Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

आरजु राणाको विवशता

११ मंगलबार , चैत्र २०८१७ दिन अगाडि

आरजु राणाको विवशता

परराष्ट्रमन्त्री डा.आरजु राणाले गत शुक्रवार भारतबाट फर्के लगत्तै विश्लेषण भइरहेको छ– नेपालको इज्जत, मानप्रतिष्ठा धुलिसात बनाइन् । उनले एयरपोर्टमै भनिन्– भारत अहिले नेपालको सत्ता परिवर्तनको पक्षमा छैन भनेर नेपाली जनता र संसदको समेत मानमर्दन गरेकी छिन् । २ हप्ता भारतमा बसे पनि प्रम नरेन्द्र मोदीले भेट नदिएको र रायसिना डायलगको आयोजक भारतका विदेश मन्त्री एस जयशंकरले खुला मनले भेट नदिएर साइडलाइनमा भेट गरेको दृश्य देखिएकै हो । यसैलाई मन्त्री राणाले ठूलो उपलब्धि बताएकी छिन् । नेपालकी परराष्ट्रमन्त्रीको यो अभिव्यक्तिले नेपाली राजनीतिक सत्ताको तालाचावी भारतको हातमा दिइसकेको प्रमाणित भएको छ ।
अचम्म, राणाको अभिव्यक्तिले कुनै सांसद वा पार्टीले अपमानवोध गरेनन्, न त प्रतिपक्षी, बुद्धिजीवी भनाउँदा सचेत बर्गले नै कुनै प्रतिकृया दिए । राणाले भनेको नै सही हो भने दैनिक दशौं लाख खर्च गरेर संसद चलाउनुको के अर्थ भयो र ? सिधै दिल्ली जाने, दिल्लीबाट नियुक्ती लिएर आए भइहाल्यो नि । अर्काथरि विश्लेषक भन्छन्– भारत यही शासन प्रणालीलाई कायम गराउन चाहिरहेको छ भन्छन् । अर्थात् यसबाट के पनि बुझिन्छ भने सरकार मात्रै होइन कि नेपालको शासन प्रणाली पनि कुन र कस्तो हुने ? त्यो भारतकै हातमा रहेछ । हामीले गणतन्त्र ल्यायौं भनेर मच्चीमच्ची भ्रष्टहरुले भन्नुको के औचित्य रह्यो र ? प्रष्ट कुरो के हो भने राजतन्त्रवादीले आन्दोलन छेडेपछि र युवासमेत आन्दोलनमा देखिएपछि गणतन्त्रवादीहरुका मानसिकता नै खलबलिएको अवस्थामा पुगिसकेछ । सत्ताकी परराष्ट्रमन्त्रीले दिल्लीमा बसेर राजसंस्थावादी आन्दोलन मत्थर पार्न हारगुहार पो गरिरहेकी रहिछन् । कृष्ण सिटौलाभन्दा चर्को गणतन्त्रवादी राणा देखिइन् । यसको अर्थ आफू जोगिन, जेल जानबाट बच्न यी गणतन्त्रवादी नेपाललाई भुटानको स्तरमा पु¥याउन पनि तत्पर रहेछन् । यसतिर नेपालीले गम्भीर भएर सोच्नेपर्ने भयो ।
प्रश्न उठाउनेले उठाएका छन्– देउवापुत्र जयवीर देउवाको अरवौं रकम स्वदेश र विदेशमा छ । कुनै बन्दव्यापार केही नभएको व्यक्तिको त्यत्तिको सम्पत्तिको स्रोत के हो ? नेपाली जनताको प्रतिव्यक्ति थाप्लोमा ९० हजारको ऋण छ, कसैलाई कामै नभए पनि अरवौंको सम्पत्ति ? नेपालीलाई भुटानी बनाएर बेच्ने, सरकारी जग्गाको लूट मच्चाउने, वाइडबडीदेखि सुनकाण्ड, जग्गाकाण्डमा पनि मुछिएका देउवा दम्पत्तिको छानबिन नहुनुले देशमा भ्रष्टाचारको बाढी आइरहेकै छ । अब जनताको सबरको बाँध फुट्यो, जे पनि हुनसक्छ भनेर भ्रष्ट शासक, नेताहरु फेरि भारतलाई गुहार्न अघि सरेका छन् । उठेको आन्दोलनलाई बदनाम गर्दै तुहाउन लागिपरेका छन् । आमनागरिक जागरुक हुँदा यिनलाई पसिना आउनु स्वभाविक हो । भ्रम छर्न सकिन्छ, चकमा दिन सकिन्छ, तर सधैं ढाँट्न सकिन्न ।
परराष्ट्रमन्त्रीलाई पटक पटक दिल्ली पठाएर ओली सरकारले न्यानो अनुभव गर्न पाएको छैन । एकपल्ट भारत भ्रमण गर्ने उनको निम्तोको प्रतिक्षा प्रतिक्षामै रहेको छ । अर्थात छिमेकीको ओली र आरजुमाथि विश्वास नै भएन । जसले आफ्नै देशको नागरिकलाई विदेशी बनाएर बेच्छ, पैसाका लागि । त्यस्ताले छिमेकी भनेर बस्ला त ? अब नेपाली आन्दोलनमा उत्रिसके । त्यसलाई छेकबार लगाउन छिमकेी आउँछ भन्नु अविश्वसनीय छ । छिमेकीले बुझेको छ, यी भ्रष्ट हुन् । भ्रष्ट विरुद्ध नागरिक उठेपछि बंगलादेशमा जे भयो, नेपालमा पनि त्यही हुनेवाला छ । परिवर्तन रोक्न कसैले सक्ने देखिदैन । हेरौं त, राजालाई ठाउँ ठाउम गरिएको स्वागत, समर्थन, अभिनन्दन । गोरखा जाँदा बाटाहरुमा घडा राखिएका थिए, जनताले राजालाई स्वागत गरिसके । राजतन्त्र स्वीकारीसके । जनताले थाहा पाइसके, जनयुद्ध र जनआन्दोलनभित्रको रहस्य । जनतालाई कसरी भ्रममा पारेका रहेछन् । जनताको आँखामा कालोपट्टी बाँधेर ठगी धन्दा चलाइरहेकाले अमेरिकी राष्ट्रपतिले यिनलाई ठग भनेको हो । जनताले आँखा उघारिसके, चेत खुलेको जनाउ दिइसके । अब यी गणतन्त्रेहरुले जतिसुकै भारत वा अन्य मुलुकको दौड लगाए पनि कसैले विश्वास गर्नेवाला छैन । जनताले परिवर्तन खोजेका छन्, परिवर्तनको लहर रोकिने देखिदैन । बुद्धि बंगारो पलाएको छ, अहंकारबाट झस्केको हो भने सर्लक्क राजासहितको प्रजातन्त्रमा गए हुन्छ । अब युवाशक्ति सत्ता हाँक्ने हो, भ्रष्टहरुमाथि कानुनी दण्ड चलाउने हो, नेताहरुको राज्य आतंक र हाटहुट, लाटलुटले काम गर्नेवाला छैन । राजाले गोरखाबाट फेरि पनि भनेका छन्– देशमा शान्ति चाहिएको छ । कसैले नडराए हुन्छ । अर्थात् राजाले जनताप्रति विश्वास गरेका छन् । राजाले चाहेको जनअपेक्षाअनुसारको शान्ति, सहमति, सहकार्य नै हो ।