म हारेर होइन, थाकेर आराम गर्दै छु। – दुर्योधन
कृष्ण मुस्कुराए, किनभने उनले बुझे — अहंकारी कहिल्यै हार स्वीकार्दैन।
नेपालको अहिलेको अस्थिर र संवेदनशील राजनीतिक अवस्थालाई बुझ्न यो पौराणिक संवाद सन्दर्भ मूलक देखिन्छ। महाभारतमा अन्तिम युद्ध सकिँदासम्म पाण्डवका अधिकांश सहयात्री धुलोमा लथालिङ्ग भइसकेका थिए, तर दुर्योधन अझै पानीभित्र लुकेर आफूलाई ‘थाकेको’ भन्दैथिए। तर कृष्णले बुझेका थिए युद्ध सकिएको थिएन, केवल उनले पराजय स्वीकार्न चाहेका थिएनन्।
आजको नेपालमा पनि राजनीति यो मनोदशासँग मिल्दोजुल्दो लाग्छ। नेपाली कांग्रेस र नेकपा एमालेको दीर्घकालीन पकड भएको सत्ता संरचना ढलेको छ। यिनै पुराना शक्ति केन्द्रहरू हटेर एउटा अपेक्षाकृत असामान्य नेतृत्व पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको संयोजनमा नयाँ सत्ता प्रणाली उदाएको छ। यो सरकार कुनै दलको विजय होइन, निरन्तर दविइरहेका आकांक्षाहरूको विस्फोट हो।
राजनीतिक नेतृत्वको यो रूपान्तरण कुनै स्वाभाविक संक्रमण थिएन। यो परिवर्तन सडकबाट सुरु भएको हो जहाँ भ्रष्टाचार, न्यायहीनता, र संस्थागत पतनको विरोधमा युवा पुस्ता विशेषतः Gen Z खुलेर उभिएको थियो। तर, यो आन्दोलनको छायाँमा अर्को शान्त खेल भइरहेको थियो भू–राजनीतिक द्वन्द्व।
नेपालको सत्ता जति भित्री कारणले हल्लिएको छ, त्यत्तिकै बाहिरी शक्तिहरूको रस्साकस्सीले पनि यसको दिशा मोडेको देखिन्छ। विशेषगरी अमेरिकाको सक्रियता प्रत्यक्ष सैन्य होइन, तर डिपस्टेटः मानवीय अधिकार, सुशासन, र नेतृत्वको पुनर्संरचनामा आधारित सघन कूटनीति नयाँ सरकारमा परोक्ष प्रभावका रूपमा चित्रित हुँदैछ। नागरिक समाज, एनजीओ र पश्चिमेली सोचदृष्टिको प्रयोग यसपटक सशक्त रूपमा देखियो।
भारतको दृष्टिकोणमा स्पष्टता भए पनि सहजता छैन। युगौंको सांस्कृतिक र रणनीतिक सम्बन्ध भएको भारतले यो आकस्मिक सत्ता रूपान्तरणलाई गहिरो नजरले हेरिरहेको छ। ओली नेतृत्वसँग असहज सम्बन्ध भोगेको भारतका लागि कांग्रेस–एमालेको अवसान र अमेरिकी प्रभावको उदय, राजनीतिक तवरमा जटिल समीकरण बन्न सक्ने देखिन्छ। भारतीय कूटनीतिक वृत्त नेपालमा स्थायित्व चाहन्छ, तर त्यो स्थायित्व भारतीय हितअनुकूल र नियन्त्रित होस् भन्ने अपेक्षा पनि लुकेको छ।
त्यति नै बेला, चीनको मौनता गम्भीर अर्थ बोकेको छ। सामान्य अवस्थामा तुरुन्त प्रतिक्रिया दिने चीन, अहिले नेपालप्रति संयमित देखिन्छ। त्यसको अर्थ अनिच्छा होइन दूरदृष्टि हो। नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चीनले शक्ति होइन, समय, लगानी र रणनीति प्रयोग गर्दै आएको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ लगायतका परियोजनामा चीनले पर्ख र अघिबढ नीति अपनाएको देखिन्छ। नेपालको भूराजनीतिक अवस्थालाई केन्द्रमा राखेर हेर्दा, चीनले अहिले कदम चाल्नुभन्दा परिस्थितिको विश्लेषण गरेर भविष्यतर्फ रणनीति बनाउने तयारी गरिरहेको बुझिन्छ।
सत्ताबाट हटाइएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पछि हटेको स्वीकारेका छैनन्। उल्टै, ‘राजनीति छाड्ने मनसाय छैन’ भनेर वक्तव्य दिँदा उनी पराजित नभई पर्खिरहेका छन् भन्ने सन्देश दिन चाहन्छन्। उनको राजनीतिक पुनरागमनको आकांक्षा दुर्योधनकै शैलीमा देखिन्छ, जहाँ सत्ता गुमे पनि आत्मबल अझै जीवित छ।
तर समय फेरिएको छ। जनताको मनोविज्ञान बदलिएको छ। पुराना शैलीले नयाँ युगको राजनीति सम्भव छैन। अहिले सडकबाट आएको शक्ति नै निर्णायक छ, उही शक्ति जसले शासकीय यन्त्रमा हलचल ल्यायो, अदालतलाई हस्तक्षेपमुक्त बनाउन आवाज उठाउँदै र सत्तामा न्यायपालिकाको प्रतिनिधि उभ्यायो।
यद्यपि यो परिवर्तन जोखिम रहित छैन। अहिलेको सरकार सडकको भावना अनुरूप अगाडि बढ्न सकेन भने, यदि पारदर्शिता र जवाफदेहिता केवल नारामा सीमित भयो भने, यो नयाँ व्यवस्था पनि पुरानै प्रवृत्तिको नयाँ अनुहार बन्न पुग्नेछ। जनताको आशा, अब केवल विकल्प खोज्ने होइन, परिवर्तन माग्ने तहमा पुगेको छ।
नेपाल अहिले निर्णायक मोडमा छ। शक्ति सन्तुलन भत्किएको छस आदर्श र स्वार्थ बीचको टकराव उत्कर्षमा पुगेको छ। यो समय कूटनीतिक हिसाबले मात्र होइन, नैतिक दृष्टिकोणबाट पनि संवेदनशील छ। इतिहासले अवसर दिएको छ, तर त्यो अवसर गुमाउनु भनेको अर्को अनिर्णयको युगतर्फ धकेलिनु हो।
अहिले नेपाल आफैं एक जीवित ुमहाभारतु भएको छ, जहाँ कृष्णको मुस्कानभन्दा धेरै, जनता आफैं मौन साक्षी बनेका छन्। नेतृत्वले त्यो मौनता बुझ्ने हो भने, मार्ग खुलेको छ। नत्र, पानीभित्र सुस्ताइरहेको दुर्योधन फेरि उदाउनेछ र इतिहासले फेरि आफूलाई दोहोर्याउनेछ।