Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

प्रमको भारत भ्रमण कि राजीनामा ?

शाश्वत शर्मा

२४ मंगलबार , भाद्र २०८२७ दिन अगाडि

प्रमको भारत भ्रमण कि राजीनामा ?

निम्तो पाएका प्रम ओलीले परराष्ट्रमा होमवर्क गराएका छन् तर भारत भ्रमणको मिति तय भइसकेको छैन । निम्तो लिएर आएका भारतका विदेश सचिवले भदौ ३१ मा भ्रमण हुनसक्ने जनाउ दिएका थिए । खासगरी चीन र भारतवीचको लिपुलेकवीच व्यापार बढाउने, कैलाश मानसरोवरको तीर्थाटन सुगम बनाउने सहमति भएपछि नेपाली भूमिबाट नेपाललाई सोध्दै नसोधी व्यापार गर्ने विषयले नेपालमा बिरोध बढेको छ । यो असन्तुष्टि एससीआई शिखर सम्मेलनका समयमा चीनमा समेत गुञ्जिएको छ । नेपालले यो विषयमा सन २०१५ को ती दुई देशवीचको यही मामिलाको सहमतिपछि ८ पल्ट भारत र चीनलाई कूटनीतिक नोट पठाइसकेको छ । तर बेवास्ता गरिएको छ । यसपल्ट भने नेपालका प्रम ओलीले चीनका राष्ट्रपतिकै सामुन्ने यो विषयको उठान गरिनु र नेपालमा बिरोध बढ्नेले भारत अप्ठेरोमा परेको हुनसक्छ । यसकारण भारतले प्रम ओलीको भारत भ्रमणको मिति तय नगरेको हुनसक्छ ।
बिरोधका क्रममा ठूला साना दलका कार्यकर्ताले भारतका प्रम मोदीको फोटो पोष्टरमा जुत्ताले हान्ने काम भएपछि भारत रिसाएको हुनसक्छ । यसैवीच भारतीय समाचार माध्यमले भारतमा बसोबास गरिरहेका नेपालीलाई फिर्ता पठाउने, भारत जानेले पासपोर्ट बोक्नेपर्ने अन्यथा दण्ड जरिवाना गरिने समाचार छापेका छन् । अर्थात् हिजोसम्म सत्तासँगमात्र रिसाएको भारत अब नेपाली जनतासँग पनि रिसाउन थालेको छ । एमालेको विधान अधिवेशनमा प्रम ओलीले चिनियाँ राष्ट्रपतिसमक्ष नेपाली भूमिको विषय स्पष्टसँग राखिएको र चिनियाँ राष्ट्रपतिले चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्ने र यो विषय भारतसँग कूटनीतिक वार्ता गरे सुल्झिने आशा व्यक्त गरेको प्रष्ट पारेका छन् । तर पनि भारतले कालापानी क्षेत्र भारतकै भएको भान पार्ने गरी समाचार दिइरहेका छन् । नेपालका प्रम ओलीलाई बोधगयामा भेट्ने भारतीय प्रम मोदीको योजना नेपालका प्रम ओलीले फेरि उठाउन सक्ने र आसन्न बिहारको चुनावमा नेपालले उठाउने विषयले नकारात्मक प्रभाव पार्ने हो कि भन्ने भाजपाले अनुमान लगाएर हच्किएको हुनसक्छ । भारतमै पुगेर भारतकै शासकका सामु नेपालका प्रम ओलीले कालापानी, लिपुलेक क्षेत्र नेपालको हो भनेर प्रमाण पछार्नसक्ने र त्यतिबेला भारतको बोल्ती बन्द हुने भएकाले ओलीलाई भारतमा स्वागत गर्ने कार्यको अझै मिति तय नभएको हुनसक्ने लख काटिएको छ ।
तथापि परराष्ट्र सचिव अमृत राईले भारत भ्रमणको तैयारी सुरु भएको बताएका छन् । यसका अर्थ भ्रमण हुन्छ केही तलमाथि भए पनि । यदि भारत भ्रमणको मिति तय भयो भने प्रम ओलीको भारत भ्रमण ऐतिहासिक हुने अनुमान गरिदैछ । पार्टीभित्रको द्वन्द्व, एमालेको गिर्दो साख बचाउन प्रम ओली कडा अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रवादमा उभिंदा ०८४ को चुनावमा राम्रो प्रभाव पर्ने भएकाले पनि ओलीको चीनपछिको भारत भ्रमण ऐतिहासिक हुने अनुमान गरिदैछ । सत्तामा बसेर गरेका सबै अपराधलाई धुने र चुनाव जित्ने राम्रो तरिका पनि हो राष्ट्रवादी चर्को भाषण र देखाउने चरित्र । ओलीले नाकाबन्दीका बेलामा चीनसँग पारवहन सन्धि गरेर राम्रो काम गरेका थिए भने संसदबाट सर्वसम्मतिले संविधानमा चुच्ने नक्सा समावेश गराउने श्रेय पनि ओलीले बटुलेका थिए । तथापि ओली आफन्तवाद र भ्रष्टाचारमा नराम्ररी मुछिएका, विपक्षीलाई फसाउने र आफ्नालाई बचाउन माहिर मानिएका नेता पनि हुन् । निष्पक्ष न्यायिक छानबिन भयो भने सबैभन्दा पहिलो जेल जाने नेता भनेर टोल टोलमा बहसको विषय बनेको छ । सयौं काण्डहरुलाई झिल्के जामा पहि¥याउन पनि ओलीलाई कालापानीको मुद्दा अझ चर्को स्वरमा उठाउन जरुरी छ । यसैबाट गिरिबन्धु, भुटानी शरणार्थी, प्रतिपक्षीलाई फसाउने काण्डहरु छोपछाप हुनसक्नेछ र मिसन ०८४ सफल बनाउनु छ ।
केही विश्लेषक भन्छन्– यहीकारण पनि ओलीलाई सत्ताबाट सतहमा पछार्न विदेशी ताकतहरु प्रतिपक्षीहरुलाई उचाल्न थालेका छन् । प्रचण्डको कडा धम्कीलाई यही अर्थमा लिने गरिएको छ । अझ केहीले त सर्वोच्च अदालतले वर्तमान मन्त्रीमण्डलले विश्वासको मत लिनुपर्ने भनेर फैसला गरिदिएमा ओलीका लागि घातक हुनसक्ने तर्क राख्छन् । जेहोस्, अवस्था यस्तो छ । भारतले निम्तो दिए पनि अझै भ्रमण अनिश्चित छ । निम्तो दिइसकेकाले भ्रमण त होला, चुच्चे नक्साका विषयमा कुरा नउठाउने सर्तमा मिति तय हुने त होइन ?