
वीपी कोइरालाले २००३ असोज १६ गते भारतको पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्न आह्वान गरियो र कात्तिक १५, २००३ मा बनारसमा देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्थाको स्थापना भयो । माघ १२ र १३ गते पहिलो महाधिवेशन गरियो । यही हो वर्तमान नेपाली कांग्रेसको जग ।
कांग्रेस नेपालको पहिलो र ठूलो समाजवादी–लोकतान्त्रिक पार्टी हो । २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरण भएपछि यो झन ठूलो पार्टी बनेको थियो । कांग्रेस भन्छ– कृयाशील सदस्य १० लाख छन् । विवेकमा छन् त ?
२०३९ साउन ६ गते वीपी कोइरालाको निधन भएपछि कांग्रेसमा नीति र वैचारिक धरातलमा पहिरो जान थालेको हो । २०८२ मा आइपुग्दा कांग्रेस ठूलो पार्टी त छ तर काँधमा भ्रष्टाचार र भ्रष्ट अवसरवादी कम्युनिष्टलाई बोकेर समाजवादको कुन लक्ष्यतिर लागेको छ, कुहिरोमा फसेको कागजस्तो लाग्छ ।
नेपाली वर्णपटलाई पल्टाउँदा देखिन्छ– २००७ सालमा नेपाली कांग्रेसले प्रवासबाट लैनछोकडा ल्यायो र तिनलाई बन्दुक बोकाएर मुक्तिसेनाको नाम दियो । राणाको प्रहरी रामदल र कांग्रेसको मुक्तिसेना मिलाएर पहलसिंह लामाको नेतृत्वमा प्रहरी संगठन खडा गरियो, जुन आजको नेपाल प्रहरी हो । यो नेपाल प्रहरी सत्य सेवा सुरक्षाको मन्त्र बोकेर हिडेको छ तर नेपाल प्रहरी देशको कम राजनीतिक पार्टीको आदेश र निर्देशनमा बढी चल्ने गरेको छ । प्रहरीलाई राजनीतिकरण गरिएको छ । जता पनि राजनीतिकरण, जता पनि अनैतिकता, पार्टीहरुमा नीति, सिद्धान्त, देश र जनताप्रति जवाफेहीता नहुँदा कांग्रेसमात्र होइन, कम्युनिष्टसमेत जनताको विश्वासमा घात गर्ने पार्टी हुन् भन्ने स्थिति छ । जनविश्वास बाँकी छैन ।
कांग्रेसले भ्रष्टाचार अँगाल्दा र सिद्धान्तमा अड्न नसक्दा कम्युनिष्टहरुको शोषण र बाहुबलीतन्त्र बढेर गएको छ । हामी गरीब छौं, गरीव राख्नकै लागि उद्योग बेच्ने, उद्यम नखोल्ने, रोजगारीमा पार्टीकरण गर्ने र युवा विदेशलाई बेच्ने नीति राष्ट्रिय नीति बन्नपुगेको छ । यो दुर्भाग्य हो परिवर्तनको ।
गरीबी कम्युनिजमका लागि उर्बर भूमि हुनेरहेछ । यो उर्बराको अधिकतम शोषण गरेर नै कम्युन्यालिष्टहरु कम्युनिजमको खेती गर्दा रहेछन् र स्वार्थको बाली भित्र्याउँदा रहेछन् । जनमत संङ्ग्रह गर्दा कम्युनिजमले काम ग¥यो, हो, बहुदलले जित्न सकेन । तर १२ वर्षभित्रै सडक आन्दोलन भएर दलमाथिको प्रतिवन्ध फुकुवा भयो, सडक आन्दोलनमा प्रजातन्त्रवादीले भन्दा प्रभावकारी आक्रोश वामपन्थीकै थियो । १० वर्षे जनयुद्धमा वामपन्थीले गरीबहरुलाई बन्दुक बोकाए, ०६२–६३ सालको जनआन्दोलनमा पनि वामपन्थी नै हावी भए । राजतन्त्रको अन्त्य, हिन्दुधर्मको बिनास, लोकतन्त्रको नाममा लूटतन्त्र चलाउन कम्युनिष्टहरु अग्रपङ्तिमा देखिए । बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रको १८ वर्ष कम्युनिष्टकै रजगज गर्ने समय देखिन्छ । यो समयमा कम्युनिष्टले आफूले आफैलाई नवसामन्तवादको बादशाह बनाए । कम्युनिष्टभन्दा के कम भनेर कांग्रेसले पनि गर्नुसम्मको भ्रष्टाचार गरेका छन् । जब विवेकशून्य हुन्छन्, बादशाहहरु नाङ्गिएको पनि चाल पाउँदैनन् ।
२०५२ सालमा सुरु भएको जनयुद्ध १० वर्ष चल्यो । जनयुद्ध हाँक्ने कमाण्ड, हाइकमाण्डले १८ वर्ष राजनीतिको निर्णायक नै बन्न भ्याए । त्यसो त २०२८ सालतिर जनवादी विद्रोह गर्ने झापा आन्दोलनकारीका एक नाइके केपी ओली चौथोपल्ट प्रधानमन्त्री बन्न सफल भएका छन् । प्रचण्ड र ओली, यी दुबै कम्युनिष्ट थिए र दुबै वामशक्ति मिलेर नेकपा बनाए, फुटे, दुबैले प्रजातन्त्रवादीलाई आलोपालो टेको बनाउन सफल भए । आफूलाई कम्युनिष्ट भन्ने यी दुबैले नेपाली कांग्रेसको ढाडमा टेकेर राष्ट्रवाद र प्रजातन्त्रको टाउकोमा पटक पटक हम्मर हान्न सफलता हासिल गरे ।
हुन त नेपालमा कम्युनिष्ट छैनन्, नाममात्र छ । नवसामन्त बनेकाले यिनले बिर्सिए– नक्सलवाडीका कम्युनिष्ट नेता चारु मजुमदारले कार्यकर्ताले पुँजीवादी चोला फेरे भनेर रुखमा झुण्डिएर मर्नुप¥यो । चीनका राष्ट्रपति सीजिन पिङले खुला अर्थनीति अँगालेर चीनलाई विश्वशक्ति त बनाए, तिनै सीजिन पिङले नेताका सम्पत्ति सबै राष्ट्रको हुने घोषणा गरेका छन् र बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट सपनामा भुलाउने गफ हो, राष्ट्रवाद बलियो पार्ने अभियान होइन । नेपालमा यो कथन ठ्याक्कै मिल्छ ।
२०४६ सालको परिवर्तनपछि चुनाव कांग्रेसले जिते पनि देशै राताम्मे देखिएको थियो । सूर्यअंकित झण्डा जनआन्दोलन सफल भएको २०६३ वैशाख ११ गते विहानसम्म कतै थिएन । थियो त रुखका हाँगा र माओवादी लडाका तथा समर्थकका सलह पंक्ति थियो । मंसिर ५ गते शान्ति सम्झौता गर्ने दिनसमेत सूर्यअंकित झण्डाको रङ् कतै कतै मात्र थियो । राजतन्त्रको निर्णय जनमत संग्रहबाट हुनुपर्ने एमालेको अडान एकाएक आकाशवाणीको निर्देशनमा बदलियो र गणतन्त्र कार्यान्वयन सम्भव भएको हो । गणतन्त्र कार्यान्वयन प्रस्ताव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा पेश गर्न सकेनन्, उनले खेताला पठाए कृष्णप्रसाद सिटौलालाई जो चुनाव हारेका कांग्रेसी थिए । कसको आदेशले ? यसबारेको रहस्य बाँकी नै छ ।
परिवर्तन भयो, परिवर्तनले कांग्रेस कम्युनिष्टलाई बैकुण्ठ दियो, देश र जनतालाई तमासे बनाइयो ।
०६४ सालको बहुमतको माओवादी ३२ सिटे हुनपुगेको छ । संगठन बलियो पार्न सकेको कारण एमाले होसमा छ, बाँकी पार्टीहरु भुरे टाकुरे हुन् । नयाँलाई ढिम्किनै नदिने कांग्रेस, एमालेले सानालाई मुद्दा मामिलामा अल्झाउने र जेलमा सडाउने नीति लिएका छन् ।
शक्ति बन्दुकको नालबाट निस्कन्छ, संसद भनेको बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टले त्यही कथनअनुसार स्थानीयदेखि राष्ट्रियतहसम्म एकछत्र शासन गरिरहेका छन् । २०१५ सालको चुनावमा ४ सिटे कम्युनिष्टहरु गुट फुटमा भए पनि अझै प्रभावशाली नै देखिन्छन् । यो सबै गरीबीका कारणले हो । सत्यको चेतना छ, गरीबीका कारण जनता कम्युनिष्ट पार्टीका लहरमा गाँसिन छाडेका छैनन् । बुद्धिजीवी र संचेतन बर्गमा बिबेक हराएको छ, अवसरवादी हावी भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित, कम्युनिष्टको दबदबा । यो आश्चर्यको परिदृश्य हो । नेपालको कम्युनिष्टतन्त्रको निरन्तरता देखेर सारा विश्व चकित छ । कम्युनिष्टले कांग्रेसलाई साथ लिएर लोकतन्त्रका नाममा निरंकूशता, परिवारवाद, व्यभिचारवाद, राजनीतिक अपराधिकरण, भ्रष्टाचारको साम्राज्य चलाइरहेका छन् । यो कदापि गणतन्त्र होइन । हो प्रश्न छ– नेपालका कम्युनिष्ट सामन्तजस्ता छन् । को छ कम्युनिष्ट ?
कम्युनिष्टहरु जुकाको जस्तो भ्रष्टाचारी पित्ले, घ्याम्पे भुँडीवाल बनेका छन् । एनजीओदेखि बैंकरसम्म, स्कूलदेखि युनिभर्सिटीसम्म, स्वास्थ्यदेखि जलस्रोतसम्म, सञ्चारदेखि सेयरबजारसम्म, राज्य र समाजका सबै सञ्जालहरुमा कुनै खन्चुवा, भ्रष्ट, दलाल, पदीय दुरुपयोग गर्ने र नीतिगत भ्रष्टाचारमा चुर्लुम्मै डुबेका व्यापारीजस्ता छन् । अव त सुनतस्करीदेखि माफियासम्म, डन र दस्ता खडा गरेर कमाउ अभियानमा लागेका र कुनियत, अस्लिल कृयाकलापमा समेत कम्युनिष्ट जोडिन पुगेका छन् ।
यसकारण प्रश्न उठेको हो– नेपालमा को छ र कम्युनिष्ट ?
कम्युनिष्ट सर्वहारावादी भनिन्छ, सम्पत्तिवाला यिनै बनेका छन् । २०४६ सालपछि भ्रष्ट कांग्रेस अथवा मधेसी नेताहरुमात्र होइन, सबैभन्दा भ्रष्ट त कम्युनिष्टहरु पो रहेछन् । यसले के देखाउँछ भने राजनीति तस्करतन्त्र हो ।
सर्वहारा बर्गको नारा लगाउने, समानताको कुरा गर्ने, अग्रगमन भनेर नथाक्ने, लोकतन्त्र, गणतन्त्र भट्याइरहने कम्युनिष्ट चटकेजस्ता छन् । जो असलमा कम्युनिष्ट नेता थिए, मोहनचन्द्र अधिकारी । उनी त माँगेर हिड्न बाध्य छन् । रुद्राक्षका गेडा गनेर श्रीकृष्ण भन्न थालेका भेटिन्छन् । कुनै नेतालाई उनको मतलव छैन ।
अन्य कम्युनिष्ट भनिनेहरु कम्युनिष्ट करोडीमल हुन्, अरवका शेख हुन् । करोडीमल र शेखको सोच राष्ट्रिय गौरव, गरीव, किसान, मजदुर, महिला, सिमान्तकृत बर्ग, दलिततिर होइन, स्वार्थ र सत्तामा बढी हुनेगर्छ । जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । यी कम्युनिष्ट करोडीमल, शेखहरुले राज्यसँग १ सय २६ जातिलाई जोड्ने होइन, यिनलाई फोडेर यिनको हक खोस्ने, भोट बैंक निर्माण गर्नतिर नै लागिरहेको देखिन्छ । धर्मनिरपेक्षता र संघीयत यिनको अर्को देखाउने धन्दा हो ।
यस्ता नेताहरु आफूलाई कम्युनिष्ट भन्छन् । भएका उद्योग बेच्ने, राज्यसम्पत्तिमा माफियाकरण गर्ने, विधिमाथि हैकम चलाउने, युवा निकासी गरेर रेमिटान्समा ढलीमली गर्ने, यस्ता पनि कम्युनिष्ट ? चीन, भियतनामबाट सिक्ने भए जनताले धेरै अवसर दिएकै हुन्, समाजवादका लागि कालजयी निर्णय गरेर महाथिर बन्ने मार्ग कुनै नेताले लिएनन् । नेपालमा कम्युनिजम हाटहुट, लाटलुट, चाटचुट मात्र हो ।
भ्रम छर्न खप्पीस छन् कम्युनिष्टहरु । पानीजहाज, हावाबाट विजुली, १० वर्षमा देशै स्वर्ग बनाउने कुरा । अग्रगमन, गणतन्त्र, समानता र समृद्धिका कुरा । हावा कुरा हुन् ।
व्यवहार समाजविरोधी देख्नेहरु, बुझ्नेहरु भन्छन्– अलि हजम भएन ।
हुन त पागलको नाम बुद्धिबहादुर, नेत्रहीनको नाम नेत्रबहादुर राख्ने देश हो यो । जो कम्युनिष्टजस्तो छैन, कम्युनिष्टजस्तो केही छैन, ती नेता कम्युनिष्ट नेता, पार्टी नेकपा ।
कुनै पार्टी वा नेता नीतिमा अडेनन्, जनविरोधी काम ग¥यो, आफैमा बिभाजन भयो, स्वार्थ मिल्नेभए हातेमालो ग¥यो । कांग्रेस वा अन्य लोकतन्त्रवादी पार्टीसमेत कम्युनिष्टजस्ता देखिन पुगे । यो समाजवाद, प्रजातन्त्रवाद अथवा कम्युनिष्टतन्त्रको जीत होइन, स्वार्थी र अवसरवादी अपराधतन्त्र मात्र हो ।
संविधान लोकतान्त्रिक छ, पद्धति लोकतान्त्रिक हो । कमाण्डमात्र अवसरवादी बन्यो । अवसरवाद र चरित्रहीनताले देशको दिशा दिन सक्दैन देश दिशाहीन छ, गणतन्त्र गणविरोधी छ, लोकतन्त्र भ्रष्टतन्त्र बनेको छ ।
भारतले सिक्किम खानका लागि महारानी होप र लेण्डुप दोर्जीको हतियार चलाएको थियो । विदेशीको चाप्लुसी राजनीतिका कारण नेपालको राजतन्त्रात्मक इतिहास मेटियो । हिन्दुधर्म मेटियो । कम्युनिष्टको यो जीतका पछाडि पराईको कुनै ग्य्राण्ड डिजाइन त छैन ? किनभने जनादेश नै नलिई हिन्दुधर्म र राजतन्त्र सिध्याउने काम यिनैले गरे । विदेशीको सहयोगमा आतंकवाद मौलायो, विदेशीको इसारामा जनआन्दोलन गराइयो, विदेशी पैसाले संविधान लेखियो, चुनाव गराइयो, जित्नेले जिते, अर्काकै भर र स्वार्थमा शासन चलाउने काम भइरहेकै छ ।
नेमकिपाले संसदमा उठाएको एउटै प्रश्नमा नेपालको लोकतान्त्रिक गणतन्त्रको अनुहार छर्लङ्गै देखिन्छ– हामीले खाने संसदीय खाजा, भातमा कुन दातृसमुदायको सहयोग छ ?
यो प्रश्न होइन, देशको अस्तित्व मेट्ने मृत्युघण्टा बजेको हो । हामीले विवेक मार्ने हो भने नेपालको अस्तित्व कसरी बच्छ, कतिदिन बच्छ ?