
हलाहल विषलाई कालकूट नामले पनि चिनिन्छ । हिन्दु ग्रन्थमा वर्णित हलाहल, साह्रै शक्तिशली विष मानिन्छ जुन समुन्द्र मन्थनका बेलामा क्षीर सागरबाट अमृतसँगै निस्केको थियो । त्यो विष यति विषालु थियो कि यसले सम्पूर्ण सृष्टि नै नष्ट गर्नसक्थ्यो, सृष्टि बचाउन महादेवले यो विष पिएका थिए । महादेवको कण्ठ नीलो भयो र नीलकण्ठ भएको प्रसङ्ग उल्लेख छ ।
त्यतिबेला सारा सृष्टि, देव–दानव सबैतिर हाहाकार भएको थियो । जगत कल्याणका लागि महादेवले कालकुट विष सेवन गरेका थिए । जगतको उद्धार गरेका थिए । यो कालकूट विष र गणतन्त्र नेपालको अवस्था उस्तै छ ।
शान्ति, समृद्धि, समानता, विधिको शासन, नयाँ नेपाल बनाउन भनेर परिवर्तन गरियो । राजतन्त्र पन्छाइयो र जनताका छोरा राष्ट्रपति बन्ने बन्दोबस्त गरियो । तर परिणाम उल्टो निस्कियो । जसरी समुन्द्र मन्थल गर्दा विष निस्किएको थियो र जगतको उद्धारमा महादेवले विषपान गरेका थिए, लोकतान्त्रिक गणतन्त्रमा अमृतजति नेता, तिनका परिवार र आफन्तले पिउ, विषजति देश र जनताको थाप्लोमा खन्याइएको छ । जसको कारण यो पद्धतिमा ऐंजेरू लागेको छ, देश र जनताको हाहाकार हुनपुगेको छ ।
अर्को प्रसङ्ग छ, जसरी विष निर्माताले विष बन्यो कि बनेन भनेर आफ्नै शंका मेट्न आफैमाथि प्रयोग गरे । विष त निर्माण गरे, तर आफैमाथि प्रयोग गर्दा आविष्कारक नै हल अर्थात समाप्ति हुनपुग्यो । त्यस्तै भयो लोकतान्त्रिक गणतन्त्र पनि । गणतन्त्र त आयो तर गणतन्त्र के हो, लोकतन्त्र कुन मूल्य र मान्यताले चलाउनु पर्छ भन्ने कुरा यी नेताहरूले जानेनन् । लोकतन्त्र ल्याइदिने जनता मरिरहेका छन्, नेताहरू अमृतरूपि सुविधा भोगेर रमाइरहेका छन् । विष निर्माता आफै मरे । गणतन्त्रवादीहरू जनता र देश मारेर आफू बाँचिरहेका छन् ।
बुद्धिजीवीहरूवीच कथन छ– वैज्ञानिक हलाले विष आविष्कार ग¥यो, विष बन्यो कि बनेन परीक्षण उसले आफैमाथि ग¥यो र आविष्कारलाई ठाडो घाँटी लगाएर तनक्कै तन्काइदियो । हलाको हल भयो । त्यसपछि विषलाई हलाहल भनिएको रहेछ ।
गणतन्त्रको चमक नेताहरूले आफू र आफ्नो परिवारका लागि उपयोग गरे, नीति र नैतिकहीनताबाट निस्केको विषजति जनताको थाप्लोमा खन्याए ।
घटनाक्रमले देखाएको छ– भारतको लामो समयको योजनावद्ध तरिकाले जनयुद्धकारी निर्माण ग¥यो र प्रजातान्त्रिक आन्दोलनकारी बहुदलवादीहरूलाई समेत मिलाएर दावाग्नि बनाएर एकातिर जनआन्दोलन सफल पा¥यो र त्यही जनआन्दोलनको बलमा राजनीतिक परिवर्तन गरेर राजतन्त्रलाई किनारा लगाएर लोकतान्त्रिक गणतन्त्र स्थापित गराइदियो । दिल्लीमा भएको १२ बुँदे सहमति त्यसैका लागि थियो र नेपालको परिवर्तनको स्टेक होल्डर भारत पनि बनेको छ ।
जनआन्दोलनमा निरंकूशताको अन्त हुनुपर्ने माग थियो, संघीयता घुसाइयो, धर्मनिरपेक्षता घुसाइयो र गणतन्त्र घुसाइयो । फलत राजाले मरेको संसद ब्यूँताइदिए, राजासँग सपथ खाएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कम्युनिष्टको जालझेलमा परेर गणतन्त्त नेपालको पहिलो राष्ट्रपति बन्छु भन्ने महत्वाकांक्षा पाल्दा पाल्दै माओवादीले धोखा दिएपछि ‘बाटो खान्छ तीन बल्ड्याङ’ भनेझैं पाखामा पाहा पछारिएझैं पछारिन पुगे । त्यही दोखले उनको देहावशानसमेत हुनपुग्यो ।
२०६३ साल वैशाख ११ गते सात राजनीतिक दल र राजावीच जुन सहमति भएको थियो, त्यसको दलहरूले उल्लंघन गरे । यो परिवर्तनपछिको १७ वषएको अध्याय पल्टाउने हो भने आङ कन्याएर छारो उडाउनु मात्र हुनेछ । गणतान्त्रिक लोकतन्त्रको यो कालखण्ड आलु खाएर पेडाको धाक लगाउनु जत्तिकै छ । जनताका लागि हलाहल, विष बराबर भएको छ यो गणतन्त्र ।
लोकतान्त्रिक गणतन्त्र ल्यायौं भन्नेहरूले नैतिकता गुमाउँदा, सिद्धान्त र नीति गुमाउँदा यिनीहरू आफै हलाको हल भएझैं राजनीतिक मृत्यु बरण गरिरहेका छन् । जिवन्त छैनन् ।
किनभने संविधान बन्यो, संसदीय अभ्यास सुरू भयो, ७ सय ६१ सरकार बने, २ पल्ट त आवधिक चुनाव पनि भइसक्यो । नेतृत्वको मुखैमा झुण्डिएको छ– लोकतन्त्र संस्थागत भयो र संविधान कार्यान्वयन भयो । यो अवधिमा भएका २ पल्टको संविधानसभा, २ पल्टको आवधिक चुनाव, संविधान, संसद, राष्ट्रपतिको व्यवस्था केहीले पनि जिवन्त काम गर्न सकेन । देश असफल हुँदै गएको छ ।
लोकतान्त्रिक गणतन्त्र आविष्कार त भयो, आविष्कारकहरूको अन्त्य यिनकै भ्रष्ट चरीत्र, हलाको हल भएजस्तो भयो । देशमा न लोकतान्त्रिक चरित्र छ, न गणतान्त्रिक विशेषता । देशमा अनीति छ, अपराधिक कृयाकलाप छ, सिद्धान्तहीनता छ, जवाफदेहीता छैन ।
पहिलोपल्ट प्रधानमन्त्री हुँदा एमालेका केपी ओलीले भनेका थिए– जुत्ता नमिले खुट्टा ताछ्नुपर्छ । उनको यो अभिव्यक्ति उत्तर प्रदेशबाट डाक्टरको डिग्री लिएर आएपछिका थियो । दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि उनले युनिभर्सल फाउण्डेशनको एकलाख डलर सुशासन पुरस्कार लिएनन् मात्रै, मुनको बीउ हालेको पवित्र जलसमेत पिएका थिए । अहिले तेस्रोपल्ट प्रधानमन्त्री बनेका छन्, ओली भन्छन्– अब हृदयन्द्र शाहले राजा हुने सपना नदेखे हुन्छ, सपना देखे जे पनि हुनसक्छ । कति असभ्य अभिव्यक्ति ?
अर्थात केपी ओली बादशाह हुन् । उनी र कांग्रेस तथा माओवादीका अध्यक्ष मिलेर सहमति गरेका छन्– यही जनताले घृणा गरेको लोकतान्त्रिक गणतन्त्र बचाउन एक भएका छौं । अर्थात् हलहरू एक भएका छन् र महादेवले सतिदेवीको शब बोकेझैं यो गनाइसकेको पद्धतिको शब बोकेर आफै पनि हलाहल भइरहेका छन् ।
कांग्रेस समाजवाद भन्छ, एमाले र माओवादी सर्वहारावाद मान्छ तर शिरमा नेपाल निर्मातालाई राख्दैनन्, गान्धी, लेनिनलाई राख्छन् । लोकतान्त्रिक गणतन्त्रवादीहरूले देशमा कुशासन र अपराधतन्त्र चलाएर जनतालाई सकस दिइरहेका छन्, देशलाई लथालिङ्ग पारिरहेका छन् । तमासा भएको छ यो पद्धति । यो शासन व्यवस्था । नेपालको अवस्था ।
सुख, शान्ति, समृद्धि यिनको भाषणबाजी हो । जनतामा न सुख छ, न शान्ति, समृद्धि त अँध्यारो भएको छ । अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेको १७ वर्ष भयो, अर्थतन्त्रको मेरूदण्ड नै भाँचिएको छ । अर्थतन्त्र चलायमान छैन । नेतृत्वको चरित्र खुट्टा ताछेर जुत्ता लगाउने कुराजस्तै भएको छ । राजतन्त्र फाले, आफै इम्परर न्यूक्लोथ बने । गौरव, स्वाधीनता र सार्वभौमिकता मासेर देशलाई अभरमा पारे । नाङ्गिनुको हद पार गरे ।
राष्ट्र छटपटीमा छ । छटपटी सडकभरि देखिन्छ । यो छटपटीको कारण यही पद्धति, यिनै नेता हुन् ।
चेतनशील बर्ग छन्, थिङ्क टैंक पनि छन्, तर सबै मौनब्रत बसेकाजस्ता लाग्छन् । पहिले लोकतन्त्र, गणतन्त्र भनेर बर्बराउनेहरू अहिले मुखबुजो लगाएर देश असफल भएको, नेतृत्वको अनीति टुलुटुलु हेरेर बसेका छन् । विवेकशीलको योभन्दा मानसिक असन्तुलन, गैह्रजिम्मेवारी के हुनसक्छ ? यिनीहरू कति बुद्धिजीवी ?
लोकतान्त्रिक गणतन्त्र ओलीले भनेझैं हावाबाट विजुली निकाल्ने, हिन्द महासागरमा पानी जहाज चलाउने, भान्छा भान्छामा ग्यासको पाइप पु¥याइदिने, केरूङ काठमाडौं, दिल्ली काठमाडौं रेल चलाएरै देखाउने सपना मात्र हो । सपना देख्नुपर्छ, सपना साकार पार्न इच्छाशक्ति र नैतिक चरीत्र पनि चाहिन्छ । घुस्याह, गुण्डा, डन, माफियाको घेरा तोड्न नसक्ने गणतान्त्रिक नेताहरूले देखेको सपना सपनामात्र हो, १७ वर्षमा १५ थरिका सरकार बनाउनेहरू भनेको अराजकता र अस्थिरतामात्र हो । यिनमा लोकतान्त्रिक गणतन्त्र चलाउने ल्याकत नै छैन । चरित्र नै देखिन्न ।
यिनले जानेको भनेको युवा निकासी गर्ने, तिनले पठाएको रेमिटान्सबाट अर्थतन्त्र धान्ने र भ्रष्टाचार गर्नेमात्र हो । १८ खर्ब चानचुनको बजेट छ, २६ खर्ब ऋण नाघिसक्यो, ब्यापारघाटा झण्डै बजेटबराबर पुगिसक्यो । आर्थिक अवस्था झन झन दयनीय बनेर जाँदोछ । लोकतान्त्रिक गणतन्त्रले राजनीति, अर्थनीति, समाजनीतिमात्र होइन, कूटनीति पनि असफलताको भीरमा पु¥याइसक्यो । कुनबेला पहिरो जान्छ र देशलाई अभरमा पार्छ, भन्न सकिन्न । अस्तित्वको संकट आयो ।
युवाहरू राजनीतिको टुकुचाबाट उम्किन खोज्दैछन्, रोजगारी नपाएपछि जुन जुन मुलुकमा रोजगारी पाइन्छ, ती ती मुलुकमा हामफालिरहेका छन् । झण्डै ८० लाख नेपाली बैदेशिक रोजगारीमा गएका छन्, सरकारसँग यकिन तथ्याङ्क छैन । हजारौं अलपत्र परेका छन्, हजारौं जेलमा सडिरहेका छन् । हजारौं अन्याय भोगिरहेका छन् । अभिभावक बन्नुपर्ने राज्य तिनका लागि पराइ बनेको छ ।
जनताका लागि आधारभूत आवश्यकता भनेको शिक्षा र स्वास्थ्य, सर्वसुलभ सेवा हो । केही पनि छैन । घूस नदिई कहीँ केही पनि काम हुँदैन । गणतन्त्र जनताका लागि गलगाँड बनेको छ ।
भूकम्पले धरहरा ढल्यो, फेरि उठाइयो । नेतृत्व बर्गको नैतिकता र आचरण ढल्यो, उठ्न सकेन । गणतन्त्र यस्तो व्यवस्था भयो, जहाँ आफन्त र परिवारका लागि सेटिङ गर्न संस्था बन्छ, सरूवा बढुवा हुन्छ । संवैधानिक निकायहरूमा नोटको गड्डी हेरेर नियुक्ती गरिन्छ । न्यायाधीशहरू न्यायालयलाई मन्दिर भन्छन् र राजनीतिक नेताको ढोकामा चाकरी गर्न पुग्छन् । कानुन छ, चरालाई तर्साउन उभ्याइएको बुख्याँचाजस्तो, सानालाई ऐन, ठूलालाई चैन भएको छ । नेतृत्व घूस खाएर डकार्छन् । अदालत परिसरमा सोझाहरू न्याय खोज्न घडीको रालो जसरी दशौं बिसौं बर्ष हल्लिरहेका देखिन्छन् ।
सरकार छ, संविधान छ, संसद छ, राज्यसञ्जाल छ तर सुशासन छैन । गणतन्त्र चलाउने नैतिक आधार पनि छैन । जनविश्वास गुमाएकाहरू गणतन्त्र चलाइरहेका छन् । लोकतन्त्रमा हुनैपर्ने गुण, विशेषता भनेको नैतिक चरीत्र हो, त्यो गणतन्त्रवादीले गुमाइसके । त्यागितसके । यिनले जानेको गणतन्त्र भनेको नङ्गा नाचे हजार दाउ हो ।
अफ्रिका अँध्यारो महादेश भनेर चिनिन्थ्यो । अहिले अफ्रिका धेरै उज्यालो हुनथाल्यो । जन्मजात जेठो मुलुक, स्वतन्त्र मुलुक नेपाल सधैं उज्यालो मुलुक थियो, गणतन्त्रले अँध्यारो पार्दै लगेको छ । राष्ट्रमा उज्यालो छैन ।
दक्षिण अफ्रिकाका शिक्षकहरूले उज्यालो ल्याएका हुन्, स्वाधीनता बचाएका हुन् । नेपालमा जनयुद्ध र जनआन्दोलनमा शिक्षक पनि आविष्कारक बने लोकतन्त्रको । तर त्यो आविष्कार हलाको हलजस्तै दिनदिनै आत्महत्या गरिरहेको छ । २९ दिन सडक आन्दोलन गरेपछि शिक्षकले केही माग पूरा गर्न पाएका छन् र असार १५ सम्ममा शिक्षा ऐन दिने सरकारको बाचा छ । परिवर्तन ल्याउने शिक्षक, तिनको कुरा सुनाउन देशभरिका शिक्षकले २९ दिनसम्म माइतीघरको सडकमा घामले सुक्नुप¥यो । चेतना दिने शिक्षक अब चेते होलान् । उधारो सहमति गरेर शिक्षक नोज डाइभ गर्न बाध्य भए ।
हो, एउटा राजा फाल्यो आविष्कारले । दर्जनौं महाराजा जन्मायो आविस्कारले । हो, लोकतन्त्र, गणतन्त्र ल्यायो आविष्कारले । जनताले सबै गुमाए, केही पनि पाएनन् । लोकतन्त्रले लोकलज्जा थाम्न सकेन, इमान थेग्न सकेन । बिधि बसाल्न हिम्मत चाहिन्छ, लोकलज्जा चाहिन्छ, नैतिकता, सिद्धान्त गुमायो गणतान्त्रिक लोकतन्त्रले ।
वीरहरूले बनाएको देश हो यो । बहादुरको देशमा फिरङ्गी र भिरङ्गीको बोलवाला छ । उज्यालो आयो भनेको त, झन चुक घोप्ट्याएजस्तो अँध्यारो भयो देश । गणतन्त्र अभिषाप बन्यो ।
यसैले प्रश्न उठेको छ– अमृत हो लोकतन्त्र, नेपालमा रोपिएको यो लोकतन्त्रमा किन विषालुपन बढेर गयो ? लोकतन्त्रलाई अमृत बनाउने प्रयत्न कुन नेताले गरेका छन् ?
अमृत बन्नसक्ने, उज्यालो हुनसक्ने व्यवस्था कसरी धुलिसात भयो नि । आमनागरिक बिद्रोह गर्न सडकमा निस्कनुप¥यो । राजनीतिक मुद्दाहरू थेगिसाध्य छैन । सहमति र सहकार्य, संवाद र सम्मति गुमायो अहंकारी लोकतान्त्रिक गणतन्त्रवादीहरूले ।
यसकारण जनताको विश्वास गुमायो यो नेतातन्त्रले । नेताको परिवारतन्त्रले ।
यिनीहरूबाट देश बन्दैन । बन्ने छेकछन्द छैन । यिनीहरू धुरी बालेर निस्केको खरानी बेचेर मुनाफा कमाउने बर्ग हुन् । यिनीहरू लोकतान्त्रिक गणतन्त्रमा आपैm हलाहल हुनेछन् ।