Advertisement Banner
Advertisement Banner

१० बिहिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

नेपालमा रामराज्य : अच्युतकृष्ण शरण

१० बिहिबार , बैशाख २०८३९ घण्टा अगाडि

 नेपालमा रामराज्य : अच्युतकृष्ण शरण

१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो। श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नुभएनस बरु अग्नि परीक्षा जस्तो कठोर निर्णय लिनुभयो। किनकी मर्यादा पुरुषोत्तम भगवान् श्री रामले त्यो दिव्य लिला मार्फत सत्यलाई सार्वजनिक रूपमा स्थापित गर्नु र शासनप्रति जनविश्वासलाई अडिग राख्नु राजा वा सरकारको नेतृत्वको मुल धर्म हो भन्ने मान्यता स्थापित गराउनु थियो । जनताको प्रश्न कहिलेकाहीँ अपूर्ण वा गलत पनि हुन सक्छ, तर त्यसलाई दबाउनु वा बेवास्ता गर्नु होइन, निष्पक्ष, पारदर्शी र साहसी ढंगले सम्बोधन गर्नु नै नेतृत्वको मुल धर्म हो, रामराज्यले दिएको प्रमुख सन्देश यही नै हो ।

यहि सनातन मान्यतालाई आत्मसात् गर्दै आज नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले आफुमाथि चौतर्फी प्रश्न उठेपछि जनआवाजको सम्मान गर्दै राजिनामा दिए । उनी माथि उठेको प्रश्न सहि या गलत रु त्यो छानबीन पनि सावित हुने नै छ ।
यद्दपि, राजिनामा दिँदादिँदै उनले जनतालाई सम्बोधन गर्दै भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ” ।  गृहमन्त्री गुरुङको राजीनामाको यस प्रसङ्गले केवल एक व्यक्तिको राजनीतिक उत्तरदायित्वको चर्चा मात्र जन्माएको छैनस यसले नेपालको समग्र शासन(संरचना, नैतिक धरातल र नेतृत्वको चरित्रबारे गम्भीर बहस सुरु गराएको छ। सँगसँगै नेपालमा पुनस्  रामराज्यको अपरिहार्यता सम्बन्धी वहस र परिचर्चा उत्कर्षमा पुराएको छ ।

नेपालमा रामराज्य किन अनिवार्य छ ?

देवभूमि नेपालमा रामराज्य किन अनिवार्य छ भन्ने प्रश्नको उत्तर हाम्रो इतिहास, संस्कृति र वर्तमान अवस्थालाई एकसाथ हेर्दा स्वतः प्रकट हुन्छ। नेपाल केवल एउटा भौगोलिक राष्ट्र मात्र होइनस यो वेद, ऋषि, तप र आध्यात्मिक चेतनाले सिँचित भूमि   हो । एक यस्तो धरोहर, जहाँ धर्मनीति, सदाचार र कर्तव्य जीवनका आधार स्तम्भका रूपमा स्थापित थिए। तर वर्तमान यथार्थतर्फ दृष्टि पुर्‍याउँदा, यही आधार क्रमशः कमजोर हुँदै गएको देखिन्छ।

दशकौँ देखि राजनीतिक तहमा सत्ता केन्द्रित सोच, सिद्धान्तहीन गठबन्धन, पदका लागि मूल्य र आदर्शको त्याग, र जनताभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली राजनीति आफ्नो मूल उद्देश्यबाट विचलित भएको छ। प्रशासनिक संरचनामा भ्रष्टाचार र अनियमितता क्रमशः संस्थागत बन्दै गएका छन् । निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भएको छ, र उत्तरदायित्वबोध घट्दै गएको छ। सामाजिक स्तरमा नैतिक मूल्यहरूको ह्रास, परिवार र समुदायमा अनुशासनको कमी, तथा भौतिकतावादको बढ्दो प्रभावले मानिसलाई आफ्नो आध्यात्मिक आधारबाट टाढा लैजाँदैछ। त्यस्तै, सांस्कृतिक क्षेत्रमा आफ्नै मौलिक परम्परा र पहिचानप्रति उपेक्षा, विदेशी जीवनशैलीको अन्धानुकरण, र संस्कारभन्दा प्रदर्शनमुखी प्रवृत्तिको वर्चस्वले हाम्रो मौलिकता संकटमा परेको छ।

यी सबै समस्याहरूलाई अलग(अलग रूपमा हेर्दा विविध देखिए पनि, गहिराइमा जाँदा तिनको जरो एउटै देखिन्छ । धर्मनीतिको अभाव १ जब शासन, समाज र व्यक्तिको जीवनबाट धर्म अर्थात् कर्तव्य, सत्य र नैतिकता हट्दै जान्छ, तब असन्तुलन, अन्याय र अविश्वास स्वाभाविक रूपमा बढ्न थाल्छ।

यस्तो अवस्थामा समाधान खोज्ने क्रममा विदेशी नीति, विदेशी रणनीति र विदेशी राज्य सञ्चालन प्रणालीतर्फ हेर्ने प्रवृत्ति देखिन्छ । तर गम्भीर प्रश्न उठ्छ, के ती मोडेलहरू नेपालको माटो, संस्कृति, इतिहास र चेतनासँग पूर्ण रूपमा मेल खान्छन्रु  विगतमा विभिन्न राजनितिक दलहरुले राष्ट्रको माटो सुहाउँदो निती त्यागेर आयातित सिद्वान्त र वादलाई अवलम्बन गरेकै कारण आज नेपालको अधिकांश क्षेत्रमा अस्वभाविक विचलन आएको हो , जसको परिणाम स्वरुप देखा परेको दुराबस्था जगजायर नै छ ।

कहिलेकाँही बाह्य देशका सकारात्मक प्रणालीहरू, नितिहरु उपयोगी हुन सक्छन्, तर मूल आधार आफ्नै हुनुपर्छ । त्यसैले नेपालको दीर्घकालीन, दिगो र मौलिक समाधान वैदिक सनातन धर्म सापेक्ष “रामराज्य” को अवधारणामा निहित छ।

रामराज्य भन्नाले कुनै संकुचित धार्मिक राज्य होइनस यो धर्मनीतिमा आधारित आदर्श शासन व्यवस्था हो । जहाँ धर्मको अर्थ सम्प्रदाय होइन, कर्तव्य, सत्य र न्याय हो। यस्तो व्यवस्थामा राज्यका प्रत्येक निर्णय नैतिक आधारमा लिइन्छन्। नेतृत्वले शक्ति प्रदर्शन होइन, सेवा भावलाई प्राथमिकता दिन्छ। जनताको प्रश्नलाई दमन गर्ने होइन, सम्मानपूर्वक सुन्ने र निष्पक्ष रूपमा सम्बोधन गर्ने संस्कार विकसित हुन्छ।

रामराज्यमा कानून सबैका लागि समान हुन्छस कुनै पनि वर्ग, जात वा समुदायप्रति पक्षपात हुँदैन। राज्य सञ्चालन गर्ने व्यक्तिहरूको व्यक्तिगत जीवन नै आदर्श र अनुकरणीय हुन्छ, किनकि चरित्रहीन नेतृत्वबाट सुशासन सम्भव हुँदैन। पारदर्शिता र उत्तरदायित्व यस्तो प्रणालीको अनिवार्य अंग हुन्छ, जहाँ प्रत्येक निर्णय र कार्यप्रति स्पष्ट जवाफदेहिता हुन्छ। साथै, विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी मानवीय चेतना, नैतिकता र आध्यात्मिक उन्नतिसँग जोडिन्छ, जसले समग्र सन्तुलित विकास सुनिश्चित गर्छ।

वर्तमान सन्दर्भमा हेर्दा, नेपाल सरकार र सम्पूर्ण नेतृत्व तहले गम्भीर आत्ममूल्यांकन गर्नु अपरिहार्य भइसकेको छ। जनताको विश्वास क्रमशः कमजोर हुँदै जानु, विरोध र असन्तुष्टि बढ्दै जानु यी सबै संकेत हुन् कि शासन प्रणालीमा गहिरो सुधार आवश्यक छ। गृहमन्त्री सुदन गुरुङ को राजीनामाको प्रसङ्गले पनि यही सन्देश दिन्छ कि नैतिक साहस र उत्तरदायित्व बिना नेतृत्व पूर्ण हुँदैन। पदमा बसिरहनु मात्र सफलता होइनस आवश्यक पर्दा सत्य र नैतिकताको पक्षमा उभिनु नै साँचो नेतृत्व हो।

यदि भगवान श्री राम ले जस्तै जनमतलाई सम्मान गर्ने, प्रश्नलाई पारदर्शी रूपमा सम्बोधन गर्ने र जनविश्वासलाई सर्वोपरि राख्ने संस्कार आजको नेतृत्वमा विकास हुन सकेमा, आजका विवादहरू समाधानमा रूपान्तरण हुन सक्छन्, शासनप्रति विश्वास पुनःस्थापित हुन सक्छ, र राष्ट्र सही दिशामा अघि बढ्न सक्छ।

अन्ततः, रामराज्य कुनै काल्पनिक वा केवल आदर्शवादी अवधारणा होइनस यो व्यवहारमा उतार्न सकिने, समयसापेक्ष र अत्यावश्यक शासनदर्शन हो। नेपालजस्तो ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक गहिराइ भएको राष्ट्रका लागि यो विकल्प होइन, अनिवार्य मार्ग हो। जबसम्म नेतृत्वमा सत्य र त्यागको भावना विकसित हुँदैन, नीतिमा धर्म र न्याय स्थापित हुँदैन, र समाजमा नैतिकता पुनर्जीवित हुँदैन, तबसम्म समस्याहरूको स्थायी समाधान सम्भव हुँदैन।

तर यदि नेपालले आफ्नै मौलिकता, वैदिक चेतना र धर्मनीतिमा आधारित मार्गलाई आत्मसात् गर्न सक्यो भने, यो केवल राष्ट्रिय पुनर्जागरणको सुरुवात मात्र हुनेछैनस यसले विश्वलाई पनि एक सन्तुलित, नैतिक र मानवकेन्द्रित शासन प्रणालीको मार्गदर्शन दिन सक्छ। र, आदर्श शासन प्रणाली भएको राष्ट्रका हैसियतले नेपाल विश्वकै मार्गनिर्देशन गर्ने देशका रुपमा स्थापित   हुनसक्छ ।

तसर्थ, रामराज्यलाई केवल धार्मिक सिद्धान्त वा रूढिवादी परम्पराको रूपमा सीमित नगरी, आदर्श राज्य सञ्चालनका लागि अनिवार्य मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नु नै नेपालका लागि दीर्घकालीन रूपमा लाभदायक हुनेछ।

जय नेपाल।