
घरघरमा ग्यासको पाइप, नदीमा पानी जहाज, मेट्रो सिटी, मेट्रो रेल, सिंगापुरको सपना पनि देखाएकै हो । नयाँ नेपाल बनाउँछु भन्नेहरुले भएकै नेपाललाई अस्तित्वको संकटमा पारिदिए, बिस वर्षमा जनताको आँखामा छारो हालेर खिस्याउने काममात्र भयो ।
हो, भ्यू टावर बन्यो । भएका उद्योग बन्द भए वा बेचिए । रोजगारी खोसियो, प्रत्येक वर्ष तैयार हुने ५ लाख युवाले रोजगारीका लागि विदेश दौडनु प¥यो । यतिबेला पहाडमा बुढाबुढी, बालबालिकामात्र छन्, सहरमा कमिशन, ठगी, लूट, भ्रष्टाचार, अपराधमात्र छ । शान्ति क्षेत्र नेपाल अशान्त छ ।
यी सबै असन्तुष्टिहरु जनताले सडकमा व्यक्त गरे, ड्य्राकुल्लाहरुले सुनेनन् । मार्कोसजस्ता भ्रष्टहरुको बिगबिगी देखियो । नेपोटिजम र नेपोबेबीइजमको स्वर्ग बन्यो नेपाल । नेपालको हालत सुडान, सोमालियाको जस्तो हुनपुग्यो ।
देशलाई बजेट आकारको ब्यापार घाटा र २८ खर्ब राष्ट्रिय ऋणको खाल्डोमा हाले । कुशासनका कारणले राष्ट्रको स्तर ग्रेलिस्टमा पुगिसक्यो, ब्ल्याकलिस्टमा पर्ने खतरा बढिसक्यो । तैपनि अन्धा शासकहरु सचेत भएनन् । लोकतन्त्रको नामधारी भ्रष्ट शासकहरुले सामाजिक सञ्जाल बन्द गरिदिए । रोजगारीका गाडी संसारभरि दुःख झेलिरहेकाहरुले घरका बुढा आमाबा, परिवारजनसँग दुःखसुख साट्न पाएनन्, सन्चोबिसन्चो सोध्न पाएनन् । दुईचार पैसा कमाउन, पठाउन पाएनन् । अनि बाध्य भएर भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्न बाध्य भएका हुन् ।
यही आन्दोलनले दलहरुका भ्रष्टाचारी, दुराचारी सत्ता ध्वस्त पारिदिए । हुनुपर्ने त्यतिबेलै धेरै परिवर्तन थिए । हुनसकेनन् । त्यसपछि अन्तरिम सरकार गठन भयो र फागुन २१ मा नयाँ चुनाव हुँदैछ ।
त्यही प्रस्थान विन्दुबाट देश नयाँ नेतृत्व चयन गर्न अग्रसर भएको छ । यो चुनावमा धेरै नयाँ पुस्ताका उमेदवार खडा भएका छन् । यो चुनाव निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा हुनसक्यो भने शासन सत्तामा विवेकशीलहरु पुग्न सक्छन् । काई, लेउ, ऐंजेरुहरु छाँटिन्छन् । ७६ जना जेनजी पुस्ताको रगतबाट रक्तबिज जन्मिन सक्छ । शासन सत्ता शुद्धीकरणको साइत फागुन २१ हो ।
हुन त सरकार गठनदेखि चुनाव हुन महिनादिन जति बाँकी हुन्जेलमा जेनजी सपनामा धेरै प्रकारका चिसोपानी खन्याउने षडयन्त्र भइसकेको छ । कसैले जिम्मेवारी बिर्से, कतिले कर्तव्य भुले । कतिले जेनजीको सहादतलाई अपमान गरे । जेनजी आन्दोलनका समयमा भूमिगत भएकाहरु फेरि चुनावी मैदानमा हुँकार मार्न थालेका छन् । जसले ०४६ सालको बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म शासन गरे र आफूमात्र सफल भए, देश र जनतालाई छटपटीमा पारे, तिनै तत्वहरुले चुनाव जित्नु भनेको राजनीतिले समाज परिवर्तन गर्न नसक्नु र फेरि पनि राजनीतिक बिचण्डताको निरन्तरता हुनु हो ।
शासन सत्ताका नेता, प्रशासकहरुले ठूलो घात गरेका छन् । झुट बोल्ने र झुक्याउने निरन्तरताको क्रमभङ्गता हुने समय यही हो । नीति, सिद्धान्त, निष्ठा र लोकलज्जाको लक्ष्मणरेखा कोर्ने बेला पनि यही हो । सिण्डिकेट, आलोपालो, नेपोटिजम, पपुलिजम, सर्वत्र राजनीतिकरण र अपराधको श्रृङ्खला बिच्छेद गर्ने, स्वाभिमान जगाउने अहिले नै हो ।
जर्जर भइसक्यो सामाजिक, आर्थिक, राजनीतिक, सांष्कृतिक, परम्परागत संष्कार । शासक र जनतावीचको मर्दै गएको विश्वास जगाउने र चरम वितृष्णमा आशा जगाउने अहिले नै हो । किनकि जनता अन्तिम निर्णायक हुन् । जनताले सहँदा सहँदा जनतालाई जनार्दनबाट दासको दृष्टिले हेर्नेहरुलाई सवक सिकाउने अवसर हो यो ।
फलाम तातेको छ, यहीबेला जनताले हम्मर हाने भने चाहेजस्तो हतियार बनाउन सक्छन् । त्यही हतियारले हातमुख जोर्ने वातावरण बनाउन सक्छन् । जनताको गाँस, बास, कपास, स्वाभिमान बिर्सनेहरुलाई सवक सिकाउने समय यही हो र यहीँबाट विवेकपूर्ण युग सुरुआत हुनसक्छ ।
जनबल, जनमत र जनविश्वासमाथि खेलबाड गर्नेहरुले देशलाई अन्धकार सुरुङ बनाइसके । डरलाग्दा तथ्य र तथ्याङ्कहरु सुइरो बनेर नेपाल र नेपालीमाथि घोचिरहेका छन् । समयभन्दा बलवान केही हुँदैन । यो समय जनता विवेकशील हुने समय हो । जनताको विवेकले शासन प्रशासन, समाजमा मृत्युतुल्य चेत, उर्जा, जगाउन सकिन्छ । जनताको विवेकपूर्ण निर्णयले राष्ट्रिय नीतिनिर्माण, शासन सत्तामा विवेकको पुनस्र्थापना हुनसक्छ । स्टन्ट, चर्का भाषण, चर्को आरोप प्रत्यारोप, भ्रमपूर्ण भाषण, पूरा नहुने सपना, लोभलालचमा फस्नु भनेको मृत्यु रोज्नु हो ।
हामीले खोजेको वर्तमान र भविष्य कस्तो हो ? यसमा नेताको लोभलालच–आश्वासन, बाहुबली र अपराधीको त्रासदी, बाह्य दबाब धेरै अल्झोहरु हुनेछन् । यी सिस्नोका झाडी फाँडेर जनताले विवेकलाई रोज्न सके जीवन पाउनेछन् । शासक, प्रशासक, नागरिक समाजलाई पनि विवेकी हुन बाध्य पार्नसक्नेछन् ।
जीवन रोजौं, विवेक बनौं, विवेक रोजौं । विवेकी शासन पद्धति अपनाऔं ।



