
प्रेम सागर पाैडेल--------------
चीनको तिब्बत स्वायत्त क्षेत्र, जसलाई चिनियाँ भाषामा Xizang भनेर चिनिन्छ, आफ्नो ६०औं स्थापना दिवसको उत्सव भव्य रूपले मनाइरहेको छ। यस ऐतिहासिक अवसरमा चीनका राष्ट्रपति शी जिनपिङ, जो कम्युनिष्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत हुन्, ल्हासास्थित ऐतिहासिक पोटाला दरबारको प्रांगणमा आयोजित एक भव्य समारोहमा सहभागी भए। उक्त समारोहमा करिब २०,००० स्थानीय नागरिक, सरकारी प्रतिनिधि र विभिन्न जातीय समुदायका व्यक्तिहरूको सहभागिता थियो, जसले तिब्बतको एकता, स्थिरता र समृद्धिको सन्देश दिएको छ। यो कार्यक्रमले तिब्बतमा पछिल्लो ६ दशकमा भएको सामाजिक, आर्थिक, र सांस्कृतिक विकासलाई उजागर गर्नुका साथै केन्द्रीय सरकारले तिब्बतप्रति देखाएको समर्पण र लगावलाई पुनः एक पटक पुष्टि गर्यो। तिब्बत, जो ऐतिहासिक रूपमा चीनको एक महत्वपूर्ण क्षेत्र रहँदै आएको छ, विगत केही दशकहरूमा द्रुत रूपमा परिवर्तन भएको छ। विशेष गरी आधारभूत पूर्वाधारको क्षेत्रमा हासिल भएका उपलब्धिहरू उल्लेखनीय छन्। रेलमार्ग, राजमार्ग, सुरुङहरू, विमानस्थलहरू लगायत यातायातका आधुनिक संरचनाले तिब्बतलाई चीनका अन्य भागसँग बलियोरूपमा जोडेको
तिब्बतमा बिस्तारै औद्योगिक विकासको आधार बनाइँदैछ, जसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई गति दिएको छ। गाउँगाउँसम्म सडक र बिजुली पुगेसँगै नागरिकहरूलाई आधारभूत सेवा प्राप्त गर्न सहज भएको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि उल्लेखनीय सुधारहरू देखिएका छन्। आधुनिक अस्पताल र स्वास्थ्य केन्द्रहरूको निर्माणसँगै टेलिमेडिसिन सेवा विस्तार गरिएको छ, जसले दुर्गम क्षेत्रका नागरिकहरूलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको छ। शिक्षा क्षेत्रमा लगानी बढाएर विद्यालय र विश्वविद्यालयहरूको संख्या बढाइएको छ, साथै तिब्बती भाषामा अध्यापनलाई प्रोत्साहन दिइएको छ। छात्रवृत्तिहरू र विशेष अवसरहरूले तिब्बती युवालाई उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानतर्फ आकर्षित गरिरहेको देखिन्छ। सांस्कृतिक संरक्षणको कुरा गर्दा, चीन सरकारले तिब्बती कला, वास्तुकला, भाषा र धार्मिक परम्परालाई बचाउन विभिन्न परियोजनाहरू सञ्चालन गरेको छ। पोटाला दरबार, जो तिब्बती बौद्ध धर्मको प्रतीक हो, संरक्षण कार्यद्वारा अझ सुदृढ बनाइएको छ। यस्तै, विभिन्न गुम्बाहरूमा पुनर्निर्माण र संरक्षणको कार्य भइरहेको छ। तिब्बती संस्कृतिको जगेर्नाका लागि उत्सवहरू, नृत्य, लोकसंगीत र हस्तकलालाई संरक्षण गर्ने कार्यक्रमहरू सरकार र स्थानीय समुदायहरूको सहकार्यमा अगाडि बढाइएको छ। धार्मिक स्वतन्त्रताको क्षेत्रमा पनि चीन सरकारले तिब्बतमा तिब्बती बौद्ध धर्मअनुरूप धार्मिक अभ्यासको अवसर सुनिश्चित गरेको छ।
धार्मिक अनुयायीहरूलाई मठ–मन्दिरमा पूजा, ध्यान, र वार्षिक धार्मिक पर्वहरू मनाउने स्वतन्त्रता प्राप्त छ। यसले तिब्बती समाजमा धार्मिक शान्ति र स्थिरता कायम गर्न मद्दत गरेको छ। तिब्बतमा बसोबास गर्ने तिब्बती, हान, हुइ, र अन्य जातीय समुदायहरूबीचको सम्बन्धलाई सुदृढ बनाउँदै समावेशी समाज निर्माण गर्ने प्रयास गरिँदैछ। सामाजिक सुरक्षाको सञ्जाल विस्तार गरिएको छ जसले गरिबी निवारणमा ठुलो योगदान पुर्याएको छ। चीन सरकारले ‘समृद्ध क्षेत्र, सुखी जनता’ भन्ने नारालाई मूर्तरूप दिन तिब्बतमा विशेष विकास योजनाहरू लागू गर्दै आएको छ, जसले समग्र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ।
६० वर्षको यस यात्राले तिब्बतलाई आत्मनिर्भरता, आधुनिकता र समावेशी समृद्धिको बाटोमा अघि बढाएको छ। राष्ट्रपति शी जिनपिङको तिब्बतप्रति देखिएको विशेष चासो र सक्रियताले यो स्पष्ट भएको छ कि केन्द्र सरकार तिब्बतलाई केवल भौगोलिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र भावनात्मक रूपमा पनि जोडिएको देख्न चाहन्छ। तिब्बतको सफल विकास यात्रा आजको विश्वका लागि एक प्रेरणादायक उदाहरण हो, जहाँ विविध जातजाति, धर्म, र संस्कृति एकसाथ समृद्धिको यात्रामा अग्रसर छन्। तिब्बतको वर्तमान प्रगति र स्थायित्वले भविष्यप्रति आशावादी दृष्टिकोण दिन्छ, र यो स्वायत्त क्षेत्र अब आधुनिक चीनको उज्जवल उदाहरण बन्न पुगेको छ।