
भुइँमान्छेहरूलाई बाँच्न मुस्किल छ । बाँच्न कसले चाहँदैन ? प्रश्न छ अन्याय, अत्याचारमा बाँच्न कसरी ?
मूल समस्या गरिबी हो । गरिबीसँग लड्न कति गाह्रो हुन्छ त्यो त भोग्नेलाई थाहा हुन्छ । तिनका लागि तन्त्र छैन । मन्त्र छैन । राज्य छैन । न्याय छैन ।
जमिनको भूभाग मात्रै राज्य होईन । राज्य बन्न त जनता पनि चाहिन्छ । जनता नै छैनन् भने शासकले को माथि शासन गर्ने हो ? वर्तमान कालखण्डमा युवाजति रोजगारी खोज्दै विदेश भासिदैछन्, बुढाबुढी चलफिर गर्न सक्दैनन् । चलाखहरू ढुकुटी लुटिरहेका छन् । लुटतन्त्र चलिरहेछ ।
विभिन्न भौगोलिक बिबिधता, बिकटता, आर्थिक अवस्था कमजोर, सामाजिक परिवेश अचेत र सरकार नै स्वार्थी बने पछि जनता जनता नभएर रैती हुन पुग्दा रहेछन् । भुइँमान्छे गणतन्त्रका दासजस्ता छन् ।
आजको हाम्रो अवस्था त्यस्तै देखिएको छ हामी रैती बनेको महसुस गर्न बाध्य छौं । आज राज्य जतिसुकै समुन्नत भए पनि बिकट नेपालका नागरिकले उहीँ पीडा भोग्न बाध्य छन् जो आर्थिक रूपमा निम्न वर्गको जीवन जिउन बाध्य छन् ।
भौगोलिक बिकटताका कारण सबै नेपालीले समान अधिकार पाएनन् भनेर नै लोकतन्त्र आइसके पछि संघीय राज्य निर्माण भयो । संघियता लागू त भयो तर गरिब निमुखा जन उहीँ बिवसतामा बांच्न बाध्य छन् । संघियता लागू गर्नु त सबै नागरिकलाई समान अधिकार प्रदान गर्नु भन्दा पनि राजनैतिक भर्ती केन्द्रको रूपमा प्रदर्शित गरिएको देखियो । संघीयताका नाममा जनतलो तिरेको कर र राज्यढुकुटी राजनीतिक कार्यकर्ताको खुवा बिर्ता हुनपुगेको छ ।
गरिबका कथा ज्यूँ का त्युँ छन् । बजेट बिनियोजन हुन्छ लक्षित वर्गमा पुग्दैन सबै बिचौलियामा बांडफांड, भत्ता, अनावस्यक भ्रमण, पारिवारिक भर्ति आदिमै सकिन्छ । केही बजेट बिकासका काममा लगाईन्छ तर पूरा लगाईंदैन भन्ने पुष्टि त पप्पु कन्स्ट्रक्सनजस्ता अनेक ठेकेदारबाट निर्मित पुलहरू र अन्य यस्तै कम गुणस्तरिय कामले देखाएका छन् । अर्थात् संघियताको औचित्य भ्रष्टाचारको लागि मात्रै हो भन्ने प्रष्ट भएको छ ।
यदि लक्षित वर्गमा बजेट पुगेको भए नेपालबाट परिवार पाल्नको लागि छिमेकि मुलुक भारतमा भारतियहरूको दुत्कार सहंदै कठोर परिश्रम गर्न जानू पर्ने थिएन । सबैभन्दा धेरै सुदुरपश्चिमका नागरिक नून किन्ने ज्याला कमाउन भारत जान बाध्य छन् । समस्या समाधान तर्फ न स्थानीय सरकार, न त प्रदेश, केन्द्र सरकारले नै ध्यान दिएको छ । ।
दैनिकी गुजारा गर्न कठिन भएका नागरिक समक्ष न त हिजोका सरकार र शासक पुगे न त आजका शासक पुग्न चाहान्छन् । गणतन्त्र राज्यका नागरिक आज पनि भारतीयको जुठोभाँडा माझ्न जानुपर्ने बाध्यता ?
सुदूरपश्चिममा लोककल्याणकारी राज्य छैन, शोषण व्याप्त छ ।
आज देशमा दैनिक ज्यालादारी गरि बिहान कमाउँदै बेलुकाको छाक टार्ने कति रहेछन् भन्ने यथार्थ परिवर्तनपछिको १७ वर्षमा प्रष्ट देख्न पाईएको छ । घर छोडेर कोहि भारत त कोहि देशकै विभिन्न ठाउँमा ज्याला मजदुरी गर्न गएका मजदुरहरूलाई आजको बिषम परिस्थितिले थप चुनौती दियो । उद्योगधन्दा बन्द भए, उत्पादन छैन । रोजगारी ठूला पार्टीहरूले कब्जा गरेका छन् । युवा मुग्लान नभासिएर के गर्ने ? मुग्लानमा पनि सुख कहाँ छ र ? मालिकले पैसा दिदैन, यौन शोषण गर्छ, झूठा मुद्दा लगाएर जेल कोच्छ । अर्काको देशमा अभिभावक कोही छैन । अभिभावक बन्नुपर्ने आफ्नै देशका कर्मचारी पनि तिनै दुखित नेपाली युवालाई ठग्छ, दुःख दिन्छ ।
देशमै शोषण । देश बाहिर शोषण । सरकारबाट फाइदा लिन सफल केही चाटुकारहरू, कमिशन एजेन्ट, भ्रष्टहरू युवाको आँसुको व्यापार गरेर पैसा कमाइरहेका छन् । अति भइसक्यो हालत ।
संसारका राष्ट्रप्रमुखहरू दैनिक मिडियासामु उपस्थित भएर जनताका नाममा सम्बोधन गरेका छन् । कसरी नागरिक बचाउने भनेर दिनरात खटेका छन्, हामीकहाँ खोइ ? हाम्रा शासकबर्ग त कसरी भुइँमान्छे, विदेशीएका युवालाई निचोर्ने भनेर लागेका छन् । कतिपय शासकहरू त मानव बेचबिखनमा समेत लागेका छन् । कस्तो रहेछ पैसा ,
जनताद्वारा निर्वािचित जनताकै छोराछोरीबाट गरिएको शासनमा त शासक र नागरिक बिच धेरै दुरी नहुनु पर्ने हो तर आज नेपालमा जनप्रतिनिधि हरू हिजोका राजा भन्दा धेरै माथिका सुबिधाभोगी किन बने ? परिवर्तनपछि राजा हैन सयौं राजा जन्मे । जनताका दुःख ठामका ठाम जिवित छ ।
जनताले धेरै आशा र भरोसाका साथ सरकारले तोकेको कर तिरेका छन् तर तिनै कर तिर्ने जनता भारमाथि भार बेहोर्न बाध्य छन् । भुइँमान्छेको पद्धति होइन यो, गणतन्त्र जनता मार्ने गनतन्त्र हुनपुग्यो । यसकारण बिद्रोह जन्मिउको हो भन्न सकिने आधार देखिन्छन् ।
भुइँमान्छेको पद्दति भनेको यही हो ? आखिर गरिबले कहिले महसुस गर्ने हो सरकार भएको । सरकार अझै पनि सडकमा आँखा च्यातेर हेर हिजोका तिनै गरिब मजदुरले तिमीहरूलाई त्यो सत्ता, शक्ति र सिंहदरवार, संसदको महलमा पु¥याएका हुन् । दरबारको खोपी भित्र बिराजमान भएर गरिबको चुलो नजलेको देख्न सकिन्न । गरिबले उपचार नपाएर तड्पीतड्पी मरेको देखिँदैन । जनप्रतिनिधिहरू जनतासमक्ष जाने हिम्मत गर, नैतिकता देखाउ । नवमहाराज बनेर फेरि उनै मजदुरको रगत नचुस । जनमत भुइँमान्छेको व्यापार गर्न दिएको होइन ।
गन्तब्य भाषण मात्रै हैन काम हो जवाफदेहीता हो । दिन सधैं एकैनाश
रहँदैन । काम गर्ने अवसर दिएका छन्, जनताका काम गरेर देखाउ । जनताको सहारा बन । हाम्रो सरकार छ भनने अनुभूति भुइँमान्छेलार्य दिलाउ । जनताको आर्तनाद सुन, जनता छन् र तिम्रो राजनीति छ, हेक्का राख ।