
“यो देशमा मजस्तो देशभक्त कोही छैन,” पाका मित्र नृपेन्द्रजङ्ग पाँडेले जब मुस्कुराउँदै यो भनाइ सुनाउनुभयो, त्यसमा गर्व भन्दा बढी गम्भीर सोच झल्किरहेको थियो । देशभक्तिको परम्परागत धारणा नारा लगाउनु, झण्डा बोक्नु, दलहरूको समर्थन वा विरोध गर्नु, सडकमा भिड्नु, आन्दोलन गर्नु नृपेन्द्रजङ्गको जीवनसँग मेल खाँदैन । उहाँले कहिल्यै कसैको पक्षमा जिन्दावाद भन्नुभएन, विपक्षमा मुर्दावाद भन्नुभएन, विरोधका नाममा ढुंगा हान्न जानुभएन, सरकारी सम्पत्तिमाथि हात उठाउनु भएन । उहाँको बुझाइमा, शान्त रूपमा सचेत नागरिकको जीवन बिताउनु, दलगत उन्मादबाट टाढा रहनु, र विवेकपूर्ण मौनता कायम गर्नु नै आजको नेपालको सन्दर्भमा साँचो देशभक्ति हो ।
नेपालको इतिहास राजनीतिक अस्थिरताले भरिएको छ । बारम्बार सत्तापरिवर्तन, आदर्शको नाममा अवसरवाद, अनि जनताको भावना दोहन गर्ने प्रवृत्तिले देशलाई थकित बनाएको छ । सडक आन्दोलनहरू, नीतिगत असहमति, र जनदबाब सधैं सकारात्मक हुँदैनन् । कतिपय अवस्थामा त्यसले अराजकता जन्माउँछ, जुन सुधारको सट्टा विध्वंसतर्फ लान्छ । यस्तै अवस्थाबीच नृपेन्द्रजङ्गले उठाएको सोच गम्भीर प्रश्नको रूपमा आउँछ के देशभक्तिको मापन नाराको उचाइले गरिन्छ कि विवेकको गहिराइले ?
देशमा जसले जे बोले पनि, शक्ति सन्तुलनमा सधैं विदेशी स्वार्थको छायाँ देखिन्छ । कहिले विदेशी राष्ट्रका दूतावासहरू, कहिले अन्तर्राष्ट्रिय संस्थाहरू यिनीहरूको चासोले नेपालका आन्तरिक निर्णयहरूमा प्रभाव पारिरहेको अनुभूति भइरहन्छ । यसै सन्दर्भमा उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्ष दुवैलाई विदेशी शक्तिले आफ्नो स्वार्थअनुसार चलाइरहेका छन् ।“ उहाँको दृष्टिकोण केवल गुनासो होइन, बरु गहिरो राजनीतिक अवलोकन हो । बाह्य शक्तिको चासो नेपालमा नयाँ कुरा होइन, तर जब तिनको प्रभाव नीतिनिर्माणदेखि राष्ट्रिय स्वाभिमानसम्म पुग्छ, त्यहाँ निस्पृह, विवेकशील नागरिकको मौन विरोध अत्यन्त सशक्त बन्न पुग्छ ।
सञ्चार माध्यमको विस्तारसँगै मानिसहरू सुसूचित भएका छन्, तर सँगसँगै झुट, भ्रम र उत्तेजनात्मक सन्देशहरूले सामाजिक सोचलाई धुंधल्याएको छ । ‘देशको पक्षमा बोल्नु’ र ‘दलको पक्षमा उभिनु’बीचको भिन्नता हराउँदै गएको देखिन्छ । जनतामा बढ्दो आक्रोश स्वाभाविक हो, तर त्यसको अभिव्यक्ति विध्वंसकारी हुन थालेपछि त्यसले उद्देश्य गुमाउँछ । नृपेन्द्रजङ्गले जताएको चिन्ता त्यही हो आन्दोलनको नाममा आक्रोश व्यक्त गर्दा, कतै हामी राष्ट्रिय चरित्र नै धूमिल पारिरहेका त छैनौं?
राजनीतिको नाममा सार्वजनिक सम्पत्ति जलाउने, सामान्य नागरिकलाई हैरान बनाउने, अनि पछि ‘यो त जनताको आवाज हो’ भनेर निष्कर्ष निकाल्ने अभ्यास अब प्रश्नको विषय बन्नु पर्दछ । जनताको आवाज भनेको चर्कोश्वर होइन, तर्क हो । परिवर्तन भनेको घात होइन, चेतना हो । अनि चेतना कहिलेकाहीँ मौनता पनि हुन सक्छ नजिकबाट नियाल्ने, साँचो बुझ्ने, र आवश्यक बेला निर्णय गर्ने सामथ्र्य भएको मौनता ।
नृपेन्द्रजङ्गजस्ता नागरिकलाई राजनीति नगर्ने, आन्दोलनमा नजाने, भनेर आलोचना गर्न सकिन्छ । तर यिनै वर्गले कर तिरेर राष्ट्रको आर्थिक पिँधलाई मजबुत बनाइरहेका छन् । यिनले शान्त जीवन जिउँदै अन्यायको साथ दिँदैनन् । न दलका कार्यक्रममा सहभागी हुन्छन्, न झुठा आश्वासनमा ताली बजाउँछन् । उनीहरू स्वयं देशको आत्मा जस्ता छन् नदेखिने तर आवश्यक, नचर्किने तर स्थिर । नेपालजस्तो सानो राष्ट्रको सन्दर्भमा यस्तो सोचको मूल्य अझ बढी हुन्छ । यहाँ आन्तरिक निर्णयहरूमा बाह्य प्रभावको सम्भावना उच्च छ । त्यस्तो अवस्थामा, जोशमा भन्दा होशमा आधारित नागरिक सजगता चाहिन्छ । यस्ता नागरिकहरू आलोचना गर्न होइन, उत्तरदायी बन्न विश्वास गर्छन् । उनीहरूको देशप्रेम प्रदर्शन होइन, अनुशासनमा देखिन्छ ।
समय बदलिँदैछ । अब देशभक्तिको परिभाषा पनि गहिरो हुनु जरुरी छ । नागरिकको मूल्य नारामा होइन, न्यायमा छ । सडकमा उत्रने अधिकार जति छ, उत्रिन नचाहनेको विवेक पनि त्यत्तिकै मूल्यवान् छ । देशभक्तिको नाममा उग्रता देखाउनु सजिलो हो; तर तटस्थ रही न्यायको पक्षमा उभिनु कठिन छ ।
नृपेन्द्रजङ्ग पाँडेले प्रतिपादन गरेको विचार देशभक्ति भनेको चुप लाग्नु मात्र होइन, विवेकले चल्नु हो, यो आजको नेपालमा गहिरो सन्देश हो । यो सोच हाम्रो लोकतन्त्रको रक्षा गर्ने मौन खम्बा बन्नसक्छ । उहाँजस्ता नागरिकहरूको मूल्य त्यसबेला बुझिन्छ, जब चिच्चाउनेहरू थाक्छन्, तर विवेकले बोलेको मौनता सधैं बाँच्छ ।