
सबैले प्रधानमन्त्रीको सिट ताकेपछि देशको अबस्था कस्तो होला ? रवीले भनेका छन्– बालेन प्रधानमन्त्री, कुलमान र हर्क साङ्पाङदेखि प्रचण्ड, ओली र गगन थापा पनि प्रधानमन्त्री बन्ने चर्चा छ । जो हुन्छन्, ती पार्टीका हुन्छन् कि देशका ? को बन्ला भावी प्रधानमन्त्री ?
यी सबै प्रधानमन्त्रीको दौड्मा छन् । राजतन्त्रवादी भन्छन्– देशमा अब राजतन्त्रको खाँचो छ । देशको तरल अवस्था देख्दा राजा बढी चिन्तित् देखिन्छन् । कुनै राजनीतिक शक्तिले पनि आत्मासमीक्षा गर्न सकेनन् ।
देशको यस्तो कहालीलाग्दो अवस्था बनाउने जिम्मेवारी त कसैको होला ? सबै पानी माथिको ओभानो बन्ने प्रयत्नमा छन् । पिडित जनताको रोजाई के
होला ? फागुन २१ मा तय होला ।
जनता सधैँ हावाको पछाडी उड्न खोज्ने हुन् त ? नेताहरूले जनतालाई सधैँभरी भेडा तुल्य सम्झिरहने हुन् ? प्रत्येक नेताले देशको सार्वभौमसत्तामा कब्जा जमाउन जसरी भएपनि जनमत लिने मनसायमा देखिन्छन् । लुटेर, भुटे, कुटेर नेताहरूलाई सत्तामा पुग्नुछ ।
कांग्रेस टुक्रियोस् कि एमाले जुटोस्, नेकपा बनोस् कि रास्वपाको लहर चलेजस्तो देखियोस् । जसलाई मुद्दा लागोस् कि आरोप लागोस्, देश चुनावमय बन्दै गएको देखिन्छ । निर्वाचन प्रणालीलाई लोकतन्त्रको सर्वोच्च ठानिन्छ । देशको जनसंख्या तीन करोड अपुग छ, त्यो पनि करीव तीन हिस्सामा एक हिस्सा विदेशमा छन् । उनीहरूलाई निर्वाचनमा सहभागी गराउन सकिएन । चुनावी पकृया सुरू भइसकेकाले समयमा निर्वाचन हुनसक्ने देखिन्छ । हरेक पार्टी प्रधानमन्त्री भन्दा तलका कुरा नै गर्दैनन् ।
विश्लेषक भन्छन्– फेरि पनि कुनै दलले बहुमत पाउने छैनन् । त्यपछि देखिने छ, दलहरूको चर्तिकला ।
नयाँ जनेरेसन् जसले प्रावधिक सुबिधा पाएको मात्र छैन, शोसल मिडियामै जन्मियो हुर्कियो इन्टरनेट जस्ता सुबिधा उनीहरूको अंशमा परेका छन् । तिनै युवाहरू जसले हिंजो गैर दलिय सरकारको माग गर्यो र अन्तरिम सरकार बनायो आज उनैले राजनीतिक पार्टीका कमान छोपेका छन् । गैरदलिए भन्नेहरू धेरैजसो रास्वपा उमिदवार बनेको देख्दा अन्तरिम सरकार उनैले बनाएको पुष्टी हुन्छ । भदौ २३ र २४ गते कसले आन्दोलन ग¥यो, देश खरानी बनायो, बिस्तारै पर्दा उघ्रदैजाला ।
न त पुराना पार्टीले लोकतन्त्रको आचरण देखाए, न त जेनजी सरकारले चरित्र चम्कायो ? चुनाव भइहाल्यो भने जनताले कसलाई चुन्लान् ? जनताले बालेन, केपी ओली, प्रचण्ड, गगन थापा कसलाई प्रधानमन्त्री बनेको हेर्न चाहलान् ? जनमत कसका पक्षमा जाला ?
साह्रै गनाएका केही कांग्रेसका देउवा कोटरी, एमालेका केही नेताहरू किनारा लागेका छन् । केपी ओली र प्रचण्ड किनारा लगाउने बेला चाहीं चुनाव बनेको छ । जेन्जी आन्दोलनबाट कसैलाई फाइदा भएको छ भने कतिपय विदेशीका सच्चा एजेन्टहरूलाई भयो भनिन्छ । आरोप प्रत्यारोप जो जसमाथि लगाए पनि यथार्थमा कमजोरी आन्तरिक राजनीतिकर्मीकै हो । जसले विदेशीलाई मैदान उपलब्ध गराएका थिए । जबसम्म राजनीति संग्लिदैन, तवसम्म स्थिरता, शान्ति र सम्बृद्धि सम्भव छैन । आन्तरिक सुधारबाट नै जनताको बारेमा सरोकार राख्न सक्छ । जनहितमा, देशहितमा काम गर्न सक्छ । स्वराज, सार्वभौमिकता र लोकतन्त्र बलियो पार्नसक्छ ।
हो, भारत, चीन र अमेरिका देशमा हावी छ । यी तिनै शक्तिलाई सन्तुलनमा राख्न नसक्नु र स्वार्थअनुसार पार्टीहरू त्यसतिर ढल्किदा देशको अस्तित्व संकटग्रस्त हुँदै गएको हो । बिस्तारवाद र साम्राज्यवादले देशमा जाल बिच्छायो भनेर भन्नुभन्दा त्यस्तो जाल बिच्छाउने वातावरण बनाइदिने हाम्रा नेता, पार्टी, प्रशासकहरूलाई दण्डित गर्नु उचित हुन्छ । जेनजी आन्दोलनले भ्रष्टाचार उन्मूलनको नारा लगाएर सत्ताधारी पार्टीहरूलाई पाखा लगायो । उनीहरू केहिदिन भूमिगत पनि भए । गैर दलिए सरकार बन्यो, चुनाव घोषणा पनि भयो । अब निर्णायक बेला आएको छ, जसलाई जेनजीले घृणा गरेका थिए, जे कुरा जेनजीले खोजेका थिए, त्यसको परिपूर्ति चुनावका माध्यमबाट हुनसक्छ । जो जनघातक छन्, जो देश घातक छन्, तिनलाई जनताले तह लगाउने अवसर चुनाव नै हो । भ्रष्ट, चरित्रहीन, सिद्धान्त, नीति, नैतिकहीन छन्, तिनीहरूलाई जिताउने अनेक शक्ति लाग्न सक्छन्, जनता सचेत र जागरूक भए भने पाखा लगाउने समय चुनाव नै हो ।
जनताले २०४६ र २०६३ पछि कुन कुन नेता र कुन कुन पार्टीले सही काम गरे, गलत के के गरे, मूल्याङ्कन गर्नुपर्छ, बही खाता खोतल्नुपर्छ । जसले जनअपेक्षा पूरा गर्छ भन्ने लाग्छ, त्यस्ता असललाई चुनाव जिताउन सके आगामी दिनमा पुर्पुरोमा हात राखेर पछुताउनु पर्नेछैन । अस्तित्वरक्षा पनि हुनसक्छ ।
जो निरन्तर भ्रष्टाचार बिरूद्धको आन्दोलन गर्दै आएको छ । सङ्घीयता, एमसीसी, बीआरआई, नागरिकता बिधेयक लगायतका तमाम असमान र राष्ट्रघाती संझौता तथा सन्धिको बिरूद्धमा आवाज उठाउँदै आएको राजनैतिक शक्ति र व्यक्तिलाई जनताले सकार्नुपर्छ, राष्ट्रिय जनमोर्चालाई यो देशका जनताले नकार्न सक्दैनन् ।
जेन्जी आन्दोलनले नयाँ पुस्ताको नाममा बेदाग र देशभक्त समेतको उपक्षा गर्यो र नयाँ पुस्ता भन्दै लगातार केही भ्रष्टाचारमा संलग्न भएकालाई अगाडी सारेको देखियो । आन्दोलन् भ्रष्टाचार मुक्त गर्ने मनसायमा थियो भने भ्रष्टाचार बिरूद्धका युवा, बुढा जो कसैलाई अगाडी सार्नेथिए तर उमेदावरीमा आशालाग्दो अवस्था कमजोर देखियो । राजनीतिक पार्टीभित्र स्वयम संसदभित्र पनि कयौँ ईमान्दार देशभक्तहरू थिए तर जेन्जीको खोलभित्र लुकेका अवसरवादीको लागि त्यस्ता देशभक्तहरूलाई पाखा लगाउनै पर्ने थियो, त्यही गरे । यदि उनीहरू साँच्चै भ्रष्टाचार बिरोधी हुन्थे भने संसदमा, सडकमा लगातार भ्रष्टाचारको बिरूद्धमा लडिरहेका इमान्दार देशभक्तहरूलाई साथमा लिएर भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा आन्दोलनलाई बलियो बनाउने थिए । जेन्जी विद्रोहपछिको कथित जेन्जीको नाममा अवसरवादी र विदेशीहरूका ऐजेन्टहरूले त्यो आन्दोलनलाई आफ्नो कब्जामा लिएर देशको सार्वभौमसत्तामा विदेशीको कठपुतलीलाई बसाल्न मरिहत्य गर्दै आउनु दुःखद छ ।
आन्तरिक राजनीतिक असक्षमताका कारण विदेशी शक्तिहरू बलियो भएका छन् । जनताले इतिहासको कुनै कालखण्डमा माग नगरेका र देशको अहितमा प्रवेश पाएका अनेकानेक विषयले देशलाई अत्यन्तै तरल र संम्वेदनशील अवस्थामा पुराएको छ । त्यसको बारेमा कुनै राजनैतिक शक्तिले आवाज उठाउनुको सट्टा मन्त्री र प्रधानमन्त्रीका अँशबण्डाहरू गर्दै तछाड मछाड गरिरहेका छन् । यस्तो व्यवहारले राष्ट्रियतामा नकारात्मक प्रभाव पार्ने गरेको छ ।
यस्तो विषम परिस्थितिबाट देशलाई कसरी निकास दिने आगामी निर्वाचनमा जनताको झुकाव कता हुन्छ ? त्यसले जनता कत्तिको सचेत छन् भन्ने कुरालाई पनि पुष्टी गर्नेछ । जनताले भ्रष्टाचारीलाई जरैबाट उखेलेर फ्याँक्न सक्छन् की फेरी उस्तै भ्रष्टलाई आफ्नो अमूल्य मत दिएर देश खरानी भएको तमासा हेर्छन् । फागुन २१ जनताको पनि अग्नि परीक्षा हो । पार्टी र नेतालाई देशबादी बनाउने जनताले नै हो । यो गुरूत्तर दायित्वमा देशका नागरिकहरूको कर्तव्य हो । हामी सबै जनताले आफ्नो कर्तव्यको पालना गरौं ।


