Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

नेपालमा देश बचाउ अभियानको आवश्यकता

डा.केशव देवकोटा

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

नेपालमा देश बचाउ अभियानको आवश्यकता

नेपालमा यतिबेला एकातिर राष्ट्रिय एकता र सहमतीय राजनीतिको आवश्यकता खट्किएको छभने अर्कातिर बिभिन्न पार्टी र शक्तिहरु बिभाजन र भाँडभैलो मच्चाउने अभियानमा लागेका छन् । जसलेगर्दा अब कुन वाद र कुन पार्टी होइन देशको अस्थित्वको सवालनै चर्को भएको छ । हालको अवस्थामा विदेशभक्तहरु छितरिएको अवस्था छ । त्यसैले देशभक्तहरु एकजुट भएर देश बचाउ अभियान चलाउनु आवश्यक देखिएको छ । जसका लागि शान्ति क्षेत्र नेपाल र गाउँफर्क अभियान मुख्य हतियार हुनसक्ने देखिन्छ । स्वावलम्बन आज नेपालको प्रमुख आवश्यकता हो । नेपालमा विदेशी चासो बढिरहेको कुरा पछिल्ला दिनमा घाम जतिकै छर्लङ्ग भएको छ । त्यसैगरी अन्तराष्ट्रिय राजनीतिक सन्तुलन नमिलेका कारणले पनि नेपालमा गतिरोधको अवस्था सिर्जना भएको देखिन्छ । कुनैपनि देशको आन्तरिक एकता कमजोर भएपछि विदेशी चासो र हस्तक्षेप बढ्ने गर्दछ । नेपालमा भएको पनि त्यहीनै हो । नेपालमा हाल आवश्यकताभन्दा बढी चासो दिनेकारुपमा चीन, भारत र अमेरिकालाई लिइन्छ । त्यति मात्र नभएर पछिल्लो समयमा युरोपीयनहरुको समेत चासो बढेको बिभिन्न घटनाक्रमहरुले स्पष्ट गरेका छन् । नेपालमा हाल सत्ता र शक्तिमा रहेकाहरु आन्तरिक एकतालाई कमजोर बनाउने प्रयासमा लागेका छनभने अर्कातिर नेपालमा विदेशी हस्तक्षेप बढाउने तर तिन्को सन्तुलन नगर्ने÷गर्न नसक्नेजस्ता घटनाहरु पनि भैरहेका छन् । यहाँका शासकहरुले जसरी नेपालमा बिभिन्न पार्टी र शक्तिहरुलाई जुधाउने र बझाउने काम गरिरहेका छन्, त्यसैगरी उनीहरुले नेपालमा चासो राख्ने विदेशी शक्तिलाई पनि आफ्नो स्वार्थ अनुकूल खेलाउन खोजेको देखिएको छ । त्यसैले विदेशीहरु पनि नेपालका शासकका गतिबिधिप्रति खासै सन्तुष्ठ देखिएका छैनन्भन्ने कुरा गत भदौ २३ र २४ को घटनाले संकेत गरेको छ । जतिबेला नेपालमा क्रियाशील बिभिन्न एनजीओ र आइएनजीओहरुले बितण्डा देखाएका थिए । नेपालको आन्तरिक एकता बलियो बनाउन बारम्बार राजनीतिक सम्मेलन र बिद्यमान राजनीतिक ब्यवस्थामा जनपक्षीय सुधार हुनुपर्छभने अन्तराष्ट्रिय सन्तुलन मिलाउनका लागि ‘देश पहिलो’ भन्ने नीतिलाई अख्तियार गरिएको हुनुपर्छ । जस्तो नेपालका दुई छिमेकी चीन र भारतले गरिरहेका छन् । तर नेपालमा पछिल्लो समयमा राष्ट्रिय राजनीतिकासाथै सत्ता राजनीतिमा अवसरवाद हाबि भएको छ । कुनैपनि देशको राजनीतिका लागि अवसरवाद कोरोनाको महामारीभन्दा पनि खतर्नाक हो । 
देशको शासन सत्तामा रहेकाहरुलेनै निहित स्वार्थमा आधारित अवसरवादको प्रयोग गरेपछि, त्यो देशभरका लागि शिक्षाजस्तो हुन्छ÷भएको छ । राजनीतिमा अवसरवादलाई ‘महारोग’ पनि भनिन्छ । केही नेताहरुले आफ्नो निहित स्वार्थका लागि नेपालको राजनीतिमा अवसरवादको महारोग सल्काए । पछिल्ला दिनमा उनीहरुसमेत सो महारोगको शिकार भैरहेका छन् । देशमा समानता र न्याय हुनुपर्नेमा पक्षपात र मनपरी बढेको छ । जसलेगर्दा नेपालमा बढ्दैगएको विदेशी चासोलाई सन्तुलन गर्ने÷गराउने क्षमतामा पनि ह्रासको अवस्था सिर्जना भएको छ । पछिल्लो समयमा राजनीति र अर्थतन्त्रको केन्द्रनै एशियामा सर्नलागेको देखिएको छ । नेपालका छिमेकी चीन दोश्रोबाट पहिलो तथा भारत पाँचौबाट चौथो अर्थतन्त्र बन्नेतर्फ उन्मुख रहेका छन् । त्यसैले आफूलाई पहिलो विश्वशक्ति मान्दैआएको अमेरिकाले उनीहरुलाई सन्तुलनगर्न खोजेको देखिएको छ । अमेरिकाको प्रयास चीन र भारतकोबीचमा रहेको नेपालमा आफ्नो उपस्थिति बढाएर र नेपाललाई आफ्नो प्रभावमा लिएर उपरोक्त दुई मुलुकलाई जुधाउने तथा फुटाउने प्रयासमा लागेको देखिन्छ । जसका लागि उपरोक्त तीनवटै शक्तिहरुले नेपाली भूमि प्रयोगगर्न खोजेको स्पष्ट छ । नेपालले उनीहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले सन्तुलनगर्न सकेको खण्डमा आफ्नो विकास पनि गर्नसक्छभने देशको अस्थित्व पनि जोगाउन सक्छ । होइनभने नेपालको विकास भाँडिन्छ र देशको अस्थित्वमाथि नै खतराको घण्टी बज्छ । जो आज भैरहेको छ । 
नेपालका हालका शासकहरु साम्राज्यवादी शक्तिबाट पालित पोषित र प्रशिक्षित भएका कारण उनीहरु पनि स्वदेश र विदेश दुबैतिर फुटाउ र शासन गरेको नीतिमा लाग्नेगरेको देखिएको छ । जस्तो नेपालमा नेपाली कांग्रेस र एमाले सबैभन्दा पुराना संसदवादी पार्टी हुन् । तर पछिल्लो परिवर्तनबाट सरकारमा आएकाहरुले उनीहरुलाईनै उपेक्षा गरेर एनजीओ र आइएनजीओलाई बढी प्रश्रय दिएको देखिएको छ । माओवादी केन्द्रले पार्टी एकताको बहानामा बिभिन्न आठवटा पार्टी र समूहहरुलाई बिभाजन गराउने प्रयासगर्दा सो पार्टीसमेत बिभाजनको संघारमा पुगेको छ । भोली १९ गते माओवादी केन्द्रलगायतका आठवटा समूहको एकताको घोषणा हुँदैछभने २० गते माओवादी केन्द्र ब्युँताउने प्रयास पनि हुँदैछ । यदि तत्काल नेकां र एमाले मिलेर संसद पुनस्र्थापना गराउन सकेको खण्डमा हालको माओवादी केन्द्रलगायतका दलहरुको पत्तासाफ हुने देखिन्छ । एमाले अझै पनि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन तयार रहेको छ । तर विदेशी संलग्नतामा फरक परेका कारण नेकांका कतिपय नेताहरु अब एमालेसँग मिलेर सरकार बनाउन मानिरहेका छैनन् । जसलेगर्दा हालको गतिरोधको अवस्था सिर्जना भएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि झण्डै ३६ बर्षदेखि देशको शासन सत्तामा रहँदैआएका नेकां र एमालेले विदेशी संलग्नताकै कारण देशका लागि खासै केहीपनि गर्न नसकेकै हुन् । पछिल्लो समयमा माओवादी केन्द्र पनि मुख्यत नेपाली कांग्रेस र एमालेको पदचाप पछ्यायँदै हिँडेको छ । उसले हालैबाट माओवाद र माओवादी केन्द्र त्यागगर्ने निर्णयगर्नु उपरोक्त कुराको उदाहारण हो । उसको राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिमा कुनै नौलो नीति तथा ब्यवहार देखिन सकेको छैन । माओवादी केन्द्रका लागि हालको अवस्थामा दुईवटा कार्यभार रहेको देखिएको छ । त्यो भनेको पहिलो माओवादी शब्दकै सकेसम्म बदनामगर्ने र दोश्रो देशलाई जसरी पनि अस्तब्यस्त बनाउने । नेपाल र भारतबीच सन् १८१६ देखिकै सीमा बिवाद रहेको छ । 
नेपालको भूभागभित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाञ्चल प्रदेश राज्यकासाथै ससाना पञ्जाबी पहाडी राज्यहरुका सतलज नदी र त्यसको पारिसम्मका भूभाग काँगडासम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदीसम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० रहेको थियो । हाल नेपालको क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटरमात्र रहेको छ । सुगौली सन्धिसँगै नेपालले उक्त भूभागहरु इष्टइन्डिया कम्पनीको स्वामित्वमा छोडिदिनुपरेको थियो । पछि सन् १९४७ मा बेलायतले सो भूभाग फिर्ता गरेपनि भारतले कब्जा जमाएको छ । सो भूभागको छिनोफानो नभएसम्म भारतसँग नेपालको सम्बन्धमा सधै दरारको अवस्था रहिरहन्छ । पछिल्लो समयमा बल्झिएका कालापानी, लिपुलेक र लिम्पियाधुराका सबै बिवादहरु त्यसैमा आधारित रहेका छन् । सन् १९५० को सन्धीपछि भारतले नेपाललाई आफ्नो संरक्षित मुलुक मान्दैआएको छ । तर नेपाल आफूलाई स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न मुलुक मान्दछ । नेपालका शासकहरुले भित्रभित्रै नेपालको आन्तरिक सुरक्षा, विदेश मामिला र आन्तरिक श्रोतहरुमा भारतको हात माथिपर्ने ब्यवस्था गरेका छन् । नेपाललाई भारतको मुख्य एकलौटी बजार बनाउने कार्यहरु पनि तीब्ररुपमा भैरहेका छन् । हालैमात्र भारतले अमेरिकासँग सुरक्षा संझौता गरेको छ । अर्कातिर अमेरिकाले चीनसँग ब्यापारीक समझदारी कायम गरेको छ । त्यसो त यसअघि भारतले बेलायतसँग पनि सुरक्षा सहमति गरेको देखिएको थियो । 
अर्कातिर रुससँगको ब्यापारिक साझेदारी कायमै रहेको छ । नेपालभने छिमेकी चीन र भारत दुबैसँग विदेश मामिलामा अलग्गिएको छभने उसले दुबै देशसँग ब्यापारका क्षेत्रमा पनि राम्रो सहमति गर्न÷गराउन सकिरहेको छैन । नेपालका शासकहरुको ध्यान सात समुन्द्र पारीको अमेरिकातिर केन्द्रितहुँदै गएकाले हालको अवस्था आएको हो । पछिल्ला शासकहरुले असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीति दुबै पालना नगरेका कारण नेपाल छिमेकीहरुको दृष्टिमामात्र नभएर ब्यवहारमै एक्लिदै गएको देखिएको छ । उपरोक्त कारणहरुले गर्दानै नेपालमा अमेरिकी हस्तक्षेप पनि अनपेक्षितरुपमा बढिरहेको हो । अमेरिकाका कारण नेपालको लोकतन्त्र, सम्प्रभुता र शान्तिमा खतरा सिर्जना हुनेगरेको छ । त्यसैगरी छिमेकी चीनले नेपालमा बढ्दै गएको मुख्यत अमेरिकी गतिबिधिलाई सुरक्षा खतराकारुपमा लिएको छ । पछिल्लो समयमा नेपालमा बढ्दो अमेरिकी उपस्थिति र एनजीओ, आइएनजीओका गतिबिधिले सशंकित हुँदैगएको देखिन्छ । नेपालले ‘देश पहिलो’ भन्ने नीतिका आधारमा सबैसँग कारोवारगर्ने होभने देशको विकासले पनि फड्को मार्छभने ‘विदेशी हस्तक्षेपको पारो’ पनि घटेर जान्छ । यो बिषय सबैतिर महशुस भएपनि सबै देशप्रेमीहरुलाई समेटेर विदेश प्रेमीहरुका बिरुद्ध गतिबिधि हुन सकेका छैनन् । त्यसैले नेपालमा देश बचाउ अभियानको सख्त आवश्यकता देखिएको छ ।