
नेपालमा अर्को जघन्यकाण्ड उजागर भएको छ । टेरामक्स घोटाला काण्डपछि एयरपोर्टमा मानव तस्करी, मानव बेचबिखनमा सेटिङ मिलाएर मानव निकासी गर्ने । भिजिट भिसाको नाममा मान्छे विदेश पठाएबापत तालुकदार गृहमन्त्रीको नाममा दैनिक ५० लाख उठाउने गरिएकोरहेछ । गत जेठ ७ गते गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि सो काण्डका अनेक प्रकरण सार्वजनिक भइरहेका छन् । गृहमन्त्री रमेश लेखक र गृह मन्त्रालयका अन्य कर्मचारीको संलग्नता देखिएका छन् । गृहमन्त्रीले भिडियो प्रष्टिकरण दिंदै आजै संसदमा जानकारी गराउने भनेका छन् । गृहमन्त्री कांग्रेसका भएकाले राजीनामा दिएर न्यायिक छानबिनमा सघाउनु पर्ने दबाब कांग्रेसमाथि पर्दै गएको छ । यो काण्डका बारेमा सर्वोच्चमा रिट परेको छ, प्रम ओलीलाई उजुरी गरिएको छ । गृहमन्त्री नै मानव तस्करीमा ? ०४६ सालपछि मानव तस्करीकै काण्डमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाड र वर्तमान गृहमन्त्री रमेश लेखक मुछिएका छन् । दुबै सभापति देउवाका सहयोगी नेता हुन् ।
यस अघिका गृहमन्त्री रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जेलमा कोचिएका छन् । बिगतमा गृहमन्त्रालय सम्हालेका गोविन्दराज जोशी, खुमबहादुर खड्काहरू पनि अनेक काण्डमा जेल परेकै हुन् । माओवादी नेता कृष्णबहादुर महरा जेल बसेकै हुन् । शक्ति बस्नेतलगायतका एकाधलाई छोड्ने हो भने अधिकांशलाई काण्ड लागेको छ । भनिन्छ, गृह मन्त्रालयको गलत कृयाकलापले छिमेकीलाई समेत असर गर्ने गरेको छ । नेपालको गृहमन्त्री नै असक्षम, भ्रष्ट र मानव तस्करसम्ममा लाग्दा छिमेकसम्बन्धमा समेत संशय उठ्ने गरेको छ । अन्तर्राष्ट्रिय विमान स्थल नै खुल्ला गरिदिएर सुन, लागूऔषध, आतंककारी आयात, निर्यात, आवतजावत भइरहेकै थिए, अब भिजिट भिसाका नाममा मानव तस्करीसमेत हुनथालेको छ । पैसा लिएर कस्ता कस्तालाई पठाइयो ? पैसा उठाएर केकस्ता सामान नेपाल भित्र्याइयो ? त्यो सबै समाचारले कहाली लगाउने अवस्था छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका, युरोप निकासी गर्ने कांग्रेसी गृहमन्त्री, ठूला नेताहरूको पर्दाफास भए पनि कारवाही भएको छैन । यो पछिल्लो मानव तस्करी प्रकरणले सत्ता परिवर्तनसम्मको सनसनी फैलिन पुगेको देखिन्छ ।
०४६ सालपछिका सबै कृयाकलापको छानबिन गर्ने हो भने राजनीतिक पार्टीहरूमा ठूलै पहिरो जाने बताइन्छ । यस्तै भ्रष्ट, आततायी पद्धति हाँक्नेहरूलाई सहिरहने हो छिमेकीले, स्वदेशीले ? आफ्ना लागि एकाध मुद्दामा कम्फरटेबल भए भन्दैमा आफ्नो धोती खुस्केको थाहा नपाउने र आफ्नो प्रभाव बढेकोमा दङ्ग पर्ने हो भने यसको साइड इफेक्टले खासगरी दक्षिणी छिमेकमा ठूलै घटना घट्न सक्छ भन्छन् विश्लेषकहरू । भिजिट भिसा दिएर तेस्रो मुलुक पठाउने अनि केकस्ता सामान नेपाल भित्र्याएर त्यसलाई छिमेकतिर पठाउँछन् यिनले ? त्यसको हेक्का राखेको पाइन्न । राजनीतिक रूपमा कम्फरटेबल होला्न्, तर सुरक्षाको दृष्टिकोणले एकदमै खतरनाक छन् । अहिलेको नेपालको राजनीति, पद्धतिलाई अझै च्यापिरहने हो भनेनेपालका छिमेकलाई एक न एकदिन खाल्डोमा नजाक्ला भन्न सकिदैन । लोकतन्त्रका नाममा यस्ता भ्रष्ट र पैसाका नाममा जेमन्त गर्न छुट दिइरहने हो भने आफ्नो सुरक्षामा खलल पार्न सक्नेतिर छिमेकले ध्यान दिन जरूरी देखिन्छ । छिमेकीले के बुझ्न जरूरी छ भने नेपालको गणतन्त्र, यी गणतन्त्रवादीहरूबाट छिमेक सुरक्षित हुनसक्दैन भने र । हिजोको राजतन्त्रको समयमा यस्ता जघन्य अपराधको गन्धसमेत पाइन्नथ्यो । छिमेकीहरू सुरक्षित थिए, ढुक्का थिए । आज... यी भ्रष्टाचारका पुतलाहरूले गणतन्त्र, लोकतन्त्रका नाममा नेपाल त डुबाए, डुबाए, छिमेकीलाई समेत असुरक्षित पार्न पुगेका छन् । यसकारण उत्तर, दक्षिणका ठुला छिमेकले के बुझ्न जरूरी छ भने जसरी गधालाई धोएर गाई बन्दैन, त्यसरी नै यी भ्रष्टहरूलाई जति सहयोग गरे पनि यिनहरू सुध्रिदैनन् । तसर्थ, नेपालीहरू त आफ्नो लागि परिवर्तन र आफ्नो सुरक्षित भविष्यका लागि जुर्मुराई सके । यो स्थितिमा छिमेकी र मित्रराष्ट्र, सहयोगीहरूको दायित्व हो कि नेपाल र नेपाली अनि आफ्नै सुरक्षाका लागि यो प्रणाली, पद्धति र यी भ्रष्टहरूलाई दण्डित गर्नका लागि नेपालीको आन्दोलनमा नैतिक साथ दिने, सहयोग गर्ने । नेपालमा भएका ठूला ठुला काण्डहरूलाई लिएर छिमेकीलाई चासो नहोला भन्न सकिन्न । यस्ता काण्डेहरूले छिमेक र मित्रराष्ट्रहरूको सुरक्षा सरोकारका कुरामा अझै पनि मौन बस्नु घातक हुनेछ । आफ्नै नागरिकलाई निकासी गर्न सक्नेहरूबाट विश्वले के आश गर्ने ? कसरी भरोसा गर्ने ? यी भ्रष्टहरूले पैसाका लागि के गरेनन् ? नेपाली र छिमेकी, मित्र सबै गम्भीर बनौं ।