
पिउने पानी फोहर, भान्सामा अत्यधिक विषादी र मिसावटपूर्ण खानपानका बस्तु । फेर्ने श्वास प्रदूषित, केही पनि शुद्ध र स्वच्छ छैनन् । अनि बढ्यो क्यान्सरका विरामी । केही वर्ष अघिसम्म क्यान्सरका एकाध बिरामी हुन्थे, अहिले सहरैपिच्छे क्यान्सर अस्पताल । गाउँ, सहर सर्वत्र क्यान्सरका बिरामी थेगीसाध्य छैन क्यान्सरको महामारी ।
थरि थरिका क्यान्सर । फोक्सो, टाउको, घाँटी, कलेजो, छाती, पेट, प्रोस्टेट, हाड अनेक अंग अंगमा क्यान्सर । बाल, प्रौढ, बृद्ध, आइमाई, लोग्नेमान्छे मात्र होइन, चराचुरङ्गी, जनावरमा पनि क्यान्सरको महामारी देखिन्छ । भेटिन्छ । मान्छे क्यान्सबाट प्रताडित हुँदो छ तथापि विषादीको प्रयोगमा रोक लगाउन सकिउको छैन । मान्छेलाई जसरी पनि पैसा कमाउन पाए पुग्यो । त्यो कमाएको पैसा क्यान्सरको उपचारमा खर्च हुन्छ, अन्य रोगव्याधिले पिरोल्छ भन्ने चेत कसैमा छैन । खासगरी राज्य उदासिन भएपछि विषादीको प्रयोग बढेको छ ।
हरेक घर, समाज, देश र विश्व नै तनावमा छ । कतै रोकभोक छ, कतै युद्धको आगो दन्किरहेको छ । कतै स्वार्थ र लाभको मारामार छ । विश्व शान्त छैन । रूस युक्रेन, इजरायल प्यालेस्टायन युद्ध जारी छ । भारत र पाकिस्तानको तनाव मत्थरमात्र भएको हो । चीन र भारत, अमेरिका र रूस, विश्वशक्ति प्रभाव र दबाब जमाउन लागिपरेका छन् । वातावरण परिवर्तनले महामारी बढाउँदै लगेको छ । चेत छ, चेतनाको बिस्तार पनि छ तर शान्ति र स्वच्छ समाजको व्यवहार छैन । युद्धका कारण विश्वमै खाद्य संकट परेको छ । यही यथार्थलाई ध्यानमा राखेर भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन नेपालमा भइरहेको निर्यातमा रोक लगाएको छ । तर अत्यधिक विषादी प्रयोग भएका खाद्यबस्तु नेपाल निर्यात गरिरहेके छ । यस सम्बन्धमा नेपालले चाहेर पनि रोक लगाउन सक्दैन । किनकि भारत चौतर्फी दबाब दिएर नेपालीलाई अनधिकृत हाटबजार बनाइरहेको छ ।
बजेट आयो, आत्मनिर्भरताका कुरा छैनन् । स्वच्छता र चेतनाका कुरा छैनन् । कनिका छरेझैं बजेट छर्ने, विकासका गफ हाँक्ने, स्वच्छ खानपानमा केही पनि छैन । नेपाल परजीव हो, आत्मनिर्भर होइन । भारतबाट आयातित तरकारी तथा फलफूलकै हारण पनि नेपालमा क्यान्सरका रोगी बढ्दै गएका छ्न ।
भारतबाट जे जति फलफूल र तरकारी आयात भइरहेको छ, तिनमा विषादीको मात्रा बढी रहेको प्रमाणित भइसकेको छ । नेपालमा विषादी जाँच गरेर मात्रा तोकेजस्तो गर्ने सरकारले भारतबाट आयात हुने तरकारी, फलफूलमा विषादीको मापन गर्दैन । भारत रिसाउँछ भनेर खुशी पार्न जेजस्तो सामान आए पनि आउन दिने र नेपाली उपभोक्तालाई विषादी खान बाद्य पारिएको छ ।
हिम्मत छ भने नेपाल सरकारले जुनसुकै खाद्य सामान होस्, विषादी परीक्षण गरेर मात्राभन्दा बढी प्रयोग भएका त्यस्ता सामानलाई रोक लगाउनु पर्छ । सकिन्छ भने त पुरै मात्रामा फलफूल र तरकारी आयातमा रोक लगाएर जनमानसलाई आत्मनिर्भर हुनका लागि वातावरण बनाइदिनुपर्छ । उद्योग, उत्पादन र निकासी भनेपछि पटक्कै ध्यान नदिने सरकार मात्र आयात, आयातमुखी अर्थतन्त्र चलाइरहेको छ । रेमिटान्स अर्थतन्त्रका कारणले समस्यामा परिसकेको देशलाई कसरी उकास्ने भन्नेतिर सरकारले विज्ञ, विशेषज्ञ र सामाजिक ज्ञानीहरूसँग विशेष छलफल गर्नुपर्ने हो । छलफलबाट आएका निष्कर्षअनुसार नीति बनाएर बजेटमा समेत व्यवस्था गर्नुपर्नेमा नीति तथा कार्यक्रममा समेत कर्मकाण्डी छलफल गराएर बजेट ल्याएको छ । एउटा गभर्नर नियुक्तीमा करोडौंको खेलोमेलो गर्ने सरकार, प्रतिपक्ष काण्ड प्रकरणमा जोडिएका छ्न । कानुनी राज छैन, ज्यानमारा जेलबाट छुट्छन्, पार्टी भोज गर्छन् । जनताको स्वास्थ्य र शिक्षामा राज्य उदासीन छ । यहीकारणले जनता मानसिक र शारीरिक क्यान्सरबाट जुधिरहेका छन् । पद्धति निर्जीब भएपछि राष्ट्र मर्नेरहेछ ।