीनद्वारा सञ्चालित यौनकर्मीको सञ्जालमा फसेका बेलायतका राजा चाल्र्सकै भाइ एण्ड्रुले राजपरिवारबाट बाहिरिनु परेको छ । अमेरिकामा बसेर अवैध धन्धा चलाउँदा एप्सटीनको जत्थामा मिसिएका अमेरिकी ‘उपभोक्ताहरू’ भने अझै कानुनी दायरामा आएका छैनन् । ढिलो–चाँडो आउलान् । र, चर्चित घटना ट्रम्प राष्ट्रपति पदमा पुग्नुभन्दा अघिका होलान्, परन्तु अमेरिकी प्रेसले यस विवादबाट उनलाई सहजै फुर्सद देलाजस्तो छैन ।

@gorkhapatraonling