Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

जनता ज्योति हुन्, ज्योतिले मोती खोज

राजन कार्की

०८ शुक्रबार , फाल्गुण २०८२एक दिन अगाडि

 जनता ज्योति हुन्, ज्योतिले मोती खोज

राजनीति समाज बदल्ने र नेताको सफलता भेटिने शास्त्र हो । यो शास्त्रलाई व्यापार बनाइयो भने स्वार्थ पूर्ति त होला, असफलताले वर्तमान र भविष्यमा नमेटिने कलङ्क र घृणाको दस्तावेज हुनेछ । यसकारण राजनीति गर्नेले नीतिमा चल्नुपर्छ, नैतिकतामा अड्नुपर्छ, सिद्धान्तलाई जीवनशैली बनाउनै पर्छ । जो चुक्छन्, तिनीहरू एउटा कालखण्डमा पुगेपछि पछुताउने गर्छन् ।
इतिहासमा १९७५ वर्ष पनि आएको थियो । यही समयमा सिक्किमका चोग्याल चुके, लेण्डपले विदेशीको आड लागेर फुइँकी हाँकेपछि देश सकियो । देशको राष्ट्रिय फूल सुनाखरी झ¥यो । आज सिक्किम छ, सिक्किमको राष्ट्रियता अर्कैको देश बनेको छ । राजा चोग्यालको इतिहास सकियो, लेण्डुप केही समयका लागि सफलजस्ता देखिए । छिटै उनको सत्तामा चम्किएको चेहरा कालाम्मे हुँदै गयो र जीवनको उत्तरार्धमा नेपालको चोभारमा लुक्न आउनुप¥यो, मुख छोपेरभट्किदै भट्किदै मृत्यु बरण गर्नुप¥यो । चोभारमा देखे भेटेका नेपालीलाई उनले शिक्षा दिएका थिए– देशभन्दा ठूलो राजनीतिक स्वार्थ होइन रहेछ । राजनीति भनेको त देश र जनताको मन जित्नुरहेछ । मैले सत्ता जितेँ तर सम्मान गुमाएँ । तपाईहरूले कहिले पनि सत्ताका लागि जनताको विश्वास नगुमाउनुहोला । जीवनको उत्तराद्र्धमा उनलाई जसले देख्यो, चिन्यो, उसले थु थु गरेर थुके । जति दिन बाँचे, मरेर बाँचे । जब मरे उनको नाम इतिहासको पानामा कालो अक्षेर भएर लेखियो । सबैले भन्छन्– राष्ट्रघाती, जनघाती लेण्डुपजस्तो नहुनु ।
लामो समय भारत, सिक्किमका मुख्यमन्त्री चलाएको भण्डारी हुन् कि पवन चामलिङ अथवा हालका पीएस गोले हुन्, उनीहरू नेपाल आइरहन्थे, हालै गोले नेपाल आएर मनकामनाको दर्शन गरेर फर्किएका छन् । ती सबैले समयक्रममा भनिरहे– नेपाल महान छ, नेपालको सार्वभौमिकता बचाउनुहोला ।ञञ
राजनीति गर्ने हुन् कि अध्यात्ममा रमाउनेहरू हुन्, तिनले ॐ, ॐकार र म भित्रको ‘म’ पर्गेल्नै पर्नेहुन्छ । अन्यथा तिनले स्वार्थ भेट्लान्, मुक्ति भेट्दैनन् ।
जीवनदर्शन । ‘म’ को महासागरमा जीवनज्योतिर्मय मोति खोज्ने अध्यात्ममय साहस अदम्भय छ । जो कसैमा सम्भव छैन । जीवनको उत्तराद्र्धको उकालो चढ्न स्याँ स्याँ फ्याँफ्याँ गर्न सुरू भइसकेपछि मान्छे ‘मभित्रको म’ खोज्न थाल्छ । सांसारिक माया, मोहबाट टाढा हुँदा यस्तो आत्मवोध हुनथाल्ने रहेछ । मलाई लाग्यो, जीवनको उत्तरराद्र्धको यो विषय हो– ॐ । जन्म, जगत, जीवन र मृत्यु– ॐ अर्थात् सीमाहीन अनन्त...‘म’ को सीमित जीवनलीला त्यो अनन्तसम्म पुग्न सामथ्र्य राख्दैन । वानप्रस्थ उमेरमा त झन यो असम्भव नै छ । तर यथार्थ, त्यो मार्ग मान्छेभित्रको ‘म’ को बिकल्पहीन मार्ग पनि हो । पृथ्वीमा अवतरण गर्दा च्याँहाँ च्याँहाँ गर्नु ॐ हो, आँखा चिम्लने स्थितिमा पुग्नु पनि ॐ हो । ॐ को गहिराई ‘ममित्रको म’ ले कहिले नाप्न सक्दैन । त्यो सिद्धि प्राप्त गर्न नसके पनि मर्ममार्ग पवित्र छ, त्यो पवित्रतामा प्रवेश गर्नु नै मानवीय मर्म मार्गको महात्म्य हो शायद । ॐ भन्दा पर केही छ र...? तैपनि प्रत्येक जीव कुनै न कुनै रूपको ‘मभित्रको म’ को प्रताडनाबाट मर्माहत छ । शायद जीवनजगत यही हो ।
‘म’ आदि हो कि अन्त, सुरू हो कि मध्य, शान्ति हो कि अशान्ति, सिर्जना हो कि विध्वंश, पाण्डव हो कि कौरव, देवत्व हो कि आशुरी, धर्म हो कि पाप, उज्यालो हो कि अन्धकार, जीवन हो कि मृत्यु, हावा हो कि धुलो ? मैले खुट्याउन सकिरहेको छैन । 
‘म’ हाँस्छ, ‘म’ रून्छ । ‘मान्छे’– वाल, प्रौढ, बृद्ध हुन्छ र सकिन्छ तर ‘म’ को दबदबा, साम्राज्य समाजमा कायमै रहन्छ । आँखा खोल्दा छ, आँखा चिम्लदा छैन । तैपनि ‘म’ लाई ‘म’ नै प्यारो छ । के यही ‘छ र छैन’को झिलिक–मिलिक, भवसागर संसार हो ? 
यति सुन्दर, यति कुरूप संसारको सिर्जना कसले, कहिले, कुन उद्देश्यका लागि ग¥यो ? त्यो को हो, जो ‘म’ भित्र बिराजमान छ र ‘म’ मा जन्मिरहेछ, ‘म’ मा मरिरहेछ ? ‘म’ को अन्त्य र ‘म’ को आरम्भ, बुझिनसक्नु द्वन्द्वमय छ । भगवान र भक्तरूपी यो भवचक्करमा ‘म’ भौंतारिन्छ र पानीमा चिनी घोलिएझैं घोलिन्छ । स्वाद थाहा पाउँदा नपाउँदै मान्छे सकिन्छ, अन्तध्र्यान हुन्छ ।
मान्छेमा चेत छ तैपनि मान्छेभित्र ‘म’ भित्र अहंकारको बास छ । ‘म’ को बास भएकाले मान्छे नासवान छ । ‘म’ र अहंको नालीबेली, सुरू कता हो, अन्त कहाँ छ, अत्तोपत्तो पाउन सकिन्न । कतै ‘म’ मैमत्ता बनिरहेको छ, कतै ‘म’ अध्यात्मको ज्योतिर्पुञ्ज बनेर धपक्क बलेको देखिन्छ । मानवीयता, करूणता, कोमलता, लगनता ढुङ्गाको कापबाट रसाएको, पलाएको देख्दा ‘म’ स्वर्गीय रहेछ जस्तो लाग्छ । जब सुरवीरतामा ‘म’ बहुलाउँछ, बर्बराउँछ, मान्छेलाई कमिला देख्छ र मान्छेको टाउकोमा टेक्छ, ऊभित्रको आवेग, उवाल उर्लेर मानवीयता छेक्छ, त्यतिबेला लाग्छ ‘म’ महिषासुर हो । हावाको एक झोक्का हो, हुण्डरी हो, आउँछ र जान्छ । जीवन जगतमा ‘म’ सबैथोक हो तैपनि ‘म’ शून्य हो, केही पनि होइन । ‘म’ केही हो जस्तो, केही पनि होइन जस्तो । मान्छे पुरूषार्थ, अहंकार, जीत र हाररूपी ‘म’ अन्तर्निहित भएर नाङ्गै आउँछ र नाङ्गै जान्छ । शरीर लिएर जन्मिन्छ र धुवाँ भएर उड्छ, धुलोमा समाहित हुन्छ । रोएर झुल्किन्छ र चुपचाप अस्ताउँछ । ‘म’ भित्र सिर्जना सन्सारको सबैथोक छ, अन्तमा केही पनि छैन । मान्छे आकार हो, मान्छे निराकार हो । ‘म’ केही हो, केही पनि होइन ।
मान्छेका रूपमा ‘म’ बीज हो, बीज फुट्छ । एउटै बीजबाट युधीष्ठिरजस्ता धर्मात्मा, धृतराष्ट्रजस्ता विवेकहीन, दुर्योधन र दुशासनजस्ता पापी र विदुरजस्ता ज्ञानी जन्मन्छन् । एउटै बीजमा यति ठूलो अन्तर कसरी सम्भव छ । आत्मा र परमात्मावीचको चमत्कारिक प्रसङ्ग, के यो प्रारव्ध हो ? अदृश्य शक्तिको खटनपटन नभए के हो ? हो भने ‘मभित्रको म’ आत्मा हो, परमात्मा हो र उसैले प्रत्येक ‘म’ लाई सांसारिक जीवनमा चलायमान गरिरहेको छ । ‘म’ रनभुल्लमा छ । ‘म’ छ, ‘म’ छैन । ‘म’सबैथोक हो, ‘म’ केही पनि होइन । ‘म’ दृश्यमा छ, अदृश्यमा बिलाउँछ । ‘म’ मान्छे हो, ‘म’ राक्षस हो । ‘म’ हावाको एक झोक्का हो । ‘म’ सृष्टि हो, म दृष्टि हो । ‘म’ केही हो जस्तो लाग्दालाग्दै अलप हुन्छ । ‘म’सृष्टि हो, म दृष्टि हो । ‘म’ केही हो जस्तो लाग्दालाग्दै अलप हुन्छ । अस्तित्व हो कि होइन ? ‘म’ व्यक्त, अव्यक्त के हो, के हो ? ‘म’ रहस्य हो, ‘म’ मान्छेले पहिल्याउनै नसक्ने भुलभुलैया मार्ग हो ।
पञ्चतत्वबाट बनेको मान्छे ढुंगामा भगवान, माटोमा मातृत्व देख्छौं । हामी नास्तिक पनि छौं, आस्तिक पनि छौं । नास्तिकहरू समेत कतै शरीर वा मन दुख्दा भगवान पुकार्छन् । अन्तिम आश्रय, अन्तिम अभिष्ठ देउराली भञ्ज्याङ्ग हो भगवान । मन्दिर वा गुरूद्वारा, मस्जिद वा चर्च, अपार ज्ञानीको सत्संग जहाँ जहाँ भट्किदै मन टाउको बजार्न पुगे पनि त्यो भड्काउ ‘म’ भित्रको शान्तिको खोजको छटपटी, आस्था हो, मान्छेभित्रको ‘म’ मा प्रचूर आस्था देखिन्छ । शायद ‘म’ मान्छेमा विश्वास मर्न दिदैन र त्यो विश्वास हो भगवान । मान्छे संघर्ष हो, संघर्षबाट थाकेर शान्त मुक्तिको खोज हो । खोज नसकिदै बिलाउने पानीको फोको हो मान्छे ।
मान्छे प्रकृतिको अति सुन्दरतम् सिर्जना भए पनि ऊभित्र मन परे चाट्ने, मन नपरे थुक्ने चरित्र पनि विद्यमान हुन्छ । ‘म’ भित्र समताभाव हुन्न ? फेरि ‘म’ र ‘मान्छे’ किन एकाकार छ ? ‘म’ छ र ‘मान्छे’ छ । यति दोहोरो चरित्र भएको मान्छे किन ‘म’ च्यापेर जन्मन्छ ? यसको कारणको रहस्य जान्नु भनेको तारणहार चिन्नु हो, चिन्न ‘म’ अझै असक्षम छ । बैकुण्ठ देख्नु र ‘म’ चिन्नु उस्तै हो कि ? त्यसैले ‘मभित्रको म’– मान्छे काँचो छ, कटमिरो छ, गुलियो–गुलियो, टर्रो, अमीलो छ । स्वाद छ, बेस्वादको पनि छ । रङ्ग छ, बेढङ्गको छ । ‘म’ शिष्ट छ, विशिष्ट छ, क्लिष्ट पनि छ । ‘म’ जति बुझ्यो, बुझ्न झन कठिन छ । मान्छे लौकिक संसार र अलौकिक स्वर्ग बुझ्न खोज्दाखोज्दै सकिन्छ । ‘मभित्रको म’ मैनवत्तीजस्तो छ, बाल्यो बल्छ, अँध्यारो चिर्दै जान्छ, अव त छ्याङ्ग उज्यालो हुनलाग्यो भन्ने बेलामा मैन सकिएर झ्याप्प निभ्छ, समाप्त हुन्छ । ‘म’ के हो, बुझिनसक्नु छ । त्यसैले भनिन्छ, मरेपछि स्वर्ग देखिन्छ । स्वर्ग कसले देख्यो र ? अदृश्य शक्तिको लीला अपरम्पार छ ।
प्रकृति घण्टाघरको सुई हो, यही समय ‘म’ हो । समय र प्रकृतिको गतिलाई कसले, कहिले, कहाँ रोक्न सक्यो ? न यी कहिले उल्टो चले । अदृश्य शक्तिपुञ्ज, समय र प्रकृतिमा अदृश्य शक्ति बिराजमान छन् शायद । त्यो शक्तिले ‘म, मान्छे’लाई आप्mनै गतिमा निरन्तर परिक्रमा गराइरहेको छ । चौरासी योनी यही हो कि ? समयसँगै ‘मान्छे’ र ‘म’ फुट्छ, उठ्छ, हिड्छ र लक्ष्य नपुग्दै मध्यमार्गमै छुट्छ । ‘मभित्रको म’ प्रकृति र समयलाई फनफनी फन्को मारेर सकिन्छ ।
‘भित्रको म’ कहिल्यै समयको महिमामय साध्य आरोहण गर्न सक्दैन । मान्छेभित्रको ‘म’ मा वाल हठबल, जवानी बाहु बल, प्रौढ परिपक्वता बल, बृद्ध अनुभव–बुद्धिबल त हुन्छ तर त्यसभन्दा पर परमार्थ, परमात्मा बल ऊ आर्जित गर्न कहिल्यै भ्याउँदैन किनकि ‘म’ अपूर्ण छ । त्यसभन्दा अगाडि ‘म’ निर्बल, निस्तेज बन्छ । पञ्चतत्वबाट निर्मित भएको ‘म’ पञ्चतत्वमा बिलीन हुनपुग्छ । ‘मभित्रको म’ को सुरू र अन्त, दिशा र दशा यही हो । ‘म’ जटिल जीवनका यस्तै सूक्ष्म मानवीय मर्म मार्ग हो । यो मर्ममार्गमा पुस्ताहरू थिए, आज हामी छौं र भोलि भावी पुस्ता हुनेछ । 
अदृश्य शक्तिको चक्रव्यूह (समय चक्र) घुमिरहेको छ । घुमिरहने छ ।