Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

Image

शक्ति, स्वार्थ र नयाँ शक्तितिरको भीड

प्रेमसागर पौडेल

२७ बुधबार , फाल्गुण २०८२१८ घण्टा अगाडि

शक्ति, स्वार्थ र नयाँ शक्तितिरको भीड

मानव समाजको एउटा गहिरो यथार्थ के हो भने मानिस सधैँ शक्ति केन्द्रसँग नजिक हुन चाहन्छ। चाहे त्यो राजनीतिक शक्ति होस्, आर्थिक प्रभाव होस् वा सामाजिक पहुँच, मानिस आफूलाई त्यससँग जोडेर देखाउन चाहन्छ। कसैले सोधोस् वा नसोधोस्, “मेरो मान्छे इन्सपेक्टर छ”, “हाम्रो आफन्त अमेरिका बस्छ”, “हामीलाई फलानो मन्त्रीले चिन्छ” भन्ने वाक्यहरू हाम्रो समाजमा सामान्य जस्तै सुनिन्छन्। यी वाक्यहरू केवल जानकारी होइनन्, शक्ति र प्रभावसँग आफ्नो सम्बन्ध प्रमाणित गर्ने मनोवृत्तिका अभिव्यक्ति हुन्।

मानिसको यो प्रवृत्ति केवल व्यक्तिगत घमण्डको विषय मात्र होइनस यो समाजको संरचना, अवसरको वितरण र राजनीतिक संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय पनि हो। जब समाजमा अवसरहरू समान रूपमा उपलब्ध हुँदैनन्, तब मानिसहरू शक्ति केन्द्रसँग नजिक हुने बाटो खोज्छन्। यही कारणले गर्दा सम्बन्ध, चिनजान र पहुँचले योग्यता भन्दा धेरै महत्व पाउने अवस्था विकसित हुन्छ।

नेपाल जस्तो समाजमा शक्ति केवल औपचारिक पदमा सीमित हुँदैन। राजनीतिक दल, प्रशासनिक संयन्त्र, व्यापारिक सञ्जाल र राज्यसँग जोडिएका सम्बन्धहरू सबै शक्ति संरचनाका विभिन्न रूप हुन्। यी केन्द्रहरूसँग जोडिन सकियो भने काम सजिलै हुन्छ भन्ने धारणा समाजमा गहिरो रूपमा बसिसकेको छ। यसैले धेरै मानिसहरू आफ्नो पहिचान बनाउँदा “म को हुँरु” भन्दा पनि “म कसको मान्छे हुँरु” भन्ने कुरा अगाडि राख्छन्। कुनै पदमा नभए पनि शक्तिशाली व्यक्तिसँग निकटता देखाउनु नै सामाजिक प्रतिष्ठा प्राप्त गर्ने एउटा सजिलो माध्यम बनेको छ।

मानिसको स्वभाव स्वाभाविक रूपमा सुविधा खोज्ने हुन्छ। जीवन सहज बनाउने चाहना मानवीय स्वभावकै हिस्सा हो। तर समस्या तब सुरु हुन्छ, जब सुविधा खोज्ने प्रवृत्ति नै नैतिकता र सिद्धान्तभन्दा माथि पुग्छ। नेपालमा धेरै मानिसहरू आफूले ठूलो उपलब्धि हासिल नगरे पनि “हाम्रो मान्छे विदेशमा छ”, “हामीलाई फलानो मन्त्रीले चिन्छ”, “हाम्रो पार्टीको सरकार छ” भनेर गर्व गर्छन्। यसले एउटा सन्देश दिन्छ, व्यक्ति आफ्नो वास्तविक क्षमतामा होइन, अरूको शक्तिमा आधारित प्रतिष्ठा खोजिरहेको छ।

राजनीतिमा यो प्रवृत्ति अझ स्पष्ट रूपमा देखिन्छ। सत्ता परिवर्तनसँगै मानिसहरूको पहिचान पनि परिवर्तन हुने दृश्य नेपालमा बारम्बार देखिएको छ। हिजोसम्म एउटा पार्टीको झण्डा बोकेर हिँड्ने मानिस अर्को दिन अर्को शक्तिसँग जोडिन तयार हुन्छन्। नेपालको राजनीतिक इतिहास हेर्दा धेरै व्यवसायी, ठेकेदार र दलालहरू सत्तासँग नजिक रहेर आफ्नो स्वार्थ पूरा गर्ने अभ्यासमा अभ्यस्त देखिन्छन्। उनीहरूको निष्ठा कुनै विचारधारामा होइन, अवसरमा आधारित हुन्छ।

यही सन्दर्भ अहिलेको राजनीतिक परिवेशमा झनै स्पष्ट देखिएको छ। लामो समयदेखि देशको राजनीतिमा प्रभाव राख्दै आएका दलहरू एमाले, कांग्रेस र माओवादी भित्रैबाट आएका धेरै मानिसहरू पछिल्लो समय नयाँ राजनीतिक शक्तितिर आकर्षित भएका देखिन्छन्। खासगरी नयाँ दलले चुनावी सफलता हासिल गरेपछि विगतमा ती पुराना दलहरूसँग जोडिएका धेरै अनुहारहरू अचानक नयाँ पक्षधरको रूपमा देखा पर्न थालेका छन्।

हिजोसम्म कांग्रेस वा एमालेको सदस्यता खल्तीमा हालेर ठेक्का–पट्टा गर्ने, कमिशनको धन्दा चलाउने र सत्ता नजिक रहेर लाभ लिनेहरू रातारात सुशासनका समर्थक बनेको देख्दा समाजमा स्वाभाविक रूपमा प्रश्न उठ्छ। विगतमा माओवादीको नाममा प्रभाव जमाउने र सत्तासँग नजिक भएर अवसर लिने केही समूहहरू पनि अहिले नयाँ शक्ति केन्द्रतिर झुकेको देखिन्छ।

यसरी पुराना दलहरूसँग लामो समय नाता जोडेर लाभ लिइरहेका व्यक्तिहरू अचानक नयाँ राजनीतिक शक्तिसँग आफ्नो सम्बन्ध देखाउन थालेको दृश्यले एउटा गहिरो प्रश्न खडा गर्छ। के यो वास्तविक राजनीतिक परिवर्तन हो, वा केवल शक्ति केन्द्र परिवर्तनको कथा मात्र होरु

राजनीतिमा नयाँ शक्ति उदाउनु स्वाभाविक र आवश्यक प्रक्रिया हो। समाज परिवर्तनका लागि नयाँ विचार, नयाँ ऊर्जा र नयाँ नेतृत्व आवश्यक हुन्छ। तर नयाँ शक्तिको उदयसँगै पुरानो अवसरवादी संस्कृतिले पनि आफ्नो रूप परिवर्तन गरेर त्यहीँ प्रवेश गर्ने प्रयास गर्नु अर्को यथार्थ हो।

आज धेरै मानिसहरू सुशासन, पारदर्शिता र परिवर्तनको नाममा नयाँ राजनीतिक शक्तिसँग आफूलाई जोड्न खोजिरहेका छन्। तर उनीहरूको विगत हेर्दा उनीहरू नै पुरानो व्यवस्था र भ्रष्टाचारको लाभ लिने संरचनाभित्र रहेका देखिन्छन्। यही कारणले गर्दा समाजमा कहिलेकाहीँ यो प्रश्न उठ्छ। के उनीहरू साँच्चै परिवर्तन चाहन्छन्, वा केवल नयाँ शक्ति केन्द्रसँग नजिक हुन खोजिरहेका छन्रु

समाजको अर्को रोचक पक्ष के हो भने यस्तो व्यवहारलाई धेरैले चुपचाप स्वीकार गरिरहेका हुन्छन्। नागरिकहरू आफैं पनि कहिलेकाहीँ नियम र प्रक्रिया भन्दा पहुँच र चिनजान खोज्ने बानीमा अभ्यस्त भएका हुन्छन्। सरकारी कार्यालयमा काम गराउँदा नियम अनुसार प्रक्रिया पूरा गर्नु भन्दा “कसैलाई फोन लगाइदिने” उपाय खोज्नु सामान्य जस्तै बनिसकेको छ।

यसरी नागरिक र शक्ति केन्द्र दुवै मिलेर एउटा यस्तो चक्र बनाउँछन्, जहाँ नियम र पारदर्शिता कमजोर बन्छन्। परिणामस्वरूप नयाँ शक्ति केन्द्र आउँदा पनि पुरानै संस्कृतिले त्यसलाई घेरिदिन्छ।

यदि समाजले वास्तवमै सुशासन चाहन्छ भने केवल नयाँ पार्टी वा नयाँ नेतृत्वको उदयले मात्र परिवर्तन सम्भव हुँदैन। परिवर्तनका लागि मानसिकता परिवर्तन आवश्यक हुन्छ। व्यक्ति आफैंले आफ्नो पहिचान शक्ति केन्द्रसँग होइन, आफ्नै क्षमता र योगदानसँग जोड्न सिक्नुपर्छ। “म कसको मान्छे हुँरु” भन्दा “म के गर्न सक्छुरु” भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ।

राज्यले पनि संस्थागत प्रणालीलाई बलियो बनाउनु आवश्यक छ। जब नियमहरू स्पष्ट र कडाइका साथ लागू हुन्छन्, तब सम्बन्ध र पहुँचको महत्व स्वतः घट्छ। नागरिकहरूले पनि सुविधा खोज्ने छोटो बाटो त्यागेर नियम र प्रक्रियाको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ।

शक्ति र स्वार्थको वरिपरि घुम्ने समाजमा सुशासनको सपना सजिलै पूरा हुँदैन। हिजो एमाले, कांग्रेस वा माओवादीसँग नजिक भएर लाभ लिनेहरू आज नयाँ शक्ति केन्द्रतिर ढल्नु आफैंमा ठूलो परिवर्तनको संकेत होइन। यदि मानसिकता उही रह्यो भने नाम र झण्डा मात्रै बदलिन्छ, व्यवहार बदलिँदैन।

वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ, जब समाजले अवसरवाद भन्दा सिद्धान्तलाई महत्व दिन्छ। सुशासनको वास्तविक अर्थ केवल नयाँ अनुहारको उदय होइनस यो मूल्य, चरित्र र प्रणालीको परिवर्तन हो। यदि समाजले यो कुरा बुझ्न सकेन भने शक्ति र स्वार्थका पुजारीहरू सधैँ नयाँ नाम र नयाँ झण्डाका साथ उही पुरानो खेल खेलिरहनेछन्।