
फागुन २१ मा चुनाव, कस्तो संसद, कस्तो सरकार चाहिएको हो, जनताले निर्णय दिने दिन । यसपल्ट जनताको मतपत्र, जनबल, जनमतले परिवर्तन ल्याओस् ।
चुनावको रौनक बढिसक्यो । परम्परागत रूपमा हेर्ने हो भने उमेदवारहरूको चुनावी बजारमा बोकाको जस्तो खरिदबिक्री शुरू गर्नेछन् । आस्थाको राजनीति गर्नेहरू पाखा लाग्नेछन् । आस्था र पैसाको तराजुमा पैसाको वजन बढि हुनेछ । निर्वाचन आयोग आचारसंहिताको अचारको पित्को फ्याँकेर ढुस्स कालो चश्मा लगाएर हिमालका टाकुरातिर नाक फर्काएर बस्नेछ । आमनागरिकको भोटको मूल्य बंगुर, रांगाभैंसी, कुखुरा, खसिबोकाको मासु र खोयाबिर्के, लोकल, कखुरा, बियर, वाइन, ओडी, रेडलेवलमा साटिने छन् । आमनागरिकलाई भाषणका ललिपप टन्न दियर सगरमाथा चढाइनेछ । ता कि भोलि आवाज उठाउन नसकुन् ।
भदौ २३ र २४ को आन्दोलन र बिद्रोहले यो परम्पराको सातो खाइदिएको छ । पार्टी र नेताको गठबन्धन, सिद्धान्त, नीति नैतिकताको पतनलाई पनि जेनजी बिद्रोहले रोकिदिएको छ । फागुन २१ को चुनावमा परम्परागत लोभ, लालच, किनबेच सायद खुला रूपमा देखिने छैन । चुनावमा भ्रष्टाचारको न्यूनिकरणले भोलिका दिनको सरकार र संसदले गर्ने भ्रष्टाचारलाई पनि रोकिदिनेछ ।
चुनाव प्रचारमा कार्यकर्ता, समर्थकको भीड लाग्नु स्वभाविक हो । अब हुलका हुल बेरोजगारहरू मोटरसाइकल, जीप, कार भ्यान बेझिझक सडकमा कुद्नु पनि सामान्य नै हो । गाउँ धुलाम्मे बनाउने छन् । सकेको पैसाको खोलो बगाईने छ । गाउँ, शहर, पार्टी प्यालेस, ब्याङ्केट स्तर अनुसारका भोजले ब्यस्त हुनेछन् । छिमेकी छिमेकी बिचमा कटाक्ष हुनेछ । ब्यानर, पम्पलेट, झण्डा, ध्वजा पताकाले शहर, बाटोघाटो, गाउँ दुलही जस्तै सिंगारिने छन् । आमसभा र कोणसभाले टोलटोल गुन्जायमान हुनेछ । गाडीहरूका लावालश्कर लाग्नेछन् । आखिर यही त हामीकहाँ हुने चुनावको परिदृश्य । गरीव मुलुकको चुनावमा यी घटना सामान्य हुन् । नेपालमा अहिलेसम्म यस्तै देखिएको हो । यसपल्टको चुनावदेखि चुनावी प्रचार, चुनावी जालझेल, चुनावी चलखेलमा धेरै सुधार आउने अपेक्षा गर्न सकिन्छ ।
नागरिकले खसालेको मतको चरम दुरूपयोग शायद अब नहोला । किनकि जेनजी पुस्ताले भदौ २३ मै पुरातन प्रणालीको जरा उखेलिदिएका छन् ।
अब नेपाली जनताले फरक चुनावी शैली देख्नेछन्, विवेकपूर्ण मतदान र नतिजा पनि देख्नेछन् । यो आशाको कारण जेनजीको आन्दोलन नै हो ।
ईमानदार, जनसेवी जनप्रतिनिधिको कल्पना गरेर आफ्नो अमूल्य मत दिन्छन् । स्वच्छ चुनावी प्रतिष्प्रधा नहुँदा त्यो कल्पना मात्रै हुन्थ्यो । चुनावमा खर्च गरेको पैसा उठाउनै पर्यो भ्रष्टाचार नगरे कसरी उठ्छ त त्यो पैसा ? यसपल्टको चुनावदेखि चुनावमा खर्च गर्ने र चुनावपछि उठाउने भ्रष्ट प्रवृत्ति रोकिन सक्छ । यसमा फागुन २१ मा मतदान गर्दा जनताले प्रयोग गर्ने विवेक निर्णायक हुनसक्छ ।
यहाँ पद धारण गरिसकेपछि उसको काम ,ब्यावहार ठिक भयन, देश र जनताको हितमा भएन भने त्यो उमेदवार फिर्ता गर्ने र जनताले अर्को रोज्न पाउने सिष्टम भइदिएको भए सायद सबै भ्रष्ट हुने थिएनन् होला । यसबारेमा परिवर्तनकारीले कुरा उठाएका छन्, त्यस्तो पद्धति विकास गर्ने आशा पनि जगाएका छन् ।
जतिपल्ट चुनाव भएर जनताका छोराछोरी नेतृत्वमा पुगे पनि, लोकतान्त्रिक अभ्यास नपुगेका कारण होला उनीहरूमा हैकमवादी ब्यवहार हावी थियो, आइन्दा हैकमवादी प्रवृत्तिको कतै पनि हावी हुनसक्ने स्थिति हुनेछैन ।
हिजो झुप्रामा बसेका, बिकटका,औषधीको नाममा सिटामोल नपाएका ती निरीह जनताको चोला अझै फेरिएको छैन । यसपल्टको चुनावपछि फेरिनुपर्छ ।
लोकतन्त्रका नाममा शुम्भनिशुम्भ, शण्डमुण्डहरूको हैकम थियो । यसपल्टको चुनावपछि यस्ता असुर प्रवृत्ति चुनावी परिणामबाटै किनारा लाग्नेछन् ।
अहिलेसम्म जनता पनि मूर्ख बनेका कारण पनि चुनाव खर्चिलो र घिनलाग्दो बन्दैछ । आफ्नो अमूल्य भोटको दुरूपयोग हुनेगरी भोजभतेरको मासुको झोलसँग पटक पटक साटेपछि चोला नफेरिएको हो । आफ्ना क्षेत्रमा उठेका उमेदवारहरूलाई खबरदारी गर्ने पैसामा नबिक्ने मेरो भोट मेरो अधिकार भनेर अडिग रहनुपर्छ भनेर जेनजी आन्दोलनले सिकाएको छ, यो सिखले परिवर्तन ल्याउनेछ । नगिचिएको चुनावमा होसियार बनौ है नेपाली जनता । यो चुनावमा हुने खर्चमा तपाईं हाम्रो पसिना र खुन छ । विवेक प्रयोग गरे आफ्नो भविष्य आफै बनाउन सकिन्छ ।


