
२०२५ को शांघाई सहयोग संगठन SCO को शिखर सम्मेलन र द्वितीय विश्वयुद्धमा फाँसिवादमाथिको चीनको विजयको ८०औं वार्षिकोत्सवको सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति शी चिनफिङबीच थियाञ्चिनमा भएको उच्चस्तरीय भेटवार्ता नेपाल-चीन सम्बन्धमा ऐतिहासिक मोड हो। यो संवादले रणनीतिक साझेदारीलाई अझ सुदृढ मात्र बनाएको छैन, साझास्वरूप विकास, सम्पर्क विस्तार, र क्षेत्रीय स्थायित्वको दिशामा नयाँ ऊर्जा पनि प्रदान गरेको छ।
चीनका राष्ट्रपति शी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच थियाञ्चिनमा सम्पन्न संवाद केवल कूटनीतिक औपचारिकता थिएन, यो दुई पुराना मित्र राष्ट्रबीचको आपसी विश्वास, साझा इतिहास र साझा भविष्यको प्रतीक बन्यो। यो बैठकले नेपाल-चीन सम्बन्धलाई गहिरो बनाउनुका साथै क्षेत्रीय समृद्धि र वैश्विक स्थायित्वमा योगदान पुर्याउने दिशामा स्पष्ट संकेत प्रदान गर्यो।
नेपाल र चीनबीचको सम्बन्ध सहस्राब्दीयौं पुरानो सांस्कृतिक, धार्मिक र व्यापारिक सम्बन्धमा आधारित छ। विगत ७० वर्षयता औपचारिक कूटनीतिक सम्बन्ध स्थापनापछि यो सम्बन्ध अझ परिपक्व हुँदै आएको छ। राष्ट्रपति सीले उल्लेख गरेझैं, दुवै राष्ट्र स्वतन्त्र, सार्वभौम र शान्तिप्रेमी हुन्, जसले उनीहरूलाई साझा भाग्यको यात्रामा एकसाथ अघि बढ्न उत्प्रेरित गरेको छ। नेपालले ‘एक चीन नीति’को लगातार समर्थन गर्दै आएको छ, जसमा ताइवान चीनकै अभिन्न हिस्सा हो भन्ने धारणा समेटिएको छ। प्रधानमन्त्री ओलीले यही अटल नीतिलाई पुनः पुष्टि गर्दै नेपालको भूभागबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिइने प्रतिबद्धता जाहेर गरे। यसले आपसी राजनीतिक विश्वासलाई अझ सुदृढ बनाएको छ।
यस ऐतिहासिक संवादको केन्द्रमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ BRI अन्तर्गत उच्च गुणस्तरीय परियोजनाहरूमा सहकार्यलाई अगाडि बढाउने साझा प्रतिबद्धता रहेको छ। नेपालका लागि BRI केवल पूर्वाधारको कुरा होइन, यो आर्थिक रूपान्तरणको अवसर हो। दुबै पक्षले परियोजनाहरू दिगो, समावेशी र स्थानीय लाभमा केन्द्रित हुनेमा जोड दिएका छन्।
भौतिक सम्पर्क विस्तार (connectivity) प्रमुख प्राथमिकताका रूपमा स्थापित भएको छ। सडक, विमान सेवा, विद्युत प्रसारण, सीमास्तरीय संरचना, र सञ्चार क्षेत्रमा साझेदारी विस्तार गर्ने सहमति भएको छ। यसले नेपालको पारवहन लागत र समय घटाउँदै, देशलाई भूमि अवरुद्ध अवस्थाबाट भूमि जडित राष्ट्रको रूपमा रूपान्तरण गर्न सहयोग गर्नेछ। चीनको विशाल अर्थतन्त्रसँग प्रत्यक्ष जडान हुनुले व्यापार, लगानी र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नेछ।
यस सहकार्यको दायरा केवल पूर्वाधारसम्म सीमित छैन। कृषि, जलविद्युत, वातावरण संरक्षण, कृत्रिम बुद्धिमत्ता AI औद्योगिक विकास, र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा सहकार्यले नेपालको आर्थिक विविधिकरणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ। चीनको प्रविधि, पूँजी र बजार नेपालका स्रोतसाधन, पर्यटन र युवा जनशक्तिसँग मिल्दा दीर्घकालीन समृद्धिको मार्ग खुल्नेछ।
मानव विकाससम्बन्धी सहकार्य पनि संवादको प्रमुख अंश थियो। चीनले नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको विस्तार, शैक्षिक संस्था स्थापनामा सहयोग, आधुनिक अस्पताल निर्माण, र चिकित्सक प्रशिक्षणजस्ता क्षेत्रमा प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। यस्ता पहलहरूले नेपालको मानव पूँजी विकासमा दीर्घकालीन योगदान पुर्याउनेछन्। सुरक्षा, सीमा नियन्त्रण, र आपत व्यवस्थापनमा सहकार्य सुदृढ हुँदा दुवै देशबीचको विश्वास र स्थायित्वको आधार अझ बलियो बन्नेछ।
द्विपक्षीय मात्र होइन, नेपाल(चीन साझेदारी बहुपक्षीय मञ्चहरूमा पनि देखिएको छ। संयुक्त राष्ट्रसंघ, शांघाई सहयोग संगठन SCO लगायतका मञ्चहरूमा दुवै देशले समन्वयलाई सुदृढ बनाउने सहमति जनाएका छन्। प्रधानमन्त्री ओलीले SCO मा नेपालको सक्रिय भूमिकालाई पुष्टि गर्दै ‘शांघाई भावना’ कार्यान्वयनप्रति प्रतिबद्धता जनाए, जसले नेपालको क्षेत्रीय नेतृत्वको भूमिका अझ स्पष्ट बनाउँछ।
नेपालले चीनको तीनवटा प्रमुख वैश्विक पहलहरू वैश्विक विकास पहल GDI, वैश्विक सुरक्षा पहल GSI, र वैश्विक सभ्यता पहल GCI प्रति समर्थन जनाएको छ। यसले बहुध्रुवीय, न्यायपूर्ण र समावेशी विश्व व्यवस्थाप्रति नेपालको नीतिगत स्पष्टता र चीनप्रति गहिरो विश्वास झल्काउँछ।
यद्यपि सम्भावना विशाल छन्, केही चुनौतीहरू पनि छन्। हिमाली भूगोल, पूर्वाधार परियोजनाको जटिलता, र समयमै कार्यान्वयनको ग्यारेन्टी यस्ता चुनौतीहरू हुन्। तर, दुवै देशको राजनीतिक इच्छाशक्ति, स्पष्ट योजना, पारदर्शिता र आपसी सम्मानको आधारमा यी चुनौतीहरू समाधान गर्न सकिन्छ। नेपालका लागि यो ऐतिहासिक अवसर हो जहाँ उसले आफ्नो भू(राजनीतिक अवस्थालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न सक्छ।
अन्ततः, प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको यो संवाद नेपाचीन सम्बन्धको नयाँ अध्याय हो। यो केवल दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउने प्रक्रिया होइन, समग्र हिमाली क्षेत्रको स्थायित्व, समृद्धि र शान्तिको लागि ऐतिहासिक सम्भावना पनि हो। चीनको आर्थिक शक्ति र प्रविधि नेपालका स्रोत, श्रमशक्ति र रणनीतिक अवस्थासँग जोडिँदा यो साझेदारी भविष्यमा ट्रान्स(हिमालयन सहकार्यको नमुना बन्न सक्नेछ।
७० वर्षे कूटनीतिक सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा आधारित यो संवादले नेपाल(चीन मित्रतालाई नयाँ दिशा, ऊर्जा र गहिराइ दिएको छ। यसबाट दुवै देशका जनताले समृद्ध, सुरक्षित र साझा भविष्यको प्रत्यक्ष लाभ लिनेछन्।