
अधिवक्ता गंगा दहाल–
समाजमा मानव संवेदना हराउँदै गएको छ । जसरी पनि स्वार्थ पूरा गर्ने, लाभ हेर्ने प्रवृत्ति बढेको छ । नैतिक धरातल खस्कदै गएको छ । जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति ह्वात्तै बढेको छ । अदालतमा परेका मुद्दा र फैसलाले पनि अवस्था देखिन्छ ।
कोभिड १९ ले ठूलै तहल्का मच्चाएर गयो । फेरि कोरोना भाइरसको लहर नेपालमा भित्रिसकेको अवस्था छ । क्यान्सर र अन्य रोगाधिसंक्रमणले परिस्थिति भयावह बन्दै गइरहेको अवस्था टड्कारो देखिन्छ । दिनानुदिन अस्पतालहरूले थेग्नै नसक्ने गरि महामारीका सक्रमितहरू उपचारार्थ जाने गरेका छन् भन्ने विभिन्न समाचार माध्यमले भनिरहेका छन् । संक्रमितको मृत्यु दर पनि त्यसैगरी बढ्दै गएको अवस्था छ भने अर्कोतिर यस्तो आपतकालिन महामारीको अबस्थामा सत्ताधारी र तिनका मतियार, उद्योगी ब्यापारी व्यावसायीहरूले देश र जनता कंगाल बनाउने धन्दा चलाइरहेका छ्न । दैनिक उपभोग्य सामानको मूल्य वृद्धि, भ्रष्टाचार, नैतिकहीनताका अनेक कर्मकाण्डले अर्को आतंक मच्चाएको छन् । कानुनव्यवस्था बिथोलिएको छ ।
जनताले देवत्वकरण गरेका, तारणहार सम्झेर विश्वास गरेका नेताहरू १८ वर्षमै जनघृणाका पात्र बनेका छन् । यो भयावह परिदृश्य हो ।
केपी ओलीजस्ता १४ वर्ष जेल बसेका नेता प्रधानमन्त्री छन् । १० वर्ष जनयुद्ध गरेका प्रचण्डजस्ता नेता प्रतिपक्षीमा छन् । कांग्रेसजस्तो प्रजातन्त्रको बिडा उठाएको पार्टीका अध्यक्ष शेरबहादुर देउवाजस्ता नेता सत्ता साझेदार छन् । तर यी तिनैजना नेता, तिनका पार्टी र अन्य नेताहरू भ्रष्टाचारमा यसरी गनाएका छन् कि जनता बिद्रोह गरेर सडकमा निस्कन बाध्य पारिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको यो सबैभन्दा दुर्भाग्यजनक परिदृश्य हो । जनविश्वास कुल्चिने काम भयो । राजनीतिमा धर्म हुँदैन, राजनीति भनेको व्यवसाय हो भन्ने मानक बन्यो ।
राजनीति आफैमा कोरोनाभन्दा आपतविपत, भयावह महामारी बन्न पुगेको छ । यसअघिका ठूला नेताहरूले नेपालीलाई भुटानी शरणार्थी बनाए विदेशमा बेचे, वर्तमान गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा नेपाली बेचेछन्, कांग्रेस एमालेको सरकारले जिउँदा मान्छेलाई बोरामा हालेर इटाभट्टामा पोलेर जन्मकैद भोगेकालाई कानुनव्यवस्था नै खलबलिने गरी उन्मुक्ति दिलाएछन् । यस्ता घटनाले मानवीय संवेदना नष्ट गर्ने काम दलहरूले गरेको देखिन्छ । सामाजिक महामारी फैलाउने , भ्रष्टाचार गर्ने, मौकाको फाइदा लिने जो कोही होस्, यो समाजको अपराधी हो । जनताको दुश्मन हो । वर्तमान पद्धतिमा यसकारण जनअसन्तुष्टि बढेको हो ।
कानुन मिच्ने, कमिशन र भ्रष्टाचारमा रमाउने, सिद्धान्त र नीतिलाई स्वार्थमा रूपान्तरित गर्नेहरू कानुनी दायरामा आउनुपर्छ । जो कोही हुन त्यस्तालाई मानवताको पाठ सिकाउनु पर्छ । यस्ताले कुनै पनि व्यक्ति, शक्ति अथवा सरकारबाट संरक्षण पाउनै हुँदैन । तर जनताको दृष्टिमा तिनीहरू नै सत्तामा छन् । राजनीति गर्नेहरूले कानुनव्यवस्था मासेर राजनीतिलाई कमाउ धन्दा बनाउनु दुर्भाग्य हो, जनताको माग जनविरोधी, समाजविरोधीलाई हदैसम्मको दण्डको माग हो । अमानवीयता र राष्ट्रघात जनताका लागि सह्य विषय होइन भन्ने प्रदर्शनहरूमा देखिएको छ ।
राजनीति उच्च समाजसेवा हो । नेपालमा राजनीति अधर्म बन्यो । असामाजिक, राष्ट्रघाती, जनविश्वासको कत्लेआम गर्ने पेशा बन्यो । राजनीति समाज बदल्ने औजार बन्नुपर्नेमा समाज मार्ने भाइरस बन्यो । कोरोनाभन्दा डरलाग्दो यो भाइरसको अन्त्य हुनुपर्छ, राजनीतिको धमिलोपन हट्नुपर्छ । अन्यथा नेपालमा ठूलै परिवर्तनका संकेतहरू देखिएका छन् । जनता निर्णायक हुन्, निर्णय गर्नसक्छन् । जिम्मेवारीबाट पलयान भएको राजनीतिलाई जनताले सच्याउनुपर्छ ।