
गत फागुन २५ गते पोखराबाट काठमाडौं फर्कदा लाखौं नागरिकले पूर्वराजालाई स्वागत र समर्थन गरेको घटना विश्व समाचार बन्यो । नेपाली पूर्वाग्रही ठूला मिडियाले नजरअन्दाज गरे पनि विश्वका शक्तिशाली मिडियाहरूले त्यो घटनालाई आश्चर्यजनक जनसमर्थन भनेको छ । विश्व समाचार बनेपछि नेपाली राजनीतिमा ठूलै कम्पन गएको छ । बैठकपछि बैठक गरिरहेका छन ठूला दलहरू । राजाको समर्थन र स्वागतमा बुढापुरानामात्र होइन, त्यसदिन नयाँ पिँढी र युवाजगत तथा बुद्धिजीवी बढी मात्रामा सडकमा लामबध्द भएको देखिएको थियो । यसकारण पनि दलहरूको कन्चटा पसिना चुहिएको हो । आफूले खाइपाइ आएको लुटतन्त्र मासिने भयो भनेर भुइँचालो नै गएको छ । तर प्रश्न उठ्छ, त्यसपछि के हुन्छ ? किन कुनै जागरूकता छैन ? पहिले पहिलेजस्तैको तातेर सेलाउने रोग त लागेको होइन राजतन्त्रवादीलाई ? राजा आए, स्वागत भयो, नागरिकले निर्मल निवास पु¥याए । सबैको चाहना थियो, राजदरवार पु¥याउने, त्यो उद्देश्यपूर्ति गर्ने त्यही प्रकारको जनआन्दोलन कहिले होला ? प्रश्न उठेको छ ।
दुःखद पक्ष, आन्दोलनकारीहरूमा विद्वेष देखिन थालेको छ । एकजुट हुनुपर्ने राप्रपा, राप्रपा नेपल, दुर्गा प्रसाईलगायतका अन्य दल, संघ संगठन, अभियन्ताहरू फेरि काटमारको स्थितिमा पुगेका स्वरहरू सुनिन थालेका छन् । कसले जुटायो, त्यो एकता कायम राख्न किन सकिएन ? अहं, अहंकार किन बढेर गएको हो ? माओवादी, नेकपा स र अन्य गणतन्त्रवादीले राजतन्त्रवादीलाई प्रतिगाम िभन्दै जवाफी आमसभा गर्न लागेका छन् । त्यसपछिमात्र राजावादी, हिन्दुवादी जाग्ने होलान् ? राजाको आह्वान स्वीकार गरेर वार्तामा बस्ने र राजासहितको प्रजातान्त्रिकतामा सहमत भए किन आन्दोलन गरिरहनु, जनतालाई दुःख दिइरहनु भन्नेहरू पनि देखिएका छन् । तर लोकतन्त्रलाई लुटतन्त्र बनाउनेहरू सहजै परिवर्तन मान्लान्जस्तो देखिदैन ।
यतिबेला माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा बढी त्रसित देखिन्छन् । उनले राजालाई तथानाम गाली गरिरहेका छन् । हुन त राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन । जे हुने हो त्यो देखिदैन भनिन्छ । मेलम्चीमा फेरि नागरिकको जुत्ता खाएपछि प्रचण्डलार्य होस फिरेको हुनुपर्छ । प्रचण्डजस्ता डाइनामिक लिडरले जनआक्रोश नदेखेका, नबुझेका होइनन् । फागुन २५ गते जुन जनसागर राजधानीमा उर्लिएको देखियो, त्यो जनसागर राजाको अभिनन्दन राजधानीमै गर्ने र फेरि फेरि देखिने हो भने दुई दिनमा गणतन्त्र र संघीयतावादी सतहमा देखिनेछन्, तिनको होस खुल्नेछ अथवा तिनीहरू जनताको साथ लाग्नेछन् वा भग्नेछन् भनिदैछ ।
हो, भ्रम, षडयन्त्र, घूसपैठ ठूला दल र राज्यमा बस्नेको हतियार हो, जसले कुनै पनि आन्दोलनलाई भाँड्न सक्छ । तर यसपटकको जनजागरण भाँड्नसक्ने खालको होइन । हरेक दलभित्र, साधारण जनमानससमेत दुःखी छ, आक्रोसित छ । हायलकायल भएको छ यो लुटतन्त्र र नेताको चरित्रहीनताबाट । भ्रष्टहरूले आफू जोगिन जस्तोसुकै हथकण्डा मच्चाए पनि आउँदा दिन तिनका लागि अनुकूल देखिदैन । जनएकता र एकतावद्ध फागुन २५ को जस्तो शान्तिपूर्ण घुस्साले नै यिनीहरू किनारा लाग्नेछन् । वार कि पारको लडाइंमा पुगिसकेका भ्रष्ट नेतृत्वको रजगज बच्न मुस्किल छ । यिनको हातमा भएको राज्य सत्ता र शक्तिले जनताका विरूद्धमा केही गर्दैन भन्ने फागुन २५ मै यिनले देखिसकेका छन् । राजनीतिकरण भएको प्रहरीले ज्यादति नगर्ने र जनताको सेनाको जनताको साथमा उभिने संकेत जनताको जीत हो ।
फागुन ७ गते मलाई साथ दिनोस् भनेर जनता गुहारिसकेका छन् । जनताले त्यो गुहारको मान राखेका छन् । सहमति र सहकार्य गर्ने नगर्ने राजनीतिक दलहरूको हातमा छ । कस्तो राजतन्त्र ? भन्ने प्रश्न छैन । देशलाई अभिभावक चाहिएको हो, राजनीति दलहरूले नै गर्ने हुन् । मात्र जनचाहना भनेको सुशासन, प्रजातन्त्र र संघीयताको खारेजी हो । देश र जनताप्रति जवाफदेही यो पद्धतिमा शासक प्रशासक हुनसकेनन् । जसका कारणले देशको हैसियत गुम्दै गएको छ । मूल विषय परिवर्तन हो, परिवर्तनलाई विषयान्तर गर्न जाति, भाषा, भेगका कुरा फेरि उचाल्न थालिसकेको छ । यी सबै खाले षडयन्त्रबाट आमनागरिक सचेत हुनैपर्ने अवस्था छ । दलका अरिंगाल र नेतालाई जस्तो उच्छृङ्खल हुने छुट राजतन्त्र र हिन्दुवादीलाई छैन । यो शक्तिले शान्तिपूर्ण आवाज र एकता प्रदर्शन गरेर परिवर्तन ल्याउनु छ ।
जनताले भ्रष्टलाई दण्ड र योग्यलाई शासनभार सुम्पिन माग गरेका छन् । देशका प्रौढ, युवा, सबै तहका सेचतलाई जनआवाज सुन्नैपर्ने बाध्यता छ ।