
फागुन २१ गते आउन लामो समय बाँकी छैन । दलहरू चुनावी तैयारी गर्दैछन्, आमनागरिकबीच चुनावको विषयमा बहस शुरू भइसकेको छ । सार्वजनिक स्थल, यातायात, चिया पसलहरूमा जनताले चुनावको कुरा गरेको सुनिन्छ । पुरानाभन्दा नयाँको चर्चा बढी छ । राजनीतिमा नयाँ जिताउनुपर्ने ठूलै आवाज छ । खासगरी नयाँमा रास्वपाको चर्चा छ । रास्वपामा कुलमान घिसिङ र बालेन साह प्रवेश गरेपछि ठूला दलहरू कांग्रेस, एमाले, नेकपा
(माओवादी) त्रसित भएको देखिदैछ ।
रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत, तुलसीपुर बुटवल इजलासको आदेशले गत पुस ३ गते बैंक जमानतमा छुटेका छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा छ । मुद्दाको किनारा कहिले लाग्छ, भन्न सकिदैन । उनीमाथि अमेरिकामा विभिन्न मुद्दा परेपछि नेपाल आएको आरोप पनि छ । पत्रकारिताबाट एकाएक राजनीतिमा छलाङ मारेका उनीमाथि आफ्नै सहकर्मी शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप पनि छ । रविको ड्राइभरको छतबाट खसेर निधन भएको विषय सेलाएको छ तर आशंका बाँकी छ । जेनजीहरूलाई उचाल्ने उनी नै हुन् भनिन्छ । भदौ २३ र २४ गतेको आन्दोलनमा उनले जेनजीलाई नख्खु जेलभित्रैबाट समर्थन गरेका थिए । उनी जेलबाट निस्किएको विषय र पुनः जेलमा हाजिर हुन गएको विषय पनि छानबिन मै छ । रवि जेलबाट निस्किएपछि हो, देशैभरिका जेल तोडिएको । प्रहरी कुटिए र लाखौं गोली, हजारौं हतियार लुटिएकोमा फिर्ता भएको छैन । १४ हजार भागेका अपराधीहरूमा ५ हजार अझै फर्केका छैनन्, तिनका कारण चुनावमा बितण्डा हुने, समाजमा हिंसा बढ्ने आशंका पार्टीहरूको छ ।
भदौ २३ को आन्दोलन र २४ को बिध्वंशमा ७८ जेनजी मारिए, कार्यपालिका–न्यायपालिका–व्यवस्थापिका, प्रधानमन्त्री तथा राष्ट्रपति भवन सबै खरानी पारियो । सरकारी सम्पत्तिमा ८४ अर्बको क्षति पुगेको भनिन्छ । छानी छानी निजी सम्पत्तिहरू ध्वस्त बनेको छ ।
तथापि रवि लामिछाने जेलबाट छुटेपछि निर्वाचनको माहोल भने बनेको छ । उनले वालेन साहलाई पार्टीमा भित्र्याएका छन् र भावी प्रधानमन्त्री भनेर घोषणा पनि गरिसकेका छन् । निर्वाचन होला तर विवादै विवादले घेरिएका व्यक्तिले देशलाई भ्रष्टाचारमुक्त बनाउँलान् ? सुशासन कायम गर्लान् ?
वालेन साह जेनजी पुस्तामा पपुलर छन् । कुनै बेला उनले श्रीमती चढेको गाडी प्रहरीले चेक ग¥यो भनेर सिंहदरवार जलाइदिन्छु भनेर दिएको धम्की र जेनजी आन्दोलनमा सिंहदरवार जल्नुले वालेनमाथि प्रश्न उठेको छ ।
वालेनमाथि महानगरको सम्पत्तिको चरम दुरूपयोग गरेको भनिन्छ । प्रमाणसहित भ्रष्टाचारका विषय बाहिर नआए पनि वालेनलाई रहस्यमय पात्र मानिन्छ । बालेनले सफाइ र निर्माणमा देखाएको तदारूकता र जागरूकतालाई विदेशीले समेत प्रशंसा गरेका छन् । वालेन साहको शक्ति भनेको सामाजिक सञ्जाल हो । स्टाटस लेख्ने तर जनतासँग अन्तरकृया नगर्ने बानीका कारण वालेनमाथि गँजडीको आक्षेप पनि लाग्ने गरेको छ । बालेनले सरकारी विद्यालयमा पठनपाठन र छात्रबृत्तिको जुन व्यवस्था गरिदिएका छन्, फल्चा निर्माण र संस्कृति, इतिहासको जगेर्नामा ध्यान दिएका छन्, धेरैले वालेनको यो राम्रो पक्ष भनेका छन् । जेनजी बिद्रोह भइरहदा दमकल किन नपठाएको भनेर उनीमाथि प्रश्न गर्ने छन्, प्रश्न त सेनामाथि पनि गरिएको छ । २४ गतेको भीड, त्यो भीड नियन्त्रण गर्न हतियार चलेको भए झन ठूलो रक्तपात हुन्थ्यो । कुरा काट्ने काटिरहन्छन् । जेनजीले आन्दोलन गरे, यो आन्दोलन जेनजी र आमनेपालीको पनि थियो । यो आन्दोलनको कारण भनेकै ठूला पार्टी र तिनले गरेका लुटतन्त्र हो । बालबालिका मार्ने, राज्यदमन गर्ने, जिम्मेवारी नलिने । योभन्दा कुशासक, निरंकूश के हुनसक्छ ?
जेनजीको नाममा अन्तरिम सरकार बन्यो । कागे्रस, एमाले, नेकपा आन्तरिक विवादमा छन् । तिनका प्रतिद्वन्द्वी मानिएका रास्वपा, राप्रपा, जसपालगायतका पार्टीहरू बिबादरहित छैनन् । जेनजी आन्दोलनकालमा नागरिक समाज, बुद्धिजीवी छैनन् भन्ने शून्य अवस्था देखियो । अभियन्ता र आन्दोलनकारी सडकमै छन् । राष्ट्रिय मुद्दाहरू असरल्ल छन् । समस्याको समाधान राजनीतिक शक्तिहरूवीच संवादबाट अगाडि बढ्नु पर्नेमा आआफ्नै मनोमालिन्यताका कारण देशको अस्तित्व मेटिने खतरा बढेर गएको छ । अमेरिकाले भेनेज्वेलाको राष्ट्रपतिलाई समातेर लग्यो, विश्व हेरेको हे¥यै भएको छ । यो भनेको शक्तिशालीले जे गरे पनि हुन्छ भन्ने हो । नेपालको कमजोर अवस्था भएकाले कतै नेपालको सन्दर्भमा ‘लाटाकी जोई सबैकी भाउजु’ को अवस्था आउने त होइन ?
फागुन २१ को चुनावमा रास्वपाले चुनाव जित्छ, रास्वपाले चाहेको वालेन साह प्रधानमन्त्री बन्नेछन् भन्ने निकै ठूलो राजनीतिक तरङ्ग उठेको छ । सधैं प्रचण्ड, देउवा, ओलीहरूले जित्नुपर्छ भन्ने छैन । सुवहका भुला, सामको घर आए तो राम्रै हो । पुराना नेताले जनताका सामु निहुरिएर माफी माग्न सकेनन् । १७ वर्षको लोकतन्त्रलाई लुटतन्त्र बनाएकोमा क्षमा मागेनन् । यस्ता निरंकूश भन्दा जनताका सामु माफी मागेर देशको अवस्था, व्यवस्था बदल्छु भनेर आउनेलाई जनताले नै बरण गर्छन्, स्वागत गर्छन्, मत दिन्छन् भने दिन्छन् । जनयुद्ध, जनआन्दोलनबाट आएकाहरूले परिवर्तनको हुर्मत लिए । अरू कोही जनताको आस्थाको सम्मान गर्छु, देशको भार बोक्छु भनेर अग्रसर हुन्छन् भने जनताले अवसर दिए भने त्यो स्वागतयोग्य नै मान्नुपर्छ ।
रविमाथि मुद्दा छ । कानुनले फैसला गर्छ नै । भ्रष्टहरू जो पटक पटक सत्तामा गए, तिनीहरूमाथि पनि मुद्दा चल्नुपर्छ। लोकतान्त्रिक गणतन्त्रका नाममा जुन राजनीतिक अपराध गरेका छन्, अपराधीले दण्ड पाउनैपर्छ । चुनावमा जसले काम गर्छ, उसलाई चुनाव जिताउनुपर्छ, चुनावले साँच्चिकै परिवर्तन ल्याओस् । – भक्तपुर


