
सत्ता राजनीति सत्ता र स्वार्थमै व्यस्त र अभ्यस्त छ । विकास, शान्ति र जनताको स्वास्थ्यसँग सरकार र नेताहरूलाई सरोकार देखिदैन । नेतृत्वको प्रतिस्पर्धा, भ्रष्टाचारको प्रतिस्पर्धा अत्यधिक छ, नीति र नैतिकता केही बाँकी रहेन । यहाँसम्म कि चुनावका बेलामा जनतालाई दिएका आश्वासन र देखाएका सपनामात्र होइन, आफैले जारी गरेका घोषणापत्रका सम्बन्धमा समेत पार्टीहरू इमानमा टिकेनन् । पार्टीहरू जनविश्वासको कसीमा स्खलन हुँदै गएका छन् । अब त विदेशीले समेत फ्रड, मानव बेचबिखन गर्ने मुलुक भनेर भन्न थालेका छन् । यति हुँदा पनि गणतन्त्रवादी आफ्नो अनुहार, व्यवहार हेर्दैनन् ।
केपी ओलीले साँढे ३ वर्ष चलाए, केपी ओलीले फेरि १५ महिना चलाइसके । उनको तेश्रो कार्यकाल पनि राजनीतिक झेल र सत्ताको खेलमा बितेको देखिन्छ । राजनीतिक बेइमानीको मारमा जनता परेका छन्, अकालमा मर्न बाध्य पारिएका छन् । यो वर्ष पनि तुइनबाट खसेर मान्छेले ज्यान गुमाए । सत्ता रनेताहरूले चिन्तासम्म गरेनन् ।
राजनीतिमा गालीगलौज खुब चलेको छ । प्रतिषोध साध्ने अभियान पनि जारी छ । डा.बाबुराम भन्छन्– ओली र प्रचण्ड मिलेर विपक्षको सफाया अभियान चलाएका छन् । आमनागरिकको बुझाइ पनि यही नै छ ।
राजनीतिमा सहिष्णुता भन्ने केही छैन, एकले अर्कोलाई गाली गर्ने, तल खसालेर बोल्ने, संसदीय असभ्यताले पराकाष्ठा नाघ्दै गएको देखिन्छ । राजनीति दुषित हुँदैगएको छ ।
राप्रपाले सूर्य बोके, कांग्रेसले हँसिया हथौडा बोक्यो, एमालेले राप्रपालाई सघायो । नीति, सिद्धान्त केही बाँकी रहेन । बृद्ध कांग्रेसका सभापति देउवा प्रचण्ड र ओलीको राजनीतिलाई टुलुटुलु हेरिरहेका छन्, पाएजति भाग सोहोरिरहेका छन् । देउवाजस्ता परिपक्व नेताले राजनीतिमा अभिभावकत्व लिन सकेनन्, त्यस्तो उदारता पनि उनमा देखिएन । कांग्रेस सभापतिले चाहेका भए तुइन बिस्थापित भइसक्थ्यो, मान्छेले अकालमा मर्नुपर्ने थिएन । लोकतान्त्रिक गणतन्त्रमा मानवताभन्ने विषयले महत्व पाउने थियो ।
केपी ओली तीनपटक प्रधानमन्त्री हुँदा तुइन बिस्थापन गर्ने गुड्डी हाँके । केही तुइन बिस्थापन गर्ने कार्य त भयो तर पुरै बिस्थापन हुनसकेन । अझै तनहुँदेखि सुदूरपश्चिमका पहाडमा तुइनको कहरबाट भुइँमान्छे प्रताडित छन्, दुःख झेलिरहेका छन्, चुनाव जितेर गएपछि जनप्रतिनिधिले नागरिक कष्ट हेर्ने कामै गरेनन् ।
यतिबेला फेरि संघीय र प्रदेश सरकारको अस्थिरताको चर्चा बाक्लिएको छ । मन्त्रीहरूको फेरबदलको कुरा छ । सत्ताधारी सत्ताको दुर्गन्धित खेल र भ्रष्टाचारमा लिप्त हुनु लोकतन्त्रको दुर्भाग्य हो । आमजनता भनेका सधैं आशामा बाँच्ने बर्ग रहेछ । भन्नलाई लोकतन्त्र भन्ने, लोकले नेताको दयापात्र भएर बाँच्नुपर्ने हो भने यो प्रणालीलाई लोकतन्त्र कसरी भन्ने ? यथार्थमा लोकतन्त्रको झण्डै दुई दशकको समय अलोकतान्त्रिक रह्यो ।
मुख्य सवाल तुइन र नीति र नैतिकता.....
महाकाली तर्न खोज्दा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटेर नेपाली जयसिंह धामीलाई खसालीदिए । यसवर्ष तुइन तर्दा नागरिक मरे । जनतामारा लोकतन्त्रको उपादेयता कति रह्यो त ? – फणिन्द्रराज पन्त