
चैत १५ गतेदेखि राष्ट्रवादी आन्दोलनको सुरूआत भएको छ । सरकारी षडयन्त्रका बाबदुत उल्लेखनीय र प्रभावकारी सहभागिता देखियो । आन्दोलनकारीको कार्यक्रम स्थलमै टियरग्यास हानेर राज्यले उद्वेलित पार्दा दुई जना होनहार युवाले सहादत प्राप्त गरे । यी दुई युवाप्रति हार्दिक श्रद्धाञ्जली । देश लुट्न पल्केकाहरूको राज्य आतंकप्रति खेद छ । यो आन्दोलनमा राजाको लोकप्रियताको मानमर्दन गर्न राज्यले राजाले नै आन्दोलनलाई हिंसात्मक बनाएको रूपमा अभिव्यक्ति दिइरहेका छन् । जो आन्दोलनमा होमिएका थिए, तिनलाई मण्डले भनेर गालीगलौज गरिरहेका छन् । आगामी दिनमा यस्तो हिंसात्मक आन्दोलन नहोस् भनेर सहमति र सहकार्य गर्ने बुद्धि परिवर्तनका नाममा देशलाई लुटतन्त्रको अखडा बनाएकाहरूमा अझै आएको छैन । सत्ताधारी र प्रतिपक्षी राजामाथि धावा बोलिरहेका छन् । आन्दोलन उग्र हुँदै जाने जोखिम बढेको छ ।
लोकतन्त्रलाई लुटतन्त्र बनाउनेहरू आन्दोलनलाई शिथिल बनाउने प्रयत्न गरिरहेका छन् । नजरबन्द, निगरानी, धरपकड, मुद्दामामिला, यातना, अनेक हथकण्डा अपनाएको अवस्था छ । राजतन्त्रवादीको आन्दोलन तुहियो भनेर गिल्ला गर्नेहरू आफूलाई लोकतन्त्रको मसिहाका रूपमा प्रस्तुत गर्दैछन् । यिनले भुलेका छन्, जनताको आस्था र विश्वासमा यिनको अलिकति पनि भरभरोसा छैन । जनताले राजतन्त्र चाहियो, अभिभावक चाहियो भनेर गरेको आन्दोलनमा राजाको के दोष ? दोष त यिनै लुटाहाहरूको हो, जसले लोकतन्त्रको मर्यादाको चीर हरण गरिदिए । देश बचाउनु सबैको कर्तव्य हो । यो कर्तव्य सम्झेर आन्दोलनले अझ उग्र रूप लियो भने यसको जिम्मेवार यिनै लोकतन्त्रवादी हुनेछन्, जसले लोकतन्त्रको गरिमा र महिमाको इज्जत धुलिसात बनाइदिए । लोकतन्त्र नीति, नैतिकता र लोकलज्जाले चल्ने पद्धति हो । नेपालमा अपराधिकरण गरेर लोकतन्त्र चलाइएको छ । जुन सरासर गलत छ । देशमा न्याय र विधि भन्ने कुरा देखावटीमा सिमित हुनपुग्यो ।
सबेलाई थाहा छ, परिवर्तनका नाममा यी लोकतन्त्र, संघीयतावादीहरूले जनता र देशको हड्डीभित्रको मासीसमेत झिकेर खाइसके । यो आन्दोलनपछि आमनागरिकले सोच्नैपर्छ, मासुभातमा बिकेर यिनैलाई मतदान किन गर्ने ? सधैं यिनकै चुनावी जित किन हुन्छ ? होनहार युवा किन राजनीतिप्रति उत्साहित हुँदैनन् ? मिलेर देश बचाऔं भन्दा आज राजाको बदनाम गरिएको छ । आन्दोलनमा घूसपैठ गरेर राजालाई जिम्मेवार भनेर आरोपित गरिएको छ । जनताको पीडामा पीडावोध गर्नु, देशको संकट मोचनका लागि सहमति गरौं भन्दा बदनाम नेता र पार्टीहरू आफूलार्य पानीमाथिको ओभानो देखाउन अनेक प्रपञ्च गरिरहेका छन् । राजाको फागुन ७ को सन्देशलाई यी गणतन्त्रवादीले नकारात्मक रूपमा लिएपछि फागुन २५ गते जनताले राजतन्त्रको पक्षमा सडकमा उभिन आएका थिए । अब झन ठूलो प्रदर्शन होला भनेर चैत १५ गते एकातिर समाजवादी मोर्चाको प्रतिकार सभा, अर्कोतिर राजतन्त्रवादीको आन्दोलनको सुरूआत भएको थियो । त्यो आन्दोलनलाई आगजनीमा कसले कसरी परिवर्तन गरिदियो भन्ने कुरा समाजिक सञ्जालभरि छरपस्ट छ । राज्यको गोली लागेर युवा मारिए, अर्का पत्रकार आगजनीमा परे, बचाउन राज्यलाई गुहार्दा राज्यले कुनै वास्ता गरेन । राज्य राजालाई बदनाम गराउन साजिसमा लाग्दा स्थिति अनियन्त्रित भयो, ठूलो धनजनको क्षति हुनपुग्यो । आइन्दा यस्ता घटना नहोस् भनेर अझै बुद्धिबंगारो पलाएको छैन । छलफल चलेको छैन । खाली राजाप्रतिको लोकप्रियता खुइल्याउन राज्य र बामशक्ति लागेको देखिन्छ । स्थिरता, शान्तिका लागि थिङ्क टेङ्, राजनीतिक व्यक्ति र शक्तिहरू किन बोल्दैनन् ?
देश संकटमा छ । पद्धतिप्रति जनविश्वास छैन । नेताहरूप्रति जनताको भरोसा समाप्त भइसक्यो । लोकतन्त्रको अनुहार साह्रै कुरूप भएको छ । एउटा दुर्गा प्रसाई अथवा अन्य राजतन्त्र अथवा हिन्दुवादीको प्रश्नभन्दा माथि देशको प्रश्न जटिल र महत्वपूर्ण हुनपुगेको छ । राप्रपाले नैतिक जिम्मेवारी लिएर आन्दोलन हिंसात्मक हुनुमा दुःख व्यक्त गरेको छ । अन्य पार्टीहरूले पनि हिंसा भड्काउने तत्वविरूद्ध स्वतन्त्र छानबिनको पहल गरेर आगामी दिनमा यस्ता हिंसात्मक गतिविधि रोक्न देशमा राजनीतिक शक्तिहरूले सहमति र सहकार्यको थालनी गर्नुपर्छ । स्पष्ट भइसक्यो, यी नेताहरूबाट देश अग्रगमनमा जानैसक्दैन । युवा अगाडि आउनैपर्छ, युवाले देश हाँक्नैपर्छ । अशक्तहरू थान्को लागून्, सशक्तहरू अगाडि आउन् ।