Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाली भाषाको पक्षमा फैसला : प्रा.डा. लुइटेल निर्दोष ठहर

०६ बुधबार , फाल्गुण २०८२३ दिन अगाडि

नेपाली भाषाको पक्षमा फैसला :       
प्रा.डा. लुइटेल निर्दोष ठहर

विगतमा विभिन्न सरकारी निकायबाट षड्‍यन्त्रपूर्ण ढङ्गले नेपाली भाषामाथि पटकपटक आक्रमण भएकामा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्व र तीव्र दबाबबाट नेपाली बृहत् शब्दकोश (२०७२), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र सबैको नेपाली (२०६७)  खारेज गराइएको, नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट अमानक वर्णविन्यासमा प्रकाशित विद्यालय तहका देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक वर्णविन्यासमा प्रकाशन गराइएको, कक्षा ११ र १२ मा अनिवार्य नेपाली हटाइएकामा पुनः राख्न बाध्य पारिएको, नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकका एटिएमहरूमा नेपाली भाषा अनिवार्य रूपमा राख्न लगाइएको तथा निजी प्रकाशन संस्थाबाट मानक वर्णविन्यासमा पुस्तक प्रकाशन गराई नेपाली भाषाको जगेर्ना गरिएको सर्वविदितै छ । नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयका विरुद्ध यस सञ्जालले सुरुदेखि नै अभियानकै रूपमा सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र यातायात विभागका महानिर्देशकलाई व्यक्ति फेरियैपिच्छे बारम्बार ज्ञापनपत्र बुझाएर सशक्त दबाब दिएको कुरा पनि सर्वविदितै छ । 
यसै क्रममा नेपाली भाषा ध्वस्त पार्न लागिपरेका भाषाद्रोहीहरूले एकजना अधिवक्तामार्फत तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासबाट नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसलाका विरुद्ध आफू अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट विज्ञप्ति निकालेर फैसलाको विरोध गरेको, फैसलाका विरुद्ध अन्तर्वार्ता दिएको, विभिन्न व्यक्तिलाई फैसला विरुद्ध लेख्न, बोल्न र सामाजिक सञ्जामार्फत सार्वजनिक गर्न उक्साएको, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरू, शिक्षण संस्था र त्रिविअन्तर्गतका विभिन्न क्याम्पसका नेपाली विभागहरूलाई न्यायालयका विरुद्ध उकास्दै भ्रमपूर्ण विज्ञप्तिहरू प्रकाशित गर्न दबाब दिएको र ती विज्ञप्तिहरूसमेत आफ्नो फेसबुक वालमा पोस्ट गरी फैसलाको विरोध गरेको आदि भनी मेरा विरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए । सो मुद्दाको २०८२ मङ्सिर २८ गते मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासबाट ‘ निजले उठान गरेको सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा भाषा प्रयोगको कुराको यस अदालतबाट आदेश भइसकेपछि पनि नेपाल सरकार मन्त्रीपरिषद्ले एक किसिमले सम्बोधन गरेको परिवर्तित अवस्थामा विपक्षीको अभिव्यक्तिलाई अदालतको अवहेलनाजन्य विषय ठानी सजायको विषय बनाउनु मनासिब हुने देखिन आएन । त्यसैले न्यायिक मर्यादा अनुकूलको अभिव्यक्ति नरहेको भन्ने आधारमा मात्र विपक्षीको अभिव्यक्तिलाई अवहेलनाजन्य कसूर ठहर गरी सजाय गर्नुपर्ने सम्मको अवस्था देखिएन । अतः निवेदकले निवेदनमा उल्लेख गरेको विपक्षी खगेन्द्रप्रसाद लुइटेलको अभिव्यक्तिले अदालतको अवहेलना गरेको ठहर गर्न मिल्ने सम्मको अवस्था देखिन आएन । त्यसैले विपक्षीलाई अदालतको अवहेलनामा सजाय गरी पाऊँ भन्ने निवेदक अधिवक्ता मुकुन्दप्रसाद भट्टराईको निवेदन मागदाबी पुग्न सक्दैन । प्रस्तुत निवेदन खारेज हुन्छ ।’ भन्ने फैसला भएको छ । यस फैसलाबाट मेरो मात्र विजय नभएर नेपाली भाषाको विजय भएको छ र अब नेपालका सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयले वैधता प्राप्त गरेको छ ।
नेपाली भाषाप्रति सद्भावपूर्ण फैसला गरी न्यायसम्पादनमा विश्वसनीयता पैदा गराउने मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाप्रति म हार्दिक धन्यवादज्ञापन गर्दछु । यस मुद्दामा मेरातर्फबाट बहस गर्नुहुने वरिष्ठ अधिवक्ताहरू श्री हरिप्रसाद उप्रेती, डा।विश्वदीप अधिकारी, डा।सुष्मा बाँस्कोटा बराल, पूर्वन्यायाधीश तथा अधिवक्ता श्री ईश्वरीप्रसाद घिमिरे, अधिवक्ताहरू श्री रामबहादुर राउत मातृदास, श्री नारायणप्रसाद पराजुली र श्री खडानन्द ढकाल (प्रतीक ढकाल) ले म र नेपाली भाषाको बचाउका लागि गर्नुभएको विशेष सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु । यस मुद्दामा विभिन्न ढङ्गबाट सद्भावपूर्ण सहयोग गर्नुहुने वरिष्ठ अधिवक्ताहरू गुणनिधि न्यौपाने, भीमार्जुन आचार्य, धु्वलाल श्रेष्ठ, नेपाल बार र सर्वोच्च बारसँग सम्बद्ध सबै व्यक्तिहरू, मेरा प्रिय विद्यार्थी मधुसूदन पन्थी र मेनुका निरौलाका साथै प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्बद्ध सबैलाई हार्दिक धन्यवाद छ । आगामी दिनमा पनि नेपाली भाषाको जगेर्ना, उन्नयन र विकासका लागि मेरा नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालद्वारा चालिएका कदममा सबैको अझ सशक्त सहयोग रहने कुरामा विश्वस्त रहेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
२०८२ माघ १९                                      
           प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल
            अध्यक्ष
            मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल