
सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, जुम्ला हुँदै गोरखासम्म फैलिएका तातोपानी कुण्डहरू नेपालका अमूल्य प्राकृतिक सम्पदामध्ये पर्दछन्। यी तातोपानीहरू केवल स्नान वा मनोरञ्जनका लागि मात्र होइनन्, धार्मिक आस्था, स्वास्थ्य लाभ र पर्यटन विकासका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण छन्। प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न छाला तथा स्नायुसम्बन्धी समस्यामा राहत मिल्ने विश्वास गरिन्छ, जसले यसलाई “प्राकृतिक उपचार केन्द्र” को रूपमा समेत चिनाएको छ।
नेपालमा रहेका यस्ता तातोपानी स्रोतहरूको सही व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्छ। अहिले पनि धेरै ठाउँमा स्थानीय स्तरमा सामान्य संरचना बनाएर प्रयोग भइरहेका छन्, तर समग्र रूपमा हेर्दा अझै व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन सकिएको छैन।
चीनको अनुभवः सिक्नुपर्ने पाठ
विद्यार्थी तथा व्यवसायिक भ्रमणका क्रममा चीनका विभिन्न स्थानमा रहेका प्राकृतिक तातोपानीहरूमा बनेका आधुनिक रिसोर्टहरू अवलोकन गर्ने अवसर मिलेको अनुभव निकै प्रेरणादायी छ। त्यहाँ तातोपानी स्रोतहरूलाई केवल खुला कुण्डको रूपमा मात्र राखिएको छैन, बरु स्थानीय सरकार ९हाम्रो गाउँपालिका जस्तै० र निजी पर्यटन व्यवसायीहरूको सहकार्यमा आकर्षक रिसोर्टहरू निर्माण गरिएका छन्।
ती रिसोर्टहरूमा तातोपानीका पोखरीहरू, विभिन्न तापक्रमका स्नान क्षेत्र, मनोरञ्जनका लागि वाटर किंगडम जस्ता संरचनाहरू विकास गरिएका हुन्छन्। पर्यटकहरूले एकै स्थानमा स्वास्थ्य लाभ, विश्राम र मनोरञ्जनको अनुभव लिन सक्छन्। यसबाट स्वदेशी तथा विदेशी पर्यटकबाट राम्रो आम्दानी हुने गरेको छ। साथै, स्थानीय बासिन्दाहरूका लागि रोजगारी सिर्जना हुनुका साथै स्थानीय सरकारलाई समेत राजस्व प्राप्त हुने गरेको छ।
नेपालका लागि सम्भावित विकास मोडेल
नेपालमा पनि यस्तै मोडेल अपनाउन सकियो भने तातोपानी पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ। यसका लागि निम्न पक्षहरूमा ध्यान दिन आवश्यक छः
पूर्वाधार विकासः सुरक्षित स्नान कुण्ड, रिसोर्ट, होटल, चेंजिङ रुम, स्वास्थ्य केन्द्र आदि निर्माण
सरसफाइ र व्यवस्थापनः पानीको गुणस्तर जाँच, सफा वातावरण, फोहोर व्यवस्थापन
सहज पहुँचः सडक, यातायात र संकेत प्रणाली सुधार
सार्वजनिक–निजी साझेदारी ९एएए०ः स्थानीय सरकार र निजी क्षेत्रको संयुक्त लगानी
प्रचारप्रसारः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ र मार्केटिङ
निष्कर्ष
नेपालका तातोपानी कुण्डहरू प्राकृतिक रूपमा अत्यन्त धनी भए पनि तिनको व्यावसायिक र पर्यटन उपयोग अझै सीमित छ। चीनजस्तो देशबाट सिकेर यदि हामीले योजनाबद्ध रूपमा तातोपानी स्रोतहरूको विकास गर्न सक्यौं भने, यसले स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन र मनोरञ्जन पर्यटन सबैलाई सँगै अघि बढाउन सक्छ।
यसबाट एकातिर स्थानीय स्तरमा रोजगारी सिर्जना हुनेछ भने अर्कोतर्फ देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्नेछ। अब आवश्यकता छ—दृष्टिकोण परिवर्तन, योजना निर्माण र प्रभावकारी कार्यान्वयनको।


