
नेपाल र साङ्घाई सहयोग सङ्गठन (SCO) बीचको सम्बन्ध ऐतिहासिक रूपले गहन र महत्वपूर्ण रहेको छ। साङ्घाई सहयोग सङ्गठनको पहिलो शिखर सम्मेलनमा नेपालका राजालाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो, जुन घटनाले नेपाल र संगठनबीचको सम्बन्धको शुरुआती आधारस्तम्भ रह्यो।
यसै ऐतिहासिक सहभागिताको पृष्ठभूमिमा नेपालले SCO सँगको आफ्नो सम्बन्धलाई क्रमशः विस्तार र गहनता दिँदै आएको छ। नेपालको लागि SCO सँगको सम्बन्ध केवल कूटनीतिक औपचारिकता मात्र होइन, बरु एक रणनीतिक आवश्यकता पनि हो। संगठनमा सहभागिता जनाएपछि नेपालले पारवहन अर्थतन्त्रको रूपमा आफ्नो भूमिका बढाउन सकेको छ। यसले भू-आबद्ध भएतापनि नेपालले अन्तर्राष्ट्रिय व्यापार र समुद्री मार्गसँग जोडिने र सम्पर्क बढाउने ऐतिहासिक अवसर प्राप्त गरेको छ। यो अवसरलाई नेपालले सीमित नगरी पूर्ण रूपमा उपयोग गर्नु आवश्यक छ। नेपालले SCO बाट धेरै प्रकारका फाइदाहरू प्राप्त गरिसकेको छ र भविष्यमा थप लिन सक्ने सम्भावना पर्याप्त रहेको छ। आर्थिक क्षेत्रमा SCO को सदस्य राष्ट्रहरू, विशेष गरी चीन र रूस जस्ता ठूला अर्थतन्त्रहरूसँग व्यापार, लगानी र पर्यटनलाई बढावा दिने गरि सहयोग बढाउन सकिन्छ। सुरक्षा क्षेत्रमा आतंकवाद, अवैध मादक पदार्थको तस्करी, साइबर अपराध जस्ता transnational चुनौतीहरूमा संयुक्त कारबाही र सूचना आदानप्रदानको लागि SCO एक महत्वपूर्ण मञ्च हो। यसबाट नेपालले आफ्नो राष्ट्रिय सुरक्षा क्षमता मजबूत बनाउन सक्छ। नेपाल र चीनबीचको सम्बन्धलाई SCO ले अझ बलियो बनाएको छ।
चीन संगठनको एक प्रमुख सदस्य र संस्थापक सदस्यको रूपमा नेपाललाई SCO को गतिविधिहरूमा सक्रिय भाग लिन प्रोत्साहन गर्दै आएको छ। दुई देशबीचको सहयोग अवस्थापना विकास, ऊर्जा, पर्यटन र शिक्षा जस्ता विविध क्षेत्रहरूमा फैलिएको छ। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत नेपालमा भएका परियोजनाहरूले देशको पारवहन क्षमता र आर्थिक विकासलाई गति दिएको छ। SCO को माध्यमले यस प्रकारको सहयोगलाई अझ सुव्यवस्थित र विस्तार गर्न सकिन्छ। हाल SCO को शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ। यो सहभागिता नेपालको लागि एक महत्वपूर्ण कूटनीतिक अवसर हो। प्रधानमन्त्री ओलीले यस मञ्चमा नेपालको राष्ट्रिय हित, विकास आवश्यकता र क्षेत्रीय सहयोगमा देशको योगदानलाई उजागर गर्नु जरुरी छ।
विशेष गरी, पारवहन अर्थतन्त्र, ऊर्जा सुरक्षा, सूचना प्रविधि, कृषि र मानव संसाधन विकास जस्ता क्षेत्रहरूमा SCO सदस्य राष्ट्रहरूबाट सहयोग र प्रविधि हस्तान्तरणको लागि छलफल गर्न सकिन्छ। नेपालले यस अवसरलाई पूरा फाइदा उठाउन आफ्नो तयारी र रणनीति स्पष्ट राख्नुपर्छ। संगठनभित्र सक्रिय भूमिका निर्वाह गर्ने, सदस्य राष्ट्रहरूसँग द्विपक्षीय सम्बन्ध मजबूत गर्ने, र आर्थिक नीतिहरूको समन्वय गर्ने जस्ता कदमहरू अगाडि बढाउनु आवश्यक छ। साथै, आन्तरिक रूपमा नेपालले आफ्नो नीति, कानून र अवस्थापनालाई SCO को मानकअनुसार विकास गर्ने प्रयास गर्नुपर्छ ताकि संगठनको सहयोगबाट पूर्ण रूपमा लाभान्वित हुन सकियाेस।
यसरी नेपाल र SCO बीचको सम्बन्ध केवल औपचारिकतामा सीमित नरहि एक गतिशील र परस्पर फाइदाजनक साझेदारीमा विकास हुनु जरुरी छ। नेपालले आफ्नो भौगोलिक स्थिति, युवा जनशक्ति र विकासको सम्भावनालाई संगठनको लक्ष्यहरूसँग जोडेर एक सकारात्मक र नयाँ दिशा प्राप्त गर्न सक्छ। SCO को भविष्यका कार्यक्रमहरूमा सहभागी हुँदै नेपालले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा आफ्नो योगदान पुर्याउनुको साथै आफ्नो राष्ट्रिय विकासलाई पनि गति दिन सक्छ।