
साउन महिनाको सोमबार । देशैभरिका मठमन्दिरमा भक्तालुको भीडमभीड लागेको छ । शिव मन्दिरमा आधारातदेखि दर्शनार्थीको घुइँचो देखेपछि लाग्छ नेपाल हिन्दुराष्ट्र हो । हरेक भक्तालु भन्छन्– साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा परिवारमा खुसी र सन्तानको समृद्धि हुन्छ भन्ने आमविश्वास रहेको छ ।
राजधानीको पशुपतिनाथमा दर्शनार्थीको भीड थेगिनसक्नु देखियो । व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन गर्न हम्मेहम्मे परेको अवस्था पनि देखियो । तर यी भक्तालुका लागि धर्मनिरपेक्षता, धर्मपरिवर्तन र हिन्दुराष्ट्रको कुनै चिन्ता र चासो देखिदैन । यो भीड, यी भक्तालुले शिवधाममा लागेकोजस्तै लामबध्द भएर हिन्दुराष्ट्र हुनुपर्छ भन्ने हो भने एकै दिनमा हिन्दुराष्ट्र कायम गर्न राजनीतिक दलहरू बाध्य हुनेछन् । यो चेत र यो जागरूकता ल्याउन हिन्दुराष्ट्रका अभियन्ताहरू असफल भएका छन् । चेतना फैलाउन सक्दैनन् ।
हिन्दुधर्मप्रतिको जनश्रद्धा घटेको छैन । तर राजनीतिज्ञहरूले धर्मनिरपेक्षतामा राष्ट्रलाई परिणत गरेका छन् ।