
अमेरिकाले नेपालमाथि १० प्रतिशतमात्र भन्सार शुल्क लगाएको छ । जबकि भारतलाई २७ प्रतिशत ।
नेपालबाट निर्यात हुनसक्ने ७७ प्रकारका सामानमा अमेरिकाले सुविधा दिएको हो । यसमा कार्पेट, पश्मिना, हस्तकला रहेका छन् भने धेरै प्रकारका नेपाली सामान निर्यातमा भन्सार निशुल्क पनि गरिएका छन् ।
नेपालले पहिले युरोप, अमेरिकामा पश्मिना, कार्पेट, गार्मेन्टमा व्यापक निर्यात गरिरहेको थियो तर भारतले यसरी षडयन्त्र गरिदियो कि नेपालका उत्पालन बालश्रम प्रयोग भएको भनेर बदनाम गरियो । नेपालका घरघरमा तान थिए, गार्मेन्ट र कार्पेट उत्पादन हुन्थ्यो । नेपालको अर्थतन्त्र साह्रै मजबुत हुनपुगेको थियो । तर राज्यले अन्तर्राष्ट्रिय विश्वास कायम राख्न सकेन, षडयन्त्र बढ्यो र नेपालको उत्पादन निर्यात समाप्त हुँदै गयो ।
अहिले बजेटको हाराहारीमा व्यापार घाटा छ, २७ खर्ब विदेशी ऋण पुगिसकेको छ । अर्थतन्त्र चलायमान छैन । राष्ट्रिय संकट बढ्दो छ, अराजकता र अस्थिरताले गाँजेको छ । यो अवस्थामा आएर अमेरिकाले नेपाली बस्तु निर्यातमा १० प्रतिशतमात्र भन्सार शुल्क लगाएर गुण लगाएको छ । यो अवसरलाई अपनाउन सके नेपालको निर्यात व्यापारमा बढोत्तरी हुनेछ ।
अमेरिका निर्यात हुने वस्तुमा लगाएको नयाँ शुल्कबारे घटाउनका लागि विश्वका ५० राष्ट्रहरू अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्न खोजिरहेका छन् । गत बुधवार नयाँ भन्सार शुल्क लगाएपछि विश्वबजारमा झट्का लागेको छ, तर ट्रम्प अडिग छन् । भनिन्छ, राष्ट्रपतिको नरमपन पनि रहेको भन्दै वार्ता गर्न सकिने अवस्था विद्यमान रहेको ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले संकेत गरेका छन् । यसकारण धेरै राष्ट्र वार्ता गर्न चाहन्छन् ।
राष्ट्रपति ट्रम्पको आक्षेप छ– अमेरिका सामान निर्यात गर्ने देशहरूले वास्तवमा अमेरिकीहरूलाई ठगिरहेका छन् । या गल्तीलाई सुधार्ने उपाय भनेको भन्सार शुल्कको बढोत्तरी नै हो ।
जेहोस्, विश्वशक्ति राष्ट्र र उत्पादनशीलहरूको कुरा ठूलो हो । नेपालका लागि अमेरिकाले निर्यातमा दिएको शुल्क सुविधा गोल्डन चान्स हो, यसको नेपालले बढीभन्दा बढी सदुपयोग गरेर नेपालको अर्थतन्त्रलाई उकास्न सक्छ ।
तर भारतीय उत्पादकहरू नेपालमा अहिले नै सलबलाउन थालिसकेका छन् । जसरी नेपालको गार्मेन्ट, कार्पेट, पश्मिना उद्यमलाई ध्वस्त पारिदिए, त्यस्तै गरेर भारतीय सामानलाई नेपाल मेडको टाँचा लगाएर अमेरिका निर्यात गर्ने भारतीय उद्यमी व्यापारीहरूले मौका खोजिरहेका छन् । अमेरिकालाई केही समय झुक्याउन सकिएला, अन्ततोगत्वा नेपाली उत्पादनको नाममा भारतीय सामान निर्यात हुनथाल्यो भने त्यसको नेपालका लागि दूरगामी असर पर्ने पक्का छ ।
नेपालले उद्यम खोल्ने, उत्पादन बढाउने, निर्यातमा विशेष चासो राख्ने हो भने खासगरी नेपाली हस्तकलाले अमेरिकामा ठूलो बजार पाउनसक्छ । नेपालको हितका लागि अमेरिकाले दिएको कर सुविधाको दुरूपयोग गरेर भ्रष्टाचार भयो भने अमेरिकाले लगाएको ‘ठगी’को आरोपबाट नेपाल कदापि बच्न नसक्ने बताइँदैछ ।