
राजा, राजा किन लाग्छ नारा ? राजा आज आउँदै छन् अरे ! चिया पसलमा गयो त्यही भन्थे । चौतारामा भेला भएकाहरू पनि त्यही कानेखुसी गर्दै थिए । सामाजिक सञ्जालमा कोही कोही कराउँदै थिए । पक्का हो आउँदैन । जसरी पनि ल्याइन्छ । फागुन २५ गते एयरपोर्टदेखि महाराजगञ्जसम्म यस्तै दृश्य परिदृश्य देखियो । संसारका समाचार माध्यमले पनि यही तमासा देखाए ।
आवाज पनि ठिकै हो । जसरी पनि ल्याउनुपर्छ । तर ल्याउनेचाहिँ कसरी ? आउनेचाहिँ कसरी ? मट्याङ्ग्रो अलमल्ल ! चौतारामा भेला भएकामध्ये तक्लु दादा भन्दै थिए, ‘लौ है मट्याङ्ग्रो अब राऽआजा ल्याउनुपर्छ । नल्याइ हुन्न ।’
अन्योल बढ्यो । ल्याउने कसरी ? मट्याङ्ग्रो दिमागले काम गरेन कि क्या हो मनमनै भन्दै थि यो, ‘मैले कहाँबाट खोजेर ल्याउने होर ?’ राजैराजा भएका ठाउँमा कहाँबाट राजा ल्याउने हो ? म बिचरोले कसरी राजा ल्याउन सकौंला र ? राजा ल्याउने विधि के हो, प्रवृधि के के हो ? झन अलमल्लता बढ्यो ।
२०६५ का बेला भएका एउटा राऽआजालाई बानेश्वरको सेता दरबारभित्र बसेर मध्यरातमा टेबल ठटाएरै डाँडामा पुर्याएको सम्झ्यो उसले । उसबेला हाई काट्दै सभामुख महोदय भन्दै थिए, ‘मान्य सदस्यहरू, हिन्दूराष्ट्र र राजतन्त्र अन्त्य गर्दै मुलुकलाई ‘गणतन्त्र’ र धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिबक्सेका छौं’ हुन्छ भन्ने मान्य सदस्यले हुन्छ भन्नुहोला ।’
माननीय सदस्यहरूले कुरा बुझे कि बुझेनन् टेबलमा ठटाए । बजाए । अनि महोदयले फेरि भने, ‘सबै मान्ने सदस्यहरूको ठूलो स्वरमा हुन्छ भन्नुभएकाले २४० वर्षसम्म चलेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरिबक्सेका छौं ।’
ऊ झल्याँस्स भयो । २०६२÷६३ मा ७ दलको गज्जबकै जुलुस निस्किएको थियो । जुलुसले ‘निरंकुशताको अन्त्य गर’ भन्दै नारा लगाएको थियो । न त राजतन्त्र खारेज भनेको थियो, न त धर्मनिरपेक्षताको कुरा नै उठेको थियो । संघीयता त झन परको विषय बनेको थियो ।
जुलुस अगाडि बढेको बढ्यै सत्तामा हुनेले ठोकेको ठोक्यै । सडकमा जनताको भीड । त्यही भीडमा यता पुलिसको आक्रमण उता जुलुसेको आक्रमण । जुलुस गर्न पठाउने र ठोक्न लगाउनेहरूका ‘साहेव’हरू घरको बैठक कोठामा टेलिभिजन हेर्दै ‘च्वाँस्स’ पार्दै दंग । बिहान घाम लागेदेखि घाम नअस्ताउँदा सम्म ढुंगा, मुढा, नारा जुलुस कति हो कति । कसको बाउको के जान्थ्यो र ? गोली लागे, ढुंगा लागे पनि त्यही जनताको छोरोको टाउको फुट्ने न हो !
झण्डा हल्लाएर हिँड्नेहरू ‘सान’ले आफूलाई राजा सम्झिए । अनि राऽआजालाई एकदम काइदा छ भन्दै उचाले । उता जुलुस लगाउनेहरूले पनि आफ्नो शक्ति देखाए । सहराँ भाकाले नसक्ने भएपछि जंगलमा भाका पनि जंगलमा भएका रूखका हाँगा भाँचेर त्यही लिएर सहराँ देखिए । अत्तोपत्तो भएन । जसले दुःख पाए पाए, जो मरे मरे । हरेक दिन मर्ने र मार्ने क्रम लि नै रह्यो । एउटा नेपालीले अर्को नेपालीलाई मारिनै रहे ।अब नसकिने भो भन्दै सबै दल हाँक्नेहरू बसे । सत्ता हाँक्नेसँग वार्ता छलफल भए । सत्तामा हुनेहरू ठसमस नहुने । आन्दोलनमा होमिएकाहरू ‘मालिक’सँग वार्ता गर्नमै अड्कियो । सबैका सबै गोप्य भए । धर्म गर्नेहरूले ‘आखिर रहेछ ईश्वर एक’ भनेजस्तै दक्षिणतिरका ‘मालिक’ उतै छलफल गर्ने निर्देशन भयो । वार्ता सहमति भए । अनि बल्ल राजालाई बिन्ती बिसाए । अब फिर्ता गरिदिनुपर्यो महाराज ।
पहिले ‘जनताको नासो जनतालाई नै सुम्पिदिएका छौं’ । त्यत्ति के भनिदिएका थिए । संसद् ब्युँतियो । त्यही संसदले राजालाई किनारा लगायो । ताली ठोकेर राजा हटाइदिए । ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्षता’ लागू गरिदिए । डलर दिनेले दिएको दियै छन्, खान पल्केकाहरू डकारिरहेका छन् । यिनको रंगीन दुनियाँ चलिरहेकै छ । कोही सुकुम्वासीको नाममा हुकुम्वासी भए । कोही सुकिला मुकिलाहुँदै चिल्लो सवारीमा हुँइकिने भए । बन्दुक बोकेर आन्दोलन गर्नेहरूको कसैका करङ भाँच्चिए । कसैको खुट्टा काटिए । कोही खाडीतिर भासिए । कसैका बाउ छैनन्, कसैका आमा । कसैको काख रित्तो भो । कसैको घरै खरानी भो । तर कठैबरा भन्ने कोही पनि भएन ! व्यवस्था फेरियो, अवस्था फेरिएन । अन्याय, अत्याचार भ्रष्टाचार उकालो लाग्यो । केही स्वार्थीहरूको जीवनशैली फेरिए । व्यवस्था फेर्नेहरू अरबतिर भासिए । व्यवस्था फेर्न लगाउनेहरू अर्बपति भए । टोलटोलमा नवराजाहरू देखिए । सयौंका संख्यामा राजा महाराजाहरू जन्मिए ।
नयाँ नेपाल बनाउँछु भन्नेहरूसँग चरित्र नै थिएन, के बनाउँथे ? वर्ष बिते, वर्षौं बिते । ‘बाह्र वर्षमा त खोलो पनि फर्कन्छ’ भन्थे बूढापाकाले तर फर्केन । परिवर्तन गर्न आएकाहरू नै परिवर्तन भइदिए । व्यवस्था फेरिएसँगै गाउँ झिलिमिली हुनुपथ्र्याे होला । गाउँका खेतबारीमा उब्जिएका खाद्यान्न बेचेर जनता समृद्ध हुनुपर्ने थियो होला । तर दुर्भाग्य, गाउँ रित्तिदै गयो । विदेशमा डलर कमाएर खानुपर्ने अवस्था आयो ।
‘वाहऽ क्या राम्रो अवस्था फेरिएको’ चौतारीमा तक्लु दादा सबैलाई भन्दै थिए । त्यही भएर, ‘राऽआजा आउँदै छन्’ मट्याङ्ग्रा अलमल्ल पर्यो । राऽआजालाई आजा आजा मात्र भनेर के हुन्थ्यो होला र ? कोही नेता राजा भनेको राजा नै हो, पूर्व र पश्चिम हुन्न भन्ने । कोही नेता सपना नदेख भन्ने ! कोही नेता जुलुसको जनलहरबाट नै अनुमोदन भयो भन्ने । चौतारामा तक्लु दादाको कुरा सुन्दै गरेका हरिदाशले भने, ‘होइन हो तक्लु दादा कहाँ गाऽका र आउँदै छन् राऽआजा । यहीँ भएको मान्छेलाई पनि के को आजा ऽआजा ?’ सके ल्याए भइहाल्यो नि ।