
नेपालीले बाँच्न जानेनन् । बाँच्नका लागि जीवन हुनुपर्छ । समाज मरेजस्तो छ, बोल्दैन । बुद्धिजीवी संचेतन बर्ग मरेजस्तै लाग्छ, विवेक देखिदैन । राजनीति त मूर्दा नै हो, नेतालाई नाफा, सत्ता र शक्ति भए पुग्छ । संविधान कागजको खोस्टो बनिसक्यो । संसद कुकुर बिरालोको झगडाजस्तो दैनिकीमा देखिन्छ । प्रष्ट केही छैन, अस्पष्ट सबैथोक छ, सबैतिर छ । यो अन्यौल चिर्ने करौंती देखिएजस्तो गर्छ, हराउँछ । फेरि देखिएजस्तो गर्छ । हराउँछ ।
पञ्चायत भएन गो, बहुदल भएन गयो । लोकतान्त्रिक गणतन्त्रले हुन्छ कि भनेको यो त झिकी दे गाँड भन्दा थपिदे गाँण भनेजस्तो हुनपुग्यो । नीति, नैतिकता र सिद्धान्त केही पनि बाँकी रहेन ।
पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा । वर्तमान प्रधानमन्त्रीमाथि भ्रष्टाचारका अनेक आरोप । ठूला भनिएका कांग्रेस, एमाले, माओवादीको नेतृत्व माथि भ्रष्टाचारका आरोपै आरोप ।
बहुदलपछि भ्रष्टाचारका अनगिन्ति प्रकरण सार्वजनिक भएका छन् । लोकतन्त्रपछि तका भ्रष्टाचारका घटनाहरुको निरन्तरता जारी नै छ । भुटानी शरणार्थी बनाएर र भिजिट भिसाका नाममा नागरिक बेच्ने काण्डमा ठूला साना प्रशासकदेखि राज्य नै लागेका घटना सार्वजनिक भएका छन् । योभन्दा ठूलो राष्ट्रघात के हुनसक्छ । यद्यपि एनसेल, यति, सुन, ७० करोड, सरकार बचाउन चीनसँग ५० करोड मागेको, बतासदेखि टेराम्याक्स, कोरोनाकालमा ओम्नी काण्ड भएकै थियो, कुकुल्याण्ड, क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, बुढी गण्डकी काण्ड भएकै हो, चाइना साउथबेष्टदेखि एयरबस खरिदमा ४ अर्ब ३५ करोडको घोटाला काण्डमा पनि नेताहरु नै जिम्मेवार छन् । चेज एयर र धमिजा काण्डको के कुरा गर्नु, गिरिबन्धु टी स्टेटमा घोटालाको आरोप त प्रधानमन्त्ती केपी ओलीमाथि नै सोझिएको छ । प्रधानमन्त्रीले यो ठूलो घोटाला फाइल नै लुकाएका छन् ।
ज्यानमाराले छुट पाएका छन्, माफी पाएका छन् । संक्रमणकालीन न्याय स्थापित गर्न सकेनन् । गर्न चाहेनन् । पीडितहरु कति मरिसके, कति न्याय चाहियो भनेर आर्तनाद गरिरहेका छन् । गैंडाको छाला भएका लोकतान्त्रिक गणतन्त्रवादीहरु कान, आँखा, मुख थुनेर बसेका छन् । त्यसै विश्वका अधिकारकर्मीहरुले नेपालमाथि दण्डहीन मुलुकको आरोप लगाएका होइनन् । विश्वसंस्थाले नेपाललाई ग्रेलिस्टमा राखेका होइनन् । अब ब्ल्याक लिष्टमा पर्ने खतरा देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘फ्रड’ नै भनिदिएका छन् । लज्जा पनि लज्जित भइसक्यो, तर लोकतान्त्रिक गणतन्त्रका अगुवाहरुलाई न धक छ, न लज्जा । शिवरात्रिका नागाबाबाजस्ता भए नेपालका ठूला पार्टी र नेताहरु ।
अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, तर राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्तामा हुन्छन् । भ्रष्टाचार गरेको पैसाले चुनाव जित्यो, शासक बन्यो, भ्रष्टाचार ग¥यो । फेरि भ्रष्टाचारको पैसाले चुनाव जित्यो । यही निरन्तरता हो, ०४६ सालपछिको बहुदल, २०६३ पछिको लोकतन्त्र, गणतन्त्र ।
हाम्रा नेताहरु घर साँढे, वन बिरालो जस्ता छन् । स्वार्थका लागि राष्ट्रिय अहितका विषयमा समेत बोल्दैनन् । राष्ट्रिय स्वाधीनताका विषयमा चुप्पी साधेर बस्छन् । नेतामात्र होइनन्, अब त बुद्धिजीवी, संचेतन बर्गसमेत बोलेरमात्र के हुन्छ र भनेर मौन बस्न रुचाउँछन् । हरेक व्यक्ति स्वार्थशिद्धिको पछि लागेका छन् । स्वपहिचान, नेपालीत्व कसेको पनि प्राथमिकताको विषय बनेको छैन । राष्ट्रिय राजनीति व्यवसाय बनेको छ । विवेबशीलहरुले विवेक गुमाउन पुगेका छन् । नेपाल विवेकहीनहरुको बस्तीजस्तो लाग्छ ।
२०६३ को आन्दोलनमा सुखद वर्तमान र भविष्यका खातिर जनताले सात राजनीतिक दलको परिवर्तनलाई स्वागत गरे, साथ दिए । तिनले गरेको हरेक निर्णयको बिरोध गरेनन् । एकथान संविधान बनाउन ८ वर्ष लगाए, संविधानमा धर्मनिरपेक्षता लेखे, बोलेनन् । कांग्रेस अथवा अरु दलभन्दा कम्युनिष्ट नै अब्बल भनेर लावण्यदेशमा हात्तीले राजा चुनेझैं जनताले चुनेकै हुन् । तर १८ वर्षमा १५ शासक फेरिए, सबैभन्दा बढी कम्युनिष्टले शासन गरे । कांग्रेस, कम्युनिष्टले राजनीतिलाई दुर्गन्धित बनाइदिए । हरेक नेता भ्रष्टाचारमा लथपथ हुनथालेकाले राजनीति र सुँगुरको खोर उस्तै उस्तै देखिनथाल्यो ।
विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको साबित हुनपुग्यो ।
जनताले कांग्रेस, राप्रपा, मधेशवादी र अन्य साना भुरेटाकुरे दलहरुलाई अवसर दिएर उपकार गरे । राम्रो काम गर्ने मौका दिए । तर हरेक दल र नेताले जनताको उपहारको गुण देखेनन्, जनतालाई जुकाले रगत चुसेझैं चुसिरहे ।
यो अवधिमा नेपाल माओवादीको हँसिया हथौडामय पनि भयो, एमालेको सूर्यमय पनि देखियो । कांग्रेसको रुख र चारतारे त सत्तामा झुत्ती खेलिरहेकै छ, कम्युनिष्टलाई काँधमा बोकेर पनि सत्ताधारीमा मख्ख परिरहेकै छ । कम्युनिष्ट कमाउन थाले, कांग्रेस कमाउन र सत्तामा रमाउन थाल्यो । कम्युनिष्टलाई सत्ताको स्वाद, जुठोपूरा खाने कांग्रेसले प्रजातन्त्रको बिडा उठाएको गौरव र वीपीको नीतिलाई समेत तिलाञ्जली दिन पुग्यो ।
अर्थात्, सबैकानै चिरिएका जोगीजस्ता देखिए । संघीयताका नाममा ७ सय ६१ सरकार छन् । ती सबै सरकारमा ३५ हजार ९ सय २४ सदस्य छन् । ती सबै पार्टीका नेता कार्यकर्ताको खुवा खान्की भनेको जनताले तिरेको कर र रेमिटान्स अर्थतन्त्रको राष्ट्रिय ढुकुटी नै हो । लखनौं लुटलाई बिर्साइदिएको छ संघीयताले । यस्तो लुट राजनीति नीच कर्म नभए के हो ? जनताको अपेक्षा के छ ? जनता किन असन्तुष्ट छन् ? जनताको आक्रोशको कारण के हो ? देश र जनताका लागि के गर्न सकिन्छ ? यस्ता प्रश्न कहिले उठेनन्, कहिले बहस भएन ।
हरेक नेता जनताबाटै सलामी खान उत्साहित हुनथाले । पिर्के, मेच, टेबुलमाथि चढेर समेत सलामी खाएको दृश्यले लोकतन्त्रको अपमान जारी छ ।
जसले जितायो, ती जनतालाई सलाम गर्ने कोही भएनन्, जनताबाट सलाम खाने रहर र लहर सबैमा जाग्यो । गाउँपालिकाको अध्यक्ष होस् कि प्रधानमन्त्री वा राष्ट्रपति, कसैले जनअपेक्षाको कदर गरेनन् । सुशासनका नामममा कुशासन बढ्दो छ । न सच्चा प्रजातन्त्रवादी छन्, न सच्चा समाजवादी, सर्वहारावादी । जो छन्, मौसमअनुसार काँचुली फेरिरहेका छन् । नेपाल अवसरवादीका लागि स्वर्ग बनेको छ । रमाइरहेका छन् ।
कार्लमाक्र्सले भनेका थिए– क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनस्र्थापनाको साधन बन्न जान्छ । टाउकामाथि माक्र्सको फोटो झुण्ड्याउन गर्व गर्ने, आफूलाई माक्र्सवादी भन्नेहरुले माक्र्सको सिद्धान्तको पदमार्ग पछ्याएनन् । जनयुद्ध र जनआन्दोलन सफल भयो, राजतन्त्र र हिन्दुधर्म फालियो भनेर नाक फुलाउनेहरुले माक्र्सको सिद्धान्त पछ्याएर एउटा पनि सामाजिक विकासको कार्य गरेनन् ।
समाजवादी कांग्रेसले त जनतालाई सर्वशक्तिमान बनाउने सिद्धान्त बिर्सेर आफै सर्वशक्तिमान हुने र सकेसम्म जनतालाई लुट्ने धन्दा चलाइरहे । यतिबेला स्वर्गमा वीपी कोइराला आफ्नो सिद्धान्त आफ्नै अनुयायी शेरबहादुर देउवामार्फत मारिएकोमा आँसु बगाइरहेका होलान् ।
कांग्रेसले आफ्नै पहिचान बिर्सियो । कम्युनिष्टका साक्षी र समर्थक बन्यो । कम्युनिष्टले राष्ट्रनिर्माताको सालिकदेखि स्थापित सामाजिक जीवन भत्काएकै हो । विध्वंसपछि निर्माण गर्ने भाषण पनि छाँटेकै हो । यिनले निर्माण गरेको मोनमेन्ट भनेको भ्रष्टाचार हो । यिनले स्थापित गरेको मान्यता भनेको नैतिकहीनता हो । यिनले देखाएको व्यवहार भनेको आफन्तवाद, सिद्धान्तहीन राजनीतिक सर्वोच्चता हो । यही महारोगको महामारीले आज देशलाई सन्निपात भएको छ । कम्युनिष्टहरु माओ जिन्दावाद भन्दै सम्पत्ति जोडिरहेका छन् । कांग्रेस पाएसम्म कमिशनमा डुबुल्की मारिरहेकै छ । सम्भ्रान्त कम्युनिष्टहरु, सर्वहारावादी कम्युनिष्टहरु राजनीतिलाई व्यवसाय बनाएर जनताको गाँस, बास, कपास, पानी, शिक्षा, उपचारमा लगानी गरिरहेका छन् र मुनाफा कमाएर सम्पत्तिमाथि सम्पत्ति जोडिरहेका छन् । मार्सी चामल, कार, हेलिकोप्टर, महल, सुखसुविधा सबैमा कम्युनिष्टको एकछत्र राज हुनथालेको छ । पुँजीवादी भनिनेहरुलाई कम्युनिष्टले उछिने, शासन, भाषण र आसनमा कम्युनिष्टहरुले दिग्बिजय गरे । हो, कम्युनिष्टहरु मोहनचन्द्र अधिकारी, मोहनविक्रम सिंहहरुलाई गुरु मान्छन्, नेपालका नेल्शन मण्डेला भनेर स्थापित पनि छन् तर तिनीहरु अपमानित छन् ।
कांग्रेसहरु वीपी जिन्दावाद भन्छन् र वीपीको सिद्धान्त बिपरित चरित्र देखाइरहेका छन् । कम्युनिष्टको काँधमा भ्रष्टाचार काण्डको बन्दुक राखेर पड्काउँदै कमिशन खानमा कांग्रेसलाई बानी परेको छ । यसकारण त ठूलो दल भएर पनि कांग्रेस कम्युनिष्टका सामु म्याउ गर्ने बिरालोमात्र बनेको छ । असलमा कांग्रेसी सिद्धान्तको अपमान भइरहेको छ ।
यो बुद्ध जन्मेको देश । बुद्धले भनेका थिए– नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो । नैतिकता छैन भने धर्म पनि छैन ।
राजनीतिमा नैतिकता स्यालको सिङ् हराएझैं हराएको छ । त्यसैले राजनीतिमा धर्म रहेन । राजनीति अधर्मीहरुको अखडा बन्नपुग्यो ।
राजनीतिको धर्म हुन्छ जनसेवा । राजनीतिको अर्को नाम नै जनसेवा, राष्ट्रभक्ति हो । तर नेपालको राजनीति भनेको तिल्के मारवाडीको झिल्के व्यापार हुनपुगेको छ । लोटा बोकेर आएकाहरु शासनलाई खोटा बनाएर रातारात सम्पन्नताको कोठाचोटा जोड्छन् । राजनीति यस्तै बनेको छ । राजनीतिक दल भनेका हाटबजार हो । जिम्मेवारी र जवाफदेहीताविहीन राजनीति भनेको गाईजात्रा हो, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अर्थात शीतल निवास, सिंहदरवारदेखि गाउँपालिकासम्म गाईजात्रा चलेको छ । गाईजात्रामा जात्रा हुन्छ, जात्रामा हाँसो र मनोरञ्जन बढी हुन्छ । व्यङ्ग पनि हुन्छ, झगडा हुन्छ तर त्यो व्यङ्ग, झगडा परिस्थितिप्रतिको परिहास देखेर सुनेर देखेर जिम्मेवारहरु लज्जाहीन भएर हाँस्छन् । वर्तमान शासक शासकहरु यस्तै परिहासकहरु हुन् । शिवरात्रिका नागाबाबा हुन् ।
शेक्सपियरले लेखेका छन्– बदलाको भाव साहस होइन, बरु त्यसलाई सहनु साहस हो । माओले नै भनेका थिए– हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु
हुन्छ । शेक्सपियर, माओ, रिचार्ड निक्शन तिनै जनाको मान्यता र नेपाली शासनको घटनाक्रम, बिधि व्यवहारमा कतै मेल खाँदैन । माओले त सांस्कृतिका क्रान्तिपछि कमीकमजोरी भएको स्वीकार गरेका थिए र जनताका सामु घुँडा टेकेर माफी माँगेका थिए । कम्युनिष्टहरु गल्ती स्वीकार्दैनन्, अहंकारग्रस्त छन् ।
समाजवादी हुँ भन्नेहरुले जयप्रकाश नारायणको पदचाप छाडिसकेका
छन् । सर्वहारावाद, जनशासन भन्ने हुन् वा गाई र माईका कुरा गर्ने हुन्, राजतन्त्रको वकालत गर्नेहरु समेत नैतिकपतनका अनेक रोगबाट ग्रस्त भएकै छन् । सबैले सहअस्तित्व र नैतिक हुने हो भने देश बाँच्छ, लोकतन्त्र पनि बाँच्छ, समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि साकार पार्न सकिन्छ । मात्र शर्त छ– इमानको परिपालना ।चरित्र र नैतिकवान बन्न राजनीति गर्नेहरु तैयार देखिदैनन् ।