Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

रबि लामिछाने जेलमा, रमेश लेखक कुर्सीमा – डा. जनार्दन सुवेदी

१२ आइतबार , जेठ २०८२९ दिन अगाडि

रबि लामिछाने जेलमा,
रमेश लेखक कुर्सीमा
– डा. जनार्दन सुवेदी

म भर्खरै एउटा लेख पढें जहाँ गृहमन्त्री रमेश लेखकले भने, “कर्मचारीमाथि छानबिन भयो भनेर मन्त्रीले राजीनामा दिनुपर्छ ?” यो जवाफले मलाई हक्का पक्का बनायो। त्यसपछि मेरो प्रश्न जन्मियो—के हरेक नागरिकलाई बराबरी न्यायको पहुँच छैन ? किन तिमीलाई मन लागे जसलाई पनि अनुसन्धान गर्न पाइन्छ, तर जब तिमी नै भ्रष्टाचारको गन्धमा फसेर आरोपित हुन्छौ, तब कुनै अनुसन्धान हुँदैन ?

यो प्रश्नले मलाई तीव्र बनाउँछ— के तिम्रा “राष्ट्रिय दाइ” शेरबहादुर देउवा र “राष्ट्रिय भाउजु” आरजु राणाको संरक्षणमा देशका नियम कानून चलिरहेको हो ? के तिम्रो अभिभावकत्वले राज्यको सर्वोच्च कानुनी संस्थालाई पाङ्ग्रा लगाएको छ ? अध्यागमन विभागको पनि प्रकरण तिमीमाथि छ, जहाँ प्रतिदिन ५० लाख रुपैयाँसम्मको दैनिक घूस–आयको गुनासो छ। त्यो पैसा तिमीले बाँडेको, भन्ने आरोप सार्वजनिक रूपमा उठिरहेकै छ, तर तिमी कुर्सीमा लिसोजस्तै टाँसिइरहेका छौ।

यो विषय कुनै व्यक्तिगत झगडा होइन, यो न्याय र कानुनको प्रश्न हो। न्याय प्रणाली सबैका लागि समान हुनुपर्छ, चाहे तिमी सामान्य नागरिक हौं या गृहमन्त्री।  न्याय प्रक्रिया त सबैका लागि एउटै हुनैपर्छ।

रबि लामिछाने सहकारी घोटालामा प्रत्यक्ष संलग्न भएको कुनै प्रमाण छैन। उनी कानुनी लडाइँ गर्दै जेलमा छन्। उनको नाम चितवन, पोखरा, पर्सा, बुटवल, र काठमाडौंका केही सहकारीहरूमा अनियमिततासँग जोडिएको छ। यिनीहरूमा भएको छानबिन र मुद्दा अघि बढाउने जिम्मेवारी तिमीले, गृह मन्त्रालयले लिएको हो।

अब प्रश्न उठ्छ, तिमीलाई किन छानबिन हुँदैन ? तिमी प्रत्यक्ष भ्रष्टाचारमा संलग्न छौ, तिमीले विभागमा भएको मानव तस्करी र राहदानी व्यापारमा आँखाले हेरेर पनि मुख बन्द राख्यौ। तिम्रो केस त त्यो भन्दा धेरै ठूलो र जघन्य छ। यो केवल आर्थिक लुटतन्त्र होइन, मानवीय अपराध हो। नेपालको युवा, नागरिक, विदेशमा गएर जीवनको सपना बुनेका मानिसहरूको भविष्य तिमीहरूले बेच्यौ।

तिमी भन्छौ, “थाहा थिएन” । यदि तिमीलाई केही थाहा थिएन भने तिमी नेतृत्वयोग्य होइनौ। यदि थाहा थियो भने तिमी अपराधी हौं। दुवै अवस्थामा पद त्याग गर्नु नै सही हुन्छ। तिमीमाथि छानबिन हुनुपर्छ ।

नेपालको इतिहासमा यस्ता उदाहरणहरु थुप्रै छन्, जहाँ शक्ति र पदले कानुनलाई पनि छेकेका छन्। जसलाई चाहियो छानबिन, कारबाही गरियो। जसलाई चाहियो संरक्षण, कानुनलाई आफ्नै तरिकाले दुरुपयोग गरियो । यो देशमा “राष्ट्रिय दाइ” र “राष्ट्रिय भाउजु” को छाया अझै लामो छ। उनीहरूको इशाराले कानुनको प्रक्रिया फर्किन्छ, न्यायालय ढाकछोप गर्छ, र सच्चा न्यायको बाटो अवरुद्ध हुन्छ।

कसैले भनेको छ, ‘नेपालमा भ्रष्टाचारको गन्ध यस्तो छ कि सत्ता र पैसाको मिलनले कानुनलाई खुम्च्याएको छ।’ हामीले देखेका छौं, राजनीतिक नेताहरुले आफ्नो परिवार र घनिष्टहरुलाई संरक्षण गर्न अत्यन्त तिव्र र संयम विहीन प्रयास गर्छन्। अनि तिमी जस्तो गृहमन्त्री त्यसको केन्द्रविन्दुमा हुन्छौ। यसकारण ठूला ठूला भ्रष्टाचारका काण्डमा छानबिन हुँदैन, राजनीतिक प्रतिषोधमा जे पनि गर्छौ । त्यसै अमेरिकाले ‘फ्रड’ भनेको होइन ।

यो लोकतन्त्रको कुरा होइन, यहाँ त सत्ता र पैसा चलाउने समूहको कथा छ। एउटा व्यक्तिले अरुलाई कारवाही गर्न सजिलो हुन्छ, जबकी आफू अनियन्त्रित हुन्छ। र तिमी त्यो व्यक्तिहरुको नेतृत्वमा छौ जसले मुलुकको शासन व्यवस्थामा झन् गम्भीर धाँधली गरेको छ।

सिंहदरबार र काठमाडौँको गल्लीहरुमा यो विषय गफ हुदा, जनतामा एकदमै निराशा र रोष छ। न्याय नपाइने डरले आवाज उठाउन सक्दैनन्। मिडियामा मात्रै सत्तावालाहरूलाई छुन सकिन्छ भन्ने भ्रम छ।

रमेश लेखक, यदि तिमी निर्दोष हौ भने न्यायिक छानबिनको स्वागत गर। तिमी नैतिकतामा विश्वस्त हौ भने पदबाट राजीनामा देऊ। रबि लामिछानेलाई कारबाही उचित हो भने, आफ्नो अनुहार ऐनामा हेरेर सोच। कांग्रेस, प्रजातन्त्त धेरै दुर्गन्धित भइसक्यो, प्रजातन्त्रवादीले सोचुन् ।

नेपालमा यदि कानून एउटा समान मञ्च हो भने सबै राजनीतिक व्यक्तिहरु त्यसअन्तर्गत हुनु पर्दछ। तर हामी त्यहाँ छैनौं। हामी अधिकार र दायित्वहरु खतरनाक रुपमा फरक भइसकेका देश हौं।

यो विडम्बना मात्र होइन, एउटा चेतावनी पनि हो—राजनीतिक संरक्षणले गर्दा कानुन मिचिने हो भने समाजमा विश्वास कसरी कायम रहन्छ ? न्यायको अपमान गरिन्छ भने त्यो मुलुकको विनाश होइन ?

यसैले अब जनताले चाहन्छ—समान न्याय, निष्पक्ष छानबिन र राजनैतिक स्वच्छता। यही देशको भविष्य हो।

त्यसैले यो विषयलाई व्यक्तिगत रुपमा नलिऊ, न्यायको कुरामा सबै पक्षलाई समेटौँ। र हामीले बुझ्नुपर्ने कुरा छ कि हामी सबै एकै मञ्चमा हौं।

यदि हामी न्यायलाई दरकिनार गर्छौं भने, त्यो लोकतन्त्रको अन्त्य मात्र होइन, समाजको विनाश हो।