Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

यहाँ यस्तै छ

१३ सोमबार , माघ २०८२३ दिन अगाडि

यहाँ यस्तै छ

आजभोलिको युट्युब र टेलिभिजनको युगमा अर्थात सबैकुरा  दृश्यमा प्रसारित र देख्न पाइने युगमा, हामी जुनसुकै बेला जो–कोहीलाई देख्न र सुन्न सक्छौँ— गायकहरू, आध्यात्मिक गुरूहरू, विश्व नेताहरू, विश्लेषकहरू र आफ्नै राजनीतिक महारथीहरू । उनीहरूका क्रियाकलाप, स्वर, भाषण, हाउभाउ पर्दामा देख्छौ, सुन्छौं ।  यिनीहरू मध्य कसै कसैले आनन्द दिन्छन् मन शान्त पार्छन्, कसैले प्रेरणा पनि दिन्छन्, कसैले मनोरञ्जन  पनि  दिन्छन् भने धेरैले भने झन उदासी र दिक्दार पनि बनाउछन् । तर यस्ता मध्य कतिपयको भाषण सुन्दा प्रस्तुति धेरै प्रशंसनीय राम्रो लागेपनि ब्यक्ति आफै  पर्दा  पछाडि निन्दनीय चरित्रका पनि हुन्छन्— जसले सुन्नमा महान् लाग्ने कुरा गर्छन्, तर जीवनमा आफ्नै शब्दहरूको विपरीत आचरण गर्छन् ।
मेरो जीवनको आठ दशक भन्दा बढी अवधिको अवलोकन र अनुभववाट हाम्रो देशका धेरैजसो नेता र प्रशासकहरूको देश प्रेम, इमान्दारिता र जनसेवा भाषणमा मात्र सजिएको तर व्यवहारमा बिल्कुलै नभएको महसूस गरेको छु । तिनीहरूको इमानदारी सेवा र निस्वार्थताको शब्द बाक्य मञ्च र प्रवचनमा गुञ्जिएपनि शक्ति हात पर्दा व्यबहार र क्रियाकलापमा ती सवै प्रशंसनीय शब्द वाक्यहरू स्वार्थ र छलमा विलीन हुने गरेको कटू सत्य पनि देखिआएको छु । भोगिआएकोछु । जुनकुरा जनताको दुःख पीडा र मुलुकको दुरावस्थाले नै सबैलाई प्रस्ट्याउँछ ।
भाषण राम्रो, काम सून्य
दशकौँ अघि मैले ‘सबै ज्ञानी नेपालमै हुन्छ’ शीर्षकको एक कविता लेखेको थिएँ, जुन २०४१ साल फागुन १८ गते (March 1, 1985) नयाँ नेपालपोस्टमा प्रकाशित भएको थियो । त्यो कविता बहुदलीय लोकतन्त्र आउनुअघि, नेपाल गणतन्त्र बन्नु त धेरै अघि  नै लेखिएको हो । त्यतिबेलै पनि मैले हाम्रो देशका प्रधानमन्त्री, मन्त्री र क्रान्तिकारी भनाउँदा नेताहरू समेत—सबैजसो अब्राहम लिंकनको वाक्पटुता र महात्मा गान्धीको दया, माया, प्रेम र करूणापूर्ण मिठो प्रभावशाली भाषा र शैलीमा बोल्न सक्ने, तर आफ्नै ज्ञानलाई व्यवहारमा कहिल्यै नउतार्न अनुभव गरेको थिएँ । आजभोलि त यो कुराको सीमानै छैन । साम्यवाद, प्रजातन्त्रबाद र समाजवादका हाम्रा नेताहरूका भाषण सुन्दा यी सवै बादहरूका सर्बोत्कृष्ट नेताहरू सवै नेपालमै रहेको भान हुन्छ । तर नेपालको स्थिति र नेपाली जनताको दयनीय स्थिति हामी कसैबाट छिपेको छैन । हालको समयमा उक्त कविता झन सामयिक लागेकोले यहाँ प्रस्तुत गरेको छु ।
सबै ज्ञानी नेपालमै हुन्छ
यो माटोको गुणै यस्तो
यहाँ इमान र विवेक
भाषणमा मात्र हुन्छ
यहाँ निस्वार्थ र सेवा
बोलाइमा मात्र हुन्छ
पसीना र परिश्रममा
केही नभए पनि
यहाँ मान्छेको अन्तरवार्तामा
धेरै कुरा हुन्छ
यहाँ एकभन्दा अर्को ठूलो
वुद्ध हुन्छ, गान्धी हुन्छ, माक्र्स हुन्छ
खोजी हेर 
हाल ओइरिएका अन्तरवार्ता
यो विश्व ब्रम्हाण्डका ज्ञानी प्रवुद्धहरू
यो तपोभूमि नेपालमै हुन्छ ।
हाम्रो देशमा वाक्पटु वक्ताहरूको कहिल्यै कमी महसूस भएन, तर ज्ञानी, प्रबुद्ध, सत्यवादी र कर्मयोगीहरूको अभाव भने सधै रहेको महसूस हुन्छ । आजभोलि युट्यूवमा अनगिन्ति नेता, कार्यकर्ता, समाजसेवी, विश्लेषक, ज्योतिष, भविष्यबक्ता, देवी, माता, बिशेषज्ञहरूको भाषण प्रबचन, प्रस्तुति, विश्लेषण देखिन्छन् । यिनीहरू मध्य कतिले बिश्वका ख्यातिप्राप्त राजनेताहरूलाई पनि उपदेश दिन खोज्छन् । यिनीहरूको बोलाई एकछिन पन्छाई ती बोलाई अर्थात प्रवचन भाषणबाट केही फल प्राप्त भएको बा नभएको हेर्दा प्रायः हातलाग्यो सून्य भनेजस्तै देखिन्छ । धेरैजसोको हावादारी कुरा भन्ने जस्तो । जो कसैको बोलाई र वास्तविक क्रियाकलाप, काम गराई हेरियो भने  हाम्रो देश कर्मको कार्यशाला होइन, शब्द बाक्यको मात्र रंगमञ्च बनेको भान हुन्छ । अर्थात बोलाइ बमोजिम फल दिने संख्या हातको औलामा गन्न पनि हुँदैन ।
जहाँ इमानदारिता नै दुर्भाग्यको कारण बन्छ
मेरो लामो सार्वजनिक सेवा र लेखन यात्रामा मैले देखेको छु— हाम्रो देशमा बेइमानले होइन साधारणतः इमानदारले सजाय पाउँछन् । मेरी प्रिय दिवंगत पत्नी शान्ति मिश्र र मैले नेपालको उच्च शैक्षिक संस्थाको इमान र प्रतिबद्धताका साथ निर्माणमा टेवा र सेवा गर्रूयौँ— उनी नेपालकी पहिलो र सबभन्दा ठूलो विश्वविद्यालय अर्थात त्रिभुवन विश्वविद्यालयकी पहिलो पूर्णकालीन महिला प्राध्यापक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी संस्थापक निर्माता प्रमुख पुस्तकालयध्यक्ष र म सोही विश्वविद्यालय सेवा आयोग कार्यालयका प्रमुख, शैक्षिक प्रशासक, लाइब्रेरियनको रूपमा पनि कार्यरत थियौं । हामी दुवै सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने र हामीलाई लागेको सत्य कसैलाई अप्रिय लाग्ने स्थितिमा पनि सत्य नबङग्याई सत्यनै बोल्ने र लेख्ने स्वभावका थियौं । तर चाकडीलाई पुरस्कार दिने र सत्यतालाई दण्ड दिने हाम्रो मुलुकको संस्कृतिमा, सत्यलाई स्वयं विद्रोहको रूपमा लिने हाम्रो संस्कार रहेछ । हाम्रो कार्यक्षेत्र र जिम्मेवारी भित्रको हाम्रो कामकाजमा हाम्रो योग्यता, दक्षता, सक्रियता, इमान्दारिता र निष्ठामा महाशत्रुले पनि प्रश्न उठाउने आधार जरूर भेटिन्दैन । हामी हाम्रो दायित्व पूरा गर्न असफल भएकाले होइन, अत्यन्त निष्ठापूर्वक आफनो कर्तब्य पूरा गरेकाले मुलुकमा रहेको संस्कार विरूद्ध बिद्रोहीमा दर्ज हुनगई किनारामा पारियौँ । व्यक्तिको रूपमा हामीले भोगेको अनुभव नै हाम्रो राष्ट्रमा आज पनि समस्त नेपालीले भोगिरहेकाछन् – जहाँ योग्य, दक्ष र स्वाभिमानलाई बिद्रोहीको रूपमा लिई धकेल्ने, मिल्काउने गरिन्छ, चाकडी चाम्लुसी र अन्धो आज्ञाकारितालाई सम्मान दिइन्छ र गरिन्छ र शक्तिको पदमा पुग्ने चाटुकार आज्ञाकारीहरूले  इमानदार श्रमिकको आवाज दबाउँछन् । विश्वविद्यालयका २२ जना उच्च अधिकारीलाई जबरजस्ती अवकाश गराउने एक पूर्व उपकुलपति आज नागरिक समाजका ठूलो नेता र लोकतान्त्रिक नेताको रूपमा न्भल श को विद्रोहवाट बनेको सरकारवाट पनि सम्मानित र पूजित भइरहेका छन् । अजब र गजबको हाम्रो मुलुकको यो संस्कार र संस्कृति अझै कति दशक मात्र होइन कति युग युग सम्म चल्ने हो थाहा छैन ।
शासन प्रशासन र चाकडी, चाम्लुसी
२०३९ साल असोज ६ गते (October 22, 1982) मैले ‘यहाँ यस्तै छ’ शीर्षकको अर्को कविता लेखेको थिएँ, जुन नयाँ करेन्टमा प्रकाशित भएको थियो । यसले देशको सरकार, शासन, प्रशासन  सरकारी कार्यालयहरूमा व्याप्त चाकडी चाप्लुसी, भ्रष्टाचार र ढोंगलाई चित्रण गरेको छ । हाम्रो मुलुकमा यस कवितामा चित्रित बिकृतिको सकली रूपको अनुभव र अनुभूति आजको नेपालको वर्तमान स्थितिले झन बढी स्पष्ट रूपले गराएको छ भन्ने मलाई लागेको छ । यसैले उक्त कविता तल प्रस्तुत गरेको छु ।
यहाँ यस्तै छ

यहाँ यस्तै छ
हिजो पनि, आज पनि
यहाँ यस्तै छ 
खाने र खुवाउनेमा
दक्षताको जाँच छ
रक्सी र छोयलामा
मित्रताको नाप छ
चाकडी र चाप्लुसीमा
विश्वासको छाप छ
नाता र नजरानामा
योग्यताको राप छ
हिजो पनि, आज पनि
यहाँ यस्तै छ
यसैले यहाँ भनसून छ ।
थोरैलाईमात्र पोषण छ
इमानले अडिग जागीर
न तेरो छ, न मेरो छ
यसैले यहाँ
पिउने र पिलाउनेमा
सब मस्त छ
खाने र खुवाउनेमा सब व्यस्त छ
यहाँ यस्तै छ, यस्तै छ ।

मैले सन २०२२ को निजामती सेवा दिवसमा प्रधानमन्त्री शेरबहादुर देउबाले दिनु भएको नेपालका सरकारी कर्मचारीहरूको निस्कृयता र गैरजिमेवारीपन चित्रित एक भाषण पढेँको थिएँ— जहाँ उहाँले ‘सरकारी कर्मचारीहरू कार्यालय जान्छन्, हाजिर गर्छन् र फर्किन्छन् ।’ अर्थात काममा ध्यान दिदैनन् भनेर दुःख व्यक्त गर्नुभएको थियो— म उहाँका शब्द बाक्य भन्दा त्यसमा लुकेको विडम्बना बढी सम्झिन्छु । मैले चालीस वर्षअघि कवितामा लेखेको माथिको स्थिति यहाँ आज पनि जस्ताको तस्तै छ । यसलाई सुधार्ने शक्ति उहाँ र उहाँका अनुयायीहरूसंग जरूर थियो । उहाँ पछिका सवै प्रधानमन्त्रीहरूमा थियो । सरकारमा गएका नेता भनाउँदाहरू सँग थियो र छ । तर यो स्थिति आजसम्म कसैले पनि नसुधारेको मात्र होइन, झनझन् अधोगतिमा पुर्‍याएका छन् । यो देशको विडम्वना यस्तै छ ।
दुःखद कुरा के हो भने कर्मचारीतन्त्र र कर्मचारीयन्त्र मात्र भ्रष्ट र निस्कृय होइनन् । हाम्रो मुलुकमा यसलाई चलाउने राजनीतिक नेतृत्व बढी भ्रष्ट, निस्कृय र दोषी छ । मैले सन् २०२२ मा People’s Review  मा एक  लेखमा लेखेको थिएँ ।
‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित कुनै पनि संवैधानिक निकायहरू राजनीतिक हस्तक्षेपबाट मुक्त छैनन् । यही हाम्रो शासन प्रशासनमा भइरहेको कुप्रबन्ध, बेथिति र भ्रष्टाचारको मूल कारण हो ।’
‘एक समय राज्यको मेरूदण्डका रूपमा स्थापित निजामती सेवा आज चाकडी, चाम्लुसी, पक्षपात, घूस र मनोबलहीनताले थिचिएको कुरा एक राजनीतिक ऐना जस्तै बनेको छ ।’
राजनीति र निरपेक्ष प्रशासन
राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा विदेश मन्त्रालयका पदाधिकारीहरूलाई सम्बोधन गर्दै आफ्ना कूटनीतिज्ञहरूलाई भनेका थिएः ‘म तपाईंहरूको विशेषज्ञताको कदर गर्छु र तपाईंहरूको सम्मान गर्छु । यो प्रशासनले तपाईंहरूलाई राजनीतिकरण गर्ने होइन, तपाईंहरूको काम गर्न सशक्त बनाउनेछ ।’
यी केही शब्द बाक्यहरूमा राष्ट्र प्रमुख र सरकार प्रमुखले सुशासनको लागि कर्मचारी सयन्त्रमा राखिनु पर्ने  विश्वास, सम्मान र राजनीति मुक्तताको वलियो धारणा स्पष्ट झल्किन्छ । जबसम्म नेपालले आफ्ना कर्मचारीहरूलाई राजनीतिक हस्तक्षेपबाट जोगाउन सक्दैन र चाकडी गर्नेहरू होइन, इमानदार कर्मचारीहरूलाई पुरस्कृत गर्न सक्दैन, तबसम्म हामी पतनको उही चक्रमा घुमिरहनेछौँ ।

साहित्य, समाज र जीवन
म सधैँ विश्वास गर्छु— साहित्य जीवनबाट अलग हुनु हुँदैन, यो जीवनको प्रतिबिम्ब बन्नुपर्छ । त्यसैले मैले जनवादी साहित्य लेखेँ— जनताका वास्तविक जीवन र संघर्षमा आधारित प्रगतिशील साहित्य । ‘सह–सचिव शर्मा (समाज, २०३६ चैत्र १८) ‘उसलाई अफिस जान मन छैन’ (समाज, २०३९ असोज २) उसको चाकडी गर्ने ढङग भएन । (समाज  २०३९ कार्तिक  १) र हालै २०८२ साल कात्तिक ९ गते (October 26, 2025) गोरखा एक्सप्रेसमा प्रकाशित ‘उसलाई आफ्नै देशमा बाँच्न सजिलो लाग्दैन’जस्ता मेरा कथाहरू केवल कल्पना होइनन् । हाम्रो जीवन र शासन प्रशासनका यथार्थका चित्रहरू हुन् ।
आज, जब म आफ्ना कविता, निबन्ध र प्रशासनिक कथाहरू फर्केर हेर्छु, म त्यसमा शब्द बाक्य मात्र होइन—एक राष्ट्रको इतिहासको अभिलेख देख्छु । यसै सन्दर्भमा म मेरी प्रिय पत्नी शान्ति मिश्रलाई सम्झन्छु— अनि म महिला आयोग लगायत बिभिन्न निकायहरूले उनलाई एक युरोपियन मुलुकको राजदूत पदका लागि सिफारिस हुँदा राजा ज्ञानेन्द्रको शासनकालमा राजदरबारबाट बिश्वास र निगाह प्राप्त हुन नसकी राजदूत हुन नसकेकी र त्यो बेला सो ठाउँमा अर्कै एक विश्वासपात्र राणा बाबुसाहेवलाई  निगाह भएको र नियुक्त गरेको  कुरा सम्झिन्छु– साथै नेपालमा योग्यता दक्षता, योगदान भन्दा आफन्तबाद, जातीबाद, नाताबाद, कृपावाद, चाकडी, चाम्लुसी, भनसून बढी वलियो हुने गरेको कुरा पनि सम्झिन्छु । म यस्तै देख्छु । यहाँ यस्तै हुन्छ । गर्नु के ? भन्ने कुरा मनमा राख्छु । 
समाज र परिवर्तन
हाम्रा नेताहरू देश सेवा, जनसेवा र इमानदारीका भाषण गर्छन् तर अभ्यास गर्दैनन् । हाम्रा कर्मचारीहरू हाजिर गर्छन् तर जनताको सेवा गर्दैनन् । हाम्रा बौद्धिकहरू सुधारको कुरा गर्छन् तर आफै दृष्टान्त हुने गरी उभिएका देखिन्दैनन् । हाम्रो देशमा सत्य, तथ्यमा आधारित समाजपयोगी, राष्ट्र निर्माणको लागि उपयोगी, पठनीय, अनुकरणीय, ज्ञान बा विज्ञानका लेखिएका पुस्तक, लेख रचनाहरू खोजीनीति गरी पढ्ने, तौलने, सही मूल्याङ्कन गरी राष्ट्र बिकासको लागि प्रयोग गर्ने चलन, अभिरूची, संस्कार, संस्कृति पनि देखिन्दैन । तैपनि, यो निराशाबीच पनि एउटा अडिग विश्वास म मनमा बाँकी राख्छु— कुनै दिन हाम्रो मुलुकमा पनि बोलाइ र गराइमा फरक नपर्ने ज्ञानी प्रबुद्ध, निस्वार्र्थी, जनसेवीहरू पनि जरूर जन्मने छन् । यो देश निर्माण गर्नेछन् । जनताले सुख पाउने छन् ।
त्यो दिन नआउञ्जेल म भन्दै गर्छु र सम्झिदै गर्छु मेरो उही पुरानो मेरी कविता ।
हिजो पनि, आज पनि—
यहाँ यस्तै छ ।
यसै सन्दर्भमा म सम्झिन्छु– बिना दोष, बिना कारण स्वैक्षिक अबकाशको नाममा जालझेलको राजनैतिक अबकाशले म र मेरी श्रीमतीले १४ बर्ष र ९ बर्ष सेवा अवधि अर्थात अवकाश अवधि बाँकी हुँदाहुँदै विश्वविद्यालयवाट अबकाश पाएको २०४९ भाद्र १ गतेको दिन । मेरो राष्ट्रको बिकास र मेरा देशबासी सवैको सेवाको लागि भारत र अमेरिका समेतको सहयोग, सद्भावना र लगानीबाट हामीले प्राप्त गरेको मुलुकमा अति कम जनशक्तिको अति आवश्यक र उपयोगी हाम्रो बिद्या र उपाधि हाम्रै देशको सरकार र तिनका पिछलग्गु बिद्वान उपकुलपति र उनका समुहले रक्षानमा मिल्काइदिएको त्यो दिन । अनि फेरि सम्झिन्छु (सोही कवितामा मैले  २०४१ सालमानै म जस्तो, हामी जस्तो जोकसैको जागीर कुनै पनि बेला जानसक्छ भनी परिकल्पना गरी लेखेको निम्न बाक्य चरितार्थ भएको ती दिन । यो बाक्य पनि समय समयमा म गुनगुनाइ रहन्छु र भन्छु– 

यहॉ यस्तै छ ।
इमानले अडिग जागीर
न तेरो छ
न मेरो छ
यसैले यहाँ
पउने र पिलाउनेमा
सब मस्त छ
खाने र खुवाउनेमा
सब ब्यस्त छ
यहाँ यस्तै छ, यस्तै ।
(लेखक परिचयः एक वरिष्ठ  नागरिक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका निवृत पदाधिकारी, पूर्व प्रमुख, शैक्षिक प्रशासक तथा शिक्षा, राजनीति, सरकार,  शासन–प्रशासन र सार्वजनिक सरोकारका  मामिलासम्बन्धी नेपाली र अंग्रेजी भाषामा लेखिएका केही पुस्तक र असंख्य निस्पक्ष लेखहरूका लेखक ।)
narayanshanti70@gmail.com