
महिलालाई सेक्सबस्तु मात्र सोच्ने रोग बढ्दो छ । मानिस आधुनिक त भयो, सभ्य हुनसकेन, समानताको बुद्धि विकास हुनसकेन । समाजमा घट्ने अधिकांश महिला हिंसाको मुख्य कारण नै नारीलाई सेक्सबस्तु ठान्नु हो । महिलालाई समाजको कुरिती र अन्धविश्वासको कारण सम्झनु हिंसाको अर्को कारण हो । अझै पनि महिला तथा बालबालिका माथी हुने अमानवीय बर्बर हिंसाहरु रोकिएनन् । कानुनका दफा उप दफाले हिंस्रकलाई छुदै छोएन । दिन प्रतिदिन बलात्कार र महिलामाथि अन्धविश्वासका कारणले गरिने हिंसाका एउटा न एउटा घटना समाचार माध्यमबाट सुन्नमा आइरहेका छन् । यो २१औ शताब्दिमा पनि बालिका बलात्कार अधवा एकल महिलामा गिद्धे नजर लगाइन्छ, प्रताडित गरिन्छ अथवा कमजोर बृद्ध महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउँदै निर्घात कुटपिट गरिन्छ । काहीं काहीं त महिलाको कपाल मुण्डन गरि दिसा खुवाइ कुटपिट गरि शक्त घाइते बनाइयो भन्ने समाचार सुनिन्छ । यदि महिलाले अपराध नै गरेको भएता पनि प्रहरी प्रशासन छ । न्याय निसाफका लागी अदालत छ तर हिंसा नै गरिन्छ ।
पश्चिमतिर बालबलात्कारका घटना सार्वजनिक भएका छन् । छुवाछुतका घटनाले त संसदमै प्रवेश पाइसक्यो । सिरहा औरही ५ कि विपन्न डोम परिवार छुवाछुतकै कारण बिस्थापित पारिएका छन् । महायज्ञ लगाउने नाममा महात्यागी बजरंगी बाबाले लगाउने महायज्ञका नाममा डोम परिवारमाथि जघन्य अपराध हुनपुगेको छ । गाउँपालिका अध्यक्ष शिवजी यादव नै भन्छन्– ‘डोम भनेका अछुत हुन्, महायज्ञ गर्ने स्थानमा उनीहरूलाई राख्दा यो अपवित्र हुन्छ ।’ यो कस्तो महायज्ञ हो, जसमा मानवीयताको सुरुमै हत्या गरिन्छ । डाजर लगाएर बास भत्काइन्छ ।
त्यो घर, दीपक मरिक र अनिता मरिकको परिवारको बास ५ वर्षअघि सरकारले नै बनाइदिएको थियो । दीपक र अनिता गाउँपालिका र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका सफाइकर्मी पनि हुन् । सरकारी कर्मचारीमाथि यो अन्याय ?
३० वर्षदेखि त्यो ठाउँमा बसेका डोम परिवार मौन छ, तर यो घटना अब संसदको मुद्दा बनेपछि र सडकमा प्रदर्शन हुनथालेपछि सिडियो सरुवा भएका छन्, त्यो परिवार राज्यको नजरमा परेको छ । लोकतन्त्रले अन्धविश्वास बढाएको छ, छुटअछुतको विभेद पनि कम गर्न सकेन । तैपनि ठूला दल र नेताहरु भन्छन्– प्रतिगामीलाई सोत्तर पारिनेछ । लोकतान्त्रिक प्रतिगमन कसले सोत्तर पार्ने ?
केही समय अघि रौतहटमा रेखा देवी ठाकुरले दाइजो नल्याएको निहुमा मृत्यु वरण गर्नुप¥यो । बलात्कार, छुवाछुत, अन्धविश्वकासका अनेक घटनाक्रम घटना असरल्ल सुनिन्छन् आज पनि । यस्तै हो भने हिंसा मुक्त समाज कहिले हुने ? के हुँदैछ समाजमा ? यसरी अप्रत्यासित रुपमा हिंसा बढेको विभिन्न समाचार माध्यमबाट तथ्यांक आइरहेको देखिन्छ । महिला हिंसा, बलात्कार, हत्या, आत्महत्याका प्रहरी तथ्याङ्क कहालीलाग्दो गरी बढेको छ । अब त काखे नानी पनि सुरक्षित छैनन्, टोल टोलामा गर्भपतनका बोर्ड देख्दा लाग्छ, लोकतन्त्र भाँडियो ।
संसदमा बहस हुँदैन । हालैमात्र कांग्रेसका सचेतकले बेश्याबृत्ती बढेकोले तिनलाई कानुन बनाएर रेडलाइट इलाका खोल्ने कि भनेर संसदमा दिएको बयान निकै बिबादित भयो । पछि तिनै सचेतकले यो आफ्नो कुरा भएको, पार्टीको लाइन नभएको भनेर आत्मालोचना गर्दै क्षमा मागेको दृश्य पनि देखियो । अब यो तथ्य र तथ्यांकले देखाए अनुसार बेश्याबृत्ति, घरेलु हिंसा, बलात्कार निर्मूल पार्न समाजका हरेक सचेत ब्यक्ति सचेत हुनजरुरी छ । फोहरलाई जतिसुकै छोपे पनि दुर्गन्ध त फैलिन्छ फैलिन्छ । दुर्गन्ध राजधानीको रत्नपार्क, ठमेलमा मात्र छैन, देशैभरिका गल्ली, सडक, सहरभरि छताछुल्ल बढ्दै गएको छ । घरेलु हिंसा, बलात्कार, हत्या, राष्ट्र संघका अनुसार २० प्रतिशतले वृद्धि भएको छ । भनेपछि हरेक ब्यक्तिमा चेतनाको स्तर कति सम्म छ भन्ने कुराको मापन गर्नुपर्ने हुन आउँछ । समाजमा यहीँ गतिमा हिंसा बढ्नु भनेको मानव अधिकारको देखादेखी धज्जी उडेको हो ।
अर्कोतिर बालबालिका तथा महिला सामुहिक श्रृखलाबध्द बलात्कारको सिकार भैरहेका छन् । हुँदाहुँदै मठमन्दिर, देवालय, बाल–महिला गृह, अनेक ठाउँमा हाडनाता भित्रको हिंसाले त सबैको मन मस्तिष्क गलेको छ । प्रश्न खडा भएको छ को माथी बिश्वास गर्ने ? आफ्नै घरपरिवारमा बलात्कारका घटना ? जो संरक्षक उही भक्षक ? योभन्दा ठूलो सामाजिक बिकृति अरु के हुनसक्छ ? मान्छे यतिसम्म गिर्न सक्छ ? पशुवत सोच मान्छेमा आउन थालेको कारण के हो ? समाजशास्त्रीहरुले यसबारेमा बोल्न र उपाय सुझाउन जरुरी छ । कानुन र सरकारले पनि यस्ता घटनामा विशेष कडाइका साथ पेश आउनैपर्छ । जंगलराजले समाज अगाडि बढ्दैन ।
हत्या, बलात्कार र अनेकथरिका महिला हिंसा बढेकोले सर्वोच्च अदालतले यो महामारीको समयमा सहज रुपमा न्यायका ब्यवस्था मिलाउन आदेश दिएको धेरै भइसक्यो । पीडितको त्यहाँसम्म सहज पहुँच पुग्छ कि पुग्दैन, पीडितलाई न्यायिक निकायसम्म सहज रुपमा पहुँच पु¥याउन ब्यक्ति र समाजको भूमिका अबका दिनमा महत्वपूर्ण रहन्छ । न्यायपूर्ण समाजको परिकल्पना गर्ने हो भने कानुनसम्म सबैको सहज पहुँचका लागि सबैले गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।
छन त महिला माथि हिंसा बढनुमा अनेक कारणहरु छन् । पछिल्लो समय पुरुषमाथि महिला टर्चर बेस्सरी बढेर गएको अदालतमा थुप्रिएका मुद्दाले नै देखाउँछ । यो सबैको कारण सम्बन्धलाई व्यापारिकरण हुँदै जानु पनि हो । महिला र पुरुषवीच मतभेद, मनभेद बढेको छ । लोकलज्जा घट्दै गएको छ । नैतिकताको घट्दो स्तरले नै समाज बिश्रृंखलित र लथालिङ्ग हुँदै गएको छ । सबैले सोचौं ।