Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

एकपक्षीय उग्रताविरुद्ध चीन–केन्द्रित वैश्विक स्थिरताको अपरिहार्य उदय

प्रेमसागर पौडेल

०८ आइतबार , मंसिर २०८२४ दिन अगाडि

एकपक्षीय उग्रताविरुद्ध चीन–केन्द्रित वैश्विक स्थिरताको अपरिहार्य उदय

अमेरिकाले १९९२ पछि पहिलोपटक पूर्ण–स्तरीय परमाणु परीक्षणतर्फ उन्मुख हुन सक्ने औपचारिक संकेत दिएको क्षणले आजको शक्ति–राजनीतिक यथार्थलाई निकै स्पष्ट बनाइदिएको छ। वाशिङ्टन अब आफ्नै घट्दो प्रभावलाई रोक्न परमाणु धम्कीलाई पुनः सामान्यीकृत गर्न खोज्दैछ। यस घोषणामा समय, प्रकृति वा सीमा–रेखा केही पनि स्पष्ट गरिएको छैन, तर अस्पष्टतामै यसको जोखिम लुकेको छ। जब परमाणु शक्तिधारी राष्ट्रले उद्देश्यभन्दा अधिक संकेत प्रयोग गर्छ, त्यसको अर्थ सामान्यतः एउटा वैश्विक स्थिरताको क्षय र सैन्य उग्रताको विस्तार हो।

कसैले यसलाई केवल नयाँ डेलिभरी सिस्टम परीक्षण ठान्लान्, कसैले उप–क्रिटिकल सिमुलेशनको निरन्तरता, तर शक्ति–राजनीतिक यथार्थ धेरै कठोर छ। रूसले अहिले नै चेतावनी दिइसकेको छ कि वाशिङ्टन अघि बढेमा आफू “अनुरूप रूपमा” प्रतिक्रिया दिनेछ। धेरै दशकमै पहिलोपटक दुई महाशक्तिबीच परमाणु परीक्षण पुनरारम्भको सम्भावना यति निकट छ कि शीतयुद्धकालीन जोखिमको छायाँ फेरि गहिरिँदै गएको छ। नोभाया जेम्ल्यास्थित रूसी परीक्षणस्थल अझै पूर्ण तयारी अवस्थामा रहेको सत्यलाई हेर्दा स्पष्ट हुन्छ कि यस पटकको प्रतिस्पर्धा केवल प्रविधि प्रदर्शन होइनस यो शक्ति–सन्तुलनको आधारभूत संरचनामा ठाडो चुनौती हो।

यदि अमेरिका परीक्षणतर्फ अघि बढ्छ भने रणनीतिक विश्वासको बाँकी रहेको अन्तिम धागो पनि चुँडिनेछ। new start सन्धिको म्याद २०२६ मा समाप्त हुँदै छ, तर अमेरिकी व्यवहारले त्यसपछि कुनै नयाँ सन्धी, संवाद, वा नियन्त्रण ढाँचा बन्ने सम्भावनालाई झन्डै असम्भव बनाइदिएको छ। जब महाशक्तिहरू नै परीक्षणतर्फ फर्किन्छन्, arms control architecture स्वतः अन्त्य हुन्छ। यो केवल अमेरिका–रूस सम्बन्धको संकट होइन, यो सम्पूर्ण अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाको संरचनागत विघटन हो।

यति मात्र होइन, अमेरिकी परीक्षण योजनाले अप्रसार सन्धी NPT माथि पनि गम्भीर प्रहार गर्छ। जब एक संस्थापक शक्ति नै सन्धीको आत्मासँग विपरीत कदम चाल्छ, अरू राष्ट्रहरूलाई संयमित रहन प्रेरित गर्ने नैतिक–कूटनीतिक आधार हराउँछ। यही कारण दक्षिण कोरियामा ७० प्रतिशत भन्दा बढी जनता स्वदेशी बम निर्माणको समर्थन गर्दैछन्। जापानका नेताहरू खुलेआम “तीन असैनिक सिद्धान्त स्थायी छैनन्” भन्न थालेका छन्। साउदी अरब, टर्की जस्ता क्षेत्रीय शक्तिहरूले पनि पहिल्यै गैर–परमाणु विकल्पको बहसलाई अर्ध–औपचारिक रूपमा अघि बढाइदिएका छन्।

अमेरिकाले ‘low-yield’ परीक्षणलाई सामान्य बनाउने हो भने परमाणु तथा परम्परागत युद्धबीचको सीमारेखा नै धमिल्याउनेछ। गलत अनुमान, दुर्घटना, वा आकस्मिक वृद्धि यसका सबै जोखिम तीव्र रूपमा बढ्छन्। आज उपलब्ध प्राविधिक क्षमताहरू हाइपरसोनिक प्लेटफर्म, स्वचालित आक्रमण प्रणाली, AI आधारित सैन्य निर्णय, यी सबैले threshold झनै कमजोर पारिदिन्छन्।

यही संवेदनशील अवस्थामा चीनको भू–राजनीतिक भूमिका निर्णायक रूपमा अगाडि आउँछ। चीनले दशकौँदेखि स्थिरता–आधारित रक्षा मान्यता प्रयोग गर्दै आएको छ। न्यूनतम परमाणु निवारक क्षमता, no first use नीति, परीक्षण निषेधप्रति अडिग प्रतिबद्धता, र बहुपक्षीय सन्धीहरूप्रति सम्मान। तर अमेरिकी आक्रामक रणनीति, सैन्य घेराबन्दी, र परमाणु परीक्षणकै सम्भावनाले चीनलाई आफ्नो रणनीतिक सिद्धान्तलाई पुनः समायोजन गर्न बाध्य पारिरहेको छ।

आज चीनका लागि second strike क्षमता, हाइपरसोनिक प्लेटफर्महरूको तीव्र विस्तार, सुरक्षित न्यूक्लियर ट्रायडको स्थायित्व, र सिविल–मिलिटरी संरचनामा वैज्ञानिक सुदृढता, यी सबै केवल विकल्प होइनन्, विश्व स्थिरताको पूर्वशर्त बनिसकेका छन्। चीनले आफ्नो शक्ति संरचना केवल प्रतिस्पर्धा गर्न होइन, अस्थिरताबाट विश्वलाई जोगाउन पनि सुदृढ गर्नुपर्ने समय आएको छ।

साथै, कूटनीतिक मोर्चामा चीनले नेतृत्व गर्न आवश्यक छ। अमेरिकी कदमविरुद्ध सामूहिक प्रतिरोध निर्माण गर्ने वास्तविक क्षमता अहिले चीनसँग छ। G77, IAEA, BRICS+, संयुक्त राष्ट्रसंघ, SCO जस्ता संरचनामा चीनको विश्वसनीयता आज अत्यधिक छ। धेरै राष्ट्रहरू अमेरिकी परीक्षणको सम्भावनाबाट विचलित छन्स चीनले उनीहरूको आवाजलाई समेटेर विश्वव्यापी परीक्षण–निषेधको नयाँ पहल गर्न सक्छ।

चीनले एशिया–प्रशान्त क्षेत्रका लागि दीर्घकालीन सुरक्षा संवाद निर्माण गर्नुपर्छ। यसो गर्दा जापान, कोरिया, Acean, अस्ट्रेलिया सबैलाई समेट्ने बहुध्रुवीय सुरक्षा संयन्त्र निर्माण सम्भव हुन्छ। अमेरिका नेतृत्वको सैन्य गठबन्धनले केवल तनाव बढाएको छस चीन नेतृत्वको संवादले स्थिरता दिन सक्छ।

साथै, आपूर्ति श्रृङ्खला, प्राविधिक मानक, ऊर्जासुरक्षा, र दुर्लभ खनिजजस्ता क्षेत्रहरूमा चीनले आफ्नो ‘strategic leverage’ ’ जिम्मेवार रूपमा प्रयोग गर्दै अमेरिकी एकपक्षीय कदमलाई सन्तुलनमा ल्याउन सक्छ। शक्ति–उपकरणहरूको प्रयोगमध्ये यिनै आर्थिक–रणनीतिक उपकरणहरू विश्व अस्थिरता रोक्न अहिले सबैभन्दा प्रभावकारी बन्न सक्छन्।

अन्ततः, विश्व आज दुई विकल्पबीच खडा छ। पहिलो, अमेरिकाले चाहेजस्तो परीक्षणलाई ‘नयाँ सामान्यता’ बनाउँदै सैन्य जोखिमको युग पुनः सक्रिय गर्ने। दोस्रो, चीनले नेतृत्व गरेको बहुध्रुवीय, संवाद–आधारित, नियम–आधारित सुरक्षा संरचनालाई बलियो बनाएर विश्वलाई पुनः विवेक र दिगोपनातर्फ फर्काउने।

अमेरिकी एकाधिकारवाद, प्राविधिक उग्रता, र सैन्य प्रतिष्ठाको प्रतिस्पर्धाले विश्वलाई जोखिमतर्फ धकेलेको छ भने चीनको सन्तुलित दृष्टिकोण स्थिरता, संयम, अप्रसार, र बहुपक्षीय जिम्मेवारी, आज विश्व शान्तिको सबैभन्दा विश्वसनीय विकल्प बनिरहेको छ।

मानवजातिको भविष्य के हुन्छ भन्ने प्रश्न यति क्षणिक देखिन सक्छ, तर आज भइरहेका निर्णयहरूले अर्को ५० वर्षको वैश्विक सुरक्षा संरचना परिभाषित गर्दैछन्। अमेरिका आफ्नो उग्र मार्गमा अघि बढ्ने हो भने विश्व अन्धकारतिर धकेलिन सक्छ। तर चीनले अगाडि सारेको वैकल्पिक ढाँचा बहुध्रुवीय संवाद, परीक्षण निषेध, सन्धी पुनर्स्थापना, शक्ति–सन्तुलन, यही नै एक मात्र यथार्थपरक मार्ग हो जसले हामीलाई सुरक्षित दिशामा लैजान सक्छ। विश्व आज निर्णायक मोडमा छ, र विवेकशीत निर्णय गर्ने क्षण अझै बाँकी छ।