
शिवरात्रि पर्व, सेना दिवसको अवसरमा टुँडिखेलमा यसपल्ट अमेरिकी सैनिकले प्रस्तुती दिएका थिए । यो विषयलँई अमेरिकी सेनाले टुडिखेलमा परेड खेल्यो भनेर राजनीकिरण गरियो, सामाजिक सञ्जाल भाइरल पारियो ।
फागुन २१ मा संसदको निर्वाचन भएकाले पनि यो विषयलाई राजनीतिकरण गरिएको बुझ्न सकिन्छ । यस विषयमा नेपाली सेनाले सबैको चासो संवोधन गर्दै यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यासमात्रै भएको बुझ्न र भ्रममा नपर्न आग्रह गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार– ‘नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरू देशका सेनाको ब्याण्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ, हामी पनि अरू देशमा सैनिक टुकडी लिएर जाने गर्छौँ ।’...‘अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्याण्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो । आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।’
स्मरणीय छ, नेपाल र अमेरिकाबीच सन् १९४७ मा सैन्य सम्बन्ध स्थापित भएको हो । त्यसपछि निरन्तर सैनिक अभ्यास, सम्बन्ध र कूटनीति निरन्तर चलिरहेकै छ । गणतन्त्रकालमै पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्याण्डका नियमित प्रस्तुति हुँदै आएका छन् । नेपाली सेनाका सैनिकहरू अमेरिकास्थित स्टाफ कलेजहरू गएर अध्ययन गर्ने, अमेरिकीहरू पनि कार्यक्रम विशेषमा नेपाल आउँछन् ।
नेपाली सेनाले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने गरेको छ । पहिलेको सत्तासीनहरू पश्चिमा घूसपैठमा जेनजी आन्दोलन गराएको धङधङेमा छन् र भन्छन्– सेनाको कार्यक्रममा अमेरिकी सेनाको ब्याण्ड प्रस्तुती, टुँडिखेलमा नाच त्यसैको अर्को कडी हो । सरकार र सेना तथा नजीर हेर्दा यो बिगतकै अभ्यासको निरन्तरतामात्र हो । बुझ्नेहरूका अनुसार प्रचण्ड, देउवा, ओली प्रधानमन्त्री रहेकै समयमा पनि यस्ता कार्यक्रम हुनेगरेका थिए, यसैले यसलाई राजनीतिकरण नगर्दा हुन्छ ।
नेपाली सेना भनेको वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवपूर्ण इतिहास भएको सेना हो । नेपाल राष्ट्रको एकीकरणदेखि हरेक राष्ट्रिय संकटलाई किनारा लगाउन खेलेको अग्रणी भूमिका, विश्व शान्ति स्थापनार्थ अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको सम्मानले नेपाली सेनाको शिर उँचो छ । यस्तो सेनाले सेनाले आफ्नो सेना दिवस–२०८२ तथा २६३औं वार्षिकोत्सवलाई ‘बलियो एकता, सुरक्षित राष्ट्र’ का निम्ति हौसलाका साथ सेना दिवस मनाएको विषयलाई बिबादमा तान्नुको कुनै अर्थ देखिदैन । नेपाली सेनाको यस्तै सम्बन्धका कारण सैनिक कूटनीतिमा पनि गहिरो दख्खल राखेको इतिहास छ ।
सेना दिवसका उपलक्ष्यमा प्रधानसेनापति अशोकराज सिग्देलले सकल दर्जालाई सम्बोधन गर्दै हाम्रो देश नेपालका गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्नुपर्छ भन्दै नेपाली सेना नेपाल राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको सार्वभौम अधिकार र कर्तव्यप्रति सम्वेदनशील छ भन्नुभएको छ । सेना दिवसमा सेनाले विभिन्न खेलकुद, सामाजिक क्रियाकलाप, युवा प्रोत्साहन कार्यक्रम त ग¥यो नै, ‘मिलिट्री टु मिलिट्री’ सम्बन्ध समुधुर राख्ने उद्देश्यका साथ मित्र राष्ट्रका सैनिकहरूलाई समेत निम्त्याउने, निम्तो पाउँदा जाने परम्परालाई निरन्तरता दिएको छ । यस पल्ट पनि भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट सांगीतिक प्रस्तुति दिइनुलाई सैनिक सम्बन्धको रूपमा हेरिएको छ । ‘युवा आदान–प्रदान’ कार्यक्रममा सहभागी हुन आउने जाने क्रम पनि जारी नै छ । यस्तो सम्बन्धले राष्ट्रियता, स्वाधीनता जगेर्नामा बल पुग्ने विश्वास गर्न सकिन्छ । नेपाली सेनाले राष्ट्रिय एकताको बलियो खम्बाका अडिग छ ।


