
राजनीतिक दलले जनविश्वास आर्जन गर्न विशेषतः चारवटा विषयमा स्पष्ट र दृढ हुन आवश्यक हुन्छन्।
पहिलो, पार्टीको स्पष्ट सिद्धान्त र गन्तव्य।
दोस्रो, पार्टीको ऐतिहासिक धरातल।
तेस्रो, पार्टीप्रति मतदाताको मनोविज्ञान।
चौथो, राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्बन्ध।
१. सिद्धान्त र गन्तव्य
नेपालको राजनीतिक मोर्चामा देखिएका विभिन्न राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेस सैद्धान्तिक रूपमा स्थिर देखिन्छ। सैद्धान्तिक गन्तव्यका हिसाबले नेपाली कांग्रेसप्रति नेपाली जनता सशंकित हुनुपर्ने अवस्था छैन। यो पार्टी अन्य दलहरूको तुलनामा सिद्धान्तका दृष्टिले बढी विश्वसनीय देखिन्छ।
नेकपा एमाले आफूलाई कम्युनिस्ट पार्टीको रूपमा प्रस्तुत गरे पनि आफ्नो सैद्धान्तिक धरातलमा दृढतापूर्वक उभिन सकेको देखिँदैन। कहिले चिनियाँ माओवादको झल्को दिने, कहिले कार्ल मार्क्स र लेनिनको विचारसँग मेल खाने, त कहिले दक्षिणी झुकावतर्फ आकर्षित देखिनुले यो पार्टी आफ्नै सिद्धान्तमा स्पष्ट हुन नसकेको संकेत गर्दछ।
माओवादी केन्द्रको सैद्धान्तिक धरातल अझै प्रष्ट देखिँदैन। यो पार्टी विघटनतर्फ उन्मुख देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक पहिचान नै छुट्टिन सकेको छैन। कुन सिद्धान्तमा आधारित राजनीतिक दल हो भन्ने विषयमा उसले आफूलाई स्पष्ट पार्न सकेको अवस्था छैन।
२. ऐतिहासिक धरातल
प्रवासमा रहेर पनि स्वदेशको राजनीतिक संगठन विस्तार गर्न सफल नेपाली कांग्रेस पार्टीमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायतका ऐतिहासिक व्यक्तित्वहरूको विरासत बोकेका सन्तानहरू आज पनि पार्टीको मूल राजनीतिक प्रवाहमा समाहित छन्। त्यसैले यो पार्टीलाई सही दिशाबोध गराइरहने अभिभावकीय पात्रको अभाव हुँदैन। नेपाली कांग्रेस सैद्धान्तिक रूपमा कहिल्यै नेतृत्वविहीन हुँदैन भन्ने विश्वास गर्न सकिन्छ। तर कम्युनिस्ट पार्टीहरूको हकमा आवश्यक पर्दा ऐतिहासिक विरासत धान्न सक्ने पात्रको खाँचो देखिन्छ। कम्युनिस्ट आन्दोलनको पुरानो विरासत धान्ने व्यक्ति आजको सन्दर्भमा देखिँदैन। भर्खरै जन्मिएका नयाँ राजनीतिक दलहरूको ऐतिहासिक विरासत खोज्नु उपयुक्त हुँदैन—वर्तमानमा जे छ, त्यही नै उनीहरूको आधार हो।
३. मतदाताको मनोविज्ञान
पुराना राजनीतिक दलहरूप्रति नयाँ मतदाताको सम्बन्ध त्यति सुदृढ र विश्वसनीय देखिँदैन। ४० वर्षभन्दा कम उमेर समूहका मतदाताको संख्या करिब ३८ देखि ४२ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। यो उमेर समूहले पुराना राजनीतिक दलहरूप्रति त्यति भरोसा गर्ने सम्भावना कम देखिन्छ। उनीहरूको रोजाइ पुरानाभन्दा नयाँ राजनीतिक दलतर्फ आकर्षित हुन सक्ने आधारहरू प्रशस्त छन्। यो अवस्था नयाँ राजनीतिक दलका लागि सकारात्मक संकेत हो भने पुराना दलका लागि थप जटिल चुनौतीका रूपमा देखा परेको छ।
४. अन्तर्राष्ट्रिय सम्बन्ध
नेपालको राजनीतिमा जुनसुकै दलले सत्ता सम्हाले पनि सबैभन्दा पहिले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न अपरिहार्य छ। अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसक्दासम्म देशको सरकारले स्थायित्व प्राप्त गर्न सक्दैन। तर हाल नेपालका कुनै पनि राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक प्राथमिकतामा राखेको देखिँदैन। त्यसैले आगामी निर्वाचनपछिको सरकारले पनि देशलाई स्थायित्व दिन सक्छ कि सक्दैन भन्ने विषयमा शंका गर्ने पर्याप्त आधारहरू देखिन्छन्।


