
नेपाल र रुस (तत्कालीन सोभियत संघ) बीच औपचारिक कूटनीतिक सम्बन्ध सन १९५६ मा स्थापना भएको हो। यो सम्बन्ध सात दशकसम्म स्थिर, मैत्रीपूर्ण र परस्पर विश्वासमा आधारित रहँदै आएको छ। इतिहासका विभिन्न कालखण्डहरूमा दुवै देशका नेताहरूबीच भएका उच्चस्तरीय भ्रमण र भेटघाटहरूले यस सम्बन्धलाई संस्थागत ढंगले परिपक्व बनाउँदै लगेका छन्।
पछिल्लो पटक, प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२५ सेप्टेम्बरको प्रारम्भमा चीनमा आयोजित शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागी हुँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेट गरेका छन्। यद्यपि यो भेट छोटो थियो र औपचारिक द्विपक्षीय वार्ता थिएन, तर यसलाई नेपाल–रुस सम्बन्धमा पुनः सक्रियता ल्याउने एउटा सकारात्मक संकेतको रूपमा लिन सकिन्छ। नेपाल र रुस भौगोलिक रूपमा टाढा भए पनि आपसी हितका क्षेत्रहरूमा सहकार्यका उल्लेखनीय सम्भावनाहरू रहँदै आएका छन्। ऊर्जा, पूर्वाधार, शिक्षा, विज्ञान, र सुरक्षा जस्ता क्षेत्रहरूमा परस्पर सहयोग बढाउने प्रयास आजको आवश्यकता हो। शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलन जस्तो बहुपक्षीय मञ्च नेपालका लागि अन्तर्राष्ट्रिय संवाद र कूटनीतिक उपस्थिति सुदृढ पार्ने अवसर हो।
नेपालले सन २०१५ मा SCO को संवाद साझेदार राष्ट्रको रूपमा सदस्यता लिएपछि यस क्षेत्रीय संगठनसँगको सम्पर्क क्रमशः बढ्दै गएको छ। यस्तो बहुपक्षीय संरचनाले नेपाललाई युरेसियन क्षेत्रका शक्ति राष्ट्रहरूसँग समान स्तरको कूटनीतिक संवादको अवसर प्रदान गर्छ। यसै सन्दर्भमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच भएको भेटलाई परम्परागत सम्बन्धलाई नयाँ आयाममा रुपान्तरण गर्ने संभावनाको सुरुआतका रूपमा लिन सकिन्छ। नेपाल–रुस सम्बन्धको इतिहास हेर्दा, नेपालका प्रधानमन्त्री बीपी कोइरालाले सन १९५८ मा सोभियत राष्ट्रपति क्लेमेंट भोरिसिलोभसँग र पछि १९६० मा न्युयोर्कमा सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभसँग भेट गरेका थिए। यस्तै, वि.सं. २०२० मा प्रधानमन्त्री डा. तुल्सी गिरिले सोभियत संघको औपचारिक भ्रमण गरेका थिए, जहाँ उनलाई मास्को विमानस्थलमै स्वागत गर्न प्रधानमन्त्री ख्रुश्चेभ स्वयम आएका थिए। उनले सोभियत राष्ट्रपति ब्रेझनेभसँग क्रेमलिनमा भेटवार्ता गरेका थिए। त्यसयता नेपाल र रुसबीचको सम्बन्ध शैक्षिक, प्राविधिक र वैज्ञानिक सहकार्यतर्फ केन्द्रीत रहँदै आएको छ। सयौं नेपाली विद्यार्थीहरूले रुसमा उच्च शिक्षा हासिल गरेका छन्। रुसले नेपालमा चिकित्सा, विज्ञान, भाषा, इन्जिनियरिङजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ। आजको सन्दर्भमा हेर्दा, SCO को प्लेटफर्मले सुरक्षा, ऊर्जा, वातावरण, पूर्वाधार र डिजिटल प्रविधि जस्ता विषयमा सदस्य र साझेदार राष्ट्रहरूलाई सहकार्यको वातावरण प्रदान गरिरहेको छ।
नेपालजस्तो विकासोन्मुख देशका लागि यो रणनीतिक रूपमा महत्वपूर्ण अवसर हो। रुससँगको सम्बन्धलाई यही मञ्चमार्फत अझ व्यवस्थित र नीतिगत बनाउँदै लग्न सकिन्छ। केपी शर्मा ओली र भ्लादिमिर पुटिनबीचको भेटले यो सम्भावनालाई मूर्तरूप दिन सक्ने संकेत दिएको छ। यद्यपि सामाजिक सञ्जालमा यस भेटलाई “रुसका राष्ट्रपतिसँग भेट गर्ने पहिलो प्रधानमन्त्री” को रूपमा अतिरञ्जित प्रचार गरियो, यथार्थमा नेपालका अघिल्ला प्रधानमन्त्रीहरूले सोभियत नेताहरूसँग गहिरो संवाद गरिसकेका छन्। तथापि, ओलीले वर्तमान रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेट गर्ने पहिलो प्रधानमन्त्री भएको तर्कलाई भने अस्वीकार गर्न सकिंदैन। यस्ता उच्चस्तरीय अन्तरक्रियालाई अतिशयोक्तिपूर्ण प्रशंसा वा आलोचनाको सन्दर्भमा होइन, कूटनीतिक सम्भावनाको दृष्टिले हेर्नुपर्छ। नेपालको बहुपक्षीय नीति, “सबैसँग मित्रता, कसैसँग बैर होइन” भन्ने सिद्धान्तअनुसार, रुसजस्तो परम्परागत साझेदारसँग सम्बन्धलाई समय सापेक्ष रुपमा अद्यावधिक गर्नु आवश्यक छ। रुससँग भविष्यमा ऊर्जा, पूर्वाधार विकास, रेलमार्ग, सुरुङमार्ग तथा जलविद्युत क्षेत्रमा लगानी र प्रविधि हस्तान्तरणका सम्भावना छन्। त्यसैगरी, विज्ञान तथा प्रविधिमा अनुसन्धान, छात्रवृत्ति तथा द्वैध डिग्री कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावनाहरू अझै खुल्ला छन्। रक्षा र सुरक्षाको क्षेत्रमा समेत सीमित सहयोगको सम्भावना रहन्छ, विशेषगरी जब नेपाल SCO जस्तो क्षेत्रीय सुरक्षा संयन्त्रमा सहभागी बन्ने तयारीमा रहेको छ।
पछिल्लो भेटवार्तालाई नेपालको SCO मा सक्रिय उपस्थिति, रणनीतिक कूटनीतिक सन्तुलन तथा परम्परागत मित्र राष्ट्रहरूसँग सम्बन्धलाई पुनःप्रमाणित गर्ने प्रयत्नको रूपमा हेर्न सकिन्छ। समग्रमा, प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच भएको भेट सामान्य देखिए पनि यसको कूटनीतिक प्रभाव ठूलो हुनसक्छ। इतिहासको सम्मान गर्दै भविष्यतर्फ उन्मुख हुने अवसरका रूपमा यस्तो संवादलाई उपयोग गर्न सकेमा नेपाल–रुस सम्बन्धले नयाँ युगमा प्रवेश गर्ने सम्भावना बलियो छ। आजको आवश्यकताको माग यही हो नयाँ विश्व परिवेशअनुसार पुराना सम्बन्धलाई पुनः परिभाषित गर्दै, परस्पर सम्मान, सहयोग र समृद्धिको साझा यात्रालाई अघि बढाउनु हो।