
किन आजका छोराछोरी बृहत परिवार रूचाउंदैनन् ?किन छोराछोरी परिवारबाट टाढिन चाहान्छन् ?
आजकल हरेकजसो घरमा बुढाबुढीहरू मात्र हुन्छन् । परिवार अनेक ठाउँमा बांडिएर बसेका छन् । गाउँको घरमा बाआमा, शहरको घरमा छोराबुहारी अनि बिदेशमा नातीनातिनीहरू । जतिजति परिवार चोइंटिएर देश बिदेश छितरिए त्यसरी नै आज सम्बन्धहरू पनि चोइंटिएर छितरिएको छ ।
आज कसकसलाई मिसाएर परिवार भन्ने दोधार छ । बिहे पश्चात छोरा बुहारी बाबुआमाको संसर्गमा रहनै चाहन्नन् । बुहारी भन्छिन्– मेरो परिवार मेरो लोग्ने र मेरा जन्मदाता अनि आफुले जन्माएका सन्तान मात्रै हुन् । उता छोरी भन्छिन– हामीमात्र परिवार हो बुडाबुडी त के गन्नु ? छोरा हँ मा हँ मिलाउँछ ।ज् वाई हँ मा हँ मिलाउँछन् ।
बाबुआमा गाउँमा असरल छन् । तल बेशींमा कोही हिंडेको देख्यो कि मेरै होलान् भनेर हातले पाली हालेर एकोहोरो हेर्छन् । छायाँ पर्छ हराउँछ । छोराबुहारीको शहरको घरमा बाआमा अटाउने कोठा छैन । कहिलेकांही गैहाल्यो भने पाखे, लाउन नजान्ने, खान नजान्ने भनेर बचन लाउँछन् । अनि लोग्ने स्वास्नीको खटपट शुरू हुन्छ । परिवारमा कलह बढ्छ ।
आखिर को को मिलेर बन्छ त परिवार ?
आज गाउँ रित्ता मात्रै छैनन् शहरका पनि अधिकांश घरहरू बृद्धाश्रम जस्तै छन् । छोराबुहारी, छोरीज्वाईं सबै बिदेश । यता घरमा बाआमा मात्र । कहिलेकांहि बुबाआमालाई बिदेश घुमाउन लगिहाले पनि त्यही महाभारतको युद्ध चल्छ । अझ भनुँ भने त केही काम नपरेसम्म त बाआमा बोलाउँदा पनि बोलाउँदैनन् । भन्छन् प्राइभेसी हुँदैन, किन आउनु पर्यो तिम्रा बाआमा ? जति टाढा भए उति नै सम्बन्धको बीचमा बलियो पर्खाल खडा भैरहेको छ ।
गाउँले हुन् वा शहरिया मातापिता बिनाको सृष्टि उदय हुंदैन । सन्तानको माया संसारकै धनी वर्गलाई होस् या संसारकै गरीब होस् बराबरी नै लाग्छ । यो माया आजकल अलिक फरक तरीकाले ब्याख्यित छ । दाजुले भाईलाई गर्ने माया, भाउजुले देवरलाई गर्ने माया, भाइले दाजुलाई गर्ने सम्मान, देवरानीले जेठानीलाई गर्ने आदर सबै झुठा भए । दाजुभाई, दिदीबहिनीको प्रेम सबैमा खडेरीले रूख्याएको खेतमा धाँजा फाटेसरी धाँजा फाटेका छन् । आखिर किन, कसरी सम्बन्धहरूमा तिक्तताको पहिरो चलेको छ ?
दाजुभाईको प्रगतिमा खुशी मनाउनुको साटो ईष्र्याले डेरा जमाएको छ । बाआमा प्रतिको मायामा किन तराजु उचालिन्छ ? सोचनीय विषय होइन र? छोराछोरीको खुशीमा देखाएको सहृदयतालाई किन स्वार्थको नजरले ब्याख्या गरिन्छ ?
बृहत परिवारमा सामाजिकीकरण हुन्थ्यो । सहयोगको भावना हुन्थ्यो । मिलीजुली बस्ने बाँडीचुँडी खाने एककिसिमको नियमै हुन्थ्यो । मायाममता असाध्यै प्रगाढ हुन्थ्यो । आत्मीयता हुन्थ्यो । जब एकल परिवारमा रमाउन थालियो सबै कुरा लोप हुँदै गएको छ ।
कतै पारिवारीक मिलनलाई छिन्नभिन्न पार्ने हामी नै त हैनौं ? यो प्रश्न ४० देखी ६० उमेर समूहका मानिसहरूमा गडेको हुनुपर्छ । यो पुस्ता अलि धेरै परिवारबाट एक्लिनेमा पर्छ । बिहे गर्नासाथ स्वास्नी शहरको कोठामा सार्ने, घरदेखी पर लैजाने, बाआमासँगको सम्पर्क कम गर्दै जाने, पारिवारीक मिलन नगराउने, बच्चा होस्टल राख्ने अनि बिदेश पलायन गराउने प्रवृतिले त यस्तो भएन कतै ?
बिज्ञान र प्रबिधिको युगमा त हाम्रा सन्तान पुग्दैछन् । त्यसको प्रयोग नजान्दा कतै छोराछोरी टाढा बनाउन हाम्रै ब्यावहारले त सहयोग गरेन ?
छोराछोरी बिदेश पलायन हुनुपर्ने देशको अवस्थालाई देखाउँदै हाम्रो संस्कारबाट टाढा त लगेनौ हामीले ?
हाम्रा अग्रजहरू जीउँदो इतिहासका धरोहर हुन् । उनीहरूले देखेभोगेका कुराहरू नवपुस्तालाई मार्गदर्शन हुन्छ । पुस्तान्तरण भैआएका रितीरिवाज, चालचलन, संस्कारहरूमा सुधार ल्याउनु फरक पाटो हो । नयाँ कुराहरूको खोज अनुकरणीय बिषय हो तर बुढो पुस्तालाई पुरै बहिष्कार गर्नु गलत संस्कार हो । हामीले कहिले बुझ्ने र कसरी बुझाउने ? के हामी यतातिर प्रयासरत छौं त ?
बिकसित मुलुकहरूमा बृद्धबृद्धाहरू एक्लै बस्छन् आफ्नो काम आफै गर्छन् र अब शरीरको पूर्जा अति नै कमजोर भएको महसुस गरे भने ओल्डेज होमहरू जो अति नै ब्यवस्थित गरी बनाइएका र चलाइएका हुन्छन् । त्यहाँ पुग्छन् । छोराछोरीलाई कमाएर सम्पत्ति दिनु पर्दैन । त्यै सम्पत्ति आफूहरू माथि नै खर्चिन पाउँछन् । हामीकहाँ ठीक यसको बिपरीत सिष्टम हुनुले होला बृद्धहरू हेलाँको पात्र बनेका छन् । आज कति बाआमाहरू सडकको बासमा कठीन दिन काटेका छन् । घरपरिवार हुँदाहुँदै पनि आश्रममा आश्रय लिन परेका कैयौं बाआमा छन् ।
अक्सर ६० को दशक पार गरेपछि बृद्धबृद्धामा गनिन्छौ । शरीरले साथ छोड्छ । कमजोर होइन्छ । रोगहरूले क्रमागत रूपमा आक्रमण गर्दै जान्छ । न दम रहन्छ न दम्भ । कमजोर भएपछि पारिवारीक हेलाँ सुरू हुन्छ । आजको ब्यस्त जीवन, बढ्दो शहरीकरण, बिदेश पलायन, प्रबिधिको युग, एकल परिवारको धारणा यिनै कारण होलान् बृद्धहरू एक्लो र सकसको जीवन यापन गर्न परिबन्धित छन् ।
बृद्धाश्रम बुढाबुढीको गन्तब्य बनाउनमा हाम्रो आफ्नै ब्यावहार प्रमुख बनाएको स्विकार्न चाहन्नौं हामी । आज घरमा छोराछोरी छैनन् । भएकामा पनि परिवारप्रति प्रेमभाव छैन । आखिर किन छोराछोरीहरू एकलकाटे हुँदैछन् ? प्रश्नहरू हजार छन् तर जवाफ कहाँ, कोसँग खोज्ने ?
हुन त समयसँगै आएको परिवर्तन होला । तर पनि मान्छेको जीवन चक्र जस्तै हो । हिजो हामी जन्मिंदा बाआमाको संरक्षणमा थियौं, भोली बृद्धावस्थामा छोराछोरीको संरक्षणमा रहन पाइयोस् । पारिवारीक मिलन भैरहोस् । मायाममता नघटोस् । सकेसम्म बृद्धावस्थामा बृद्धाश्रम जानु नपरोस् । अझै बालबच्चालाई टाढा बनाउने कोशिस नगरौं ।



