
जो अगुवा उही बाटो ..., भएपछि हुने फोहर नै हो, फैलिने दुर्गन्ध नै हो । लोकतन्त्रमा लोकनेता नै खलनायक बन्नाले लोक आक्रोसित भएका छन् ।
कुनै पनि पद्धति आए पनि पद्धति सञ्चालकको सोच स्वच्छ भएन, स्वार्थलाई महत्वदिए भने त्यो पद्धति बदनाम हुनेरहेछ । यही कुरा लोकतन्त्रमा देखियो । लोकतन्त्र देखाउने टीनको पाताको साइनबोर्डमा सिमित भयो, लोकनेताहरू लुटतन्त्रमा रमाइरहेका छन् ।
खासगरी नेपाली कांग्रेस, एमाले र एमाओवादी ३ पार्टीको मनलाग्दी चलिरहेको छ । लोकतन्त्र नेतातन्त्र बन्यो ।
हेर्दा र सुन्दा नेता र पार्टीहरूमा ठूलै मतभेद, मनभेद देखिन्छ । एकले अर्कोलाई खुइल्याउने सम्मको चरित्र देखाउँछन् तर कमिशन खाने, सत्ता र शक्तिका विषयमा भने यी नेताहरू मिल्छन्, भाग शान्ति जयनेपाल गर्छन् ।
यसकारण त गिरिबन्धु टी स्टेट काण्ड, ललिता निवास काण्ड, एनसेल काण्ड, वाइडबडी काण्ड, कर मिनाह काण्ड, सुन काण्ड, रक्तचन्दनकाण्ड लगायतका ठूला ठूला जघन्य काण्डहरूमा कुनै नेतामाथि कारवाही नै भएन । ठूला नेता, तिनका छोरा, श्रीमती काण्डमा मुछिएका छन् । ठूला नेता तैं चूप, मै चूप गरेर काण्ड छोपिरहेका छन् । यिनलाई सिद्धान्त, पार्टीको नीति, नैतिकता र लोकलज्जाको ख्याल रहने गरेको देखिदैन । शिवरात्रिका नङ्गा जोगी झैं सत्ता र शक्ति, सम्पत्तिका लागि यी नेताहरू नङ्गा नाचे हजार दाउ गर्छन् । यिनलाई चरित्र र जवाफदेहीताको ख्याल पनि छैन । यसकारण लोकतन्त्र गनाउन थाल्यो, नेतृत्व जन नजरमा घृणाका पात्र छन्, यिनले लोकसम्मान गुमाइसके ।
किन नेतृत्व लोकतान्त्रिक मर्यादा, महिमा त्यागेर स्वेच्छाचारी भए ? नेतृत्व भाङ् खाएजसरी भ्रष्टाचारमा लठ्ठिएको छ । नागरिक निराश छन् । संचेतनबर्ग र बुद्धिजीवी, नागरिक समाज पटक्कै मुख खोल्दैन । राजनीतिक क्षेत्रले यो प्रश्नमा गम्भीर भएर सोच्दैन । किनकि राजनीति अपराधमा मिसिन पुगेको छ, राजनीतिजस्तो छैन । राजनीति सेवा हो कि व्यवसाय ? राजनीति सबै नीतिहरूमा श्रेष्ठ हो कि निकृष्ठ ? यही छेउछन्द नभेट्टाउँदा नेपालको राजनीति र राजनीतिले हाँकेको शासन प्रशासन हाम्रो हो भनेर जनताले आश्वस्त र विश्वस्त हुन नसक्नुको मुख्य कारण बनेको छ । राजनीति सफल हुन नसकेपछि देश असफल हुनेरहेछ । देश असफलताको कृष्णभीरमा पुगिसक्यो ।
हिजो राजतन्त्र थियो, राजतन्त्र भएकैले सबै बिग्रियो नास्सियो भनेर दोष लगाइयो । राजतन्त्र किनारा लागेपछिका १७ वर्षमा देश झन बिग्रियो, लथालिङ्ग भयो, यिनै नेताहरूको अकर्मण्यताका कारणले । जिम्मेवारी लिन कोही तैयार देखिदैनन्, अचम्म छ ।
राजतन्त्र, हिन्दुराष्ट्र थियो, राजनीतिक बल प्रयोग गरेर महिमा मण्डन गरियो, यसलाई पनि किनारा लगाएर धर्मनिरपेक्षता ल्याइयो । राजनीतिको चक्रव्यूहमा फसेको राजतन्त्र र हिन्दुधर्म १७ वर्षदेखि चूपचाप मृतमय बनेका छन् । जनताले यी नेताहरूको आलोचना गर्न सडकमा के निस्किएका थिए, राजतन्त्रले टाउको उठायो भनेर राजतन्त्रविरूद्ध नेतातन्त्र खनिन पुगेको छ । किन जनताले राजा आउ देश बचाउ भने भन्ने कारण खोज्न नेतृत्वपंक्ति तैयार छैन । नेपाल अब स्वर्ग बन्छ, बनाइन्छ भन्ने तारणहारहरू यिनै हुन् । १७ वर्षमो स्वर्ग त परको कुरा, नेपाल नेपालजस्तो रहेन । नेपालको शान्ति, दुःखसुखको जीवनयापन समेत भत्किएको छ । भत्किदैजाँदा राष्ट्र अस्तित्वको संकटमा फस्न पुगेको छ ।
राष्ट्रिय राजनीतिक मुद्दाहरू र समस्या संकट बनिसक्यो । मुक्ति दिने कसले ? जो युवा छन्, विवेकशील छन्, बोल्न सक्दैनन् । जो नेतृत्वमा छन्, उनीहरू आफ्नै अस्तित्व र बाहुबली स्थापित गर्ने धूनमा छन् । एकले अर्कोलाई देखिसहदैनन्, देशका लागि एकता पनि गर्न सक्दैनन् । देश दुर्भाग्य भोगिरहेको छ । नेतृत्व असफल नीतिमा मोहित भइरहेको छ । जब कि नेताहरूको रणनीति न जनताका लागि हो, न देशका लागि । नेतृत्व कहिले जनताको प्रशंसापात्र बन्न सकेनन् । राजनीति अराजक छ, कूटनीतिले सन्तुलन गुमायो, स्थापित मान्यता र मान सिध्यायो । नेपाललाई अमेरिकालेसमेत ठग भनिसक्यो । अन्य मुलुकले त नेपाल भ्रष्टाचारी र दण्डहीन मुलुक भनिरहेका छन् । केही मित्र छन्, उनीहरू पनि नेपाल सुनको कचौरा लिएर मगन्ते बनेकोमा आश्चर्य प्रकट गरिरहेका छन् ।
अर्थात्, नेतृत्व निम्छरो भयो ।
एकजना त त्यागी, नैतिकवान, सिद्धान्तनिष्ट, साहसी देखिनुपर्छ । त्यस्तो नेता नदेखिनु लोकतन्त्र कङ्गाल भएको अर्थमा हेर्न सकिन्छ ।
०६३ सालको परिवर्तनपछि ठूला ठूला परिवर्तन भए तर जनताका नजरमा हरेक पार्टीका नेताहरू उही कानै चिरिएका जोगीमात्र प्रमाणित भए । यिनको बिकल्प जनताले खोजेका हुन् । जनताको आशा, अपेक्षा र विश्वासको सम्मान गर्ने नेता जनताको चासो हो । जनताले अभिभावक चाहिनेरहेछ भन्ने अनुभूति गरेका हुन् । तर विकल्प छैन । विकल्प बन्ने को ? दिने कसले ? यसैको प्रतिध्वनी हो– राजा आउ देश बचाउ ।
देशमा हिजो भक्ति थापाजस्ता वीर थिए । पुर्षाले रगत पसिना र बलिदान दिएर देश निर्माण गरे, हामीले यो गौरवलाई बचाउनु पर्छ, आउने पुस्तालाई सग्लो देश दिनुपर्छ, यस्तो हेक्का राख्न सकेको भए देश यसरी बर्बादी र लथालिङ्ग हुने थिएन । यिनले पुस्तान्तरण गर्ने भनेको अनैतिकतामात्र हो, देश असफल राष्ट्र घोषणा हुनमात्र बाँकी छ, यसकारण नेतृत्वमा कसैले त कम्मर कस्नैपर्छ, अघि सर्नैपर्छ । लोकतन्त्रले ठूला ठूला सपना देखायो, एउटा पनि सपना पूरा भएनन् । नेताहरूले भ्रम छरे, जनतालाई भ्रमित पारे, अझै भ्रमित पार्दैछन् ।
लोकतन्त्र बदनाम भयो । नेतामा इमान नभएकाले त्यसको महगो मूल्य देश र जनताले चुकाउनु परेको हो । विधिको शासन कसरी स्थापित
राजनीतिक मुद्दाहरूको किनारा लगाएर बिधिको शासन स्थापित गर्दै शान्ति, समृद्धि र सुशासन कसरी हुनसक्छ ? यो विषयमा राष्ट्रियस्तरमा बहस गर्न अबेर भइसकेको छ ।
ल्हासा जाने कुतीको बाटो भने झैं, ठूला दल र पार्टीहरू बहस गर्न र निकास निकाल्नुभन्दा अहंकार, प्रतिषोध, विभेद र निषेधको ठूला ठूला कुरा गरिरहेका छन् । जसले समस्याको समाधान होइन, स्थिति झिकी दे गाँड भन्दा थपिदे गाँड भएको छ ।
बहस नेताको भाषणमा होइन, समयले उभ्याएको प्रश्नमा हुनुपर्छ । ध्यान सबैले दिनैपर्छ । अन्यथा यो अँध्यारो रात फारिन सक्दैन । नेपाल भ्रष्टाचार र हिंसाको पोखरीमा परिणत भइसक्यो । गम्भीर मोडमा छ मुलुक । लोकराज्य हिंसा राज्य भनेर चिनिने भएको छ । अहिले नै ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारी मुलुकको प्रमाण दिइसक्यो, विश्व अर्थजगतमा नेपाल ग्रे सूचीमा परिसक्यो । जसका कारण विश्वमा नेपालको विश्वसनीयतामा ह्रास बढेर जाँदो छ । हामी भ्रष्टाचार र कुशासनको अँध्यारोमा डुब्ने जोखिम बढेको छ ।
सबैलाई स्पष्ट छ अगुवा नेताहरूको जता पनि स्वार्थपूर्ति गर्ने झेल कारणले लोकतन्त्र फेल भयो । पद्धति, प्रणालीमात्र फेल भएको भए हुनुथियो, देश नै फेल अवस्थामा पुग्यो र पो कहाली लाग्न थालेको छ । देशलाई सम्हाल्ने, नेतृत्व दिने सक्षम नेतृत्व देखिएन । जुन पार्टी वा नेता सत्तामा पुग्छन्, उनीहरू आफ्नो परिवार, अन्धभक्त मात्र हेर्छन् । भनिन्छ, सक्षम नेतृत्वले नित्य अनुशासनको प्रयोग गर्नुपर्दछ, क्षमताको कदर गर्नुपर्छ । नियमको साथमा अनुशासनलाई सधैं पालना गर्नुपर्छ । हाम्रो राजनीति, प्रशासनमा न नियमप्रति समर्थन देखिन्छ न अनुशासन नै छ । व्यवस्था फेरियो अवस्था फेरिएन । लोकतन्त्र टोटल्ली असफल भइसक्यो । संविधान कागजको खोस्टो बन्यो । शासन प्रशासन निरन्तर अराजकताको सिकार बन्नपुग्यो ।
हाम्रो राजनीतिले पालना गर्न नसकेको विषय भनेको नीति, नैतिकता, इमान, सहनशीलता र दूरदर्शिता हो । शासन प्रशासनको अन्धकार यही हो ।
जसरी बहुदल भ्रष्टाचारले कालरात्रि बन्नपुगेको थियो, लोकतन्त्रको १७ वर्ष भ्रष्टाचार र अनीतिमात्र हो । भ्रष्टाचार गर्ने, चुनाव जित्ने, अपराधिकरण गरेर लाभ लिने, सत्ता र शक्ति आर्जन गर्ने, यही हो लोकतन्त्र । यस्तो लोकतन्त्रप्रति जनताको नैराश्यकता बढेको हो, आक्रोश उर्लेको हो ।
कुनै पार्टीले पनि चुनावपछि घोषणापत्र, प्रतिवद्धता सम्झेनन् । जसका कारण चुनावपछि कुनै उपलब्धि हुनसकेन । उद्योगधन्दा बन्द हुँदै गए, रोजगारी खोसिदै गयो । युवाहरू देशमा गरिखान नपाएर वैदेशिक रोजगारीमा दौडिन थाले । देशको अर्थतन्त्र, राजनीति, शासन र प्रशासनको मेरूदण्ड रेमिटान्स बन्नपुग्यो । विश्वलाई थाहा छ, युद्धमा होस् कि निर्माणमा, जुनसुकै काममा होस, नेपाल युवा किन्न पाइने हाटबजार बन्नपुगेको छ ।
१७ वर्षे लोकतन्त्रलाई लागेको सुकेनास रोग यही हो । लोकतन्त्र मृत्युशैयामा पुगेको छ । लोकतन्त्रजस्तो विश्व खुश राख्नसक्ने व्यवस्था पाएर पनि नेपालमा लोकतन्त्र नामधारी भ्रष्ट, मुर्ख, निरंकूशहरूको अड्डा बन्नपुग्यो । हाम्रा नेताहरूले बुझ्ने कहिले– नैतिकता नै धर्म हो, धर्म नै नैतिकता । नैतिकता छैन भने धर्म पनि छैन । त्यसैले नैतिकता नै धर्मको सार रूप हो । नेपाली राजनीतिमा खड्केको विषय नै यही हो । राजनीति सग्लो र स्वच्छ बनाउन छाडेर नेतृत्वले राजनीतिलाई व्यवसाय बनाइदिए । राजनीतिक र नैतिकधर्म विर्सिदिए । आचरण त डाँकाको भन्दा निर्घिणी देखियो । डाँकादल बरू बचनमा चल्छ । नेताहरूको बचन हावादारी बन्नपुग्यो ।
जो राजनीति गर्छ, ऊ लखपति, करोडपति बनेको छ । कसरी राजनीतिमा लागेको मान्छे रातारात नवसामन्त बन्छ ? यसको जवाफ नेतृत्वले दिनसक्दैन ।
कांग्रेस माओवादीलाई भोट हाल्छ, माओवादी कांग्रेस जिन्दावाद भन्छ, राप्रपा सूर्य चिन्ह लिएर चुनाव लड्छ, सूर्यमा भोट हाल्छ, सूर्यवाला राप्रपालाई जिताउँछ, अचम्मको चुनावी दृश्य देखियो ।
चुनावअघि गठबन्धन, चुनावपछि गठबन्धन । गठबन्धन मौसमी हुन्छ, फेरिने क्रम चलिरहन्छ । गठबन्धन देश र जनताका लागि होइन सत्ताका लागि, स्वार्थका लागि गठबन्धन हुन्छ । गठबन्धन बनाउने र भत्काउने प्रतिस्पर्धा १७ वर्षदेखि चलिनै रहेको छ । नीति, सिद्धान्तको कुनै अर्थ छैन । सबै उही ड्याङ्गका आलुमूला देखिएका छन् ।
देश र जनता टुहुरा बन्नुको कारण राजनीतिले धर्म गुमाएर हो ।
समस्या बढ्यो । दलहरूभित्र समस्या, नेताहरूवीच समस्या, सत्ता र शासनमा समस्या, विदेश सम्बन्धमा समस्या, सामाजिक स्थितिमा समस्या, विश्वासको संकट, समस्यै समस्या ।
समस्याको रोग निको पार्ने कहिले, कसले ? समस्याले अराजकता, अस्थिरता छ, विदेशी चलखेल बढेको छ । अनिश्चयको बाढी चलिसक्यो । देश अराजकताको डढेलोमा परिसक्यो । जवाफदेही कोही लिदैनन्, सबै एकदोस्रोलाई खुइल्याइरहेछन्, गाली गलौज गरिरहेछन्, लाज मर्नु ।
प्रजातन्त्रवादी, राष्ट्रवादी, सर्वहारावादी र समाजवादी नारामा सिमित छ । राजनीति राजनीति नभएर मोलमोलाई, खरिदबिक्रीको विषय बन्न पुगेको छ । यस्तो राजनीति, संसद, सरकारले गर्न केही सक्दैन । गर्छ भनेर विश्वास गर्नु जनताको भूल हो । विदेशीले जे जति सहयोग दियो, सबै भ्रष्टाचार भयो, भागशान्ति जय नेपाल गरियो ।
यही सबै दृश्य देखेर अमेरिकाले ठग भन्ने आरोप लगाएको हो ।
देश र जनता अभरमा परे, सोच्ने कोही छैनन् । जनताले अभिभावक चाहिने रहेछ भनेर आन्दोलन गरे, आन्दोलनमाथि यिनै भ्रष्टहरूले साजिस गरेर विषयान्तर गर्न म्याद नाघेको टियरग्यास, गोली, लाठीचार्ज, पक्राउ, मुद्दा लगाउने षडयन्त्र गरिरहेको छ ।
यो विषय राष्ट्रसंघको बैठकमा भारतले नेपालका प्रधानमन्त्री केपी ओलीलाई चासो सुनाएका थिए । चैत २२ गते थाइलेण्डमा भएको विमस्टेकको बैठकमा आधाघण्टा वान टु वान वार्ता गरेर नेपाल चीनको पोल्टामा गएको हो ? भनेर प्रश्न मात्र गरेनन्, नेपालमा जनताले सडक प्रदर्शन गरेको विषयको उठान पनि गरेका थिए । यसअघि भारतका प्रधानमन्त्री मोदीले भारतीय संसदमै नेपाल असफल राष्ट्र हुन लागेको चिन्ता प्रकट गरिसकेको विषय कम अर्थपूर्ण छैन । तर नेपालका बुद्धिजीवी भनिनेहरू पटक्कै मुख खोल्दैनन् । नेपालको राष्ट्रियनीति के हो ? रणनीति, विदेशनीति, आन्तरिक एकता कता हो कता ? अब छिमेकी र मित्रराष्ट्रहरूले तीतो कुरा सुनाउन थालेका छन् । यसको अर्थ हस्तक्षेप हुनसक्ने खतराको घण्टी पनि हो । विदेश नीतिका सन्दर्भमा नेपालले कुनै पनि मित्र, छिमेकीलाई आश्वस्त पार्न सकेन । आन्तरिक अराजकताको आगोमा झुल्सिएको नेपाल विदेशी अविश्वासको आगोमा झुल्सिने खतरा बढ्यो ।
यस्तो बेलामा सचेतकको भूमिकामा प्रशासन, नागरिक समाज, बुद्धिजीवी, प्रेस देखिनुपर्ने हो । हरेक क्षेत्र कुनै न कुनै दलको भातृत्वमा छन् । राष्ट्रको अस्तित्व जोखिममा पर्दै गएकोमा चेत खुलेको खोई ? अचेतन भनेको मृत्यु हो । हामी मृत्यु रोज्ने कि स्वराज, दास हुने कि सार्वभौम ? समयले नेपालीका सामु यक्ष प्रश्न उठाइसकेको छ । यो समय राजा कि गणतन्त्र, समाजवाद कि सर्वहारावाद भन्ने समय होइन, नेपाल भन्ने समय हो ।
राष्ट्र संकटमा पर्नु भनेको हामी संकटमा परेको होइन र ?