Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

भारत, चीन र पश्चिमबीचको रणनीतिक प्रतिस्पर्धा किन उत्कर्षमा छ ? – प्रेम सागर पौडेल

प्रेमसागर पौडेल

०२ बिहिबार , आश्विन २०८२एक बर्ष अगाडि

भारत, चीन र पश्चिमबीचको रणनीतिक प्रतिस्पर्धा किन उत्कर्षमा छ ?
                 – प्रेम सागर पौडेल

नेपाल जटिल राजनीतिक अस्थिरता, विदेशी प्रभाव, र आन्तरिक विखण्डनको खतरापूर्ण अवस्थाबाट गुज्रिरहेको छ। यस्तो संवेदनशील मोडमा, राष्ट्रको अस्तित्व, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि मुख्य जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ। इतिहासले नेपाली सेनालाई केवल एक सैन्य शक्ति मात्र नभई, राष्ट्रको आत्मा र अस्तित्वको रक्षकको रूपमा चित्रण गरेको छ। तर पछिल्ला गतिविधिहरू र व्यवहारले नेपाली सेनाको तटस्थता र राष्ट्रवादी भूमिकामाथि गम्भीर प्रश्न उठाइरहेका छन्।

नेपाली सेनाको इतिहास गौरवपूर्ण छ। चाहे १८१४–१८१६ को अङ्ग्रेजसँगको लडाइँ होस या २०० वर्षे गोरखाली वीरताको गाथा नेपाली सेनाले सधैं विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रको पक्षमा उभिएको छ। राजा महेन्द्रदेखि राजा विरेन्द्रसम्म, राष्ट्रिय स्वाधीनता र असंलग्न परराष्ट्र नीतिको रक्षा गर्ने क्रममा सेनाले कूटनीतिक रुपमा पनि सन्तुलित भूमिका निर्वाह गरेको पाइन्छ।

तर, गणतन्त्र स्थापनापछि विशेषगरी पछिल्ला एक दशकमा नेपाली सेनाको भूमिकामा आएको परिवर्तनले चिन्ताजनक अवस्था सिर्जना गरेको छ। विदेशी शक्तिहरू विशेषगरी पश्चिमाको नेपालप्रतिको बढ्दो रुचि, उनीहरूको नेपालस्थित कूटनीतिक चहलपहल, र नेपाली समाजमा Soft Power को माध्यमबाट प्रभुत्व जमाउने प्रयास उल्लेखनीय छन्।

हाल नेपाली सेनाको हेडक्वार्टरमा प्रोपश्चिमा पात्रहरूको खुला पहुँच, सम्मान, र सहकार्यले धेरैलाई चकित बनाएको छ। यस प्रकारको व्यवहार कुनै ‘नरम कूटनीति’ मात्र होइन, भविष्यमा सेनालाई राजनीतिक वा वैदेशिक एजेन्डामा उपयोग गर्ने दीर्घकालीन योजनाको हिस्सा हो भन्ने शङ्का जन्मिन्छ।

नेपालमा विदेशी राष्ट्रहरूले आफ्नो रणनीतिक स्वार्थका लागि विभिन्न थिङ्क ट्याङ्क, मानव अधिकारका नाममा चलाइने संगठनहरू, र मिडियामार्फत प्रभाव विस्तार गर्दै आएका छन्। यिनीहरूमध्ये धेरै Pro Western विचारधारामा प्रशिक्षित छन्, जसले राष्ट्रवादलाई प्रगतिको बाधा को रूपमा चित्रण गर्न खोज्दछन्। यस्तो विचारधारा फैलाउन सेनाको सहकार्य आवश्यक देखिन्छ, र सम्भवतः त्यसैले हेडक्वार्टरमा उनीहरूको पहुँच बढाइएको हुनसक्छ ।
देशभक्त बुद्धिजीवी, अनुसन्धानकर्ता, र रणनीतिक चिन्तकहरूलाई बेवास्ता गर्ने प्रवृत्ति नेपाली सेनाभित्र पनि देखिन थालेको छ। इण्डो–पश्चिमा बाहेक अन्य राष्ट्रवादी चिन्तकलाई सम्मान नदिनु, वा उनीहरूको विचारलाई संस्थागत संवादमा स्थान नदिनु, गम्भीर त्रुटि हो। सेनाले राष्ट्रवादलाई इण्डो–पश्चिमा र राजनीतिक गुटसँग जोडेर हेर्नु, स्वयं राष्ट्रको लागि खतरनाक हुनसक्छ।

नेपालको भूराजनीतिक अवस्थिति यस्तो छ, जहाँ भारत, चीन र पश्चिमबीचको रणनीतिक प्रतिस्पर्धा उत्कर्षमा छ। नेपालको असंलग्न परराष्ट्र नीति र स्वतन्त्र भू–राजनीतिक दृष्टिकोण सेनाको मार्गदर्शनमा रहनुपर्छ। अमेरिकी रणनीति इन्डो–प्यासिफिक स्ट्राटेजी एमसीसी, एसपीपी जस्ता योजनाहरू नेपाली सार्वभौमिकतासँग मेल खाँदैनन्। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ होस् या भारतको ुनेबरहुड फस्टु, यी सबैप्रति नेपालले सन्तुलित दृष्टिकोण राख्नुपर्छ।

यो सन्तुलन कायम गर्न सबभन्दा निर्णायक संस्था भनेकै नेपाली सेना हो। तर यदि सेना आफैं कुनै पक्षको प्रभावमा पर्‍यो भने, देशको गहिरो रणनीतिक स्वतन्त्रता समाप्त हुने खतरा रहन्छ।

नेपाली सेना केवल बन्दुक बोक्ने संस्था होइन, यो नेपाल राष्ट्रको मेरुदण्ड हो। यदि यो मेरुदण्डमा नै क्षय भयो भने, बाह्य शक्तिहरूका लागि नेपाल केवल एक प्रयोगशाला बन्न पुग्नेछ। आजको दिनमा सेनाको जिम्मेवारी केवल भौतिक सुरक्षासम्म सीमित छैन, यो विचारधाराको युद्ध हो। विदेशी प्रभाव विरुद्ध नेपाली स्वाधीनता, संस्कृति, र मौलिकताका पक्षमा उभिन सक्ने मानसिकता निर्माण गर्नु आजको सेना प्रमुखहरूको पहिलो दायित्व हुनुपर्छ।

आजको दिनमा नेपाली जनता राजनीतिक दलहरू, नेताहरू र संस्थाप्रति अत्यन्त निराश छन्। तर अझै पनि सेना प्रती उनीहरूको विश्वास बाँकी छ। यही विश्वासलाई कायम राख्न नेपाली सेनाले तटस्थता को नाममा राष्ट्रवादी सोचलाई छेक्ने होइन, त्यसलाई अँगाल्न सक्नुपर्छ। विदेशी दबाब र सुविधा सँग सम्झौता गर्ने हो भने, सेनाको गौरवशाली इतिहास केवल किताबका पानामा सीमित हुनेछ।

यस घडीमा नेपाली सेनाले स्पष्ट सन्देश दिनुपर्छः
“हामी कुनै पक्षको होइनौं, हामी नेपाल राष्ट्रका पक्षमा छौं।”
यही सन्देश देशको रक्षा गर्ने मूल मन्त्र बन्न सक्छ।