
गत चैतदेखि राजधानीमा आम नेपालीहरूले असाधारण प्रदर्शनको आयोजना गरेका थिए । फेरि सेलायो । बिस्तारै राजतन्त्र र हिन्दुवादी तात्ने सुर गरिरहेका छन् । वर्षायाम र खेतीको समयका कारण र राजतन्त्रवादीवीच नै फूटका कारण आन्दोलन तुहिएको हो । राप्रपाले राजतन्त्रवादी आन्दोलन चर्काउने कुरा गरेको छ । केशर बिष्ट अब हामी आन्दोलन गर्छौं र यो आन्दोलन अन्तिम हुने र आन्दोलनले परिवर्तन ल्याउने फुइँकी दिएका छन् ।
केही वर्ष अघि पाकिस्तानमा पनि यस्तै प्रदर्शनको आयोजना गरिएको थियो र ३५ हजारभन्दा बढी युवाहरूले ’मानव झण्डा’ बनाइ विश्व कीर्तिमान बनाउन स्वतःस्फूर्त रूपमा कार्यक्रम सम्पन्न गरेका थिए । त्यस्तै गत ३ महिनाभित्र भएका नेपाल भरिका जनता राजधानी आएर गरेको आन्दोलन देख्दा लाग्थ्यो नेपाल सुरक्षित छ । नेपाली राष्ट्रवाद जिवन्त छ । जब युवाहरूमा नै आफ्नो देशप्रति यतिबिघ्न प्रेम देखिन्छ भने त्यो देश असुरक्षित हुने कुरै भएन । दक्षिण एसियामा श्रीलंका होस् कि बंगलादेश, परिवर्तन युवाले नै ल्याउका हुन्, नेपालमा परिवर्तन नहुने कुरै छैन । समस्या अगुवाको छ, नेतृत्वको छ । नेतृत्व नेतृत्ववीच नै मत र मन भिन्नता भएपछि आन्दोलन सफल हुने कुरै भएन । जब परिवर्तनकारी शक्ति विभाजित हुन्छन्, भ्रष्ट र निरंकूश शासक शक्तिशाली बन्नु स्वभाविक हो । फेरि एकपटक युवाहरूले पहिलेजस्तै झण्डाको प्लेकार्ड बोकेर नेपालको झण्डा एकलाख दश हजार स्क्वायर फिट ठूलो बनाएर ’नेपालको मानव झण्डा’ बनाउन जरूरी छ, यही र यस्तैखाले शान्तिपूर्ण झण्डा आन्दोलनले परिवर्तन ल्याउनेछ ।
जनता जाग्नुपर्छ, बिना कुनै दबाब, बिना कुनै लोभलालसा र बिना कुनै व्यक्तिगत स्वार्थ नेपाली युवाहरू र प्रौढहरूले देशप्रेम प्रकट गर्नुपर्छ । त्यसपछि जाग्छ नेपाली राष्ट्रवाद । १८ वर्षदेखि भ्रष्टहरूका कारण खासगरी देशप्रेमको खडेरी लागेको बेलामा नयाँ पुस्ता, जो जोश र जाँगरले भरिपूर्ण देखिनुपर्छ । जनता सडकमा बिद्रोह गर्न उत्रनुपर्छ । यसरी कार्यक्रम गर्नथाले, गरे भनेदेखि मुलुक चलाउने नेताहरूलाई पनि दबाब सिर्जना हुनजाने विश्वास गर्न सकिन्छ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि इत्यादिलाई संस्थागत गर्ने नाममा अहिले जेजस्ता कूकृत्यहरू गरिदैछन्, जेजस्ता अस्वभाविक काम कुराहरू भइरहेका छन्, ती नीति र नैतिकहीन छन्, बेइमानीले प्रजातन्त्र बाँच्न सक्दैन । प्रजारञ्जन गराउन सक्दैन । त्यो पद्धति लामो समय टिक्न पनि सक्दैन । देशमा यही भइरहेको छ ।
देशप्रेमयुक्त बिरोध कार्यक्रमको पूर्ण समर्थन गर्नेहरूमा आमनागरिक मात्र होइन, पार्टीका कार्यकर्ताहरू पनि छन् । तर बिद्रोहकै लागि सडकमा उत्रन किन हो कञ्जुरी गरिरहेका छन् । हुन त बिद्रोह, आन्दोलनको नेतृत्वमा नै भाँडभैलो भएपछि जनता बिभाजित हुनु स्वभाविक हो, आन्दोलनले गति नपाउने र सेलाउनु पनि स्वभाविक हो । आम नेपाली राष्ट्रभक्त छन्, त्यसमा कुनै शंका नै भएन । बुद्धिजीवी, चिन्तक र थिङ्क टेंक नै पार्टी पछुवा भएपछि विवेक शून्यता देखिन्छ । दही फटाउन अमिलो निचोरे झैं हुन्छ । राजतन्त्र र हिन्दुवादी, संघीयताविरोधीको आन्दोलनका गति मति सत्ताको फुटाउ र राजगरको नीतिमा लटपटिनुका कारण निर्णायक बन्न नसकेको हो । र, नेतृत्वको पिछलग्गु भएर कार्यकर्ता नामका युवाहरू पार्टी र नेताको ’अन्ध समर्थन’ गर्नुले पनि परिवर्तन पर धकेलिएको छ । मुलुकको आवश्यकता र वास्तविकता के हो ? के गरेपछि मुलुक, मुलुकवासीको स्वार्थको रक्षा हुनसक्छ ? किन गणतन्त्र गनायो ? किन कुनै पनि नेता सभ्य र प्रजातान्त्रिक देखिदैनन् ? किन सबै नेता जनताको आँखामा बिझाएका हुन् ? त्यतातिर ध्यानदृष्टि दिएर अवका दिनमा आमनागरिक जुर्मुराउन जरूरी भइसकेको छ ।
अहिले संसद गाउँले आइमाईको पधेंरे झगडाजस्तो छ । प्रमुख प्रतिपक्षी सत्तापक्षमा लागेको देखिन्छ । ससाना पार्टी चिच्याइरहेका छन्, दुई तिहाईको कांग्रेस एमालेको सरकार बेवास्ता गरिरहेको छ, पूर्व एमाले नेता देवराज घिमिरे सत्तापक्षमा लागेर संसदको मर्यादालाई समेत नाघेर जबरजस्ती सत्ता चलाइरहेका छन् । सत्तापक्षले बजेट संसदमै च्यातेका छन्, सांसदले बजेट ठूला नेताहरूको गृहजिल्लामा खन्याएको आरोप लगाउँदा पनि सत्तापक्ष नीति, नैतिकतामा देखिदैन । भिजिट भिसामा गृहमन्त्री मुछिएका अनेक प्रमाण देखिएपछि उनलाई राजनीतिमा गराएर छानबिन आयोग बनाएको भए संसद सुचारू हुनेथियो, पेल्ने नीतिका कारण कांग्रेस, एमाले र तिनकै पछि पछि लागेको प्रमुख प्रतिपक्षी माओवादीसमेत आलोचित देखिन्छ । देशमा राजनीतिक मुद्दाको अन्त्य भएन । १८ वर्षमा संक्रमणकालीन मुद्दाको किनारा पनि लागेन । राजाले सहमति, संवाद र सहकार्यका लागि गरेको आह्वान नमान्दा देश अराजक र अस्थिर बन्दै गएको छ । किन विवेक शून्यता ?